अमेरिकीले किन रोजे डोनाल्ड ट्रम्प ?

अमेरिकीले किन रोजे डोनाल्ड ट्रम्प ?

विख्यात अमेरिकी लेखक थोमस फ्राइडम्यान र जोन हप्किन्स विश्वविद्यालयका प्राध्यापक माइकेल म्यान्डेलबुमद्वारा लिखित पुस्तक ‘द्याट युज्ड टु बी अस' अनुसार आठ महिनामा तियानजिनमा चीनले दुई लाख ३० हजार वर्गमिटर क्षेत्रफल ओगटेको र चारै कुनामा बढेबढे विद्युतीय भर्‍याङसहितको एउटा भव्य अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र बनायो, तर ६ महिनासम्ममा पनि अमेरिकाले वासिंटनको मेट्रो स्टेसनको २१ पाइलाका दुई ससाना विद्युतीय भर्‍याङको मर्मत सम्पन्न गर्न सकेन ।

अमेरिकाको कुल गार्हस्थ उत्पादन १७ हजार अर्ब डलर छ, तर अमेरिकाको संघीय सरकारको ऋण मात्रै १९ हजार अर्ब डलरभन्दा बढी छ । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार ग्रहण गर्ने बेलासम्ममा उक्त ऋण २० हजार अर्ब डलर पुगिसक्नेछ । स्मरणीय छ, सन् २००९ मा बाराक ओबामाले राष्ट्रपति पद ग्रहण गर्दा यस्तो ऋण १० हजार ६ सय अर्ब डलर मात्र थियो ।

सन् २०११ मा प्रकाशित र न्युयोर्क टाइम्सअनुसार अत्यधिक बिक्री भएको डोनाल्ड ट्रम्प लिखित पुस्तक ‘टाइम टु गेट टफ' मा राष्ट्रपति ओबामाले राष्ट्रको अर्थतन्त्र र भावी सन्ततिको भविष्य ध्वस्त बनाए, नागरिक स्वतन्त्रता र अवसरलाई छिन्नभिन्न पारे र अमेरिकीहरूलाई रोजगार र सम्पत्तिविहीन बनाए भनेर लेखेका छन् ।

अमेरिकालाई दनदनी बलेको देख्न चाहने मुलुकहरूको जाति हुन उनले अमेरिकाको दीर्घकालीन हितमा आघात पुर्‍याएकोबारे उल्लिखित उक्त पुस्तकमा अमेरिकाको समृद्धि कसरी फिर्ता गर्न सकिन्छ र अमेरिकालाई कसरी पुनः महान् बनाउन सकिन्छ भन्नेबारे विषद् चर्चा गरिएको छ ।

त्यसभन्दा एक दसकअघि सन् २००० मा उनले ‘दी अमेरिका वी डिजर्भ' नामको पुस्तक लेखेका थिए, जसमा उनले अमेरिकाको राजनीतिक तथा आर्थिक चुनौतीबारे वर्णन गरेका छन् । दी आर्ट अफ दी डिल नामक उनको पुस्तक व्यवस्थापनसम्बन्धी सीप र कौशलसम्बन्धी उत्कृष्ट पुस्तक मानिन्छ ।

अर्का सफल अमेरिकी व्यवसायी रोबर्ट कियोसाकीसँग मिलेर उनले लेखेको ‘हवाई वी वान्ट यु टुबी रिच' विश्वभर अति मन पराइएको पुस्तक हो । आम अमेरिकीलाई कसरी समृद्ध बनाउनेबारे डोनाल्डले पुस्तकहरू लेखेका छन्- हजारौं सभा-गोष्ठीहरूमा बोलेका छन् ।

आफ्नो उम्मेदवारी घोषणासँगै प्रकाशित उनको अर्को पुस्तक ‘क्रिपल्ड अमेरिका- हाउ टु मेक अमेरिका ग्रेट अगेन' मा महान् र शक्तिशाली अमेरिकाको पक्षमा उनको लामो समयदेखिको चिन्ता र त्यसप्रतिको प्रतिबद्धता व्यक्त भएको छ । चुनावी अभियानमा विपक्षीहरूले उनको व्यापारिक व्यक्तित्वबारे त धेरै चर्चा-परिचर्चा गरे तर उनी एक दर्जनभन्दा बढी लोकप्रिय र गम्भीर महत्वका पुस्तकका लेखक पनि हुन् भन्नेबारे खासै चर्चा भएन । तर उनका मतदाता यसबारे सुपरिचित देखिए ।

