नोबेल पुरस्कार र हार्ट-होल्मस्ट्रोम करार सिद्धान्त
अर्थशास्त्र नै यस्तो विषय विधा हो, जसले मानव व्यवहारको वास्तविक अध्ययन र विश्लेषण गरी आर्थिक विवेकशीलता प्रवद्र्धन गराउँदछ । आजभोलि नीति निर्माता र राजनीतिज्ञले कम्तीमा पनि अर्थशास्त्र, दर्शन र राजनीतिशास्त्रको अध्ययन जरुरी हुन्छ भन्न थालिएको छ । किनकि नीतिशिल्पीहरूमा यी तीन पक्षको जानकारी नभए आर्थिक समृद्धि र सामाजिक रूपान्तरणको प्रक्रिया सहज पार्ने हैसियत राख्दैनन् ।
अर्थशास्त्र आर्थिक क्रियाकलापको मात्र अध्ययन गर्दैन, यो समस्त मानव व्यवहारको उपयोगितावादी विश्लेषण गर्ने हैसियत राख्दछ । त्यसैले अर्थशास्त्रको महत्त्व सार्वजनिक जीवनमा धेरै छ । चिकित्सा विज्ञान, भौतिकशास्त्र, साहित्य, रसायन विज्ञान र शान्तिमा उल्लेख्य योगदान गर्ने व्यक्तिलाई योगदानको कदरस्वरूप सन् १९०१ बाट नोबेल पुरस्कार दिन थालिए पनि अर्थशास्त्रमा भने यो पुरस्कारको थालनी सन् १९६९ बाट मात्र भएको हो । हालसम्म विश्वका विशिष्ट ७९ अर्थशास्त्रीहरू योगदानका लागि नौ लाख २२ हजार अमेरिकी डलरसहित यो पुरस्कारबाट एकल वा संयुक्त रूपमा सम्मानित भइसकेका छन् ।
पहिलोपटक सन् १९६९ मा राग्नर फ्रिस्क र जान टिनवर्गेनले आर्थिक गतिशीलताको मोडेल विकास गरेबापत यो पुरस्कार पाएका थिए भने केनेथ एरो, गुनार मिर्डाल, मिल्टन फ्रायडम्यान, बर्टिन ओहलिन, हर्वट साइमन, अमत्र्य सेन, जोसेफ स्टिग्लिज, पाउल क्रुगमेन, अंगुस डेटनलगायतका अर्थशास्त्रीले आर्थिक विषयमा गरेको खोज, अनुसन्धान, अध्ययन र विकास गरेको सिद्धान्तका लागि नोबेल पुरस्कारबाट सम्मानित हुने अवसर पाएका थिए ।
यस वर्षको पुरस्कार भने ओलिभर हार्ट (हार्वर्डका प्राध्यापक बेलायती अर्थशास्त्री) र वेंग्ट्स होल्मस्ट्रोम (म्यासाचुसेट्सका प्राध्यापक फिनिस अर्र्थशास्त्री) लाई संयुक्त रूपमा उनीहरूले प्रतिपादन गरेको हार्ट-होल्मस्ट्रोम करार सिद्धान्तका लागि प्रदान गरिएको छ ।
आधुनिक समाज उत्पादन संगठनका आधारमा सञ्चालित छ र उत्पादन संगठनहरू विविधखाले विवाद, स्वार्थ र तनावमा छन् । उत्पादन क्रियाकलापलाई जति व्यवस्थित गर्न सकियो, समाजको आर्थिक गतिविधि त्यति नै सहजरूपमा संस्थागत हुन्छ । यस्ता उत्पादन संगठनहरूमा रहने विवाद निरूपण संयन्त्रका रूपमा करारलाई लिने गरिन्छ । आधुनिक समाजको आर्थिक सम्बन्धलाई करारले नै निर्धारण गर्दछ ।
