महाभियोग र सार्वजनिक भ्रष्टाचार

महाभियोग र सार्वजनिक भ्रष्टाचार

भ्रष्टाचार निषेध या न्यून गर्न कर्ताहरुमा पारदर्शी र जवाफदेही चरित्र आवश्यक

२०६३ को आन्दोलनपछिको एउटा घटना निकै चर्चित रह्यो । तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखले पटकपटक स्पष्टीकरण दिए पनि उनी आलोचनामा आइ नै रहे । आन्दोलनको नेतृत्व गरेका गिरिजाप्रसाद कोइरालाको छवि राम्रो थिएन, भ्रष्टाचारका सन्दर्भमा । तर आन्दोलनको सफलतापछि उनलाई भ्रष्टाचारको एक विशेष मामिलामा अख्तियारले निर्दोष पाएको र त्यो स्पष्ट पार्न तत्कालीन प्रमुख प्रधानमन्त्रीकहाँ पुगेको समाचार आएपछि त्यसैबेला आलोचना हुन थालेको हो ।

त्यो आलोचना अस्वाभाविक र नाजायज हैन । किनकि अख्तियार प्रधानमन्त्री कार्यालयअन्तर्गतको कुनै निकाय नभएर स्वायत्त संवैधानिक हैसियत प्राप्त निकाय हो र प्रधानमन्त्रीसमेतलाई उसको छानबिनको दायरामा राखिएको छ ।

०६३ यता विस्तारै आयोगलाई थोते बनाइयो, करिब चार वर्षसम्म आयुक्तविहीन राखियो । पछि (कोइरालाकै समयमा) क्याबिनेटको निर्णयलाई 'नीतिगत निर्णय' को खोल ओढाएर त्यस्ता निर्णयहरू तथा तिनका पात्रलाई अख्तियारले छुन नपाउने गरी भ्रष्टाचारमा उन्मुक्तिको संस्कृतिलाई प्रोत्साहित गरियो । अर्को, चार वर्ष पहिले अख्तियारमा सबै पद (प्रमुख आयुक्त/आयुक्त) नियुक्त गर्दा पनि राजनीतिक भागबन्डाका आधारमै गरेर ०६३ यता राजनीतिक सत्तामा गठबन्धनका रूपमा र पालैपालो रहेका दल र नेतृत्वलाई उन्मुक्ति दिने वातावरण बनाइयो ।

यथार्थ के हो भने विगत १० वर्षमा नेपालमा सबभन्दा बढी पारदर्शी चरित्र र प्रवृत्ति भ्रष्टाचार नै हो भन्ने सबैले बुझेका छन्, भुक्तभोगी भएका छन् । मुलुक त्यसबाट आक्रान्त छ । स्थानीय निकायहरूको निर्वाचन नहुँदा राजनीतिक दलहरूले आफ्ना मनोनीतमार्फत स्थानीय विकासका रकममाथि नियन्त्रण जमाएका छन्, दुरुपयोग गरेका छन् । ठेक्कापट्टा र जग्गा विवादमा मुख्यतया राजनीतिक आवरणका दलाल, मालपोत र प्रहरी साँठगाँठले समानान्तर सत्ताको हैसियत हासिल गरेको छ ।

न्यायप्रणाली सुस्त र खर्चिलो भइरहेको अवस्थामा सर्वोच्च अदालतमा समेत दलीय कार्यकर्ता र 'एक्टिभिस्ट' हरू नियुक्त हुँदा राज्यका संयन्त्रबाट कोही डराउने अवस्था छैन । अर्थात् राज्यको आधिकारिकता राजनीतिक दलहरूको अक्षमता र षड्यन्त्रको सिकार बन्न पुगेको छ ।

लोकमानसिंह कार्की महाभियोग प्रकरणमा जानुअघि कार्यकारी र न्यायपालिकाबीचको सम्बन्ध तथा दूरीबारे सानो चर्चा सान्दर्भिक हुनेछ । शक्ति पृथकीकरण तथा 'चेक एन्ड ब्यालेन्स' को सिद्धान्तले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको सम्बन्ध निर्धारित गरेको हुन्छ । व्यवस्थापिका र कार्यपालिकामा राजनीतिक चरित्र र 'पब्लिक डिलिङ' गर्नुपर्ने हुँदा उनीहरूलाई सघन जनसम्पर्क र भेटघाटको छुट हुन्छ, त्यो अपेक्षित हुन्छ ।