ट्रम्पका विचारमा लोकप्रिय हुने उद्देश्यले सस्ता नारा र कार्यक्रम अघि सार्दै सरकारले मुलुकको अर्थतन्त्रलाई थला बस्ने अवस्थामा पुर्‍याएको छ । रकम र इच्छाशक्ति दुवैको अभावले जीर्ण अवस्थामा रहेको अमेरिकाको भौतिक पूर्वाधारले अमेरिकी जनताको अपेक्षाअनुरूपको आर्थिक गतिशीलता नथाम्ने भएकाले आफूले जितेमा त्यस्तो पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिने ट्रम्पले बताइरहे ।

त्यसबाट एकातिर व्यापक रोजगार निर्माण हुने र अर्कोतिर अन्य स्तरीय वस्तु तथा सेवा उत्पादनमा ऊर्जा र प्रेरणा प्रदान गर्ने भएकाले त्यसपछि अमेरिका फेरि तीव्र आर्थिक समृद्धिको युगमा प्रवेश गर्ने उनको भनाइले उनका मतदाता प्रभावित देखिए ।

ट्रम्प के पनि स्वीकार गर्छन् भने सरकारबाट धेरै आशा र अपेक्षा गर्ने, सरकारबाट आफ्ना सबै समस्याको समाधान खोज्ने मानसिकता धनीहरूमा अझ बढी छ । ठूला-ठूला विशाल कम्पनी र प्रतिष्ठानहरू कसरी सरकारी अनुदान खाएर गरिब तथा मध्यमवर्गीय अमेरिकीहरूको भाग खोसिरहेका छन् र अमेरिकाका उच्च राजनीतिक पदाधिकारीहरू अवकाशपछि सरकारबाट पाउने पेन्सन र अन्य सुविधाको लागि कसरी मरिमेट्छन् भन्ने उनको तथ्यसहितको प्रस्तुतिले गरिब र मध्यम वर्ग उनको पक्षमा तानिए ।

डोनाल्ड प्रश्न गर्छन्—आर्थिक रूपमा समर्थ र सम्पन्न व्यक्तिहरूलाई पनि राज्यले स्वास्थ्यलगायतका सामाजिक सुरक्षावापतका आर्थिक सुविधा किन दिनुपर्‍यो ? रोजगार खोस्ने आर्थिक नीति र कार्यक्रम ल्याउने अनि बेरोजगार भत्ता दिने कस्तो आर्थिक नीति हो ?

मानिसलाई निर्धक्क आफ्नो व्यापार-व्यवसाय सञ्चालन गर्न पाउने, रोजगार सिर्जना गर्न प्रोत्साहन गर्ने, गरिबलाई समृद्ध बनाउने आर्थिक नीति र कार्यक्रमहरूका पक्षमा उनले लेखिरहेका छन् । तिनै कुरा उनले निर्वाचन अभियानमा भन्दै हिँडे र आम अमेरिकीहरूको मन जित्न सफल भए ।

श्रमिक र मध्यम वर्गका प्रतिनिधि डोनाल्ड ट्रम्प

अन्य मुलुकमा खोलिएका अमेरिकी उद्योगहरूले उद्योगीहरूको मुनाफामा कमी आएको नहोला, तर अमेरिकी राजस्वमा कटौती भएको छ, प्रतिभाशाली तथा दक्ष अमेरिकी श्रमशक्ति रोजगारविहीन छन् र गरिबीमा छन् । त्यसैले त्यस्ता अमेरिकी उद्योगहरू फिर्ता ल्याउन पहल गर्ने आफ्नो नीति रहने बताएकाले पनि युवा अमेरिकी श्रमिक समुदाय उनको पक्षमा उभिए ।

मुलुकको गतिशीलता र समृद्धिको लागि मध्यम वर्गको महत्वलाई ट्रम्पले स्वीकार गर्दै आइरहेका छन् । चीन र भारतको आर्थिक गतिशीलताको मुख्य कारण त्यहाँको मध्यम वर्ग हो, तर अमेरिकामा मानिस कि धनी कि गरिब मात्र छन् । अमेरिकाको मध्यम वर्गको ठूलो संख्या गरिब बनेर र सानो र नगन्य संख्या धनी बनेर समाप्त हुँदै छ । यो मुलुकको समृद्धि, स्थिरता र सुरक्षाको लागि अत्यन्त खतरनाक छ भन्ने उनको भनाइ छ ।

 

