सवारी दुर्घटना के हाम्रो नियति हो ?

सवारी दुर्घटना के हाम्रो नियति हो ?

नेपालमा सवारी दुर्घटना सामान्य हो या असामान्य ? सामान्य भनौं भने एकपछि अर्को दुर्घटना भइरहेछ । असामान्य भनौं भने दुर्घटना दिनहुँजसो भइरहेछ, यो देख्न र सुन्नमा सबै अभ्यस्त भइसके । दसैंअघि संसद्मा गृहमन्त्रीले दिएको जानकारीअनुसार २०७३ साल साउन १९ गतेबाट दुई महिनाभित्र १८१ दुर्घटना र ३०८ जनाको मृत्यु भयो । संयोग नै मान्नुपर्छ, उक्त अवधि नयाँ सरकार गठनपछिको हो ।

त्यसलाई लिएर सामाजिक सञ्जालमा केही टीकाटिप्पणी पनि भए । तर त्यसको कुनै तुक थिएन । जे होस्, त्यति छोटो अवधिमा सवारी दुर्घटनाकै कारण त्यत्तिका मानिसको मृत्यु हुनु भयावह स्थिति हो ।

अधिकांश ठूला दुर्घटना सार्वजनिक यातायातसम्बद्ध छन् । यसले मुलुकमा यातायात कति जोखिमपूर्ण छ भन्ने छर्लंग हुन्छ । लामो यात्राको क्रममा सबैले कहीँ न कहीँ सवारीसाधन दुर्घटनामा परेको देख्छन् नै । दसैंपछि पनि काठमाडौं-ताप्लेजुङ-काठमाडौंको ६ दिने यात्रामा मैले ३ वटा दुर्घटना देखेँ ।

सवारी दुर्घटना किन हुन्छ, सबैलाई थाहा छ । कसरी न्यून गर्न सकिन्छ, त्यो पनि सबैलाई थाहा छ । मुलुकमा सरकार छ, सवारी नियन्त्रण र त्योसँग सरोकार राख्ने सरकारी निकायहरु छन् । अनि, संगठित यातायात व्यवसायी पनि छन् । यद्यपि, दुर्घटना असामान्य रूपमा सामान्य बन्दै गइरहेको छ । यो राज्य व्यवस्थाको कमजोरी हो या यातायात व्यवसायीको लापरबाही वा हामी नेपालीको नियति ?

सवारी गुड्ने सडकको स्तर र स्थिति कस्तो छ, सबैलाई थाहै छ । सडक जस्तोसुकै भए पनि सवारी गुडिरहेकै छन् । कुनै निश्चित सडक खण्डको स्थितिबारे सबैलाई थाहा नभए पनि कम्तीमा स्थानीयस्तरमा जिम्मेवार निकाय र यातायात व्यवसायीलाई थाहा छ । त्यही बाटो ओहोरदोहोर गरिरहने चालकलाई थाहा नहुने त कुरै भएन । सडकको स्थिति सामान्य छैन भने यातायात व्यवसायीले किन सवारी चलाउन रोकेर राज्यलाई दबाब दिन्नन् ?

सडकमा आफ्नो एकाधिपत्य (सिन्डिकेट) जमाउन मात्र दबाब दिने ? सडकको अवस्था असहज रहिरह्यो भने अरू आउँदैनन् र आफूले मात्रै हालीमुहाली गर्न पाउने मनोविज्ञानबाट पनि ग्रसित होलान् । सडक विभागको उपस्थिति सडक सञ्जाल पुगेका सबै जिल्लाहरूमा छन् । तिनका उपस्थिति केका लागि ?

सवारी चलाउन योग्य चालक चाहिन्छ । को योग्य र को अयोग्य, म छुट्याउन सक्दिन । सवारीचालक अनुमति-पत्र (लाइसेन्स) दिने जिम्मेवार निकाय मुलुकमा क्रियाशील छ । विडम्बना के छ भने लाइसेन्स लिन काठमाडौंमा असफल हुनेहरू अरू सहरमा सजिलै सफल हुन्छन् । अरू मुलुकमा त व्यावसायिक र सामान्य सवारी चालकमा पनि फरक हुन्छ । अर्थात, व्यावसायिक बन्न धेरै तालिम र अनुभव चाहिन्छ । नेपालमा त ‘स्टेरिङ’ सिधा गर्न जानेपछि भर्खरको अल्लारेले पनि दर्जनौं यात्रु बोकेर सवारी घुइक्याउँछन् ।

