दिल्लीसँगको दिल

दिल्लीसँगको दिल

इतिहास बडो निर्मम र क्रूरजस्तो लाग्छ तर त्यसको सूक्ष्म अध्ययनबेगर वर्तमान बुझ्न सकिँदैन । त्यसैले कानुन, पत्रकारिता, कूटनीति, राजनीतिलगायतका सम्पूर्ण विधामा इतिहास नै नजिर मानिन्छ । यस्तै प्रमाण, नजिर वा दस्ताबेजलाई चेतनाको ऊर्जा मानिन्छ ।

सन् १६६१ मा तिब्बत भ्रमणमा गएका क्रिश्चियन (पादरी) जोन ग्रुबरले कुती प्रदेशलाई नेपालको भूमि भनेका छन् । तर सन् १७२१ मा तिब्बतमै ६ महिना बसेका इपोलितो डेजीदेरी नामका इसाई गुरुले 'कुनै बेला कुती नेपाल राजाको अधीनमा थियो, अहिले ल्हासाका राजाको अधीनमा छ' भनेको पाइन्छ । प्रताप मल्लको राज्यकालमा उनका भाइ काजी भीम मल्लको दुःखले आर्जेको त्यो क्षेत्र पच्चीस वर्षजति नेपालको नियन्त्रणमा रह्यो । तिब्बतमा त्यसबेला महेन्द्रमल्ली (मुद्रा) चल्यो । नेपालको मानसम्मान थियो । सन् १६८३ मा परलोक भएका पाँचौं दलाई लामाको कार्यकालमा त्यो क्षेत्र स्वतन्त्र भयो । इतिहास खोज्दै जाँदा दक्षिणमा गंगा-जमुना-सरस्वतीको संगम प्रयागसम्म नेपाल रहेको त्यहाँस्थित समुद्र गुप्तको शिलालेखमा पाइन्छ ।

सन् १०२५/२६ तिर महमद गजनवीले भारतको सोमनाथ मन्दिर लुटेर अथाह र अमूल्य सम्पत्ति लगे । बंगालका नवाव समसुद्दीनले १४७६ सालमा पशुपतिनाथको मन्दिर र काठमाडौंका कैयन् ठाउँमा लुटपाट गरेको इतिहासमा उल्लेख छ । कत्युरवंशी अर्जुन मल्लको राज्यकालमा लखनउका नबाब हुसेन खाँले डोटीसम्म पुगेर लुटेको पाइन्छ । पहिले विद्रोही र पछि सर्वेसर्वा बनेर दिल्लीको संरक्षणमा राष्ट्र लुट्नेहरूको गवेषणा गर्दा इतिहासमा माओवादीहरूको नाम अंग्रपक्तिमा लेखिनेछ ।

६४ वटा बैंक र सात हजारभन्दा बढी घर, पसल, कारखाना आदि लुटेका लडाकुमध्ये धेरैजसो आज पनि दुःखी छन् । सत्र हजारभन्दा धेरैको प्राण हरण गर्ने-गराउने सरदार र सीमित व्यक्ति करोडौं रुपैयाँको चलअचल सम्पत्ति जोडेर मालिक बनेका छन् । ६० वर्ष अघिदेखि एउटै बाटोमा हिँडेका चित्रबहादुर केसी सार्वजनिक यातायातमा चढ्दा सडकमा पछारिएर इन्तु न चिन्तु भए, तर उनले हात समातेर डोर्‌याएका उरन्ठेउला कार्यकर्ता सहरका ठूलाठूला उद्योगपतिसरह अर्बौं रुपैयाँका मालिक छन् । विदेशीले पनि रातारात काजीलाई पाजी र पाजीलाई काजी घोषणा गरिदिए । त्यसैले सत्ता, सम्पत्ति, सुख र समृद्धि दिलाउनेहरूकै हितमा उनीहरू राजनीतिलाई डोर्‌याइरहेका छन् । दिल्लीसँग दिल जोडेका छन् ।

