बोटेगाउँकी जुनु

बोटेगाउँकी जुनु

तनहुँको सदरमुकाम दमौलीदेखि करिब २० मिनेटको यात्रापछि पुगिन्छ कुमालटारी । सम्म मिलेको ठाउँमा रहेको कुमालटारीमा नेपालका जनजाति समुदायमध्येको बोटे जातिहरू बसोबास गर्दै आएका छन् । व्यास नगरपालिका भित्रपर्ने यही ठाउँमा बस्छिन्, जुनु बोटे । १२ वर्षीया जुनु चन्डीदेवी उच्च माविमा कक्षा ७ मा पढ्छिन् । उनी बोटे समुदायकी एक उदाहरणीय पात्र हुन् ।

माछा मारेर आफ्नो जीविकोपार्जन गर्दै आएका बोटे जातिहरू यतिबेला विस्तारै स्कुल जान थालेका जुनुकी आमा धनमाया बोटे बताउँछिन् । उनी भन्छिन्, 'केही वर्ष पहिलेसम्म बोटे समुदायका कुनै पनि बालबालिका स्कुल जाँदैनथिए । हाम्रो पालामा खाली गोठाला पठाउँथे । पढ्न पाइन्नथियो ।' आफूले पढ्न नपाए पनि छोरीले पढेकोमा उनी निकै खुसी छिन् । त्यसैले उनले आफ्नो छोरीले पढ्न चाहेसम्म पढाउने विचार गरेकी छिन् ।

जुनुका कक्षामा बोटे समुदायका मात्रै नौजना बालबालिका पढ्छन् । यीमध्ये ६ जना छात्रा र तीन जना छात्र छन् । कक्षा ५ सम्म स्थानीय बोर्डिङ स्कुलमा पढेकी जुनुलाई अंग्रेजी विषय पढ्ने ठूलो रहर छ । तर पैसाको अभावका कारण अहिले उनलाई निजी विद्यालयबाट निकालेर सरकारी विद्यालयमा हालेको उनकी आमा बताउँछिन् । छोरालाई भने दमौलीको एक निजी विद्यालयमा हालेकी जुनुकी आमा भन्छिन्, 'छोराछोरी राम्रो होस् भन्ने सोच छ ।

तर बच्चा बढ्दै गएपछि खर्च बढ्दो रहेछ, धान्नै सकिन्न ।' जुनुका बाबु नेपाली सेनामा थिए । यतिबेला उनी गाउँमै ट्याक्टर चलाएर बस्ने गरेका छन् । बोटे समुदायमा जुनुको परिवारले नै विद्यालय जान सिकाएको हो । उनको फुपू बोटे समुदायको पहिलो शिक्षिका बनेकी छिन् । फुपूजस्तै आफू पनि शिक्षिका बन्ने लक्ष्य जुनुको छ । उनकी फुपू बोटे समुदायको सबैभन्दा धेरै पढ्ने महिला बनेकी छिन् । फुपूले जस्तै धेरै पढ्ने रहर उनको पनि छ ।

उनकी आमाले पनि छोराछोरी जतिसम्म पढ्न चाहन्छन्, त्यतिनै पढाउने सोच राखेकी छिन् । धनमाया भन्छिन्, 'त्यति ठूलो सपना त देखेको छैन । तर उनीहरूले धेरै पढून् भन्ने लागेको छ ।'

बोटे समुदायको प्रमुख समस्या भनेको आफूहरूसँग जग्गा नहुनु हो । बढीमा दुई रोपनी जग्गामात्रै हुन्छ । पढेलेखेका छैनन् । त्यसैले अधिकांश परम्परागत चलनमा भर पर्दै आएका उनकी फुपू शिखा बोटे बताउँछिन् । विभिन्न संघसंस्थाको सहयोगमा विस्तारै उनीहरू आयआर्जनको बाटोमा लागेका र विद्यालय जानसमेत थालेका उनको भनाइ छ ।

जुनुजस्तै बोटे समुदायका अन्य धेरै बालबालिका अध्ययन गर्न चाहेर पनि विद्यालय जान पाएका छैनन् । उनीहरूको आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय शिक्षाबाट वञ्चित भएका शिखाको बुझाइ छ । पिछडिएका समुदायको रूपमा चिनिएको बोटे समुदायका बालबालिकाका लागि सरकारले केही पहल गरिदिन जुनुको आग्रह छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.