कस्ता सवारीसाधन चलाउन कुन स्तरका दक्ष चालक चाहिन्छ भन्ने मापदण्ड सरकार किन बनाउँदैन ? हुन त, हल्का र गह्रौं सवारीको छुट्टै लाइसेन्स हुन्छ । त्यसको लागि चाहिने मापदण्ड पर्याप्त छ ? यो त लाइसेन्सवालाको कुरा भोे । धेरैजसो दुर्गम र त्यसमा पनि पक्की बाटो नबनिसकेका ठाउँमा कतिपयले त विना लाइसेन्स भाडाका सवारी चलाइरहेका हुन्छन् । यातायात व्यवसायी स्वयंले पनि आफ्नो पचासौँ लाख रुपैयाँ लगानी भएको सवारीसाधनको सुरक्षाको लागि भरपर्दो चालकको व्यवस्था गर्नुपर्ने हो ।

गर्नेले गरेका पनि होलान् । नगर्नेका हकमा चालकको पारि श्रमिकको पनि कुरा होला । भर्खरका आलाकाँचालाई कम पारि श्रमिक दिँदा पनि पुग्ला । केही गरी दुर्घटना भइहाल्यो भने बिमा छँदै छ भनेर सवारी धनी एक हदसम्म ढुक्क हुने गरेका पनि होलान् ।

कुनै एउटा सवारीसाधनले कति यात्रु वा सामान बोक्न सक्छ भन्ने क्षमता हुन्छ । क्षमताभन्दा बढी यात्रु वा सामान बोक्न हुन्न भन्ने सामान्य नियम हुनुपर्ने हो । सायद नेपालमा त्यस्तो नियमै छैन । कुनैकुनै ठाउँमा प्रहरी चेकपोस्ट छ भने त्यहाँ पुग्नुभन्दा केही वर छतमा रहेका यात्रुलाई ओरालेर हिँडाउँछन् र चेकपोस्टको केही परबाट फेरि चढाउँछन् । यो चेकपोस्टमा बसेका प्रहरीलगायत सबैलाई थाहा छ । क्षमताभन्दा डेढ-दुईतिहाइले बढी यात्रु र सामान बोकेर सवारी गुडिरहेका हुन्छन् । यसमा हामी सबै सहभागी छौँ । यस्तो गर्नु हुन्न भन्ने सवारीवाला र यात्रु दुवैलाई थाहा छ ।

तर गर्ने के ? सवारीवालालाई धेरै यात्रु चढाएर आम्दानी बढाउनु छ । यात्रुलाई ठेलमठेल गरेर भए पनि गन्तव्यमा पुग्नु छ । अर्को सवारी कुर्ने धैर्य र समय छैन । हुन पनि अर्को सवारी पाउने हो कि होइन ठेगान हुन्न । खासगरी लामो दूरी र सुदूर ठाउँमा यो समस्या छ । सहरमा पनि पाएसम्म कोच्याकोच्यै गर्छन् । यात्रुका चाप र सुविधालाई ध्यानमा राखी नियमित तालिका बनाएर सवारी चलाउने व्यवस्था गर्न सकिन्न ? अनि सीटभन्दा बढी यात्रु बोक्न नपाइने कडा नियम ल्याउन सकिन्न ?

सडक र क्षेत्र हेरी सवारीको गति निर्धारण हुन्छ । हामीकहाँ त्यो छैन भन्दा पनि हुन्छ । केही निश्चित ठाउँमा गति सीमित भन्ने संकेत राखिएका देखिन्छन् । त्यसको पालना हुँदैन । राजमार्गहरूमा त गति नियन्त्रणको कुरै छैन । चालकमा भर पर्ने हो । साँघुरा र घुम्तीमा पनि हावाको बेगमा कुदाउँछन् । जस्तोसुकै अनियन्त्रित तरिकाले सवारी चलाए पनि यात्रुले खासै हस्तक्षेप गर्दैनन् । चालकलाई सवारी चलाइरहँदा असन्तुष्टि व्यक्त गर्न हुन्न, किनकि उनी रिसाएर ‘डिस्टर्ब’ हुनसक्छ भन्ने छ ।

