कम्युनिस्ट समाप्त पार्ने षड्यन्त्र !
![कम्युनिस्ट समाप्त पार्ने षड्यन्त्र !](https://annapurnapost.prixacdn.net/media/albums/comunist-5822a9ff866e59.06680030_Bl24JsZdb2.jpg)
गत साता राजधानीमा सम्पन्न एउटा कार्यक्रममा एमाले नेता माधवकुमार नेपालले नेपालमा कम्युनिस्ट समाप्त पार्न षड्यन्त्र भइरहेको छ भन्ने अभिव्यक्ति दिएछन् । त्यति मात्र नभएर उनले यस किसिमको षड्यन्त्र बाह्य शक्तिद्वारा भइरहेको तर्फ संकेतसमेत गरेका रहेछन् । सो अभिव्यक्ति दिने क्रममा उनले अमेरिकाले रूससँग राम्रो सम्बन्ध राख्यो, तर उसले राम्रैसँग त्यहाँबाट कम्युनिस्टहरूलाई समाप्त पारिदियो भन्नेसमेत उल्लेख गरेछन् ।
नेता नेपालले यो बिल्कुलै सत्य कुरा गरेका छन्, तर यो पूर्ण सत्य भने होइन । कारण नेपालमा कम्युनिस्ट समाप्त पार्ने कार्य जति कम्युनिस्टविरोधी र विदेशी शक्तिहरूबाट भइरहेको छ, त्यत्तिकै कम्युनिस्टहरूबाट समेत भइरहेको छ । सो यथार्थप्रति नेपालको ध्यान नपुगेको होइन । नेपालले जानीजानी उक्त कुरा प्रकट नगरेका हुन् ।
नेपालका कम्युनिस्टहरूको गलत व्यवहार र कार्यशैलीकै कारण नेपाली जनताको व्यापक समर्थन हुँदाहुँदै पनि उनीहरू यतिबेला राष्ट्रिय राजनीतिमा प्रभावहीन देखिन्छन् । प्रभावहीन कुन अर्थमा भने उनीहरू आफ्नो होइन, अरूको एजेन्डामा कार्य गरिरहेका छन् । यसो हुनुको प्रमुख कारण उनीहरूले सत्ता स्वार्थको फेरमा परेर कम्युनिस्ट मान्यतालाई व्यावहारिक रूपमा परित्याग गर्नु हो ।
नेपालमा २००६ सालमा स्थापित कम्युनिस्ट पार्टीको २०१५ सालको संसदीय निर्वाचनमा कमजोर प्रस्तुति रहेको भए पनि २०३६ सालको हाराहारीमा आइपुग्दा कम्युनिस्टहरू देशको प्रभावकारी र भरपर्दो राजनीतिक शक्तिको रूपमा स्थापित भइसकेका थिए । यसबीचमा तिनीहरूले झापा आन्दोलन, बर्रे र जुगेडी काण्ड जस्ता संघर्षशील कार्यक्रमहरूमार्फत आफूहरूलाई पञ्चायती निरंकुशताविरोधी सशक्त शक्तिको रूपमा चिनाउँदै व्यापक जनसमर्थन बटुल्न सफल भएका थिए ।
जसले गर्दा २०३२, २०३६ सालका विद्यार्थी आन्दोलनहरू होऊन वा २०४६ सालको जनआन्दोलन, कम्युनिस्टहरूले प्रभावकारी भूमिका खेल्न सकेका थिए । एवं प्रकारले २०६३ सालको निरंकुशताविरोधी आन्दोलनमा समेत उनीहरूको उल्लेखनीय भूमिका रह्यो । यसै सिलसिलामा २०४८ सालको आमनिर्वाचनमा एमाले प्रमुख प्रतिपक्षी र संयुक्त जनमोर्चा नेपाल संसद्मा चौथो राजनीतिक शक्तिको रूपमा देखा परे भने अन्य कम्युनिस्ट घटकहरूको समेत केही सिट संख्यासहित संसद्मा उपस्थिति रह्यो ।