अमेरिकी युवा आक्रोशित थिए, आफू उपेक्षित भइरहेको अनुभव गरिरहेका थिए । ट्रम्पले उनीहरूको आक्रोशलाई उनीहरूकै आशा तथा सपनासँग जोडिदिए, त्यसैलाई सफलतापूर्वक प्रतिनिधित्व गरे र जिते ।
बेलायतबाट निस्कने गार्जियन दैनिकका अनुसार दुवै प्रमुख दलका संस्थापन पक्षले वर्षौंदेखि उपेक्षा गरिरहेका, आवाज नसुनिएका युवा समुदाय र श्रम गरेर खाने अमेरिकीहरूले डोनाल्ड ट्रम्पलाई भोट हाले ।

मुस्लिम र आप्रवासी विरोधीको रूपमा उनलाई चित्रण गरिएको छ तर नोभेम्बर १० मा आस्रा नुमानीले दी वासिंटन पोस्ट्मा लेखिन्, ‘म मुस्लिम हुँ, महिला हुँ र आप्रवासी हुँ, तर मैले ट्रम्पलाई भोट हालें ।
अर्को कुरा, कानुनको शासनमा विश्वास गर्ने र कानुनले मात्र आफ्नो सुरक्षा गर्न सक्छ भन्नेमा विश्वस्त भएर अमेरिकामा आफ्नो श्रम र निष्ठा रोपेर बसेका आप्रवासी अमेरिकीहरूले गैरकानुनी र आपराधिक कार्यमा संलग्न आप्रवासीहरूलाई फिर्ता पठाउने कुराको विरोध गरेनन् । राजनीतिक कारणले मात्र ट्रम्पलाई आप्रवासीविरोधी भनिएको उनीहरूले बुझे ।

इस्लामिक स्टेटले युरोप र अमेरिकाका उच्च शिक्षित र सम्पन्न परिवारका मुस्लिम युवालाई समेत उद्वेलित गरिरहेको र आतंकवादको त्रासद छायाँमा बस्नुपरेको अवस्थामा मुस्लिम आप्रवासीहरूको आगमनमा केही बन्देज र व्यवस्थापनका विचारलाई उदार तथा कानुन र व्यवस्थासहितको अमेरिकाको पक्षमा रहेका मुसलमानहरूले विरोध गरेनन् र ट्रम्पलाई मुस्लिमविरोधी भनिएको पत्याएनन् ।

गार्जियनका अनुसार ५३ प्रतिशत गोरा अमेरिकी महिलाहरूले हिलारीलाई मत दिएनन् । गार्जियन र अन्य प्रमुख अमेरिकी समाचारपत्र र टेलिभिजन च्यानलहरूका अनुसार डेमोक्रेटिक दललाई परम्परागतरूपमा भोट हाल्दै आएका श्रमिक समुदायले ट्रम्पलाई भोट हाले ।

धेरैले ट्रम्पको उम्मेदवारीलाई उपहास गरेका थिए । उनको उम्मेदवारीको मनोनयनलाई नै असम्भव बताए । तर हेर्दाहेर्दै उनको समर्थनको क्षेत्र कति विशाल भइदियो भने रिपब्लिकन पार्टीको नेतृत्व उनलाई मनोनयन गर्न बाध्य भयो । तैपनि पार्टीले विशेषाधिकार प्रयोग गरेर उनलाई रोक्नुपर्छ भन्ने पनि थिए ।

तर पार्टीभित्र उनको समर्थनमा देखिएको प्रबल वेगसामु त्यो पनि सम्भव भएन । मनोनयनपछि पनि रिपब्लिकन पार्टीका पूर्व राष्ट्रपतिहरू, मन्त्रीहरू र अन्य प्रमुख नेतृत्वपंक्तिका कोही पनि निर्वाचन अभियानमा सरिक भएनन् ।

राष्ट्रपति बाराक ओबामासहित डेमोक्रेटिक दलका तमाम प्रमुख नेतृत्व समुदाय हिलारी क्लिन्टनको पक्षमा देश दौडाहा गरिरहँदा डोनाल्ड ट्रम्प आफ्ना परिवारका सदस्यहरूलाई मात्र साथमा लिएर आफ्नो पक्षमा मत माग्दै हिँडे । अन्त्यमा १८ महिना लामो कठोर निर्वाचन अभियानपछि डोनाल्ड राष्ट्रपति पदमा विजयी भएरै छोडे ।

उनको पक्षमा मूलधारका विश्व प्रसिद्ध अमेरिकी पत्रिकाहरू, राजनीतिक विश्लेषकहरू, बौद्धिक समुदायहरू कोही थिएनन् । सबैले विरोध गरे । रिपब्लिकन पार्टीको नेतृत्वमण्डल मात्र नभएर रिपब्लिकन दलनिकट मिडिया, बुद्धिजीवी, थिंकट्यांक सबै ट्रम्पविरोधी थिए । खुलारूपमा हिलारीको पक्षमा लागे ।

