लोकमानः हर्ष न विस्मात्

लोकमानः हर्ष न विस्मात्

केही समयदेखि लोकमानसिंह कार्की जताततै फैलिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको हैसियतमा कार्कीको उदय र सम्भावित विलय एक रहस्यमय कथा नै रहेको छ । उनी किन आए अथवा किन ल्याइए र अहिले किन जाँदैछन् अथवा पठाइँदैछन् सार्वजनिक रूपमा प्रष्ट छैन । उनी कुन कारणवस सो पदमा नियुक्त भएका थिए र कुन कारणवस त्यहाँबाट हटाइन थालिएको हो सो कुरा पनि राम्ररी बुझ्न गाह्रो भएको छ ।

संसद्, सडक, छापामा उनी जसरी लटरम्म छाएका छन् त्यसअनुसार उनीमाथि अत्यधिक सार्वजनिक चासो देखिनुपर्ने हो । तर उनको काण्डमा चासो राख्नु त कहाँ हो कहाँ जनताले राम्ररी बुझ्न पनि सकेका छैनन् र बुझेका पनि छैनन् । त्यसको मतलब उनी बसे पनि के हुने हो र उनी गइहाले पनि के हुने हो र, भन्ने आम धारणा देखिएको छ । भनाइको तात्पर्य उनी अख्तियार प्रमुख भएर जनतालाई केही फरक परेको छैन न उनी गइहालेको खण्डमा पनि जनताले कुनै दुःख मनाउनुपर्ने अवस्था छ ।

अख्तियार प्रमुखको नाताले कार्की काण्डको मुख्य विषय भ्रष्टाचार हुनुपर्ने हो । तर त्यस्तो छैन । भ्रष्टाचारविरुद्ध उनले युद्ध गरेको भए र त्यसको प्रभाव जनताले महसुस गर्न सकेको भए जनताले उनको जयजयकार गर्थे र उनलाई काँधमा बोक्थे । तर त्यस्तो अवस्था देखिएको छैन । अर्कोतिर उनले भ्रष्टहरूको साथ दिएको भए अथवा उनीहरूसित मिलेमतो गरेको देखिएको भए पनि जनता उनीमाथि जाई लाग्थे । त्यस्तो अवस्था पनि सिर्जना भएको छैन ।

जनताले सरकारी कार्यालयहरूमा जसरी काम पर्दा बढी पैसा तिर्नु परेको छ र तिरिरहेका छन्, त्यसमा पनि कुनै परिवर्तन भएको छैन । आखिर जनताले कार्कीमाथि किन सरोकार राख्ने त ? उनीहरूलाई परेको पीर मर्का हटाउने काम उनीबाट भएको छैन । उनले जनताको पीर मर्का बढाउने काम पनि गरेको देखिएन । जनताले देखेको एउटै चीज हो कार्की र राजनीतिक नेताहरूको अहंकारको टक्कर । उनीहरू बीचको तानातानी र शक्ति प्रदर्शनी । कार्की रहन्छन् कि फालिन्छन् भन्ने उत्सुकता नेपाली जनतामा त्यतिसम्म मात्र देखिन्छ जति अमेरिकाको राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पले जित्छन् कि हिलारी क्लिन्टनले । भनाइको तात्पर्य कौवालाई बेल पाक्यो हर्ष न विस्माद् ।

कार्की काण्डको महत्व भ्रष्टाचारभन्दा अरू नै विषयमा भने अवश्य देखिएको छ । उनलाई फाल्न जसरी केही राजनीतिक नेताहरू तत्पर भए उसरी नै उनलाई बचाउन नेपालस्थित भारतीय अधिकारीहरू सक्रिय भए । कार्कीलाई हटाउन किन नेपाली नेताहरू लागिपरेका छन् र उनलाई बचाउन किन भारतीय अधिकारीहरू दौडधुप गरिरहेका छन् भन्ने रहस्य पूर्णरूपले खोलिएको छैन । तर घटनाक्रमबाट थोरैथोरै बुझ्न सकिन्छ ।

पहिलो रहस्य कार्कीको नियुक्तिमै थियो । भारतीय अधिकारीहरूको पहल र दबाबमा उनी अख्तियार प्रमुख हुन पुगेको एक किसिमले खुला जानकारी भएको हो । उनलाई मन पराए पनि नपराए पनि प्रमुख दलहरूका प्रमुख नेताहरूले उनको नाम अघि सारेका हुन् । दोस्रो जनआन्दोलनमा मुख्यसचिव रहेका कार्की सो आन्दोलन दबाउन भूमिका खेलेको भन्ने घोषित आरोप लागेका व्यक्ति भने हुन् । आफूहरूले थालेको आन्दोलन दबाउने व्यक्तिको नाउँ यति ठूलो ओहदामा किन सिफारिस गर्न दलका नेताहरू पुगे त ? त्यो तथ्य आज सम्म खुलेको छैन ।

त्यसबेला उनीहरूले कार्कीलाई हाइहाइ गरेर स्वागत गरेका थिए । उनैलाई अहिले किन बाइबाइ गर्न लागेका हुन् त्यो पनि खुलेको छैन । जुन दोषारोपण उनीमाथि लगाइएको छ ती बाहिरी देखावटी मात्र हुन् । भित्री सत्य खुलाइएको छैन । खोल्न हुने खालको पनि छैन । कार्कीसित भारतको नाम उनको नियुक्तिमै जोडिएको हो । उनलाई अख्तियार प्रमुख बनाएर भारतले के स्वार्थ पूरा गर्न खोजेको हो सो पनि खुलेको छैन । यस्तो रहस्य खोल्न मिल्ने पनि होइन ।

