जडिबुटी सम्पदा र हाम्रो स्वास्थ्य सेवा

जडिबुटी सम्पदा र हाम्रो स्वास्थ्य सेवा

जुन मुलुक आफ्नो उन्नतिको लागि आफ्नै साधन-स्रोतमा आश्रित हुन्छ, त्यो मुलुकको दिगो र वास्तविक विकास सुनिश्चित छ । यस मान्यताको कसीमा हेर्दा नेपालको विकासका आधार भनेको जलसम्पदा, कृषि, जडिबुटी विकास तथा पर्यटन नै हुन् । यिनै चार आधारस्तम्भमा नेपाल राष्ट्रको वैभवपूर्ण र समृद्ध अस्तित्व खोज्नुपर्छ । यो आलेख उक्त चार आधार-स्तम्भमध्येको एक जडिबुटी सम्पदा र आयुर्वेदमा चिकित्साकेन्द्रित छ ।

प्रकृतिले नेपाललाई जति सम्पन्न बनाएको छ, त्यसअनुरूपको फाइदा भने हामीले लिन सकिरहेका छैनौं । यो हाम्रा लागि दुर्भाग्य हो । एकातिर आफ्नै घरआँगन तथा भीरपाखामा जडिबुटी रूपको राष्ट्रको ठूलो सम्पदा स्याउला र सोत्तरका रूपमा खेर गइरहेको छ । अर्कोतर्फ सोही जडिबुटी फलिरहेका वनस्पतिलाई यसै छोडेर गाउँघरका सिर्जनशील युवा बर्सेनि लाखौँको संख्यामा रोजगारका लागि बिदेसिरहेका छन् ।

यो दुर्भाग्यपूर्ण परिस्थिति अन्त्य गर्न विदेश पलायन युवाशक्तिलाई फर्काएर स्वदेशमै सदुपयोग गर्न अब राष्ट्रमा एउटा सशक्त अभियानको लहर ल्याउन जडिबुटी र त्यसबारेको चेतनामूलक शिक्षाबाट गर्नु जरुरी भइसकेको छ । कुट्की, अलैँची, अदुवा, लसुन, चिराइतो, यार्सागुम्बा, पाखानभेद, सुगन्धवाल, पाँचऔँले, अश्वगन्धा, गुर्जो, लौठसल्ला, हर्रो, बर्रो, अमला, मह, यष्ठीमधु, बोजो जस्ता हजारौँ औषधीय महत्त्वका जडिबुटी र खाद्यवस्तु नेपालमा उत्पादित हुन्छन् ।

हामीले यी वस्तुको राम्रो बजारीकरण गर्न मात्र जान्नुपरेको छ । सय वर्षभन्दा अघि चन्द्रशमशेरले नेपालमा पाइने मुख्य जडिबुटीहरूको सचित्र कोश 'चन्द्रनिघण्टु' तयार गराएका थिए । आजको आधुनिक युगमा हामी मरेको इच्छा बोकेर प्रगतिको कामना गरिरहेका छौँ । जनताले दुःख पाउने कारण अभाव र गरिबीले मात्र होइन, आफूसँग भएको मालबारे चाल नपाउने कारण पनि त्यति नै गम्भीर छ ।

जुनसुकै देशको वास्तविक विकासको अपरिहार्य आधार शिक्षा र स्वास्थ्य नै हो । शिक्षित र स्वस्थ जनशक्तिले मात्र राष्ट्रमा पौरख चलाउन सक्छ । तर शिक्षा सीपमूलक र प्राविधिक हुन जरुरी छ, जुन शिक्षाले हामीसँग भएको सम्पदाको ज्ञान देओस् र सदुपयोग गर्ने उच्चतम विज्ञान सिकाओस् । अलैँची वा यार्सागुम्बाले आज नेपाललाई जुन लाभ दिएको छ, लोठसल्लाको खेती गरेर त्यसका पात युरोपेली बजारमा जोखेर बेच्न सक्ने सामथ्र्य र सम्भाव्यता नेपालसँग छ ।