यस प्रकार उक्त अवधिसम्म आइपुग्दा विभाजित एवं विखण्डित हुँदाहुँदै पनि कम्युनिस्ट आन्दोलन प्रभावकारी शक्तिको रूपमा स्थापित हुन पुगेको थियो । यसो हुनुको पछाडिको जिम्मेवार कारण नेपाली समाजमा व्याप्त निरंकुशता, गरिबी र नेपालमाथि प्रत्यक्ष–परोक्षरूपमा भइरहने विदेशी (खासगरी भारतीय) हस्तक्षेपविरुद्ध कम्युनिस्टहरूले गर्ने गरेको सम्झौताहीन संघर्ष नै थियो । २००७ सालदेखि झन्डै ०५२/५३ सम्म नेपाली कम्युनिस्टहरू राष्ट्रियता, जनतन्त्र एवं जनजीविकाको सवालमा दृढतापूर्वक संघर्षरत रहेका थिए । त्यसैले उनीहरू जनताका सच्चा मित्रका रूपमा स्थापित र परिचित थिए ।
नेपाली कम्युनिस्टहरूको उल्लिखित विषयप्रतिको प्रतिबद्धता एवं उनीहरूको जनतामाझ सकारात्मक छवि हुन पुगेकै कारण सन् १९९० ताका सोभियत संघ एवं पूर्वीयुरोपका मुलुकहरूबाट कम्युनिस्ट सत्ता ढल्दै गर्दा पनि नेपालमा कम्युनिस्टहरूको प्रभावमा कुनै असर परेन ।
त्यतिबेला सोभियत रूस एवं पूर्वीयुरोपका घटनाहरूबाट हौसिएको गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेस सरकार नेपालबाट कम्युनिस्टहरूलाई समाप्त पार्ने अठोटसहित व्यापक जनदमनमा उत्रिए पनि त्यसको कुनै प्रभाव परेन । उल्टै उनले सत्ताबाट बाहिरिनुपर्यो । गिरिजाप्रसादको त्यही कदम माओवादी विद्रोहको एउटा कारण बन्न पुग्यो ।
गिरिजाप्रसादको कम्युनिस्ट समाप्तिकै अभियानलाई मनमोहन अधिकारीको मुद्दामा सर्वोच्च अदालतले समेत साथ दिन खोज्दा नेपालको संसदीय शासन पद्धतिले थप विकृत स्वरूप धारण गर्न पुग्यो । त्यही संसदीय विकृतिले माओवादी विद्रोहलाई ऊर्जा प्रदान गरेको कुरा यहाँनेर बिर्सन मिल्दैन ।
तर विडम्बना, आफूविरुद्ध सर्वोच्च अदालतले दिएको निर्णयबाट सिर्जित फोहोरी राजनीतिबाट एमाले पार्टी जोगिन सकेन । सरकार बनाउने र त्यसलाई टिकाउने खेलमा लागिरहँदा एमाले पार्टी सुरासुन्दरी काण्ड, सांसद खरिद–बिक्री र राष्ट्रघाती महाकाली सन्धिमा समर्थन जनाउने हदसम्म उत्रिन पुग्यो ।
यसै निरन्तरतामा एमाले पार्टी, पार्टी कार्यालयबाट अन्तर्राष्ट्रिय कम्युनिस्ट नेताहरूको फोटो हटाउने निर्णयसँगै पार्टीको नाम परिवर्तन गर्ने प्रस्तावमा छलफल गर्ने तहसम्म ओर्लन पुग्यो । यसरी प्रतिस्पर्धाको माध्यमबाट जनवाद स्थापनाको लक्ष्यसहित अगाडि बढेको नेकपा (एमाले) सत्ता स्वार्थको प्रतिस्पर्धामा नराम्रोसँग रुमलिन पुग्यो । सत्ता प्राप्तिकै अभियानमा श्रेष्ठता हासिल गर्न भ्रष्टाचार, कमिसनतन्त्र, राष्ट्रघात जस्ता कुरामा समेत आफ्नो संसदीय प्रतिद्वन्द्वी कांग्रेसलाई चुनौती दिने स्थितिमा पुग्यो । फलतः राष्ट्र, जनता अनि जनवादजस्ता कुरा देखाउने दाँतमा परिणत हुन पुगे । यसरी समाजवाद प्राप्तिको शान्तिपूर्ण मार्गले अवसरवादको चरम विकृत स्वरूप ग्रहण गर्न पुग्यो ।