चिकित्सा विज्ञान, भौतिकशास्त्र, साहित्य, रसायन विज्ञान र शान्तिमा उल्लेख्य योगदान गर्ने व्यक्तिलाई योगदानको कदरस्वरूप सन् १९०१ बाट नोबेल पुरस्कार दिन थालिए पनि अर्थशास्त्रमा भने यो पुरस्कारको थालनी सन् १९६९ बाट मात्र भएको हो ।
रोजगारदाता र रोजगारबीच कामको करार, ऋणी र बैंकबीच कर्जाको करार, जोखिम व्यवस्थापनका लागि बिमा करार, उत्पादक र वितरकबीच आपूर्ति करार, निर्माण व्यवसायी र सरकारबीच निर्माण करारलगायत थुप्रै करार सम्झौताबाट संस्थाहरूको सम्बन्ध गतिशील भएको हुन्छ । करारका धेरै स्वरूप र सन्दर्भ हुन्छन् तर यसको उद्देश्य एकै हुन्छ संस्थागत आर्थिक सम्बन्ध स्वस्थ एवम् गतिशील बनाउनु ।
करारबिना पक्षहरूबीच आर्थिक सम्बन्ध निर्धारण गर्न सकिँदैन । करार अवधि, करारका पक्ष, करारका सर्तका आधारमा करार लामो छोटो, कम महत्त्वपूर्ण बढी महत्त्वपूर्ण, जोखिम घटीबढी, क्षेत्राधिकार ठूलो र सानो हुन्छ । हार्ट-होल्मस्ट्रोम सिद्धान्तले यही विषयलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनी निष्कर्ष निकालेका छन् ।करारले भविष्यको आर्थिक क्रियाकलापलाई निर्दिष्ट÷नियमित गर्दछ ।
जस्तो कि रोजगारी सम्झौताले राम्रो कार्य उपलब्धिलाई प्रोत्साहन र खराब कार्यलाई दण्ड वा निस्कासन गर्दछ । त्योभन्दा पनि महत्त्वपूर्ण कार्य करारका पक्षबीच जोखिम विभाजन गर्दछ र पक्षहरू भविष्यप्रति आश्वस्त हुन्छन् । हार्ट-होल्मस्ट्रोम सिद्धान्तले पक्षहरू कसरी भविष्यप्रति आश्वस्त हुन्छन् भन्ने प्रवृत्ति विश्लेषणसहितको निष्कर्ष निकालेको छ । यस सिद्धान्तले करार डिजाइनका लागि पक्षहरूबीच समझदारी निर्माण गर्न र सतर्क बन्न सिकाउछ ।
संस्थाहरूलाई कसरी सबल बनाउने, संस्थाभित्रको आर्थिक सम्बन्ध कसरी स्वचालित गराउने र सामाजिक क्रियाकलापमा क्रियाशील बनाउने भन्ने जानकारी यस सिद्धान्तले दिन्छ । किनकि विद्यालय, बैंक, अस्पताल, कारागार, वित्तीय संस्था, बिमा कम्पनी, वृद्धा श्रम, निर्माण, उत्पादन, आपूर्ति आदिको स्वामित्व सार्वजनिक भइकन पनि सेवा प्रदान गर्ने सबै निकाय÷व्यक्ति करारका सिद्धान्तबाट सञ्चालित हुन्छन् ।
सबै संस्थाहरूको उद्देश्य उपलब्धि प्रोत्साहन र ग्राहक सेवा हो, करारले यसलाई स्वस्थ, स्वचालित र संस्थागत गराउँदछ । त्यसैले करार आधुनिक समाज व्यवस्थापनको अभेद्य भाग हो । हार्ट-होल्मस्ट्रोम मोडेलअनुसार यदि व्यवस्थापक अल्पकालीन उपलब्धिलाई प्रोत्साहन गर्ने रणनीति लिन्छ भने दीर्घकालीन उपलब्धि ओझेलमा पर्दछ ।करार सिद्धान्तको व्याख्या गर्ने क्रममा वेंग्ट होल्मस्ट्रोमले सवारीसाधन बिमालाई उदाहरणमा लिएका छन् ।