गति नियन्त्रणकै लागि तोकिएको समयभित्र गन्तव्यमा पुगे-नपुगेको अनुगमन गर्ने व्यवस्था पनि छ । तर ‘चोरको सय दाउ’ भने झैँ समय सीमा मिलाउन कुनै निश्चित ठाउँमा चालक दल समय बिताउँछन् र सवारी हँकाई त आफ्नै मर्जीमा । सिन्धुलीको बाटो काठमाडौं फर्किंदै थिएँ, म चढेको गाडी बिगे्रर सोलुखुम्बुबाट आउँदै गरेको पिकअपमा लिफ्ट पाएँ, सवारीचालक सहयोगी भावनाको रहेछ । अँध्यारो भइसकेको थियो, ठाउँठाउँमा प्रहरीले रोक्थ्यो, लाइसेन्स र ब्ल्यु बुक खोज्थे ।

चालकका अनुसार कहिलेकाहीँ दूरी र अवधि पनि चेक गर्छन् रे । ३९ किलोमिटरलाई १ घन्टा १० मिनेटको समय तोकिएको रहेछ । उनका अनुसार दिइएको अवधि ठीकै हो, कुदायो भने १५÷२० मिनेट चाँडै पुग्न सकिन्छ । सवारी गति नियन्त्रण गर्न अरू प्रभावकारी उपाय के होला ? दुर्घटना हुने मुख्य कारण अनियन्त्रित गति नै हो । अरू मुलुकमा त मुख्य-मुख्य सडक, राजमार्ग र जोखिमयुक्त खण्डमा स्वचालित क्यामेरा (सीसीटीभी) द्वारा सवारीको गति अनुगमन गरिरहेका हुन्छन् ।

सवारी चलाउँदा तीव्र गतिमात्र होइन अरू लापरबाही पनि हुने गर्छन् । चालकको ध्यानमा विचलन आउने गरी बढी गफ गर्ने । कुनै बेला लामो दूरीका सार्वजनिक सवारीमा चालकसँग महिला राख्न नपाउने नियम पनि थियो, अहिले के छ थाहा छैन ? मोबाइल फोनमा लामो गफ गर्दै सवारी चलाउने, त्यो पनि घुम्ती र अप्ठ्यारो बाटोमा ।

सवारी चलाउँदा मोबाइल चलाउन नपाउने कडा नियम किन ल्याइन्न ? मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमा धेरै हदसम्म कमी आइसकेको हो कि भन्ने लाग्छ, खासगरी सहरी क्षेत्रमा जहाँ मापसेको लागि ठाउँ ठाउँमा सघन जाँच गरिन्छ । तथापि, गएको दसैं अवधि (घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म) मा काठमाडौं उपत्यकामा मात्रै १४६ सवारी दुर्घटना र १० जनाको मृत्यु भयो । चाडबाड भएकोले तीमध्ये धेरै मापसेकै कारण भएका होलान् भन्ने अनुमान लगाउन सकिन्छ । त्यस्तै लामो दूरी र दुर्गममा चल्ने यातायातमा मापसेको अवस्था के छ ? यसतर्पm पनि सरोकारवालाको ध्यान जान जरुरी छ ।

हाम्रो अधिकांश सडक र राजमार्गमा दुईतर्फी सवारी चल्छन् । पहाडी राजमार्ग साँघुरा, घुम्ती र अप्ठ्यारा छन् । सडकको मध्यभागमा लेन छुट्याउन सेता धर्सा पनि कोरिएका हुन्छन् (सबै ठाउँमा छैनन्) । तर ती धर्साको कुनै मतलब राख्दैनन् । अरू धेरै देशमा २ देखि ५ वटा लेन भएका एकतर्फी बाटा हुन्छन्, जहाँ विपरीत दिशाबाट आउने अर्को सवारीसँग ठोक्किने सम्भावनै हुँदैन ।

खासगरी लामो दूरी र सुदूर क्षेत्रमा यातायातका साधनको अभाव भएकाले यात्रुको चाप बढी छ । सहरमा पनि पाएसम्म कोचेरै राख्ने प्रचलन छ । यात्रुको चाप र सुविधालाई ध्यानमा राखी नियमित तालिका बनाएर सवारी चलाउने व्यवस्था गर्न सकिन्न ? अनि सीटभन्दा बढी यात्रु बोक्न नपाइने कडा नियम ल्याउन सकिन्न ?