ब्रिटेनका फिल्डमार्सल सर फिलिप चेटउडले घतलाग्दो भाषण दिएका थिए, 'राष्ट्रको सुरक्षा, इज्जत र कल्याण सदासर्वदा पहिले आउँछ । त्यसपछि आफ्नो मातहतका मानिसहरूको सुरक्षा, इज्जत र कल्याण । तपाईंको आफ्नो सुख, सुविधा त अन्त्यमा आउँछ ।' नेपालमा दुःखी, दरिद्र, पीडित र अभावग्रस्त जनतालाई भोकैनांगै राखेर संसद्बाट हतारहतार आफ्नो तलबभत्ता र सुविधा बढाउने निर्लज्ज, स्वार्थी, अहंकारी र धनलोलुप जनप्रतिनिधिहरूलाई लज्जाको अनुभूति नै भएन । आफ्ना दलका नेतादेखि कार्यकर्तासम्मलाई राज्यकोषबाट 'लुटको धनमा फुपुको श्राद्ध' भने झैँ करोडौं रुपैयाँ वितरण गर्ने क्रम रोकिएन । त्यसैले लोकतन्त्र नामको लोभतन्त्र प्रहसन मात्र बनेको छ । प्रचण्डपथ त्यागेर पतनको पथमा अग्रसर माओवादी दिल्लीको दास बनिरहेको छ ।

सन् १९५९ को नोभेम्बर २८ मा स्टेटस्म्यान अंग्रेजी दैनिकमा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको विवादास्पद कथन छापियो, 'नेपाल र भूटानमाथिको हमलालाई भारतले आफैँमाथिको हमला ठान्नेछ ।' चीनका परराष्ट्रमन्त्री मार्सल चेन यीले प्रत्युत्तर दिए, 'नेपाललाई कसैले छोएमा चीन चुप लागेर बस्दैन ।' त्यसपछि नेपालबारे नेहरू धेरै बोलेनन् ।

कतैकतै गाउँको चौतारामा जाँडरक्सी बेच्ने सोझी केटीलाई लाहुरे केटाहरू छुट्टीमा आउँदा क्रिमपाउडर ल्याइदिन्छन् । कतिपय युवतीले त लाहुरे फर्केपछि मात्र आफू गर्भवती भएको चाल पाउँछन् । सन्तान जन्मेपछि नाता प्रमाणित गरिपाऊँ भन्दै मुद्दा चल्छ, कचहरी बस्छ । नेपालमा पनि गणतन्त्र त जन्मियो तर बाबुको टुंगो नलागेकाले संविधानको प्रस्तावनामा राजनीतिक पद्धतिबारे काइते भाषा प्रयोग गरिएको छ । त्यस्तै प्रणव मुखर्जी र नरेन्द्र मोदीले 'जसरी भए पनि संविधान संशोधन गर्नू' भन्ने आशयको 'सल्लाह' (आदेश ? ) दिएपछि भारतपरस्तहरू आज आत्मसमर्पणको कलाविहीन नाटक देखाइरहेका छन् । त्यसैले अहिलेको अवस्था राष्ट्रवादीहरूको अग्निपरीक्षा पनि हो ।

अमेरिकाको संविधान संसारकै सबैभन्दा सानो र संक्षिप्त मानिन्छ । त्यसको धारा ५ मा जनताका सबै वास्तविक प्रतिनिधि (तल्लो र माथिल्लो सदन) बाट दुईतिहाइले संविधान संशोधन गर्न सक्ने उल्लेख छ । दासत्व उन्मूलनको घोषणा तेह्रौँ संशोधनमार्फत गरिएको थियो भने उन्नाइसौँ संशोधनले महिलालाई मताधिकार प्रदान गरेको थियो । संविधान संशोधन गर्न सकिन्छ, तर त्यो राष्ट्रको हितमा हुनैपर्छ । यो अन्तर्राष्ट्रिय मान्यता र संविधानको मर्म पनि हो ।

नेपालको वर्तमान संसद् म्याद थपेर करारमा काम गरिरहेको अवस्थामा छ । माथिल्लो सदन बनेकै छैन । प्रदेशसभा (प्रान्त) पत्रपत्रिकामा मात्रै छ । तसर्थ संघीयता र संविधानको पूर्णरूपेण कार्यान्वयन नहुँदै वर्तमान संसद्ले विदेशी मालिकहरू र उनीहरूका कृतदासहरूलाई रिझाएर सत्ताको स्वाद लिइरहन संविधान संशोधन गर्न खोजेको सर्वसाधारणले समेत बुझिसकेका छन् । २०७४ साल माघ ७ गतेभित्र तीन तहको निर्वाचन गराएर छुट्टी लिन धेरैजसो दलहरू तयार देखिँदैनन् । घाटमा बसेर मुर्दा पोल्नेलाई सहरमा महामारी फैलिए पनि खुसी लागे झैँ संक्रमणकालमै मालामाल भइरहेका नेतागण र उनीहरूका सुविधाभोगी अनुयायीहरू राष्ट्र ढले पनि आफू 'अमर' हुन चाहन्छन् । जबसम्म राष्ट्रिय हित शिरोपर गर्नेहरूलाई मतदाताले नै चिन्न सक्दैनन्, तबसम्म अस्थिरता रोकिँदैन ।