बिमामा जोखिम हस्तान्तरण गर्ने भए पनि क्षतिको पूर्ण शोधभर्ना नगरी बिमक र बिमितबीच जोखिम विभाजन गरिन्छ । किनकि क्षतिको पूर्णशोधभर्ना हुने अवस्थामा मानवीय कमजोरी वा बेहोसियारीलाई बढावा दिन सक्छ । यसलाई अर्थशास्त्रीले 'बिमा र उत्प्रेरणाबीचको तनाव' (टेन्सन विट्विन इन्स्योरेन्स एन्ड इन्सेन्टिभ) नाम दिएका छन् । यस मोडेलले दुई सवालको उजागर गर्दछ । पहिलो स्वार्थको द्वन्द्व र दोस्रो मापनको समस्या ।
पहिलो सवालले सबै व्यक्तिहरू देवदूत जस्तो निस्वार्थ र इमानदार हुँदैनन्, यदि त्यसो हुँदो हो त होसियारीपूर्वक सवारी चलाउँथे, जुन अवस्थामा सवारीसाधन क्षतिको पूर्ण शोधभर्ना समस्याप्रद हँदैनथ्यो, सवारी दुर्घटना संयोगमात्र हुनेथियो । दोस्रो, प्रत्येक दुर्घटनाको वास्तविक अभिलेखन र मापन पनि सम्भव हुँदैन । परिस्थितिको पूर्ण मापन र अभिलेखन हुने अवस्थामा क्षतिको पूर्ण भुक्तानी समस्याप्रद होइन । त्यसैले यी दुई अवस्थाको सन्तुलनमा नै उचित बिमा सम्झौता गराउन सकिन्छ ।
उत्पादन संगठनहरूमा रहने विवाद निरूपण संयन्त्रका रूपमा करारलाई लिने गरिन्छ । आधुनिक समाजको आर्थिक सम्बन्धलाई करारले नै निर्धारण गर्दछ । रोजगारदाता र रोजगारबीच कामको करार, ऋणी र बैंकबीच कर्जाको करार, जोखिम व्यवस्थापनका लागि बिमा करार ।
यस प्रकारको व्यवहार सबै प्रकारको करार व्यवहारमा देखिने गर्दछ, चाहे त्यो रोजगारी करारमा होस् वा कर्जा करारमा वा अन्यमा । त्यस्तै सबैजस्तो अवस्थामा रोजगारदाता रोजगार पक्षभन्दा जोखिम लिन सबल देखिन्छ । यदि रोजगार व्यक्ति रोजगारदाताको भावनाअनुरूप नै काम गथ्र्यो भने त्यहाँ करार सम्झौताले प्रोत्साहन नै पाउँदैनथ्यो । त्यसैले दुवै पक्ष जोखिम विभाजनको आदर्श बिन्दुमा सम्झौता गर्न चाहन्छन् वा हितसाम्य बिन्दु नै त्यो अवस्था हो ।
यो प्रक्रिया सामान्य बजारमा वस्तु खरिदबिक्रीका लागि क्रेताबिक्रेताबीच मूल्य निर्धारणको प्रक्रिया सरह नै हुन्छ । तर दीर्घकालीन रूपमा रोजगार पक्ष (एजेन्ट) को व्यवहार रोजगारदाता (प्रिन्सिपल) बाट प्रत्यक्ष निगरानी गर्न सकिँदैन भने उपलब्धिका आधारमा भुक्तानी (पर्फमेन्स पे) वा उपलब्धिलाई प्रोत्साहन गरिन्छ । होल्मस्ट्रोम र साभेलले लामो अध्ययनपछि सन् १९७९ मा निकालेको निष्कर्षले आदर्श करार उपलब्धिसँग आबद्ध गरेर नै गर्न सकिन्छ भन्ने देखाएको छ ।