एमालेको संसद्वादमा पतनपश्चात् आफूलाई क्रान्तिकारी माक्र्सवादको प्रतिनिधि ठान्ने पार्टी नेकपा (एकताकेन्द्र पछि माओवादी) ले प्रारम्भ गरेको ‘जनयुद्ध’ प्रति इमानदार वामपन्थीहरूसँगै कांग्रेस र एमालेको भ्रष्ट एवं राष्ट्रघाती क्रियाकलापबाट असन्तुष्ट राष्ट्रवादीहरूको व्यापक समर्थन देखा पर्यो ।
तर यसलाई नेपाली कम्युनिस्ट आन्दोलनको थप विडम्बना मान्नुपर्छ, राष्ट्रियताको संरक्षण र सामाजिक परिवर्तनसँग सम्बन्धित विषयहरूलाई अघि सार्दै प्रारम्भ गरिएको ‘जनयुद्ध’ लाई हजारौं नागरिकहरूको त्याग र बलिदान (सहादत, घाइते, बेपत्ता र विस्थापन) पश्चात् राष्ट्रघातमा पुर्याएर विसर्जन गरियो । यस प्रसंगमा आश्चर्यजनक कुरो त के देखा प¥यो भने त्यस किसिमको कार्य अरू कसैले नभएर जनयुद्धको नेतृत्व गर्नेहरूबाटै हुन पुग्यो ।
यसबीच ‘जनयुद्ध’ को विषयलाई लिएर छिमेकी भारतले दोहोरो भूमिका खेल्यो । एकातिर उसले माओवादी दमन गर्न सरकारी पक्षलाई हतियार एवं प्राविधिक र सैन्य तालिम दिने कार्य गर्यो भने अर्कोतर्फ माओवादी नेतृत्वलाई संरक्षण, आवश्यक सैन्य सामग्री एवं लडाकुहरूलाई तालिम दिने कार्य गरेको कुरा पछि गएर पुष्टि हुन पुग्यो । हुन त यस किसिमको हर्कत गर्नेहरूमा भारत एक्लो शक्ति थिएन रहेछ । युरोपेली युनियन र त्यसमा आबद्ध कतिपय मुलुकहरूले समेत यसैखाले दोहोरो भूमिका निर्वाह गरिरहेका रहेछन् ।
तापनि भारतको भूमिका नेपालको स्वतन्त्र अस्तित्व एवं राष्ट्रिय सार्वभौमसत्तालाई चुनौती दिने खालको रह्यो । त्यति मात्र नभएर युरोपेली युनियनलगायतका पश्चिमी मुलुकहरू संविधानमा आफ्ना केही आग्रह थोपर्न सफल भएपछि हाल त्यति सक्रिय देखिँदैनन् भने भारतले नेपाललाई भुटानीकरण हुँदै सिक्किमीकरण गर्ने आफ्नो दीर्घ प्रयासलाई निरन्तरता दिइरहेको छ ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको हालैको नेपाल भ्रमण त्यसकै पछिल्लो कडीको रूपमा रहेको पुष्टि भएको छ । यसरी क्रान्तिको नाममा राष्ट्रियता एवं राष्ट्रिय स्वाभिमानलाई तिलाञ्जली दिन पछि नपर्ने हदसम्म नेपालका कम्युनिस्टहरू उत्रिएको देख्दा नेपालको कम्युनिस्ट समर्थक जनमत आश्चर्य एवं विस्मयमा परेको देखिन्छ ।
उल्लिखित कुराबाहेक नेपाली कम्युनिस्टहरूभित्र हिजोका दिनहरूमा कहिलेकाहीं क्रान्तिप्रतिको आत्मगत चाहनास्वरूप उद्दण्ड क्रियाकलाप गर्नेजस्तो उत्ताउलो प्रवृत्ति देखिन्थ्यो भने अब त्यो प्रवृत्तिले क्रान्तिको नाममा लुटपाट एवं तस्करी गरेर सम्पत्ति कमाउने दिशा अख्तियार गरेको देखिन्छ ।