सेना, रक्षा मन्त्रालय, सीआईएलगायतका सुरक्षा एजेन्सीको नेतृत्व गरिसकेका सबैजसो उच्चाधिकारीहरू मात्र होइन, अमेरिकी सर्वोच्च अदालतका न्यायाधीशसम्मले पनि ट्रम्पको विरोध गरेका थिए । पार्टीभित्र र बाहिरबाट ट्रम्पले जति दबाब, तनाव, विरोध, घृणा, ताडना, लान्छना र अपमान सम्भवतः अमेरिकाको इतिहासमा कुनै अन्य उम्मेदवारले बेहोरेनन् ।

त्यस अवस्थामा भइरहेको निर्वाचनमा ट्रम्पले धाँधलीको सम्भावना देख्नु स्वाभाविक भए पनि त्यस्तो उच्च पदमा उम्मेदवार भएको व्यक्तिले निर्वाचन परिणामलाई अस्वीकार गर्ने चेतावनी दिनु उचित थिएन, तर उनको जितपछि अमेरिकाको दुवै दलको स्थापना पक्षलाई नै प्रतिनिधित्व गर्ने अतिवादीहरूबाट उनलाई आफ्नो राष्ट्रपति स्वीकार नगर्ने र उनका हरेक कदमको विरोध गर्ने घोषणासहित भएको सडक प्रदर्शनले ट्रम्पको त्यो गल्तीलाई गौण बनाइदियो ।

दुवै दलका संस्थापनविरोधी उम्मेदवार - डोनाल्ड ट्रम्प

डोनाल्ड परम्परागत राजनीतिक क्षेत्रबाट नआएकाले परिचित र चर्चित थिएनन् । उनको तुलनामा लामो समयसम्मकी न्युयोर्ककी चर्चित वकिल, शक्तिशाली सिनेट सदस्य, प्रथम महिला र प्रभावशाली विदेशमन्त्रीका रूपमा संसारभर सुपरिचित हिलारी क्लिन्टनको अनुभव, प्रतिष्ठा र समर्थनको चरित्र हेर्दा डोनाल्ड विचरा थिए ।

सबैले डोनाल्डलाई एउटा व्यापारीको रूपमा मात्र बुझे र अवमूल्यन गरे । तर आफ्नो प्रतिभा, लगन, परि श्रम र प्रतिबद्धताका भरमा कसरी डोनाल्डले एउटा विशाल व्यापारिक साम्राज्य खडा गरे र मुलुकका हजारौं, लाखौं युवा समुदायको लागि उनी कसरी प्रेरणास्रोत बने भन्नेबारे विश्लेषकहरूको ध्यान नपुगेको देखियो ।

हिलारीका बृहत् अनुभव उनका विराट् पुँजी थिए, तर ती पदमा रहँदाको उनका कतिपय कार्य विवादित थिए र तीबारे उनको तर्फबाट प्रस्ट उत्तर आउनुभन्दा ट्रम्पविरुद्ध घृणा पोख्नमै उनका समर्थकहरू लागिरहे । ट्रम्पमाथिको निरन्तर आक्रमणलाई नै आफ्नो विजयको आधार बनाउने क्लिन्टन रणनीतिलाई आम जनताले पत्याइदिएनन् ।

दुवै प्रमुख दलका नेतृत्वमण्डल डोनाल्डलाई जित्न नदिन जीउज्यानले लागेका थिए । अमेरिकी सञ्चारमाध्यमहरू, बौद्धिक समूह, ठूलाठूला सहरकेन्द्रित र विदेशमा आधारित स्वार्थ संगठनहरू, राजनीतिक र आर्थिक शक्तिकेन्द्रहरू, वैदेशिक स्वार्थ समूहहरूको सिन्डिकेट अर्थात् संक्षिप्तमा आफ्नै वर्ग तथा समूहको हित पोषण र सुरक्षामा अमेरिकी राजनीतिलाई फन्फनी घुमाएर बसेका सम्भ्रान्त अमेरिकीहरूले डोनाल्डलाई आफ्नो स्थापित राजनीतिक विशेषाधिकार खोस्न आएको बाहिरिया व्यक्तिको रूपमा बुझे र उनलाई प्रताडित गर्न सम्भव सबै उपाय अवलम्बन गरे ।

