ट्रम्पको जितपछि म्यान युनाइटेडमा खुसीयाली
![ट्रम्पको जितपछि म्यान युनाइटेडमा खुसीयाली](https://annapurnapost.prixacdn.net/media/albums/davidson-trump-nevada-1200-58254046c65e07.72672603_waicbWXfyB.jpg)
लन्डनः अमेरिकाको ४५ औं राष्ट्रपतिका रूपमा बुधबार डोनाल्ड ट्रम्प निर्वाचित भएपछि उनको चुनावी अभियानमा बेलायती क्लबहरूले पनि सहयोग गरेको रहस्य खुलेको छ । ट्रम्पको चुनावी अभियानमा आर्थिक सहयोग गर्नेहरूमा म्यानचेस्टर युनाइटेडलगायतका क्लबहरू छन् । उनीहरूले ट्रम्पको विजयपछि खुसीयालीसमेत मनाएका छन् ।
म्यान युनाइटेडका सहअध्यक्ष इड ग्लेजरले ट्रम्पको सफल चुनावी अभियानका लागि ४५ हजार पाउन्ड सहयोग गरेको खुलेको हो । न्युयोर्कका पूर्वअर्बपति व्यापारी मालकोम ग्लेजरका छोरा इडले ट्रम्पका लागि आर्थिक सहयोग गरेको बताइएको छ ।
इडले सन् २००५ यता म्यान युनाइटेडको सर्वाधिक सेयर आफ्नो नाममा बनाएका छन् । इडले हिलारी क्लिन्टनको चुनावी अभियानमा समेत आर्थिक सहयोग गरेको रहस्य खुलेको छ । यद्यपि ट्रम्पको विजयसँगै क्लिन्टनको अभियान भने सफल हुन सकेन ।
इङ्लिस क्लबहरूबाट ट्रम्पलाई भन्दा बढी सहयोग क्लिन्टनलाई जुटेको देखिएको छ । क्लिन्टनको चुनावी अभियानका लागि लिभरपुलले समेत सहयोग गरेको खुलेको छ । लिभरपुलका अध्यक्ष टोम वार्नरले क्लिन्टनको चुनावी अभियानका लागि दुई हजार एक सय ७९ पाउन्ड रकम सहयोग गरेका थिए ।
यसैगरी नाम चलेका पूर्वखेलाडीमध्ये पूर्वबक्सिङ च्याम्पियन माइक टाइसन र बास्केटबलका स्टार खेलाडी डेनिस रोडमानले ट्रम्पलाई सहयोग गरेका थिए । यसै वर्ष मृत्यु भएका पूर्वबक्सिङ च्याम्पियन मोहम्मद अलीले आफ्नो मृत्यु अघिसम्म क्लिन्टनको चुनावी अभियानमा सहयोग गरेका थिए । टेनिस स्टार बिली जिन किङले पनि क्लिन्टनको चुनावी अभियानमा आर्थिक सहयोग गरेका थिए ।
यसैबीच, अमेरिकाको राष्ट्रपति निर्वाचनमा ट्रम्पको विजय, युरोपेली युनियनबाट बेलायतले आफ्नो सदस्यता फिर्ता लिने निर्णय र लेस्टर सिटीले इङ्लिस प्रिमियर लिग उपाधि जित्दा एउटा गजबको संयोग देखिएको छ । यी तीनै घटनालाई सन् २०१६ को सबैलाई आश्चर्यमा पार्ने घटनाका रूपमा लिइएको छ ।
बेलायती बेटिङ कम्पनीहरूको प्रतिवेदनअनुसार यी तीनवटै घटनाको पक्षमा निकै कम व्यक्तिको विश्वास थियो । ट्रम्पको विजय, युरोपियन युनियनबाट बेलायतको बहिर्गमन र लेस्टरको विजयको पक्षमा एक पाउन्डसम्मको पनि बेटिङ नपरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)