ऋतिकाको साथी

ऋतिकाको साथी

ऋतिकालाई बिहान अबेरसम्म सुत्न मन पर्छ । तर आज सुत्न पाइनन् । उनको घर अगाडि गाईको सानो बाच्छो कराउन लाग्यो । बाच्छो बाँ बाँ गरेपछि उनी सुत्नै सकिनन् । उनले उठेर झ्यालको पर्दा खोलिन् । घर अगाडिको बाटोमा सानो बाच्छो थियो । आहा ! कति राम्रो बाच्छो । 'यससँग खेल्न पाए त !' ऋतिकाले मनमनै भनिन् । उनलाई सानो बाच्छोको गाजले आँखा ज्यादै मन पर्‌यो ।

'ऋतिका ! तिमी त आज चाँडै उठेछौं ' उनको पापाले भन्नुभयो । उनी अझै झ्यालबाट बाहिर नै हेर्दै थिइन् । 'पापा ! हेर्नु न कति राम्रो बाच्छो, म खेल्न जाउँ बाच्छोसँग ? ' उनले पापालाई सोधिन् । 'खै म पनि हेरौं ? ' पापाले भन्नुभयो ।

बाटोमा गाईको सानो बाच्छो थियो । त्यसलाई बाच्छो धनीले त्यहाँ छोडिदिएको थियो । 'बिचरा एकाबिहानै कस्तो बिजोग भएछ । आज दूध खान पनि पाएन जस्तो छ । हेर त ऋतिका, त्यसको पेट कस्तो गरी भित्र पसेको' पापाले भन्नुभयो ।

'पापा ! हामी त्यो बाच्छोलाई दूध खुवाऔं न हुन्न ? ' ऋतिकाले अनुरोध गरिन । 'हुन्छ, तिमी र म दूध लिन जाने हो त ? ' पापाले त्यति भनेपछि ऋतिका पापासँग दूध लिन गइन् । बाटोभरि उनले पापालाई बाच्छोको बारेमा धेरै प्रश्नहरू सोधिन् ।

पापाले भन्नुभयो, 'यो बाच्छो बहर हो । गाईको सन्तानमध्ये छोरोलाई बहर भनिन्छ । छोरीलाई चाहिँ बाच्छी । बहर ठूलो भएपछि गोरु हुन्छ र त्यसलाई बारी जोत्न प्रयोग गरिन्छ । बाच्छी ठूलो भएपछि गाई भनिन्छ । त्यसले सन्तान जन्माएपछि दूध दिन्छ । काठमाडौंमा गोरु जोत्न पाइँदैन किनभने साँढे त शिवजीको वाहन हो ।

बरु त्यसलाई हामी पूजा गर्छौं । तर गाई पाल्नेहरूले बाच्छी जन्म्यो भने मात्र पाल्छन् । किनभने बाच्छी ठूलो भएपछि गाई हुन्छ र दूध दिन्छ । बहर जन्म्यो भने चाहिँ केही हप्ता पालेर सडकमा छाडिदिन्छन् । कति ठाउँमा त भैंसीले पाडो पायो भने जन्मनेबित्तिकै भीरबाट फलिदिन्छन् । पाडी पायो भने मात्र पाल्छन् । भैंसीको सन्तानमध्ये छोरोलाई पाडो र छोरीलाई पाडी भनिन्छ ।'

'मानिसले त छोरालाई बढी प्यारो गर्छन् है पापा ? ' ऋतिकाले फेरि सोधिन् । 'सबैले त्यसो गर्दैनन् बेटा । जस्तै, तिमी हाम्रा लागि कति प्यारो छौ भन त ? भाइ अंकित र तिमी हाम्रो लागि उत्तिकै त छौ । हैन त ? ' पापाले प्रस्ट पार्नुभयो ।
'त्यो त हो तर विद्यालयमा गुरुआमाले भन्नुभएको आज पनि गाउँघरतिर धेरै ठाउँमा बुबाआमाले छोरीलाई भन्दा छोरालाई बढी प्यारो गर्नुहुन्छ रे । छोरीलाई त कति ठाउँमा घरधन्दामात्र गर्न लगाउनुहुन्छ रे । गाईबाख्रा चराउन लगाउनुहुन्छ रे । छोरीलाई त अर्काको घरमा जाने जात भन्नुहुन्छ रे । विद्यालय पनि पठाउनुहुन्न रे । हो त पापा ? '

