राज्यले समेत विभेद गर्दा चित्त दुख्छ'
![राज्यले समेत विभेद गर्दा चित्त दुख्छ'](https://annapurnapost.prixacdn.net/media/albums/kheladiko-pida-5838eab45526e8.94752092_6NW5U9nNMC.jpg)
काठमाडौः मनभरि आआफ्नै व्यथा र पीडा बोकेका एक हुल ‘फरक क्षमता' भएका युवा एकाबिहानै काठमाडौंको सिफलस्थित फुटबल मैदानमा भेला भएका थिए । ह्विलचेयरमा बसेर क्रिकेटको ब्याट, विकेट र बलमा झुम्मिनु, विगत १५ दिनदेखि उनीहरूको दिनचर्या बनेको छ । फरकफरक परिवेशबाट सिफलको फुटबल मैदानसम्म आइपुगेका यी युवाको कथा र व्यथा आआफ्नै भए पनि उनीहरूले देखेको सपना भने समान छ, विदेशी खेल मैदानमा राष्ट्रको शिर उच्च पार्नु ।
मुलुकमा चलेको सुन्दै कहाली लाग्ने १० वर्षे जनयुद्धका क्रममा नेकपा माओवादीले थापेको एम्बुसमा परेर स्पाइनल कड इन्जुरीको पीडा भोगिरहेका रूपन्देही सालझन्डीका हिमाल अर्याल हुन् वा विदेशी भूमिमा रगत पसिना बगाई परिवारलाई दुई छाक मिठोमसिनो ख्वाउने सपना बुन्दै कतार पगेर उतै सवारी दुर्घटनामा परी हिँडडुल गर्ने क्षमता गुमाएका धनकुटा राजारानीका डिगमसिं चेम्जोङ, सबै यतिबेला खेलमैदानमा आफ्नो दुःख भुलाउने प्रयास गर्दैछन् ।
अभावग्रस्त जीवनबाट मुक्ति पाउने सपना बोकेर कतार पुगेको डिगमसिं सन् २००८ को अगस्टमा उतै सवारी दुर्घटनामा परे । दुर्घटनामा परी अस्पतालको शैयामा पुगेका उनी त्यसपछि कहिल्यै आफ्नो खुट्टामा उभिन नसक्ने भए ।
उनी स्पाइनल कड इन्जुरीबाट पीडित भए । भविष्य सपार्ने सपना साँचेर आफन्तबाट टाढिएका डिगमसिंको भविष्य नै अन्धकारमय बन्यो । अस्पतालको शैयामै हुँदा उनको जीवनमा फेरी अर्को वज्रपात भयो ।
‘दुर्घटनाले लगाएको घाउ मनमा आलै थियो, हिँडडुल गर्न नसक्ने भएपछि मन विक्षिप्त बनेको थियो । यस्तैमा घरबाट बुवाको निधनको समाचार आइपुग्यो, पीडामाथि अर्को पीडा थप्ने गरी', लामो सयम फिल्डिङ गरेपछि पसिनाले लफ्रक्कै भिजेर मैदानबाट बाहिरिएका २८ वर्षीय डिगमसिंले विगत सम्झिए, ‘चारैतिर अन्धकार मात्र देख्थेँ, बुवाको निधनपछि त झन् आफ्नो जीवन आफैंलाई भार भएझैं लाग्थ्यो ।
मनमा पलाउने अनावश्यक सोचविचारले मलाई डिप्रेसनको सिकार बनायो । धन्य, आफैंले बिदाबारी गरी धन कमाउन विदेश पठाएको छोरालाई बुवाले त्यस्तो हालतमा देख्नु परेन, नत्र उहाँको मन कति रुन्थ्यो होला !'