क्रान्तिको नाममा हतियार बोकेर सर्वसाधारण नागरिकबाट जबर्जस्ती चन्दा असुल्ने, जनताको सम्पत्ति लुटपाट गर्ने अनि तस्कर, जालीफटाहा एवं भ्रष्टाचारीहरूबाट कमिसन लिने र तिनको घरलाई आ श्रय स्थलको रूपमा प्रयोग गर्ने कार्य ‘जनयुद्ध’ कै क्रममा हुने गरेको समेत अब आएर प्रकट हुन पुगेको छ । जसको प्रभावले यतिखेर उत्पादनमूलक कार्यमा लाग्नेहरूको संख्या घट्दै गई राजनीति र क्रान्तिको नाममा लुटिखानेहरूको संख्यामा वृद्धि भएको पाइन्छ ।
कम्युनिज्म एउटा वर्गीय दर्शन हो । वर्गीय यस अर्थमा कि यसले नहुने र गरिखानेहरूको पक्षपोषण गर्दछ । यसले कामदार वर्गउपर हुने शोषणको विरोध गर्दछ । तर यतिखेर नेपालका कम्युनिस्टहरूले राजनीति वा क्रान्तिको नाउँमा गरिखाने वर्गलाई लुटी खान सिकाउने गरेका छन् । यसरी गरी खाने वर्गलाई लुटी खाने वर्गमा परिणत गरेपछि कम्युनिस्ट राजनीतिको आधार नै समाप्त हुन पुग्छ । कम्युनिस्ट विचार नै बाँच्न सक्दैन ।
त्यसैगरी नेपालको वर्तमान कम्युनिस्ट नेतृत्व, चाहे क्रान्तिको नाममा होस् वा शान्तिपूर्ण राजनीतिको, राजनीति गरिरहँदा उनीहरूको जोड जनताउपर हुने भेदभाव, थिचोमिचो र शोषणको विरोध गर्नु नभएर जुनसुकै उपायबाट होस् धन कमाउनु, त्यसकै बलमा शक्ति आर्जन गर्नु र यसरी आर्जित शक्तिलाई कायम राखिराख्नु रहेको पाइन्छ ।
यसरी उनीहरू वर्गीय शोषणको अन्त्यको लागि नभएर आफ्नो वर्ग उत्थानको लागि लागिपरेको देखिन्छ । क्रान्ति सम्पन्न गर्ने होऊन् वा संसदीय राजनीति गर्नेहरू होऊन्, दुवैखाले कम्युनिस्ट नेताहरूको साझा आदर्श सम्पत्ति कमाउने भएको छ । यस उद्देश्य परिपूर्तिको लागि तिनीहरूले राष्ट्रिय सम्पत्तिको ब्रह्मलुट एवं विदेशीहरूको दलालीसम्म गर्न पछि परेका छैनन् । निजी सम्पत्तिको अवधारणालाई नै समाप्त पारेर उत्पादनका साधनहरूमाथि सामूहिक स्वामित्वको लागि लागिपर्नेहरूको यस किसिमको व्यवहारले कम्युनिस्ट दर्शनको मर्ममै प्रहार हुन पुगेको छ ।
त्यसैगरी हिजोका दिनहरूमा (कम्तीमा २०५२ अघि) मुलुकमा राष्ट्रियता, जनतन्त्र एवं जनजीविकाका सवालहरू प्राथमिकताका साथ उठाउने कम्युनिस्टहरू यतिबेला आएर सत्ता स्वार्थको लागि ती सवालहरूलाई बेवास्ता गर्ने मात्र होइन, तिनको विरुद्ध लागिपर्ने गरेका छन् । यो प्रक्रिया खासगरी एमालेले महाकाली सन्धि र नागरिकता विधेयकमा समर्थन जनाउने गरी संसद्मा आफूलाई प्रस्तुत गरेपछि प्रारम्भ भएको हो ।