हामीकहाँ त्यस्तो एकतर्फी बाटो केही ठूला सहरका निश्चित भाग र काठमाडौं-भक्तपुरको एउटा छोटो खण्डमा बाहेक अरू ठाउँमा छैन । एकले अर्कोलाई उछिन्न (ओभरटेक) होस् वा घुमाउरो मोडमा, असावधानी र जोखिमका साथ सवारी चलाउँछन् । जसको कारण राजमार्गलगायतका खण्डमा विपरीत दिशाबाट आएका सवारीसाधनहरु एक आपसमा जुधेर अत्यधिक दुर्घटना हुने गर्छन् । त्यस्ता दुर्घटनामा साना सवारी र मोटरसाइकलको लापरबाही बढी पाइन्छ र तिनैमा सवारहरू ठहरै जान्छन् । यसको लागि चालक आफैं सजग र अनुशासित हुनुभन्दा अर्को विकल्प छैन ।

सवारीचालक एउटा मानिस हो । मानिसको मानसिक र शारीरिक क्षमताको एउटा हद हुन्छ । एउटा चालकले कति घन्टासम्म विना आराम र नसुतिकन लगातार सवारी चलाउन सक्छ ? कुनै मापदण्ड त होला । पहिले लामो दूरीमा चल्ने सवारी, खासगरी रात्रीबसमा पालो फेर्ने चलन थियो । अहिले पनि होला ।

के त्यो सबैलै इमान्दारीपूर्वक पालना गर्दै आएका होलान् ? कतिपय दुर्घटना चालक निदाएको कारण भएका छन् । कुनै सवारी धनीले खर्च किफायत गर्न एउटै चालकबाट काम लिन्छन् र चालकले पनि केही थप पारि श्रमिक पाउने भएकाले मान्छन् । अर्कोतिर, पालो दिने चालक पालो लिनुअघि सुत्नुको सट्टा अन्य काममा लागेका पनि हुनसक्छ । अतः चालक नयाँ भए पनि उनी थकित नै हुन सक्छ । यो पनि व्यक्तिकै जिम्मेवारीबोधमा भर पर्ने कुरा हुन् ।

सवारीसाधन एउटा यन्त्र हो, त्यसलाई नियमित मर्मतसम्भार चाहिन्छ । लामो दूरीमा चल्ने सवारीको मर्मतसम्भार सामान्यतया हुने गर्दछ । तर, छोटो दूरीमा र भर्खर भर्खर खोलिएका सडकमा चलाइने सवारी अक्सर दुरुस्त अवस्था (कन्डिसन) मा हुन्नन् । यस्ता सवारी दुर्घटनामा पर्छन् वा दुर्घटनाका कारण बन्छन् । यसको अनुगमन कसले गर्ने ? बेलाबखत सडकमा देखिन्थ्यो, ट्राफिक प्रहरीले हर्न, साइडलाइट आदि जाँच गरेको । भन्नैपर्दा त्यत्तिले पुग्दैन, तर के गर्ने । सवारीसाधनको नियमित परीक्षणमा समेत अनियमितता हुने गरेको गुनासो व्याप्त छ ।

अरू यान्त्रिक जाँचपास त धेरै टाढाको विषय भयो । म अस्ति ताप्लेजुङबाट काठमाडौं फर्किंदै गर्दा धुलिखेल आइपुग्न करिब २५÷३० किमि बाँकी रहँदा गाडीको हेडलाइट अचानक निभ्यो र चालकको दायाँतर्पmबाट भित्र धुवाँ निस्क्यो । चालकले इन्जिन तात्तिएको होला भनेर पानी खन्यायो । एकैछिनमा हेडलाइट बल्यो र गाडी गुड्यो । गाडी गुड्न के थालेका थियौं फेरि धुवाँको मुस्लो निस्क्यो, हेडलाइट निभ्यो र गाडीमा आगो बल्न थाल्यो । तत्काल पिउनको लागि राखेको मिनरल पानीले आगो निभायो । गाडी नचल्ने भयो । त्यत्तिखेर पानी नभएको भए ठूलै दुर्घटना हुन्थ्यो । पक्कै पनि मर्मतसम्भार नभएकै कारण बीच बाटोमा गाडीको त्यो हालत भएको हुनुपर्छ ।