बुवाको निधन भएको केही समयपछि उनी स्वदेश फर्किए । तर लामो समय ओछ्यानमा सुतिरहँदा शरीरमा घाउ हुनेदेखि लिएर अनेक समस्या आउन थाले । त्यसको निदानका लागि उनी चिकित्सक र साथीभाइको सल्लाहमा ह्विलचेयरमै बसेर विभिन्नखाले शारीरिक व्यायाममा सक्रिय हुन थाले ।
फरकफरक परिवेशबाट फुटबल मैदानसम्म आइपुगेका यी युवाको कथा र व्यथा आआफ्नै भए पनि उनीहरुले देखेको सपना भने समान छ । विदेशी खेल मैदानमा राष्ट्रको शिर उच्च पार्नु ।
शारीरिक व्यायाममा निस्कने त्यही निर्णयले उनलाई अनततः ओछ्यानमा पल्टिरहने निरश जीवनबाट क्रिकटको मैदानसम्म पुर्यायो । समयको लामो कालखण्ड पार गरिसकेपछि यतिबेला उनी अन्तर्राष्ट्रिय खेल जगत्मा राष्ट्रको झन्डा बोक्ने पारा खेलाडीका रूपमा स्थापित भएका छन् ।
‘अहिले त मलाई अपांग हुँ भन्ने फिलसम्म हुँदैन', निकट भविष्यमै भारतमा आयोजना हुन लागेको ‘ह्विलचेयर क्रिकेट र बास्केटबल प्रतियोगिता' को तयारीमा व्यस्त डिगमसिं भन्छन्, ‘दुर्घटनामा परेर फर्किएपछि आमाले मलाई लड्छ भनेर घरबाट बाहिर पनि निस्कन दिनुहुन्थेन तर, अहिले घर बाहिरका कामहरू पनि मलाई अराउनुहुन्छ ।
खेलकुदमा लागेर अपांगता भएका व्यक्तिले समेत राष्ट्रका लागि महत्वपूर्ण योगदान पुर्याउन सक्छन् भन्ने सन्देश धेरै आमाबुवाहरूलाई दिन सकेँ भने म आफ्नो जीवन सार्थक भएको सम्झनेछु ।'
भारतमा हुने प्रतियोगिताका लागि घोषित बास्केटबल टोलीका कप्तान र क्रिकेट टोलीका उपकप्तान हुन्, हिमाल । ३७ वर्षीय हिमाल मुलुक सशस्त्र द्वन्द्वमा रहेको बेला २०६० साल कात्तिक २९ गते मकवानपुरको पान्द्राङमा माओवादीले थापेको एम्बुसमा परे ।
लामो समयपछि अस्पतालको शैयामा होस खुल्दा उनको जीवनले अर्कै मोड लिइसकेको थियो । सोही एम्बुसले उनलाई जीवनभर भुल्न नसक्ने स्पाइनल कड इन्जुरीरूपी घाउ दियो ।
अस्पतालबाट फर्किएपछि पनि उनले लाउँलाउँ खाउँखाउँकै उमेरमा लामो समयसम्म घरकै ओछ्यानमा पल्टिएर दिन बिताए, मुलुकमा चर्किएको सशस्त्र द्वन्द्वले आफू र आफूजस्तै हजारौं व्यक्तिलाई दिएको कहिल्यै निको नहुने घाउ भुलाउने प्रयास गर्दै ।
‘त्यो एम्बुसले देश र जनताको जीवनस्तरमा कस्तो परिवर्तन ल्यायो भन्ने कुरा भविष्यले बताउला तर, मेरो भविष्यलाई भने अन्धकार नै बनायो', हिमाल भन्छन्, ‘अस्पतालबाट फर्किएपछि पनि लामो समय ओछ्यानमै पल्टिनुको विकल्प थिएन, एकाएक जीवन निरश बनेको थियो ।
तर ओछ्यानमा सुतिरहँदा जीउमा घाउ हुने, पिसाबमा इन्फेक्सन हुनेजस्ता समस्या देखिन थाले । त्यसपछि शारीरिक अभ्यासका लागि ह्विलचेयरको सहारामा घर बाहिर निस्कन थालेँ ।' विस्तारै विस्तारै फेरि घरबाहिरको संसार चियाउने क्रममा जीवनसँग सम्झौता गर्दै खेल मैदानमा पुगेर उनको पाइला अडिएको रहेछ ।
‘खेलकुदमा लागेपछि यतिबेला मैले जीवनको नयाँ लक्ष्य भेट्टाएको छु, खेलमैदानबाटै राष्ट्रका लागि केही गर्ने । अपांग भएकोमा अहिले मलाई कुनै हीनताबोध छैन । अरूले जस्तै आफ्नो परिवार, समाज र राष्ट्रका लागि धेरै कुरा गर्न सक्छु भन्ने बलियो आत्मविश्वास पलाएको छ, यसको श्रेय खेलकुदलाई नै जान्छ', उनी आभारी छन्, खेलकुद क्षेत्रप्रति ।