पछिल्लोपटक बाह्रबुँदे सहमति, अन्तरिम संविधानको निर्माण हुँदै हालको अवस्थासम्म आइपुग्दा (भारतीय नाकाबन्दीविरुद्ध ओली अडानबाहेक) यहाँका संसद्वादी वामपन्थी पार्टीहरूमा को बढी भारतको नजिक पुग्ने भन्ने विषयमा प्रतिस्पर्धा हुने गरेको छ । यस किसिमको प्रतिस्पर्धामा माओवादीको गति अस्वाभाविक रूपमा तीव्र रहेको पाइन्छ ।
राष्ट्रियतासम्बन्धी विषयलाई प्रमुख माग बनाएर ‘जनयुद्ध’ प्रारम्भ गर्ने र भारतकै विरुद्ध सुरुङ युद्ध जस्तो उद्दण्डता प्रस्तुत गर्नेहरू नै भारतको दलाली गर्ने कुरामा अग्रपंक्तिमा रहनुले उक्त पार्टीको पतनको प्रक्रियालाई स्पष्टरूपमा देखाउँछ । एवं रीतले जनतन्त्रको सवालमा ध्यान दिँदा यतिबेला कम्युनिस्टहरूलाई संविधान एवं कानुनद्वारा प्रदत्त अधिकारहरूको संरक्षण र तिनको उपयोग गर्ने वातावरण तयार गर्नको लागि प्रयत्नशील हुने कुरोसँगसम्म कुनै चासो रहेको देखिँदैन । रह्यो कुरा जनजीविकाको । देशमा यतिबेला काम गर्ने होइन, लुट्न सक्ने योग्य ठानिने परिपार्टीको विकास भएको छ ।
जुन कुरामा कम्युनिस्ट हरूको समेत उत्तिकै योगदान रहेको छ । यसै कुरालाई आत्मसात गर्न पुगेकाले हिजो जनताका जनजीविकाका सवाल जोडदार रूपमा उठाउने कम्युनिस्टहरू ती विषयप्रति बेसरोकार हुन पुगेका छन् । पञ्चायत अवधिभर महँगी, अभाव, कालोबजारी, मुद्रा अवमूल्यन, भ्रष्टाचार, खाद्य पदार्थमा मिसावट (सम्झौँ, विकीरणयुक्त दूध काण्ड) जस्ता सवालमा जुलुस र आन्दोलन गर्ने कम्युनिस्ट पार्टी एवं तिनका जनवर्गीय संगठनहरूलाई आज ती र त्यस्ता सवालहरू उठाउने कुरामा कुनै चासोसम्म रहेको देखिँदैन ।
अहिलेकै अवस्थालाई हेरौँ, भूकम्पपीडितहरूलाई राहत वितरण गर्ने सवालमा पार्टीहरूले कुनै चासो राखेको पाइँदैन । बरु उल्टै उनीहरूको ध्यान त्यस्तो रकम कसरी आफ्नो पक्षमा पार्ने भन्ने विषयमा केन्द्रित रहेको देखिन्छ । निष्पक्ष छानबिन हुने हो भने राहत रकमको दुरुपयोग गर्ने कार्यमा कम्युनिस्ट पार्टीहरूसँग सम्बन्धित संस्था एवं संगठनहरू (जनवर्गीय एवं गैरसरकारी) नै बढी संलग्न रहेको तथ्य फेला पर्नेछ । यसो भनिरहँदा कम्युनिस्टहरू बेठीक अनि अरू ठीक भन्न खोजिएको अर्थ नलागोस् । यहाँ कम्युनिस्टहरूको विकृत चिन्तन र कार्यशैलीका बारेमा मात्र टिप्पणीसम्म गर्न खोजिएको हो ।
यसरी देशलाई चौतर्फीरूपमा लुट्ने र देशका दुस्मनहरूको इशारामा परिचालित हुनेहरूमध्येमा कम्युनिस्ट पार्टीसम्बद्ध नेता कार्यकर्ताहरूनै अग्रणी रहने अवस्था सिर्जना भएपछि कम्युनिस्टहरूलाई समाप्त पार्न के अरू कसैले षड्यन्त्र गरिरहनुपर्छ र ? अहं त्यसको आवश्यकता नै पर्दैन । विचार गरौं त, कम्युनिस्ट विरोधीहरूले सराप्दै र दमन गर्दैमा कम्युनिस्टहरू सकिने भए चीन, भियतनाम, लाओस, कोरिया र क्युबाबाट समेत कम्युनिस्टहरू समाप्त भइसकेका हुने थिए ।
