कैदीबन्दीबीच कारागारमै झडप, ८ घाइते
महोत्तरीः महोत्तरीको जलेश्वर कारागारमा कैदीबन्दीबीच भएको झडपमा आठ जना घाइते भएका छन् । मध्यान्ह १२ बजेको समयमा जिल्ला काराकारमा रहेका कैदीहरुको दुई समूहबीच झण्ड भएको थियो ।
आपसी विवादका क्रममा बच्चा अपहरणको अभियोगमा कारागार सजाय भुक्तान गरिरहेका सन्तोष पण्डित र कारागारका भाइ नाइके कारी साहको समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सन्तोषले कारीलाई खानेपानी धाराको कल ह्यान्डलले प्रहार गरी घाइते बनाएका थिए । त्यसपछि दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका इन्सपेक्टर रवीन्द्र खनालले जानकारी दिए ।
भिडन्तमा कैदीहरु महम्मद अलि इयाक्त, सञ्जन बम्जन, दिनेश भुजेल, रमेश कुमार दास, श्यामदेव पासवान, सुरेन्द्रप्रसाद सिंह घाइते भएका छन् । उनीहरुको टाउको, हात र खुट्टामा चोट लागेको छ । घाइते सबैको जलेश्वरस्थित शान्ति कम्युनिटी हस्पिटलमा उपचार भइरहेको छ । उपचाररत सबै कैदी जिल्ला प्रहरी कार्यालयको निगरानीमा छन् ।
झडपको कारण खुल्न नसकेको र त्यसबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका एसपी जनक भट्टराईले जानकारी दिए ।
दुई समूहबीच कारागारमै झडप हुन थालेपछि प्रहरी र जलेश्वरस्थित फ्रस्ट राइफल गणको नेपाली सेनाले नियन्त्रणमा लिएको थियो ।