भारतमा हुने प्रतियोगितालाई लिएर पनि हिमाल उत्तिकै आशावादी देखिन्छन् । ‘अघिल्लो पटक सामान्य तयारीका भारमा खेल्दा पनि हामी पाकिस्तानसँग केवल तीन रनले पराजित भएका थियौं, यसपालि त हामीले प्रतियोगिताका लागि गतिलो तयारी गरेका छौं । खेलमा हार र जितको उत्तिकै सम्भावना रहन्छ तर, यसपटक हाम्रो एकमात्र लक्ष्य जित हो', उनले थपे ।
लमजुङ बिचौर—१ का ३० वर्षीय नारायण दवाडीको व्यथा पनि हिमालकै जस्तो छ । फरक यति हो, हिमाल एम्बुसमा परे अनि नारायण सवारी दुर्घटनामा । तर भोग्नु परेको पीडा र समस्या दुवैको एउटै, स्पाइनल कड इन्जुरी । २०६५ साल चैत १२ गते बिदुरमा नेपाली सेनाको बस दुर्घटना हुँदा नारायण पनि त्यसमा सवार थिए ।
सेनामा कार्यरत रहेकाले पनि खेलकुदप्रतिको मोह भने उनमा पहिलेदेखि नै थियो । त्यसैले दुर्घटनामा परेपछि उनले खेलकुदमै लागेर जीवनको नयाँ परिभाषा खोज्ने जमर्को गरे । उनी बास्केटबल र क्रिकेट दुवैमा उत्तिकै रमाउँछन् तर, बास्केटबलप्रति उनको मोह बढी छ ।
‘एउटा बाटो बन्द हुनु भनेको सम्भावनाको अर्को नयाँ बाटो खुल्नु पनि हो । मनोबल उच्च बनाउन सक्यो भने शारीरिक अपांगताले कुनै पनि व्यक्तिको प्रगतिको बाटो छेक्न सक्दैन र खेलकुद यसका लागि प्रभावकारी माध्यम बन्न सक्छ । म आफूजस्तै अपांगता भएका हजारौं व्यक्तिलाई मनोबल उच्च बनाएर समाजका हरेक क्षेत्रमा सक्रिय बन्न सन्देश दिन चाहन्छु', उनी भन्छन् ।
रामेछाप गौस्वराका डम्बरबहादुर मगरको अवस्था भने केही फरक छ । आफू अपांग बन्नु परेको घटनाका बारेमा समेत २० वर्षीय डम्बरलाई धेरै याद छैन । चारवर्षे उमेर, अनि चकचके बालापना । एकदिन आफ्नै उमेरका साथीभाइसँग खेल्दाखेल्दै उनी घरको सिँढीबाट चिप्लिएर लड्न पुगे ।
खुट्टामा गम्भीर चोट लागे पनि अभिभावकले समयमै उपचारका लागि सुविधा सम्पन्न ठाउँमा पुर्याउन सकेनन् । गाउँमै सामान्य उपचार गर्दागर्दै केही समय बित्यो तर, चोट भने अझ बल्झँदै गयो ।
त्यसपछि सुविधासम्पन्न अस्पतालमा ल्याइपुर्याउँदा व्यथाले गम्भीर रूप लिइसकेको थियो । दुर्भाग्य, उनको दायाँ खुट्टा घुँडाभन्दा माथिबाटै काटेर फाल्नुपर्ने भयो ।
उमेर सानै भएकाले सुरुमा त खुट्टा काटिनुको पीडा उनलेभन्दा पनि उनको परिवारले बढी भोग्नु पर्यो । तर उमेर छिप्पिँदै जाँदा एउटा खुट्टा नहुनुको पीडालाई डम्बरले पनि अझ बढी अनुभव गर्न थाले । अध्ययनमा राम्रा डम्बर उच्चशिक्षाका लागि काठमाडौं हानिए ।
ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत डम्बरले विस्तारै आफूजस्तै साथीभाइ विभिन्न खेलकुदमा रमाएको देख्ने अवसर पाए । त्यसपछि उनी पनि साथीभाइको सहयोगमा ‘जाउलाखेल ह्विलचेयर स्पोर्ट्स क्लब' मा आबद्ध भए ।
उनको त्यही निर्णयले अहिले उनलाई राष्ट्रको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने स्थितिसम्म ल्याइपुर्याएको छ । उनी अहिले भारतमा हुने प्रतियोगिताका लागि टोलीका महत्वपूर्ण सदस्य हुन् । ‘खेलकुदले मलाई नयाँ पहिचानमात्र दिएको छैन, सँगसँगै पीडा भुलाउने गतिलो आधार पनि तयार पारिदिएको छ', डम्बर भन्छन् ।
भारतमा हुने प्रतियोगिताका लागि घोषित क्रिकेट टोलीका कप्तान भरतबहादुर कार्कीले भने तीन वर्षअघि भारतकै राजस्थानमा भएको सवारी दुर्घटनामा परेर स्पाइनल कड इन्जुरीको पीडा बोकेका रहेछन् ।