त्यस्तै सन् १९८२ मा प्रकाशित अर्को अध्ययन निष्कर्षले गतिशील अवस्थामा अल्पकालीन उपलब्धिलाई हेरेर मात्र करार गर्न सकिँदैन, यस अवस्थामा सङ्गठन (प्रिन्सिपल) भविष्यको उपलब्धिलाई हेर्दछ भने रोजगार पक्ष (एजेन्ट) आफ्नो वृत्ति-सुविधामा आश्वस्त भएर करारमा प्रोत्साहित हुन्छ । त्यस्तै प्रतिस्पर्धा, परिवेश र समूहकार्यमा पक्षहरू आदर्श गतिशील अवस्थाको खोजीमा रहन्छन् ।
त्यस्तै ओलिभर हार्टले अमूर्त करार, करार पक्षको सौदाबाजी र यसले संगठनको निर्णयमा पार्ने प्रभावका साथै निजी र सार्वजनिक क्षेत्रका सेवा व्यवस्थापन करारको व्यावहारिक परिस्थितिको विवेचना गरेका छन् । हार्टका अनुसार सार्वजनिक क्षेत्रले उपलब्ध गराउने सार्वजनिक उपयोगिताका वस्तु/सेवामा गैरकरारीय प्रकृति विद्यमान रहन्छ । यस अवस्थामा हुने लगानी लागत घटाउन वा गुणस्तर बढाउने कार्यमा पक्षहरू केन्द्रित हुने गर्दछन् ।
करारको सर्त विशेषीकृत नहुने हुँदा सार्वजनिक क्षेत्रमा निजी क्षेत्रको जस्तो प्रोत्साहन पद्धति लागू गर्न सकिँदैन । वा ज्यादै कम सकिन्छ । तर सार्वजनिक उपयोगिता क्षेत्रका सेवामा निजी क्षेत्रलाई सुम्पिएको कामभन्दा सार्वजनिक क्षेत्रले व्यवस्थापन गरेको कार्य बढी प्रभावकारी देखिएको उदाहरण पनि पाइन्छ । अमेरिकामा निजी क्षेत्रले व्यवस्थापन गरेको कारागार सेवाका तुलनामा सरकारी तवरबाट व्यवस्थापन गरिएको कारागार सेवा उम्दा रहेको अमेरिकी न्याय विभागको प्रतिवेदनमा उल्लेख छ ।
हार्ट-होल्मस्ट्रोम करार मोडेलले सार्वजनिक उपयोगिता क्षेत्र सुधारको लागि पनि आधार दिने देखिन्छ ।हार्ट-होल्मस्ट्रोम करार सिद्धान्तले सरकारी, निजी तथा संस्थात्मक व्यवहारलाई कसरी राम्रो बनाउन सकिन्छ, जोखिम विभाजनलाई कसरी आदर्श बनाउन सकिन्छ र पक्षहरू (एजेन्ट र प्रिन्सिपल) कसरी एकअर्काप्रति आश्वस्त बन्न सक्छन् भन्ने विषयमा व्यावहारिक कार्यढाँचा दिएको छ ।
यो नौलो विषय नभए पनि यसका कतिपय व्याख्या र विश्लेषण भने तार्किक रूपबाट गरिएको छ । यसले आर्थिक तथा उत्पादन क्षेत्रलाई मात्र होइन, आधुनिक सामाजिक सम्बन्धका अन्य क्षेत्रहरू पनि उपयोग गर्न सकिन्छ । आधुनिक विश्वव्यापीकृत समाजमा करार व्यवस्थापनको महत्त्व दिनप्रतिदिन बढ्दै गएकोले हार्ट-होल्मस्ट्रोम सिद्धान्त निजी, सार्वजनिक तथा संस्थात्मक क्षेत्रको नीति तथा निर्णयमा प्रयोग गर्न सकिन्छ ।
हार्ट-होल्मस्ट्रोम सिद्धान्तले वास्तविक जीवनमा करारलाई व्यवस्थित गर्न र करार डिजाइनमा सम्भाव्य कमजोरी हटाउन नीति संयन्त्रको काम गर्नेछ । धन्यवाद रोयल स्वेडिस एकेडेमी अफ साइन्स, जसले निकै व्यावहारिक र सर्वसाधारणको जीवन प्रणालीलाई प्रत्यक्ष प्रभाव पार्ने विषयवस्तुलाई पुरस्कारमार्फत सम्मान गर्यो ।