यातायात व्यवसायी यति संगठित र बलिया छन् तिनका लागि सवारी दुर्घटना खासै केही होइन । त्यसो हुनुमा सुनिन्छ, तिनका आ-आफ्नो आन्तरिक सञ्जाल (संघ) हुन्छ र छुट्टै कोष हुन्छ । कुनै सवारीसाधन दुर्घटना भएमा वा कोही दुर्घटनामा परी घाइते÷मृत्यु भएमा त्यसको खर्च उक्त कोषबाट हुने गर्दछ । तिनले विभिन्न अस्पतालहरूसँग सम्झौता गरेका हुन्छन् ।

घाइतेले तोकिएको अस्पतालमा उपचार पाउँछन् । व्यावसायिक सुरक्षाको हिसाबले यस्तो व्यवस्था पक्कै पनि राम्रो हो । तर यसको एउटा मुख्य कमजोरी छ । कुनै दुर्घटना हुँदा सम्पूर्ण जिम्मेवारी संघले लिन्छ र चालकलाई छुटाउँछन् । यसो हुँदा चालकको जिम्मेवारीबोध र उत्तरदायित्वमा कमी हुने गरेको छ, अर्थात चालक मलाई केही हुन्न भन्नेमा ढुक्क हुन्छन् । यदि चालकको गल्तीअनुरुप कडा सजाय दिने व्यवस्था पनि साथसाथै हुने हो भने चालकबाट हुने लापरबाहीमा उल्लेख्य कम गर्न सकिन्छ ।

सवारी चालकले ट्राफिक नियम उल्लंघन गरेमा कसुर हेरेर कक्षामा बस्नुपर्ने व्यवस्था पनि गरेको छ । यो राम्रो हो । प्रत्येक पटक सवारीचालक अनुमति-पत्रको नवीकरण गर्दा सबैले तीन/चार घन्टाको अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुपर्ने अनिवार्य व्यवस्था हुन सके अझ राम्रो हुन्थ्यो । अन्तरक्रियामा ट्राफिकसम्बन्धी नयाँनयाँ नियमको जानकारी गराउनुका साथै एक वर्षभित्र भएका ट्राफिक कारबाही र दुर्घटनाबारे श्रव्यदृष्यसहित जानकारी गराउने हो भने सवारीचालकहरूमा सचेतना कायम भइरहन्छ ।

अन्त्यमा, एउटा प्रसंग । नारायणघाट-मुग्लिङ खण्ड सबैभन्दा बढी यातायात गुड्नेमध्येमा पर्दछ । यस खण्डमा भइरहेको सडक विस्तारले धेरै महिनादेखि यात्रुले सास्ती बेहोर्दै आएका छन् । म पनि चितवनको रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा अध्यापन गर्न जाँदा धेरै पटक उक्त बाटोमा सास्ती खाएको छु । रामपुर जाने भनेपछि परिवार र साथीहरुले बाटोलाई लिएर चासो देखाइहाल्छन् । बितेको एक वर्षभित्र उक्त खण्डमा धेरै दुर्घटना भइसके । सडकमा खाल्डाखुल्डी यति छन् कि भनि साध्य छैन ।

विडम्बना के भने एउटा खाल्टो पुर्न एउटा गाडी पल्टिनुपर्छ वा नारायणीमा खस्नुपर्छ । आखिर खाल्डाखुल्डी त पुर्न सकिँदोरहेछ । त्यसको लागि साधन नभएको पनि होइन । प्रत्येक ५/७ किलोमिटरको दूरीमा डोजर, क्रेन क्रियाशील छन् । गएको दसैंको मुखमा समाचार आयो, नारायणघाट-मुग्लिङ खण्ड सरकारी र निजीस्तरको सहभागितामा दसैंको लागि सहज भयो । खासगरी खाल्डाखुल्डी पुरिएछन्, केही पिच पनि भएछ र केही ठाउँमा अप्ठ्यारा पन्छाएछन् । दसैंको लागि मात्र किन ? त्यही काम पहिले पनि हुनसक्थ्यो । किन भएन ?

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.