ऋतिकाले एकै पटक धेरै कुराहरू सुनाइन् । उनको पापा पनि छक्क पर्नुभयो । 'हो बेटा, कति ठाउँ र परिवारहरूमा यस्तो अझै पनि छ । तर अब यो सबैतिर परिर्वतन हुँदैछ । नेपालको नयाँ संविधानमा छोराछोरीबीचमा कुनै किसिमको भेदभाव गर्न पाइँदैन भनेर लेखिसकिएको छ' पापाले उनलाई छोराछोरी बराबरी हुन् भन्ने राम्ररी बुझाउनुभयो ।

ऋतिकासँग बाटोभरि धेरै कुरा गर्दागर्दै पापाले डेरी पुगेर दूध किन्नुभयो । बाच्छोलाई दूध चुसाउने निप्पल पनि किनेर ल्याउनुभयो ।

उहाँहरू आइपुग्दा बाच्छोलाई त पुलिस अंकलहरूले लिएर जान आट्नुभएछ । ऋतिकालाई नराम्रो लाग्यो । बाच्छोलाई दूध खुवाएर त्यससँग खेल्न मन थियो उनलाई । बाच्छोको गाजले आँखा हेरिरहन मन लागेको थियो उनलाई ।

'पापा, बाच्छोलाई पुलिस अंकलहरूले किन लाने रे ?' उनले पापालाई सोधिन् । ऋतिकाको कुरा सुनेपछि एकजना पुलिस अंकल उनको छेउमा आउनुभयो र भन्नुभयो, 'नानु ! सुन त, पशुहरू बाटोमा छोडियो भने सवारी दुर्घटना हुन सक्छ । पशुहरूले खान पनि पाउँदैनन् । विद्यार्थी, केटाकेटी र अन्य मानिसको हिँडाइमा समेत अवरोध पुग्छ । त्यसैले हामी यसलाई अन्यत्रै लान्छौं ।'

पुलिस अंकलको कुरा सुनेपछि ऋतिकाले भनिन्, 'अंकल यो त मेरो सानो साथी हो । यसलाई पापा र मैले दूध किनेर ल्याइदिएका छौं । म बाच्छोसँग खेल्छु नि ! नलैजानु न अंकल, प्लिज ।'

ऋतिकाको बाच्छोप्रतिको ममता देखेपछि पापाले भन्नुभयो, 'ठीकै त छ नि वेटा, उहाँहरूले यसलाई पशुपति मन्दिर क्षेत्रमा लैजानुहुन्छ । त्यहाँ यसको पूजा हुन्छ । बहर साँढेको सानो रूप हो । साँढे शिव भगवान्को वाहन हो । त्यही भएर बहरको पनि पूजा हुन्छ । मन्दिरमा यसलाई भक्तजनहरूले दूध दिनुहुन्छ ।

खानेकुरा दिनुहुन्छ । तर हामीले यसलाई हाम्रो घरमा राख्यौं भने यसको हेरचाह पुग्दैन । हरेकदिन तिमी, बिहानै विद्यालय जान्छौं । म अफिस जान्छु । तिम्रो ममी पनि अफिस जानुहुन्छ । अनि बाच्छोलाई यहाँ कसले हेर्छ । भन त ? वरु यो दूध पुलिस अंकललाई दिऔं । तिमी र म हरेक शनिबार, यो नयाँ साथीलाई भेट्न पशुपति मन्दिर जाऊँला । हुन्न ? '

पापाको कुरा ऋतिकालाई मन पर्‌यो । उनले हुन्छ भनिन् । डेरीबाट किनेर ल्याएको दूध, पापाले पुलिस अंकललाई दिनुभयो । पुलिस अंकलहरूले उनको साथीलाई गाडीमा राखेर लानुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.