लुकाइएको बिजुली निकाल्दा काठमाडौं लगायतका सहरमा 'नो लोडसेडिङ'

लुकाइएको बिजुली निकाल्दा काठमाडौं लगायतका सहरमा 'नो लोडसेडिङ'

काठमाडौं: विद्युत् प्राधिकरणको जिम्मेवार तहमा रहेका केही अधिकारीले 'लुकाएर वितरण गरेको' बिजुली लोडसेडिङको दायरामा ल्याई सबैलाई समानुपातिक रूपमा आपूर्ति गर्दा राजधानी उपत्यकालगायत देशका प्रमुख स्थानमा लोडसेडिङ तत्कालका लागि हटेको छ ।

काठमाडौं उपत्यकामा दैनिक ९ घन्टासम्म बिजुली आपूर्ति कटौती हुँदै आएकोमा त्यसलाई 'व्यवस्थित' गरिएकाले लोडसेडिङ कम भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 'हामीले समानुपातिक रूपमा बिजुली आपूर्ति गरेका मात्र हौं', घिसिङले आइतबार अन्नपूर्णसित भने, 'भाँडोमा भएको वस्तुलाई बराबरी बाँड्दा लोडसेडिङ हालका लागि हट्यो ।'

प्राधिकरणको भारप्रेषण केन्द्रले बिजुलीको स्रोत कमी भएको भन्दै केही ठूला उद्योगलाई लोडसेडिङ नहुने गरी अनियमित रूपमा बिजुली आपूर्ति गर्दै आएको थियो । घिसिङले अनवरत बिजुली पाउने उद्योगको नाम नलिईकन 'व्यवस्थापन' मात्र गरिएको बताए । तर प्राधिकरणका एकजना इलेक्ट्रिकल इन्जिनियरका अनुसार केन्द्रका केही कर्मचारीले अदृश्य र अनियमित रूपमा बिजुली वितरण गर्दै आएकोमा तिनलाई धमाधम लोडसेडिङको दायरामा ल्याउने कार्य भइरहेको बताए ।

कार्यकारी निर्देशक घिसिङका अनुसार देशभर २४ घन्टामा २२ घन्टा सात सय मेगावाट बिजुलीको माग हुन्छ । कुल उच्चतम माग एक हजार पाँच सय मेगावाटको बिजुली माग करिब दुई घन्टाका लागि मात्र हुँदै आएको छ । देशभर करिब तीन सय मेगावाटको बिजुली अभावलाई माग व्यवस्थापन र लोड सिफ्ट (भार स्थानान्तरण) गर्दै व्यवस्थित गरिएको घिसिङले बताए । 'उचित व्यवस्थापन गर्न सकेको भए गत जेठदेखि नै देशलाई लोडसेडिङमुक्त गर्न सकिन्थ्यो,' उनले भने ।

उपत्यकामा गत तिहारको बेला उच्चतम माग तीन सय मेगावाट थियो भने आइतबारको माग दुई सय ६० मेगावाट छ । उपत्यकामा राति माग सय मेगावाट हुने र दिउँसो एक सय ५० देखि दुई सय मेगावाटसम्म हुने घिसिङले बताए ।
बेलुकीको उच्चतम विद्युत् माग (पिक आवर) का बेला एकदेखि डेढ घन्टासम्म जलाशययुक्त कुलेखानी सञ्चालन गरिएको छ । 'सय मेगावाटको पिकिङ (अधिक माग) लाई कुलेखानीले धान्दोरहेछ', उनले भने, 'कुलेखानीलाई दैनिक डेढ घन्टाका हिसाबले चलाउँदा पनि हिउँदभरि पुग्छ ।'

यसअघि प्राधिकरणले कुलेखानी पहिलो र दोस्रो गरी ९२ मेगावाटको बिजुली सिस्टम कोल्याप्स (देशभर एकसाथ विद्युत्गृह बन्द) हुँदाका बखत र आंशिक मात्र सञ्चालन गर्दै आएको थियो ।

 

प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठले समानुपातिक रूपमा बिजुली वितरण गरिएको र देशभर आइतबारसम्म लोडसेडिङ नभएको बताए । 'हामीले विगत एक महिनादेखि लोडसेडिङ उल्लेखनीय रूपमा कम हुने गरी काम गर्दै आएका छौं', श्रेष्ठले आइतबार अन्नपूर्णसित भने, 'त्यसबाहेक भारतबाट थप बिजुली र २५ मेगावाटको माथिल्लो मस्र्याङ्दी 'ए' को बिजुली पनि थपिएकाले लोडसेडिङ अन्त्य गर्न सफल भएको हो ।'

प्राधिकरणले पूर्वाञ्चल र मध्यमाञ्चलका केही उद्योग र हेटौंडास्थित एक सिमेन्ट उद्योगलाई चौबीसै घन्टा बिजुली वितरण गर्दै आएको छ । प्रतियुनिट ३० देखि ३५ रुपैयाँसम्म पर्ने डिजेल प्लान्ट चलाउँदै आएका ती केही उद्योगले प्राधिकरणको सस्तोमा प्रतियुनिट तीन रुपैयाँ २५ पैसा (राति) र बेलुकी प्रतियुनिट ९ रुपैयाँ पर्ने प्राधिकरणको बिजुली उपयोग गर्दै आएका छन् ।

प्राधिकरणले ती उद्योगकै परिसरमा सर्किट ब्रेकर (लाइन काट्ने) बन्दोबस्ती गरेर २४ घन्टा आपूर्ति हुने व्यवस्था मिलाउँदै आएको थियो ।

सर्वसाधारणलाई चर्को लोडसेडिङको मारमा पारेर उद्योग र पहुँचवालाको निकायमा अनियमित तवरले बिजुली वितरण गर्दै आएको तथ्य अन्नपूर्णले उठाउँदै आएको थियो ।

आगामी दिनमा क्रमशः माग व्यवस्थापन, प्रणाली सुदृढीकरण र उच्चतम उत्पादन नीतिलाई जोड दिँदै सकेसम्म लोडसेडिङ हुन नदिने गरी अघि बढ्ने घिसिङले बताए । सुख्खायाम सुरु भएपछि हिउँदामा पानीको तह घटी जलविद्युत् गृहले एक तिहाइमात्र विद्युत उत्पादन गर्ने गरेको प्राधिकरणले बताउँदै दैनिक १४ घन्टासम्म लोडसेडिङ गर्दै आएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.