कञ्चनपुर जिल्लाको महेन्द्रनगर घर भएका ४० वर्षीय भरत दुर्घटनामा पर्नुअघि हकीका राम्रा खेलाडी रहेछन् तर, जीवन भोगाइको क्रमले यतिबेला उनलाई पारा क्रिकेट टोलीको कप्तानको भूमिकामा ल्याइपुर्याएको छ ।
उनी आफ्नो नयाँ जिम्मेवारीबाट पनि उत्तिकै खुसी देखिन्छन्, जति हकी खेलाडीको भूमिकामा थिए । ‘हामीले भारतमा हुने प्रतियोगिताका लागि राम्रो तयारी गरेका छौं । टोलीका सबै सदस्य उत्साही छन् र हामीले विगतबाट पनि शिक्षा लिएका छौं', उनी भन्छन् ।
तर, ‘फरक क्षमता' भएका व्यक्ति र पारा खेलाडीलाई हेर्ने सरकारी दृष्टिकोण भने संकीर्ण रहेको ठम्याइरहेछ, खेलाडीहरूको । राष्ट्रको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदासमेत राज्यले एक पैसा पनि सहयोग नगरेकोमा उनीहरूको चित्त दुःखाइ रहेछ ।
‘प्रतियोगितामा सहभागी हुन सहयोग माग्दै राष्ट्रिय खेलकुद परिषद्देखि लिएर विभिन्न सरकारी र व्यावसायिक प्रतिष्ठानमा पटकपटक धायौं तर, कतैबाट सहयोग पाउन सकेनौं', नेपाल पारा ओलम्पिक कमिटीका सचिव छुल्टिङ शेर्पा भन्छन्, ‘कतैबाट सहयोग नपाएपछि आफैंले पैसा उठाएर प्रतियोगितामा सहभागी हुन लागेका हौं । गाडी भाडाका लागि खेलाडीहरूले नै आफ्नो खर्च गरेका छन् भने जर्सी र खेलसामग्री उधारोमा लिएका छौं ।'
सानै उमेरमा पोलियोग्रस्त भएका छुल्टिङ आफैंले पनि प्रतियोगिताका लागि सहयोग गरेका छन् भने व्यवस्थापनको जिम्मेवारीसमेत उनले नै सम्हाल्दै आएका छन् ।
‘खेलाडीले अभ्यासका लागि आउनसमेत निकै समस्या भोग्नुपर्यो । अपांगता भएका व्यक्तिलाई देख्यो भने सार्वजनिक सवारीसाधनले पनि बोक्न आनाकानी गर्छन्', छुल्टिङ भन्छन्, ‘अरू सहयोग त परैको कुरा हो, अभ्यासका लागि हामीलाई एउटा प्रशिक्षकसम्म उपलब्ध भएन ।
अन्तिम समयमा आएर क्रिकेट अम्पायर रवीन्द्र गुप्ताले व्यक्तिगत पहलमा केही सहयोग गर्नुभयो, उहाँबाट खेलाडीले थोरै भए पनि आफूले खेल्ने खेलको प्राविधिक पक्षबारे जानकारी पाए । राज्यले समेत विभेद गरेको देख्दा भने अपांग भएको बोध हुन्छ, सार्है चित्तदुःख्दो रहेछ ।'
भारतमा आयोजना हुने उक्त प्रतियोगितामा हिमाल अर्याल, भरतबहादुर कार्की, तिलकराम पोखरेल क्षेत्री, अकल तामाङ, डिगमसिं चेम्जोङ, धनमान तामाङ, रामबहादुर तामाङ, साजन श्रेष्ठ, राजु गुरुङ, डम्बरबहादुर मगर, दानबहादुर थिङ, दण्ड बुढाथोकी, विष्णु श्रेष्ठ, रामकाजी मिजार र नारायण दवाडीले सहभागिता जनाउनेछन् ।
यी खेलाडीले क्रिकेट र बास्केटबल दुवैतर्फ प्रतिस्पर्धा गर्नेछन् । कुल २८ खेलाडीबाट १७ खेलाडीको प्रारम्भिक छनोट गरिएको थियो, जसमध्येबाट अन्तिम १५ खेलाडी चयन गरिएको हो ।
टीट्वेन्टी ढाँचाको क्रिकेट शृंखला आगरामा डिसेम्बर ३ देखि ५ तारिखसम्म सञ्चालन हुनेछ । इन्डो ह्विलचेयर क्रिकेट संघले आयोजना गर्ने उक्त प्रतियोगितामा नेपालले तीन खेल खेल्नेछ ।
यसैगरी क्रिकेटअघि नेपाली टोलीले इन्डियन ह्विलचेयर बास्केटबल संघले आयोजना गर्ने बास्केटबल प्रतियोगितामा पनि भाग लिनेछ । चार खेलको उक्त शृंखला नोभेम्बर २६ देखि ३० तारिखसम्म दिल्लीमा आयोजना हुनेछ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)