डोनाल्ड ट्रम्पबाट त्रास कि आस ?

डोनाल्ड ट्रम्पबाट त्रास कि आस ?

अमेरिकी राष्ट्रपतिको चुनावमा डोलान्ड ट्रम्पको जित देखेर मानिसहरू धेरै त्रसित र थोरै आशातित भएको देखिन्छ । तर त्रास र आस अन्तरसम्बन्धित हुन् । बहुमत अमेरिकी जनताको मतबाट चुनिए पनि अमेरिकीहरू नै त्रसित भएका छन् । त्यही त्रासको अभिव्यक्ति उनले पदभार समाल्नुअगाडि नै अमेरिकाका ठाउँठाउँमा विरोध जुलुस र सभाहरू भइरहेका छन् । हुन त त्यस्ता आन्दोलनले उनको चुनाव र चुनाव फलमा कुनै असर पर्दैन ।

उनले आगामी जनवरी २० मा राष्ट्रपतिको शपथ ग्रहण गर्नेछन् र कार्यभार थाल्नेछन् । आन्दोलनकारीहरूले ट्रम्प मेरा राष्ट्रपति होइनन् भनेर नारा लगाउँदै छन् । त्यो एउटा भावनात्मक अभिव्यक्ति मात्र हो । उनको राष्ट्रपति हुनु र नहुनुसित सम्बन्धित छैन । किनभने उनी अमेरिकाको पैंतालीसौं राष्ट्रपति निर्वाचित भइसकेका छन् । आन्दोलनले एउटा कुरा दर्शाएको छ । त्यो हो-अमेरिकामा गैरकानुनी ढंगले बसोवास गरिरहेका आप्रवासीहरूको मनको त्रास र डर ।

अमेरिकाको ३० करोड जनसंख्यामा एक करोड २० लाख आप्रवासीहरू गैरकानुनी रूपमा बसेको पाइएको छ । ट्रम्पले आफ्नो प्रचारको दौरान सबै गैरकानुनी आप्रवासीहरूलाई देशनिकाला गर्ने कडा कुरा गरेका थिए । तर जनमत र आफ्नै रिपब्लिक पार्टीका नेताहरूको दबाबमा पछि तीमध्ये अपराधी क्रियाकलापमा दोषी पाइएकालाई मात्र देशनिकाला गर्न भन्न थाले । राष्ट्रपति निर्वाचनको नतिजा निस्केपछि उनी यस भनाइमा अडिएका छन् । राष्ट्रपतिले आँटे सो काम नहुने पनि होइन । यो कारबाही भएमा एक करोड बीस लाख गैरकानुनी आप्रवासीहरूमध्ये एक लाख मात्र देश निकाला गरिनेछन् ।

अहिलेसम्मको आँकडाअनुसार त्यति मानिस मात्र कुनै न कुनै आपराधिक कार्यमा संलग्न भएको पाइएका छन् । अपराध भन्नाले ट्राफिक नियम उल्लंघन गरेकोलाई अपराध मानिँदैन । तर आँकडामा देखिएका एक लाख सबै अपराधीहरू जेलमा छैनन् । तीमध्ये कतिपय जेलमा सजाय भोगिरहेका पाइएलान् । तर कतिपय सजाय भोगिसकेका छन् भने कतिपयमाथि कारबाही नै हुन बाँकी छ । उनीहरू अमेरिकी समाजमा फैलिएर र भिजेर बसेका छन् ।

जेलमा परेकालाई सोझै हवाई अड्डा लगी देशनिकाला गर्न सकिएला । तर बाहिर भएका अपराधीलाई खोजतलास गर्नु सारै कठिन काम हो । किनभने अमेरिकामा कसैलाई विनाकारण सडकमा रोकी सोधपुछ गर्नु गैरकानुनी मानिन्छ । अतः को कानुनी हो र को गैरकानुनी हो भनेर छुट्ट्याउन सकिन्न । विनाकारण अमेरिकी प्रहरीले यो कुरा छुट्ट्याउने अधिकार पाएको छैन ।