तर न्यायपालिकालाई त्यो छुट हुँदैन । त्यति मात्र हैन, न्यायाधीशहरूले गोप्य तरिकाले कार्यपालिका र व्यवस्थापिकासँग औपचारिक तरिकाबाट भन्दा अर्को च्यानलबाट सम्पर्क राखेमा त्यसले विवादसमेत सिर्जना गर्छ । प्रधानमन्त्री र प्रधानन्यायाधीशको सरकारी आवास जोडिएका छन् । मुख्य प्रवेश द्वार एकअर्काबाट टाढा छन् ।

एउटाबाट अर्को आवसमा आवाजजावत गर्न भित्री ढोकाको प्रयोग बाबुराम भट्टराई र खिलराज रेग्मीको समयमा हुन थाल्यो । न्यायपालिकाको पतनको सुरुआत यो रूपमा त्यही बिन्दुबाट सुरु भयो । त्यसलाई सम्बोधन कसरी गरिएला ? त्यो अहिले पनि आम चासोको विषय बनेको छ मुलुकमा ।

ती दुई ढोका खोलिँदा या कार्यकारी र न्यायपालिकाबीच नाजायज सामीप्य बढ्दा न्यायपालिकाको छविमा नमेटिने दाग लाग्दोरहेछ र संविधानवादका मूल्य र मान्यता कुल्चिँदै जान कार्यकारी तथा राजनीतिक दलहरू प्रोत्साहित हुँदा रहेछन् भन्ने बुझ्न त्यो एउटा दुःखद् तथा कलंकपूर्ण दृष्टान्त रहिरहनेछ नेपालमा । रेग्मीपछिका प्रधानन्यायाधीशहरूले के गरे त्यो विकृतिको ग्रहणबाट सर्वोच्चलाई मुक्त गर्न, यो सबैको जानकारी र चासोको विषय रहिआएको छ अहिलेसम्म ।

अख्तियार न्यायपालिका हैन, तर संवैधानिक निकाय भएकाले कार्यकारीको छायामा बस्नुपर्ने र त्यसको निर्देशन लिनुपर्ने आवश्यकता पर्दैन । कार्कीमाथि कार्यकारी अधिकार प्रयोग गरेको अथवा अनधिकृतरूपमा हडपेको आरोप पनि महाभियोग प्रक्रियाको हिस्सा बनेको छ । महाभियोग चलिरहेकै अवस्थामा प्रधानमन्त्रीले सबै आयुक्तलाई बोलाई कानुनसम्मत तरिकाले काम गर्न 'निर्देशन' दिएका छन् । यसले वर्तमान विवादलाई नयाँ मोड दिएको छ या दिनेछ ।

अख्तियार संविधानका प्रावधानअनुसार स्वायत्त रूपमा चल्ने निकाय हो, त्यसलाई सार्वजनिकरूपमा आवासमा बोलाएर प्रधानमन्त्रीले निर्देश दिनु सर्वथा अनुचित हो । त्यससँगै कामु अख्तियार प्रमुखले महाभियोग लागेका कार्कीको सचिवालयमा पजनी सुरु गरेर गलत सन्देश दिएका छन् । राजनीतिक दलहरूलाई खुसी पार्न उनले एक किसिमले कार्कीविरुद्ध कारबाही गरेका छन् । हुन सक्छ, त्यो महाभियोग पारित भएपछि रिक्त पदमा दाबेदारीको एउटा संकेत पनि हो त्यो ।

अहिले सडक र सदनमा महाभियोगको पक्षमा 'लहर' देखा परेको छ । तर प्रमाण र नियम तथा संविधानको घेरामा रही काम गर्ने अपेक्षा गरिएको आयोगले कुनै पक्षसँग नजिक देखियो भने के त्यसको औचित्य रहला ? कार्कीले प्रमुखका रूपमा नाजायज तरिकाले सचिवालय भर्ती गरेको भए त्यो अख्तियारको दुरुपयोग विरोध नगर्नेहरूलाई के आयोगका सदस्य बन्नलायक मान्लान् त जनताले ? सत्तासँग राजनीतिक समीकरण बनाउनु आयोगको कर्तव्य र दायित्व हैन, हुन सक्तैन । कार्कीविरुद्धको अति उत्साहमा अख्तियार होमिनु हुँदैन ।

 

कार्कीको नियुक्तिदेखि महाभियोग प्रकरणसम्मको पक्षले कसरी विसर्जन पाउला, केही दिनपछि थाहा होला । तर यससँगै मुलुकमा व्याप्त भ्रष्टाचारबाट राजनीतिक पक्ष, प्रशासन, प्रहरी, नागरिक समाज र सञ्चार कोही पनि पछुतो छैन भन्ने आम सन्देश प्रवाह भइरहेको छ । कार्कीविरुद्धको महाभियोग काण्डलाई कतिले 'ठूला राजनीतिज्ञ' लाई जाल हाल्ला भन्ने डरले लिइएको प्रिएम्पटिभ' (निरोधात्मक) कदमका रूपमा लिएका छन् भने कतिले नियुक्ति समय ठूला दल र उनीबीच भएका सहमतिविरुद्ध कार्की जान लागेकोले सजायका रूपमा उठाइएको कदमका रूपमा लिएका छन् ।

यी समग्र विवरण आउलान् जनतासमक्ष ? या एउटा भ्रष्ट पक्षलाई चोख्याउन अर्को पक्षलाई 'भ्रष्ट' सावित गरी क्षणिक रूपमा विजयी देखिने ?