लौठसल्लाको उच्चतम सदुपयोग गर्दै देशभित्रै हामी क्यान्सरको राम्रो औषधि तयार गर्न सक्छौं । बर्सेनि विदेशतिर खेर गइरहेको तथा बेरोजगारका कारण कुलतमा समेत लाग्न बाध्य भएका युवाको श्रम र सीपलाई स्वदेशमै सदुपयोग गरी जडिबुटी खेती चलाउन सकिन्छ । यसो गर्दा एकातिर परम्परागत निर्वाहमुखी खेतीबाट नेपाल बाहिर निस्कनेछ भने अर्कोतिर व्यावसायिक खेतीको रूपमा जडिबुटीले समृद्धितिर लैजान्छ ।

अथाह र अमूल्य रूपमा देशभरि लुकेर रहेका जडिबुटीप्रति जनचेतना जगाई राष्ट्रमा आयुर्वेद उपचार पद्धतिको सशक्त विकासको लागि सरकारले नीतिगत रूपमा महत्त्वपूर्ण निर्णयका साथ अगाडि बढ्नुपर्ने बेला आएको छ । आयुर्वेद क्षेत्रमा जनशक्तिको ठूलो अभावका कारण आयुर्वेद चिकित्सा क्षेत्रको स्तर समयानुकुल अगाडि बढ्न सकेको छैन । विशेषज्ञ सेवा दिन सक्ने जनशक्ति झनै कम छ ।

आयुर्वेद चिकित्साको पठनपाठनको स्थिति कमजोर अवस्थामा छ । देशभित्र प्रायः बीएएमएसको मात्र पठनपाठनको संख्यात्मक विकास भएको छ, जुन शिक्षाको कुनै आत्मनिर्भरता दिने व्यावसायिक प्रयोजन छैन । तर आयुर्वेद विधामा प्रतिवर्ष आयुर्वेद क्याम्पस कीर्तिपुरमा दुईजना चिकित्सकले मात्र एमडी पूरा गर्ने अवसर पाउँछन् । आयुर्वेद चिकित्सा परिषद् नेपालमा दर्ता भएका ४१ जना मात्र विशेषज्ञ चिकित्सक छन् ।

छिमेकी भारतमा आयुर्वेद कलेजको संख्या नै तीन सयभन्दा बढी छ । तर नेपालमा आयुर्वेद शिक्षा हतोत्साही अवस्थामा भएकाले जनतामा यसप्रति रुचि नभएर होइन, सरकारको गलत नीति र असन्तुलित व्यवहारको परिणाम हो । नेपाल र नेपालीलाई दिनानुदिन पराश्रित बनाउने अधोगतिशील मनोवृत्ति हो । त्यसैले प्रतिवर्ष कम्तीमा ५० जनासम्म एमडी उत्तीर्ण चिकित्सक तयार गर्नुपर्छ । अनुसन्धानमूलक रूपमा पीएचडीसम्म अध्ययन स्वदेशमै हुन सक्ने प्रबन्ध गर्नुपर्छ, गर्न सकिन्छ ।

 

आयुर्वेद र जडीबुटीको समुचित विकासको लागि अन्तरमन्त्रालय समन्वयका आधारमा अगाडि बढ्नु आवश्यक छ । शिक्षा, स्वास्थ्य, कृषि, वन, उद्योग, वाणिज्य, विज्ञान तथा वातावरण मन्त्रालय आदि मन्त्रालयहरूले जडिबुटी खेती तथा उत्पादनलाई बढावा दिने सम्भाव्यता नभएको होइन । ग्रामीण स्तरमा अहिले दसौँ हजारको संख्यामा सामुदायिक वन सञ्चालनमा छन् । सामुदायिक धारणा र प्रयासबाट राम्रो ढंगबाट वन संरक्षित भएका छन् ।

वन संरक्षणमा जुटेका उत्साही ग्रामीण किसानलाई आफ्नो वनभित्र काष्ठ पैदावारका अतिरिक्त कति अमूल्य जडिबुटी लुकेका छन् भन्ने थाहा छैन । यस्ता वनमा समानान्तर रूपमा जडिबुटी खेती पनि गर्ने ज्ञान र सीप सरोकारवाला समुदायलाई दिने कार्यक्रम वन मन्त्रालयले गर्न सक्छ ।

मुलुकको आर्थिक विकासको लागि तुलानात्मक लाभमा क्षेत्रहरूको पहिचान गरी तिनको अल्पकालीन र दीर्घकालीन विकासको लागि उपयुक्त नीति तर्जुमा गर्नुपर्ने नीतिनिर्माताले सोचेर ठोस निर्णय लिने बेला आएको छ । मुलुकमा रहेका आन्तरिक स्रोतको (जडिबुटी र आयुर्वेद चिकित्सा) पहिचान नहुनु विडम्बना हो । नेपालको जडिबुटीले विदेशीलाई मात्र धनी बनायो, नेपालीको धन हुन सकेन । यसको खोजी कसले गर्ने, कहिले गर्ने ?