त्यसकारण राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहे पनि उनको आदेशअनुसार अपराधी आप्रवासीहरूलाई देशनिकाला गर्न सकिन्न । यसको लागि सबभन्दा पहिले प्रहरीको अधिकारमा परिवर्तन ल्याउनुपर्छ । त्यस्तो परिवर्तन गर्नु अमेरिकी समाजमा साह्रै कठिन मानिन्छ । किनभने यसबाट व्यक्तिगत स्वतन्त्रता र निजी गोप्यताको सुरक्षामा खलल पुग्छ । यस प्रकारको कानुनी संशोधन गर्न अमेरिकी कंग्रेस याने व्यवस्थापिका प्रायः तयार हुँदैन । हुन त यसपालिको निर्वाचनबाट अमेरिकी कंग्रेसका दुवै सभामा रिपब्लिक पार्टीको बहुमत प्राप्त भएको छ, तर अमेरिकाको दलीय प्रथामा संसदीय प्रणालीमा जस्तै दलको नेतृत्वले ह्विप जारी गर्न पाउँदैन ।

 

व्यवस्थापिकाका हरेक सभासद्ले आफूखुसी मत दिने गर्छन् । तर अमेरिकी राष्ट्रपतिले भने कार्यकारी प्रमुखको हैसियतले केही आदेश जारी गर्न सक्छन् । यही अधिकारको प्रयोग गरेर राष्ट्रपति ट्रम्पले अपराधी आप्रवासीहरूको तलास गर्न लगाउन सक्छन् । त्यस प्रकारको तलासी अमेरिकी समाजमा नसुनिएको र नगरिएको काम हो । कसैले यस्तो काम थालिहाले भने अमेरिकी समाज नराम्रैसित खल्बलिनेछ । त्यो हदसम्म राष्ट्रपति ट्रम्प जान्छन् भन्ने निश्चित छैन ।

आप्रवास समस्यालाई ट्रम्पले पहिलो प्राथमिकतामा राखेका छन् । त्यसपछि उनले रोजगार र करलाई महत्त्व दिने भनेका छन् । अमेरिकामा रोजगार बढाउने र कर घटाउने विषयमा नेपाल र नेपालीको ठूलो चासो छैन । तर आप्रवासको विषयमा भने आफू पनि प्रभावित हुने हुनाले चासो नलिई सुख छैन । राष्ट्रपति ट्रम्पको कार्यकालको सुरुआतमा आप्रवाससम्बन्धी खल्बली मच्चिने देखिएकाले नेपालीहरूले पनि अमेरिकी मामिलामा ठूलो रुचि र चासो लिएका छन् ।

अहिलेसम्मको घोषित नीतिअनुसार अपराधमा मुछिएका नेपालीहरू देश निकालामा पर्ने सम्भावना ठूलो छ । त्यस प्रकारका नेपालीहरू कति छन् भन्ने तथ्यांक कतै फेला परेको छैन । तर अरू देशका आप्रवासीहरूको तुलनामा नगन्य भएको मानिन्छ । त्यसैले यस कदमबाट नेपालीहरू प्रायः त्रसित भएको देखिन्न । त्रसित हुनैपर्ने नेपालीहरू जति छन्, उनीहरू सबै अमेरिकामै भएकाले पनि नेपालमा त्यसको प्रभाव महसुस भएको छैन ।


ट्रम्पले संसारमा ठूलो त्रास फैलाएका छन् । त्यसैले अहिलेसम्म पनि उनले पद समालेपछि के गर्नेछन् भन्नेबारे कोही पनि प्रस्ट छैन । तर एउटा के प्रस्ट छ भने ट्रम्पले जति त्रास फैलाएका छन् उति नै उनी आफैं त्रसित छन् ।

तर डोलान्ड ट्रम्प अमेरकाको राष्ट्रपति हुने भएपछि त्यसको नेपालमा के असर पर्छ भन्ने विषयमा भने केही चर्चा भएको पाइन्छ । कति जानिफकारहरूले नेपालले पाइरहेको अमेरिकी सहयोगमा कुनै असर नपर्ने भनेका छन् भने कतिपयले नेपालीहरूको अमेरिकामा आवतजावतमा पनि कुनै असर नपर्ने देखेका छन् । हुन त ट्रम्पको निर्वाचनले संसारका अरू मुलुकहरूमा ठूलो खल्बली फैलिएको छ तर त्यसको तुलनामा नेपालमा कुनै चिन्ता देखिएको छैन न ठूलो आशा नै लिएको देखिन्छ ।