आखिर जनताले लोकमानसिंह कार्कीमाथि किन सरोकार राख्ने त ? उनीहरूलाई परेको पीर मर्का हटाउने काम उनीबाट भएको छैन । उनले जनताको पीर मर्का बढाउने काम पनि गरेको देखिएन । जनताले देखेको एउटै चीज हो कार्की र राजनीतिक नेताहरूको अहंकारको टक्कर ।

उनलाई सो पदमा राखेर भारतले सद्भावना स्वरूप नेपालमा भ्रष्टाचार हटाउन खोजेको अवश्य पनि होइन । किनभने न त्यो भारतको कार्यक्षेत्रभित्र पर्छ न त्यसमा चासो नै हुन सक्छ । पत्यारलाग्दो कुरा एउटै हुन सक्छ, त्यो हो भारतको विरोध गर्ने राजनीतिककर्मी, कर्मचारी, नागरिकमाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाएर दुःख दिन सकिन्छ । यसै नियतबाट ककसमाथि कारबाही गरिएको हो सो पनि खुलेको छैन । के यही कारणले उनलाई हटाउन खोजिएको हो भन्ने प्रश्नको प्रष्ट जवाफ पनि पाउन सकिन्न ।

लोकमान सिंह कार्कीले पहिलो हमला एमालेका नेताहरूमाथि गरेको सार्वजनिक जानकारीकै कुरा हो । त्यसपछि माओवादी केन्द्रका नेताहरूमाथि लडाकु क्याम्पमा भएको भ्रष्टाचारको आरोपलाई अगाडि बढाउन खोजिएको पनि सार्वजनिक भएको हो । सो आरोपबाट हाल प्रधानमन्त्री र मन्त्री बनेका कतिपय व्यक्तिहरू अपराधी ठहरिन सक्छन् । तर सो काम पनि अख्तियारले अगाडि नबढाउने जानकारी आएको हो । यसै प्रसंगमा माओवादी केन्द्र र एमालेले कार्कीविरुद्ध माहाभियोगको प्रस्ताव संसद्मा किन दर्ता गराएको भन्ने बुझ्न सकिन्छ ।

अख्तियारले नेपाली कांग्रेसका कुनै पनि नेतामाथि कारबाही नगरेकाले सो दलले कार्कीलाई हटाउने निर्णय गरेको छैन । भारतको कुरा कांग्रेसले सहजरूपमा स्वीकार गर्ने हुनाले र सो दलले कार्कीको विपक्षमा मतदान गर्ने निर्णय नगरेकोले यसमा सामञ्जस्य देखिन्छ । यस पृष्ठभूमिमा कांग्रेसले प्रस्तावको विपक्षमा मतदान गर्न सक्छ । कार्कीविरुद्धको महाभियोगको प्रस्ताव तुहिन पनि सक्छ । त्यसकारण कार्की काण्डमा भ्रष्टाचारको प्रश्न जोडिएको छैन । यसमा राजनीतिक दाउपेच र शक्ति प्रदर्शन मात्र देखिन्छ । यसैकारण यो जनताको चासोको विषय बनेको छैन ।

कार्की एक अद्भूत व्यक्तित्व हुन् । उनी एक राजनीतिक परिवारमा जन्मेका हुन् । उनका पिता भूपालमानसिंह कार्की पञ्चायत व्यवस्थामा एक शक्तिशाली व्यक्तित्व नै थिए । उनी अनेक सरकारी ओहदामा बसेका थिए र राजसभाको अध्यक्षसमेत भए । राजतन्त्रमा राजाको विश्वासपात्र थिए । त्यसको लाभ लोकमानले पनि उठाएका हुन् । उनी राजाको हुकुमबाट मुख्यसचिव नै हुन पुगे । राजाको प्रियपात्र भएका कार्की राजतन्त्रको अन्त्य भएपछि क्रान्तिकारी नेताहरूको प्रियपात्र बन्न पुगे । यस्तो अद्भूत काम एक अद्भूत व्यक्तिबाट मात्र हुन सक्छ । लोकमानले यो चमत्कार देखाएकै हुन् ।

उनको समस्या परिस्थिति आफ्नो अनुकूल पार्ने कुशलता छैन । समस्या छ उनको पद र भूमिकामा सामञ्जस्य हुन नसकेकामा । राजनीतिक आकांक्षा राख्ने, राजनीतिक भूमिका खेल्ने तर राजनीतिमा संलग्न नहुने स्थितिले लोकमान प्रायः द्वन्द्व र विवादमा परेको देखिन्छ । चाहे प्रशासनिक सेवामा बसेर होस् या संवैधानिक अंगमा बसेर होस्, जहाँ बसे पनि राजनीतिक प्रकृतिको स्वभाव देखाउने र भूमिका खेल्ने गरेकाले कार्कीले समस्या निम्त्याएको पाइन्छ ।

यस्तो अमिल्दो काम गर्दा मानिस घर न घाटको हुन जान्छ । कार्की अहिले सो अवस्थामा पुगेका छन् । त्यसमा पनि आफू एक्लै एउटा सिंगो विदेशको समर्थन जुटाउनु र प्रियपात्र बन्नु असाधारण खुबी हो । तर त्यो खुबीको दुरुपयोग भएको छ । त्यसकारण कार्कीले कसैगरी दुःख पाए भने आफैंलाई जिम्मेदार सम्झनुपर्छ । अरूलाई दोष दिनु सही ठहरिँदैन । उनी व्यक्तिगत रूपले सफल या असफल हुन सक्छन् तर त्यसमा जनताले चासो लिनुपर्ने कुनै कारण देखिन्न ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.