कम्युनिस्टहरूले आफूहरूमा व्याप्त हिनता, संकीर्णता र जडसूत्रवादी चिन्तन एवं कार्यशैलीलाई त्याग्दै आफ्नो भूमिकालाई बढाउने आँट गर्नसके भने निश्चय पनि राष्ट्रिय राजनीतिमा नयाँ विकल्पको रूपमा स्थापित हुन सक्ने छन् ।
अनि ल्याटिन अमेरिकी देशहरूमा कम्युनिस्टहरूले जुन किसिमको जनसमर्थन प्राप्त गरेका छन्, त्यो सम्भव हुने थिएन । नेपालको अवस्था पनि अहिलेको जस्तो नभएर बिल्कुलै भिन्न हुने थियो । रूस एवं पूर्वीयुरोपका मुलुकहरूबाट कम्युनिज्मको समाप्ति बाह्य प्रयासबाट मात्र नभई त्यहाँको कम्युनिस्ट नेतृत्वको व्यवहार र कार्यशैलीका कारण सम्भव भएको हो । ठीक त्यसै रूपमा यतिबेला नेपाली कम्युनिस्टहरू पनि ती मुलुकका गोर्वाचोभ र चाउचेस्कु जस्ता नेताहरूको नक्कल गरिरहेका छन् ।
जसरी गोर्वाचोभ आफ्नो दुस्मन अमेरिकाको बहकाउमा लागेर अमेरिकालाई मनपर्ने खालको कम्युनिस्ट बन्न खोज्यो, नेपाली कम्युनिस्टहरू पनि भारतले मन पराउने कम्युनिस्ट बन्न खोज्दैछन् । त्यसैगरी जसरी चाउचेस्कु भ्रष्टाचारको पर्याय बन्यो, नेपाली कम्युनिस्टहरू पनि त्यही मार्गको अनुसरण गरिरहेका छन् । यसलाई नेपाली जनताको उदारता सम्झनुपर्दछ, कम्युनिस्ट नेताहरूले यसखाले विकृतिहरू वरण गर्दागर्दै पनि उनीहरूले यहाँका कम्युनिस्ट पार्टीहरूलाई रुचाएका छन् ।
तर यहाँनेर के कुरामा प्रस्ट हुनु जरुरी छ भने यसो गरेर नेपाली जनताले कम्युनिस्ट नेताहरूको गलत व्यवहारलाई समर्थन गरेका होइनन् । उनीहरूले कम्युनिस्ट विचार र आदर्शलाई समर्थन गरेका हुन् । तर अब आफूहरूले कम्युनिस्ट विचारलाई समर्थन गरिरहँदा कम्युनिस्ट नामधारीहरूले उक्त समर्थनलाई दुरुपयोग गरेको प्रति नेपाली जनता अनभिज्ञ छैनन् ।
यसो हुँदाहुँदै पनि भ्रष्ट एवं राष्ट्रघातीहरूले जनसमर्थन पाइरहनुको पछाडि दुइटा कारण छन् । एक त, कम्युनिस्ट विचारप्रति समर्थन र विश्वास राख्ने जनमतले कुनै सकारात्मक विकल्प पाउन सकेको छैन । त्यसैले नेपाली जनताले विद्यमान कम्युनिस्ट पार्टीहरूलाई ‘हिङ नभए पनि हिङ बाँधेको टालो’ रूपमा लिएका छन् ।
दोस्रो, कथित कम्युनिस्ट नेतृत्वले जनसमुदायको एउटा पंक्तिलाई समेत भ्रष्टीकरण गरिरहेको छ । यसबाट सार रूपमा कम्युनिस्ट विचारलाई नोक्सान पुगे पनि बाह्यरूपमा कम्युनिस्टहरूको प्रभाव देखिन पुगेको छ । जसले गर्दा नेपालमा विदेशीहरूको व्यापक षड्यन्त्र र प्रयास हुँदाहुँदै र यहाँका कम्युनिस्टहरू कम्युनिस्ट आदर्शबाट विचलित हुँदाहुँदै पनि नेपालबाट उनीहरूले चाहेअनुरूप कम्युनिज्मप्रतिको जनताको आस्था र भरोसा घटिरहेको छैन ।
