ट्रम्पको जितसँगै चर्चामा अमेरिका-मेक्सिको खेल
![ट्रम्पको जितसँगै चर्चामा अमेरिका-मेक्सिको खेल](https://annapurnapost.prixacdn.net/media/albums/mexcio-vs-usa-football-58242bf9a59277.97559982_BOCdBTyp8W.jpg)
लन्डनः ‘मेक्सिकोले उनीहरूका राम्रा मान्छेलाई अमेरिका पठाउँदैन। मेक्सिकोले ती व्यक्तिहरूलाई अमेरिका पठाउँछ, जो समस्या नै समस्याले ग्रसित छन्। मेक्सिकनसँग उनीहरूको समस्या पनि हामीसम्म आइपुगेको छ। उनीहरूले अमेरिकामा ड्रग्स भित्र्याइरहेका छन्। उनीहरूले हिंसा पनि भित्र्याइरहेका छन्। उनीहरू बलात्कारी हुन् तर केही मेक्सिकन राम्रा पनि छन्।’
बुधबार संयुक्त राज्य अमेरिकाको ४५औं राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले हालैको एक चुनावी प्रचार कार्यक्रममा दिएको भाषणको अंश हो यो।अमेरिकाको आप्रवासी समस्याबारे आफ्नो नीति स्पष्ट पार्ने क्रममा ट्रम्पले छिमेकी राष्ट्र मेक्सिकोप्रति कटाक्ष गरेका थिए। सीमा जोडिएको मेक्सिको अमेरिकाका लागि समस्या बन्दै आइरहेको उनको आरोप छ।
ट्रम्पका अनुसार मेक्सिकोसँग जोडिएको सिमानामार्फत हजारौं आप्रवासी बिनाअनुमति अमेरिका छिर्छन् र शरणार्थीका रूपमा त्यतै बस्छन्। आफ्नो झन्डै १६ महिने चुनावी अभियानका क्रममा ट्रम्प मेक्सिकोप्रति निकै आक्रामक देखिएका थिए। उनको विजयको एउटा आधार मेक्सिकोप्रतिको नीति पनि भएको कतिपय विश्लेषकको ठम्याइ छ।
त्यसैले ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि यी दुई देशबीचको सम्बन्ध अझ चिसिने सम्भावना देखिएको छ। त्यसको प्रभाव दुई दिनपछि (शुक्रबार) नै हुने यी दुई देशबीचको विश्वकप छनोट फुटबल प्रतियोगितामा समेत पर्ने देखिएको छ। त्यसैले अमेरिकामै आयोजना हुने उक्त खेललाई लिएर चिन्ता र चासो व्यक्त गर्न थालिएको छ।
सन् २०१३ को तथ्यांकअनुसार अमेरिकामा तीन करोड ४६ मेक्सिकन बस्दै आइरहेका छन्। त्यसैले ओहियो राज्यको कोलम्बसस्थित मापफ्री स्टेडियममा हुने उक्त खेलमा अप्रिय घटनासमेत हुनसक्ने चिन्ता व्यक्त गरिएको छ। मेक्सिको र अमेरिकासहित कोस्टारिका, होन्डुरस, पानामा र ट्रिनिडाडले शीर्ष तीन स्थानमा रहँदै सन् २०१८ को विश्वकपका लागि सीधै छनोट हुन प्रतिस्पर्धा गर्दैछन्। चौथो स्थानमा रहने टोलीले भने विश्वकपमा छनोट हुन प्ले अफ खेल्नुपर्नेछ।
यसअघि सन् २०१४ को विश्वकपका लागि भएको छनोट खेलका क्रममा अमेरिकाले शीर्ष स्थानमा रहँदै छनोट चरण पार गरेको थियो भने मेक्सिकोले न्युजिल्यान्डसँग प्ले अफ खेल्दै विश्वकपमा स्थान सुरक्षित गरेको थियो। त्यस बेला अमेरिकापछि कोस्टारिका र होन्डुरसले क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदै विश्वकप खेलेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)