अमेरिकाको मुख्य सहमार्गी युरोपका देशहरू चिन्तित छन् किनभने ट्रम्पले नाटोको खर्च युरोपेली देशहरूले बेहोर्नुपर्ने विषय उठाएका छन् । ट्रम्पले रूसका नेता पुटिनको धेरै तारिफ गरेकाले पनि युरोपेलीहरू सशंकित भएका छन् । हुन त वास्तविकतामा ओर्लिएपछि ट्रम्पले रूससित कतिको सहकार्य गर्न सक्छन् भन्ने निश्चित छैन तर उनको खरो भाषा र भनाइबाट युरोपेलीहरू त्रसित भएका छन् । चीनसित लडाइँ, झगडा गर्ने कुरा नगरे पनि चीनले अमेरिकीहरूको धेरै रोजगार छिनिदिएको र व्यापारमा अमेरिकालाई धेरै हानि पुर्‌याएको सिकायत गरेका छन् । त्यसको समाधान कसरी गर्ने भनेर कुनै ठोस उपाय नबताए पनि ट्रम्पले यसबारेमा उथलपुथल ल्याउने विश्वास गरिएको छ ।

ट्रम्पले संसारमा ठूलो त्रास फैलाएका छन् । त्यसैले अहिलेसम्म पनि उनले पद समालेपछि के गर्नेछन् भन्नेबारे कोही पनि प्रस्ट छैन । तर एउटा के प्रस्ट छ भने ट्रम्पले जति त्रास फैलाएका छन् उति नै उनी आफैं त्रसित छन् । यही त्रासबाट प्रभावित भएर उनी राष्ट्रपति भएपछि कुनै पनि मुस्लिमलाई अमेरिका पस्न नदिने घोषणा गरेका थिए । यसबारेमा धेरै आलोचना भएपछि अमेरिका त छिर्न दिन्छु तर आगन्तुकको पृष्ठभूमि अत्यधिक बुझबुझार्थ गरेर मात्र छोडिदिने कुरा गरे ।

अमेरिकामा जेजस्तो हिंसाको घटना भए पनि सो घटना कतै आतंककारीले गराएका त होइनन् भन्ने शंका गरिन्छ र त्यसै अनुसारको छानबिन हुने गरेको छ । अमेरिकामा बन्दुक राख्ने मौलिक अधिकार संविधानले दिएकोले प्रायः नागरिकहरूले घरघरमा बन्दुक राख्ने चलन छ । त्यसैको कारणले सन्की मानिसद्वारा अथवा रिसको झोकमा हत्या–हिंसाका घटना हुने गर्छन् । यस्ता घटनामा कुनै आतंककारीको संलग्नता नभए पनि शंका गरिन्छ । अमेरिकीहरूले ९ र ११ बिर्सेका छैनन् । त्यसबाट यदि कोही त्रसित छन् भने नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प छन् ।

उनको यो त्रासभित्र आस लुकेको छ । कसैले उनलाई यो त्रासबाट राहत दिन या उन्मुक्ति दिन सहयोग गर्न सके उनीबाट धेरै आस गर्न सकिन्छ । विश्वको सबभन्दा शक्तिशाली देश अमेरिका आज सबभन्दा भयभीत भएर बाँच्नुपरेको विडम्बना र वास्तविकता हो । नेपाल सानो भए पनि यस्तो भय कम गर्न र गराउन सक्ने क्षमता भएको देश हो । यस सन्दर्भमा एउटा हितोपदेशको श्लोकमा भनिएको छ- संसारमा सबै दानमा सबभन्दा ठूलो दान अभयदान हो ।

यो जस्तो न भूमिदान, न सुवर्णदान, न गोदान, न अन्नदान नै हो । तर के गर्ने क्षमता भएर मात्र नहुने रहेछ, त्यसको लागि उतिको सक्षम सरकार र बलियो नेतृत्व हुनुपर्छ । त्यो नभएसम्म नेपाल र नेपालीले यस्तो सुनौलो अवसरबाट आस गर्ने ठाउँ रहन्न ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.