भ्रष्टाचारलाई निषेध या न्यून गर्न कर्ताहरूमा पारदर्शी र जवाफदेही चरित्र आवश्यक हुन्छ, तर न्यायपालिका र कार्यपालिकाको सर्वोच्च हैसियतमा रहेकाहरूबीच गोप्य र असंवैधानिक साँठगाँठको सिलसिला चली राज्यसत्ता र संविधान उल्टिने अवस्था भोगेपछि त्यसको प्रभाव चौतर्फी रूपमा परेकै छ ।

अहिलेको महाभियोग प्रकरण कार्कीको 'महाभियोग' बाट टुंगिएला, तर भ्रष्टाचारको रोकथाम र खासगरी राजनीतिज्ञहरू तथा नागरिक समाज तथा 'एनजीओ' माथि लागेका भ्रष्टाचार, नाजायज कमाइ आदि विषयमा के गर्ने ? लोकमान कार्कीमाथि महाभियोग सावित हुनु या संसद्मा पारित हुनुले अरूलाई निर्दोष भएको सावित गर्दैन ।

त्यस्तै अन्य संस्था या निकायहरूको अधिकार क्षेत्रमा दखल नदिनु पनि भ्रष्टाचार नियन्त्रणको पूर्वसर्त हो । कार्कीमाथि या त्यस अर्थमा अख्तियारमाथि अहिले लागेको एउटा प्रमुख आरोप हो, अनधिकृतरूपमा कार्यकारी अधिकारको प्रयोग । संसद्को सार्वजनिक लेखा समितिमाथि पनि यही आरोप लाग्दै आएको छ किनकि कतिपय अवस्थामा उसले कार्यकारीका अधिकार क्षेत्रका निर्णयहरू प्रभावित हुने गरी आदेश जारी गरेको छ । बेथिति र यस्ता अतिक्रमणले पटके प्रवृत्ति पाएमा त्यसले पूर्वदृष्टान्त र राजनीति तथा प्रशासनमा कुसंस्कार जन्माउँछ । त्यो प्रवृत्तिले संस्थागत रूप लिएमा त्यो झागिँदै जान्छ ।

अनधिकृत प्रवृत्ति, अख्तियार दुरुपयोग र भ्रष्टाचार मौलाउनमा यी पूर्व दृष्टान्त र निकायहरू कम जिम्मेवार छैनन् । अहिलेको महाभियोग प्रकरण कार्कीको 'महाभियोग' बाट टुंगिएला, तर भ्रष्टाचारको रोकथाम र खासगरी राजनीतिज्ञहरू तथा नागरिक समाज तथा 'एनजीओ' माथि लागेका भ्रष्टाचार, नाजायज कमाइ आदि विषयमा के गर्ने ? लोकमान कार्कीमाथि महाभियोग सावित हुनु या संसद्मा पारित हुनुले अरूलाई निर्दोष भएको सावित गर्दैन ।

सम्भवतः सडकमा लोकमानविरुद्ध आएका डा. गोविन्द केसी जस्ताले कुनै वेदाग र दक्ष नागरिक समिति निर्माण गरी कार्कीको निशानामा परेकाहरूलाई सफाइमा प्रमाण पेस गर्न आग्रह गर्दा नागरिक समाज भ्रष्टाचारविरुद्ध छ भन्ने सन्देश जानेछ । 'क्यान्टोनमेन्ट घोटाला', विदेशी अनुदानबारे अपारदर्शिता र एनजीओ र सरकारी सेवामा ठूलो पद एकैपटक ओगट्ने प्रवृत्ति एनजीओ नेतृत्वमा रहेकाहरूको विलासी र अपारदर्शी शैलीसमेत अहिले विवादको शिखरमा छन् ।

यी समग्र मामिलालाई महाभियोगले समेटन् सक्तैन, तर त्यसलाई सम्बोधन नगरे सार्वजनिक जीवनमा रहनेहरूमा अपवादबाहेक कोही सम्मानित रहने छैनन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.