तर डोनाल्डमाथि स्वार्थ समूहहरूको प्रताडना जति थपिँदै गयो आम अमेरिकी जनता डोनाल्डको पक्षमा झन् प्रतिबद्ध भएर लागे । परिणाममा उनीहरूले दसकौंदेखि अमेरिकी राज्य व्यवस्थामा हालीमुहाली गरेर बसेका दुवै पार्टीका बलियो राजनीतिक सिन्डिकेट अन्त्य गरे ।

डोनाल्ड भन्दै हिँडे—अमेरिकाले आफूलाई नवीकृत गरेन, सार्वजनिक सेवा र भौतिक पूर्वाधारलाई उन्नत तरिकाले सुधारेन र राज्य शक्ति र क्षमतामा विस्तार गरेन भने अमेरिकासँगै सिंगो संसार झन्झन् संकटमा फस्दै जानेछ ।
अमेरिका आर्थिक र सैनिक रूपमा शक्तिशाली बनेन भने ऊ विश्वप्रतिको दायित्व बोकिरहन सक्दैन । तर कमजोर अमेरिकी अर्थतन्त्र र रुग्ण भौतिक पूर्वाधारको अवस्थाले अमेरिकालाई त्यो क्षमता दिएको छैन । अमेरिकासँग सुरक्षा सन्धि गरेका एसियाली र नाटो राष्ट्रहरूले आफ्नो क्षमताअनुसार आफ्नो सुरक्षा दायित्व बहन नगरेर अमेरिकामाथि थप आर्थिक भार बोकाएको कारण अमेरिका र स्वयं उनीहरूको सुरक्षा क्षमतामा प्रतिकूल असर पुगिरहेको उनको भनाइ थियो ।

निश्चय नै सरल तर हठी ट्रम्पले निर्वाचन सन्दर्भमा भनेका कतिपय भनाइ पाच्य थिएनन् । तर बीसौं वर्षको राजनीतिक र एक दसकभन्दा लामो कूटनीतिक अनुभव आर्जन गरेकी हिलारी क्लिन्टनदेखि राष्ट्रपति ओबामासम्मले ट्रम्पप्रति व्यक्त धारणा झन् मर्यादित थिएनन् ।

अमेरिकी र क्लिन्टन समर्थक अन्य देशका सञ्चारमाध्यमहरूले पनि ट्रम्प समर्थकहरूलाई जातिवादी, महिला तथा समलिंगी बैरी र फासिस्टको रूपमा र ट्रम्पलाई एउटा दुर्नाम खलपात्रको रूपमा चित्रण गरेर ट्रम्प समर्थकहरूलाई झन्झन् प्रतिबद्ध र समर्पित बनाइदिए । अमेरिकी मूल्य र परम्पराको प्रतिनिधिको रूपमा उनलाई अंगीकार गरे ।

हिलारीका बृहत् अनुभव उनका विराट् पुँजी थिए, तर ती पदमा रहँदाको उनका कतिपय कार्य विवादित थिए र तीबारे उनको तर्फबाट प्रस्ट उत्तर आउनुभन्दा ट्रम्पविरुद्ध घृणा पोख्नमै उनका समर्थकहरू लागिरहे । ट्रम्पमाथिको निरन्तर आक्रमणलाई नै आफ्नो विजयको आधार बनाउने क्लिन्टन रणनीतिलाई आम जनताले पत्याइदिएनन् ।

हिलारीको पराजयसँगै अमेरिकी सञ्चारमाध्यमहरूको विश्वसनीयतामाथि ठूलो प्रश्न उठेको छ । जनतालाई ढाँटेको, सही समाचार सम्प्रेषण नगरेको, प्रायोजित जनमत सर्भेक्षण गराएको, सत्यलाई तोडमोड गरेको, जनतामा ट्रम्पविरुद्ध घृणा र भ्रम फैलाएको आरोप उनीहरूमाथि लागेको छ ।

अमेरिकी र कतिपय युरोपेली सञ्चारमाध्यमले एक किसिमले ट्रम्पविरुद्ध शीतयुद्धकालीन प्रचार युद्ध सञ्चालन गरे । बहस मूल्य, नीति र कार्यक्रमहरूमा चलाएनन्- आरोप र प्रत्यारोपको खेती गरेर बसे । ट्रम्पले जितेको त चार वर्षकै लागि हो तर विश्वभरिका बौद्धिक समुदायको वैचारिक प्रतिनिधिको रूपमा रहेका अमेरिकी सञ्चारमाध्यम त लाग्छ, दसकौंको लागि हारेका छन् ।
भट्टराई नेपाल इन्स्टिच्युट फर स्ट्राटिजिक स्टडिजसँग आबद्ध छन् ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.