पहिचानको प्रमाणीकरण

पहिचानको प्रमाणीकरण

मानव सभ्यता र राजनीति विकासका क्रममा हरेक युग र समयमा राम्रा, असल र परोपकारी कार्य तथा नराम्रा खराब आचरण र परपीडादायी कार्यले आम मानिस र राजनीतिक नेताहरूले समाज र देशमा आआफ्ना पहिचान कायम गरिरहेको पाइएको छ । मानिसहरूमा जब आफ्नो आधारभूत आवश्यकता खाना, नाना र छानाको व्यवस्था हुन्छ, त्यसपछि पहिचानको आवश्यकता महसुस हुन्छ । आज लाखौं नेपाली नेपालका हिमाल, पहाड, तराई मधेसबाट वैदेशिक रोजगारको लागि ५० डिग्री सेल्सियसको तापक्रमसम्म पुग्ने मध्यपूर्वका कतार, साउदी र दुबई र शून्य डिग्री सेल्सियस चिसो तापक्रम हुने जापान, दक्षिण कोरियामा गएर आफ्नो रगत-पसिना श्रमको रूपमा बगाइरहेका छन् ।

आधारभूत आवश्यकता पूरा गर्न वैदेशिक रोजगार जीवनमरणकै प्रश्न भएको छ । त्रिभुवन विमानस्थलमा बाकसमा बन्द भएर आएक दैनिक ५/१० वटा नेपाली दाजुभाइ दिदीबहिनीको लास देखेर पनि त्यही बाटो मुटु दह्रो बनाएर दैनिक एक हजार पाँच सयदेखि दुई हजार युवा हवाईजहाजबाट बाहिर गइरहेका छन् । यो सबै स्वदेशमा रोजगार उपलब्ध नहुनु र देशभित्रै काम गरेर बस्न चाहनेलाई पनि शान्तिसुरक्षा र बजारको अनिश्चितताले नेपालमै बस्ने र काम गर्ने वातावरण अझै तयार हुन बाँकी रहेकाले नै हो भन्ने गरिएको छ ।

मानिसका आधारभूत आवश्यकता पनि समय, देश, काल र परिस्थितिअनुसार परिवर्तन भइरहेका छन् । १०/१५ वर्ष अगाडि नेपालमा मोबाइल हुनु भनेको सम्पन्नता र विलासिताको वस्तु मानिन्थो । आज देशमा जनसंख्याभन्दा बढी मोबाइल रहेको अनुमान गरिएको छ । आम सर्वसाधारणले पनि मोबाइल सुविधा उपयोग गरिरहेका छन् । अहिले मोबाइल पनि आधारभूत आवश्यकतामा पर्न गएको छ । त्यस्तै एफएम रेडियोहरू र टेलिभिजन पनि आवश्यकतामै पर्न थालेका छन् ।

आज जनप्रतिनिधि वा सरकारी उच्च ओहोदामा पुगेकाहरूको चालचलन हेर्ने हो भने आफ्नो हातमा डाडुपन्यु भएपछि सबै खाना आफ्नै भागमा हाल्ने स्वार्थी प्रवृत्तिको विकास भएको पाइएको छ । अहिले उच्च ओहोदामा पुगेपछि आम जनता र देशको अवस्था हेर्नुपर्नेमा जनता र देश भड्खालोमा जाओस् आआफ्नै परिवार र आसेपासेको स्वार्थ मात्र पूरा गर्नुपर्छ भन्ने मान्यताले प्राथमिकता पाएको जस्तो देखिएको छ ।

एकपटकको मन्त्री आजीवन मन्त्री भनेजस्तै कुनै पदमा आफू पुग्नुअगाडि अर्कै व्यक्ति त्यो पदमा थियो र आफू हटेपछि अर्कै व्यक्ति त्यो पदमा पुगेको हुन्छ । लाभको पदमा पाएको सुविधा त्यो पदमा बहाल रहुन्जेल मात्र उपयोग गर्नुपर्छ भन्ने लोकतान्त्रिक मान्यताविपरीत पदबाट हटेपछि गाडी लिएरै जाने आजीवन त्यस्तै सुविधा प्रयोग गर्न चाहने अलोकतान्त्रिक संस्कार २०४६/०४७ र २०६२/०६३ को राजनीतिक परिवर्तनपछि व्यापक भएको पाइएको छ ।

सरकारी सम्पत्ति जनताले रगत-पसिना बगाएर तिरेको करबाट जम्मा भएको राजस्व हो । त्यसैले सरकारी सम्पत्ति सार्वजनिक प्रयोजनको लागि मात्र खर्चनुपर्छ । लाभको पदमा पुगेको वा पुगेर अवकाश पाएकाको व्यक्तिगत सुखसुविधाको लागि खर्च गरिनु हुँदैन । नेपालमा कुनै उच्च पद वा ओहोदामा पुग्नु भनेको आम जनताको जीवनस्तर उठाउने कार्यतर्फ लाग्नुपर्ने हो ।

 

त्यसको ठीक विपरीत आफ्नो व्यक्तिगत र पारिवारिक स्वार्थमा चुर्लुम्म डुबेर फजुल खर्चमा सरकारी सम्पत्तिको दुरुपयोग भएको पाइएको छ । रोल्पा र रुकुमका आम जनता १० वर्षअगाडि जनयुद्धको नाममा लडेकालाई आफूले आ श्रय दिए र मोही, मकैको ढिँडो खाएर पराले गुन्द्रीमा सँगै सुतेका नेताहरूको लवाइखवाई देखेर यी तिनै नेता हुन् त भनेर जनता विलखबन्दमा परेको पनि देखियो । बर्मन बुढा पहिलोपटक संसद्मा भोटो कछाड लगाएर उपस्थित भएका थिए ।