नेपालमा कम्युनिस्ट विचारलाई कमजोर तुल्याउने कार्य बाह्य आक्रमण र विरोधबाट भन्दा आन्तरिक घूसपैठ र विचलनबाट बढी भइरहेकोमा शंका छैन । यो कुरा कथित कम्युनिस्ट पार्टीहरूको नेतृत्वमा कस्ता व्यक्तिहरू पुगेका छन् ? तिनको कार्यशैली कस्तो छ ? भन्ने कुरा हेर्दा थाहा पाउन सकिन्छ ।
कम्युनिस्ट पार्टीको नेतृत्वमा कम्युनिस्ट आदर्शविरोधी, विदेशी दलाल एवं जातिवादीहरूको दह्रो पकड रहेको स्पष्ट देखिन्छ । त्यस्ता तत्वहरूको जोड सकेसम्म कम्युनिस्ट पार्टीलाई आफ्नो चाहनाअनुरूप सञ्चालन गर्ने, त्यसो हुन नसके त्यसलाई विभाजन गरेर कमजोर तुल्याउने र अन्तिम प्रयासको रूपमा अब कम्युनिस्ट सिद्धान्तको सार्थकता रहेन भन्दै आफूले कम्युनिस्ट विचार परित्याग गरी नयाँ स्वरूप धारण गरेको घोषणा गर्दै कम्युनिस्ट विचारविरोधी भावना जगाउने रहेको छ ।
नयाँ शक्ति नामको एउटा डप्फाले यसै किसिमको प्रयत्न जारी राखेको छ । यसै सन्दर्भमा एमाले पार्टीभित्र धेरै अघिदेखि समयसमयमा पार्टीको नाम परिवर्तन गर्ने (कम्युनिस्ट नराख्ने) भनी प्रस्ताव आउने गरेको र त्यस्तो प्रस्ताव नेपाली जनताको ठूलो हिस्सा कम्युनिस्ट विचार समर्थक रहेकाले पार्टीको नाम परिवर्तन गर्ने अवस्था अझै आइसकेको छैन भन्दै पाखा लगाउने गरेको कुरालाई समेत स्मरण गर्नुपर्ने हुन्छ । यस प्रकार नेपालमा कम्युनिस्ट विचारविरुद्ध कम्युनिस्टविरोधी एवं कथित समर्थकहरूबाट दोहोरो प्रहार भइरहेको छ ।
यति झेल्दाझेल्दै पनि नेपालमा कम्युनिज्म जनअनुमोदित विचारको रूपमा बाँचिरहेको छ । तर यस किसिमको अवस्था धेरै समय कायम रहने छैन । यस सन्दर्भमा सकारात्मक पक्ष के रहेको छ भने नेपालमा कम्युनिस्ट विचारलाई इमानदारीपूर्वक आत्मसात गर्नेहरूको संख्या पनि कम छैन ।
यथार्थ के हो भने यतिबेला तिनीहरू अवसरवादीहरूका सामु निर्धा र निमुखा जस्ता भएका छन् । तिनीहरूले आफूहरूमा व्याप्त हीनता, संकीर्णता र जडसूत्रवादी चिन्तन एवं कार्यशैली त्याग्दै आफ्नो भूमिकालाई बढाउने आँट गर्न सके भने निश्चय पनि राष्ट्रिय राजनीतिमा नयाँ विकल्पको रूपमा स्थापित हुन सक्नेछन् । त्यसको लागि उनीहरूले नेपाली परिवेशअनुकूलको कार्यक्रमसहित अगाडि आउनुपर्ने हुन्छ । त्यसमै नेपालको राष्ट्रियता र राष्ट्रिय सार्वभौमसत्तासँगै नेपाली कम्युनिस्ट आन्दोलनको भविष्यसमेत निर्भर गर्नेछ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)