तसर्थ अब तर्जुमा गरिने योजनाले हाम्रा सबै जडिबुटी सम्पदाको संरक्षण र संवद्र्धन गर्ने, खाली जग्गा वन या अन्य निकायमा जडिबुटी खेती गर्ने, जडिबुटी खेतीको लागि विशेष तालिमको व्यवस्था मिलाउने तथा उत्पादित जडिबुटी आयुर्वेद वा एलोपेथिक, देशभित्रका जुनसुकै औषधी उद्योगमा खपत गराउने व्यवस्था मिलाउनु जरुरी छ । आयुर्वेद शिक्षा र चेतना आजको नेपालको लागि नितान्त आवश्यक भएकाले समयले औंल्याएको माग सम्बोधन गर्नुपर्ने बेला आएको छ ।

आयुर्वेद चिकित्सा विकासमा मेरुदण्डका रूपमा सञ्चालन गर्न सकेमा रोजगार, उद्यमशीलता, उत्पादनमा वृद्धि हुनुका साथै समृद्धि हासिल हुनेछ । नेपालमा पाइने जडिबुटीको सही सदुपयोग हुन सक्यो भने चिकित्सा सेवा गरिबी निवारणको लागि वाञ्छित उपलब्धि हासिल भई आर्थिक वृद्धिदरमा सफलता मिल्नेछ ।

जडिबुटी एवं आयुर्वेद विधाको अध्ययन-अध्यापन र अनुसन्धानका लागि राष्ट्रिय आयुर्वेद प्रतिष्ठानलाई नयाँ जीवन दिनुपर्ने समय आएको छ । आयुर्वेद प्रतिष्ठान स्वास्थ्य मन्त्रालयमा कसैको झोलामा थन्काएर राखिएको छ । स्वास्थ्य मन्त्रालयले समग्रमा आयुर्वेदको विकासमा विषेश पहल गर्नुपर्छ । तसर्थ आयुर्वेद प्रतिष्ठानलाई ऐन बनाएर स्थापना गरी तत्कालै सञ्चालन गर्नु अनिवार्य भएको छ । यसको स्थापनाले आयुर्वेद चिकित्सामा नयाँ फड्को लिनेछ ।

आयुर्वेद चिकित्सा विकासमा मेरुदण्डका रूपमा सञ्चालन गर्न सकेमा रोजगार, उद्यमशीलता, उत्पादनमा वृद्धि हुनुका साथै समृद्धि हासिल हुनेछ । नेपालमा पाइने जडिबुटीको सही सदुपयोग हुन सक्यो भने चिकित्सा सेवा गरिबी निवारणको लागि वाञ्छित उपलब्धि हासिल भई आर्थिक वृद्धिदरमा सफलता मिल्नेछ ।

धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस आयुर्वेद क्षेत्रले मात्र मनाउने हैन कि समग्र देशवासीले मनाउने वातावरण आजको यस पुनीत दिनले प्रदान गरोस् । हामी सबैले आरोग्यका देवता धन्वन्तरीको प्रार्थना गरौँ । स्वास्थ्यसम्बन्धी जति पनि उद्धरण आउँछन्, ती सबैमा सर्वत्र प्राणी मात्रलाई स्वस्थ राख्नको लागि भन्ने उल्लेख पाइन्छ ।

यसबाट के स्पष्ट हुन्छ भने धन्वन्तरी रोगी व्यक्तिको रोगको उपचार र स्वस्थ व्यक्तिको स्वास्थ्य-रक्षा गर्ने व्यवस्थाको लागि समुद्र-मन्थनका क्रममा प्रकट हुनुभएको थियो । तसर्थ हामी सम्पूर्ण चिकित्सकहरूले रोगीको रोग निर्मूल गरी स्वस्थ व्यक्तिको स्वास्थ्यको लागि रोगनिरोधक उपाय सार्थक बनाउन सकेमा मात्र धन्वन्तरी जयन्ती मनाउनुको सार्थकता रहनेछ ।

-सापकोटा आयुर्वेद क्याम्पस सञ्चालक समितिका अध्यक्ष हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.