आफ्नो सांसदको पदावधि पूरा गरेपछि रोल्पाको गाउँमै गएर बसे । तिनै बर्मन बुढा माओवादी जनयुद्धकालका नेताहरूलाई काठमाडौंमा भेट्दा चकित परे । नेताहरूको विलासिताको जीवनस्तर, सडकमा निस्कँदा अगुवा र पछुवा गाडीको लस्कर र डेढदुई करोडको गाडीमा सरर गुडेको देख्दा आमजनताले कस्तो अनुभूति गरे होलान् ? चुनावमा मतदानको मौका पाउनासाथ व्यक्त गर्ने पर्खाइमा अधैर्यको साथ रहेको अनुमान गरिएको छ ।

विगत ५० वर्षभन्दा बढी समयदेखिको जिल्ला र गाविसको पहिचान कायमै रहेमा नयाँ पहिचान खोजीको आवश्यकता पर्दैन होला । यो पहिचानलाई कसैले प्रमाणीकरण गर्नु पर्दैन । नेपाललाई 'नयाँ नेपाल' होइन, नेपालकै पहिचान कायम राखिरहेमा देशमा अमनचयन, शान्ति र समृद्धिको यात्रा गर्न सहज हुनेछ ।

लोकतान्त्रिक गणतन्त्रका नेताहरू सामान्य उपचारको लागि भारत र अमेरिकामा तीनदेखि पाँच करोड रुपैयाँसम्म खर्च गरिरहेको अनुमान छ । पदमा रहँदा देशको लागि तिनले के त्यस्तो योगदान गरे र अब राज्यले करोडौं खर्च गरेर आजीवन तिनीहरूको उपचार गरिराख्नुपर्ने ? ल भूतपूर्वहरू त धृतराष्ट्र भएर छोराछोरीलाई अमेरिकाको सयर गराउन लागे तिनको सो कार्यमा सहयोग पुर्‌याउने मन्त्रिपरिषद् र त्यसका नेता तथा सदस्यहरूको पनि त्यतिकै जिम्मेवारी रहेको महसुस भएको छ ।

मानिसको जीवनमा हिजो र भोलिभन्दा वर्तमान समयकै महत्त्व रहेको हुन्छ । तराई-मधेसमा बसोवास गर्ने आदिवासी मधेसीलाई भारतीय वा हिजो भारतबाट आएका भन्दा जस्तो पीडा हुन्छ । आदिवासी पहाडी समुदायहरूलाई राजा महेन्द्रले पहाडबाट बसाइ सराएका हुन् भन्दा त्यस्तै पीडा हुन्छ होला । अचानोको चोट खुकुरीलाई के थाहा ? आज मधेसी र पहाडी आदिवासी जो तराई-मधेसमा एक सय वर्षभन्दा अगाडिदेखि सँगै मिलेर बसोवास गरिरहेका छन्, तिनलाई संकीर्ण राजनीतिको अचानो बनाइएको महसुस भइरहेको छ ।

सोझा र इमानदारले हरेक युगमा आफ्नो सोझोपना र इमानदारीको परीक्षा दिन हमेसा तयार रहिरहनुपर्ने हो त ? रामायणकालमा सीताले अग्निपरीक्षा उत्तीर्ण गरेपछि पनि धोबीको भनाइमा रामले त्यागिदिएकाले गर्भिणी अवस्थामा जंगल जानुपर्‌यो । तराई-मधेसमा बसोवास गरेका आदिवासी मधेसी र पहाडीहरूले आफ्नो पुर्खाले बसोवास सुरु गरेको एक सय वर्षभन्दा बढी भएको भनेर पहिचानको प्रमाण प्रस्तुत गरिरहनुपर्ने र त्यो प्रमाण जाँचेर ठीक छ भन्ने हैसियतवाला को हो ? यो सबै 'भाइ फुटे गँवार लुटे' ले गर्दा नै भएको हो भनिएको छ ।

आज एफएम रेडियो सुनौं, टेलिभिजन कार्यक्रम हेरौं ,नेपालभित्र र बाहिरका नेपालीले आफ्नो परिचय दिँदा जिल्ला, गाविस बस्ने भनेर परिचय दिएको पाइएको छ । त्यहाँ हिमाल, पहाड, तराई भनेर कसैले भन्दैनन् । त्यसैले विगत ५० वर्षभन्दा बढी समयदेखिको जिल्ला र गाविसको पहिचान कायमै रहेमा नयाँ पहिचान खोजीको आवश्यकता पर्दैन होला । यो पहिचानलाई कसैले प्रमाणीकरण गर्नु पर्दैन । नेपाललाई 'नयाँ नेपाल' होइन, नेपालकै पहिचान कायम राखिरहेमा देशमा अमनचयन, शान्ति र समृद्धिको यात्रा गर्न सहज हुनेछ । राष्ट्रिय एकता अझ सुदृढ हुँदै सार्वभौमसत्तासम्पन्न देशको रूपमा नेपाल र नेपालीको शिर ठाडो हुने आशा, भरोसा र विश्वास गरिएको छ ।



 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.