भारतका ठूलाठूला सहरमा अबोध केटाकेटी अपहरण गरी हातखुट्टा वा आँखा नै काम नलाग्ने बनाइदिएर भीख माग्न पठाउने 'दादाहरू' अहिले पनि छन् । अपांग बनाइएका केटाकेटीलाई आधा पेट मात्र खान दिएर दादाहरू मोजमज्जा गर्छन् भन्ने खबर अखबारमा पनि बारम्बार आउने गर्छ । सिंहदरबारमा पुगेका 'राजनीतिक' दादाहरूको चरित्र ठ्याक्कै त्यस्तै छ ।
लाखौ जनता पानी चुहिने छाप्रोमा बसेका छन् । तुइनमा झुन्डिएर हजारौँ केटाकेटी स्कुल धाइरहेका छन् । तीनचार घन्टा हिँडेर स्कुल-कलेज जानु त पहाडी जिल्लामा सामान्य मानिन्छ । एक गाग्री पानी ल्याउन दुईतीन घन्टा लाग्छ ।

राष्ट्रघातीको छुट्टै युनिफर्म हुँदैन । हामीभित्रै घाँसमा हरियो सर्प लुके झैँ दलका नेता, सम्पादक, लेखक, हाकिम, उद्योगपति, शिक्षाविद्, विश्लेषक वा समाज सुधारकको छद्मभेषमा राष्ट्रघातीले नेपाल आमाको मुटु कुटुकुटु खाइरहेका छन् । त्यस्तालाई समर्थन गर्नु राष्ट्रघातकै समर्थन हो ।

ओखती नपाएर हरेक वर्ष सयकडौं नेपाली मरिरहेका छन् । तर गरिब जनतालाई देखाएर अन्तर्राष्ट्रिय समुदायबाट हरेक वर्ष करोडौं डलर भिख मागिन्छ र त्यसको व्यापक दुरुपयोग गरिएको छ । जहाँ राज्यले नै जनताको पीडा बुझ्दैन, त्यो कसरी लोकतन्त्र हुन्छ ? जहाँ राष्ट्रलाई विदेशको प्रान्तजस्तो बनाउन खोजिँदै छ, त्यहाँ राष्ट्र कमजोर बनाउने उद्देश्यले पटकपटक संविधान संशोधन गर्न खोज्दा जनताले स्वागत गर्नुपर्ने ? विदेशीको इच्छा पूरा नगर्दा सरकार ढल्ने र ढाल्ने खेल नयाँ होइन । जब दलहरू नै राष्ट्र ढाल्ने खेलमा लाग्छन्, त्यो अपराध जनतालाई कदापि सह्य हुँदैन ।

'तपाईंले हामो पल्टनसमक्ष आत्मसमर्पण गर्नुभयो भने भारतमा करोडौंको सम्पत्ति, महल र सबै सुविधा दिएर राख्छौं' भनेर नालापानी युद्धमा अमरसिंह थापालाई अंग्रेजहरूले प्रलोभन देखाउँदा उनले छाती तन्काएर भनेका थिए, 'म बाघको सन्तान हुँ, सिनो खाने स्याल नसम्झ ... ।' कहाँ गयो नेपालीको त्यो स्वाभिमान ?

हिन्दुस्तान मोटर्स कम्पनी (कलकत्ता) मा चौकीदार काम गर्ने दरिद्र नेपाली बाहुनका छोरा प्रधानमन्त्री भएपछि अन्ततः दिल्लीकै चौकीदार हुन पुगे । आर्थिक संकट टार्न हरेक नेपालीसँग मासिक पाँचपाँच रुपियाँ मात्र चन्दा मागे पनि करोडौं रुपैयाँ जम्मा हुन्थ्यो । विदेशीको गुलामी गर्नुपर्ने थिएन । आज सरकारको क्रियाकलाप हेर्दा हरेक नेपाली लज्जित हुनुपर्ने अवस्था छ ।

केही दिनअघि 'शान्ति प्रक्रियाको दस वर्ष' शीर्षकमा नेपाल ट्रान्जिसन टु पिस इन्स्टिच्युट नामक रहस्यमय संस्थाको कार्यक्रममा एकजना देशभक्त युवाले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको र त्यति ठूलो एकीकरण अभियानमा पनि जनधनको खासै क्षति नभएको प्रशंग उठाउँदा सो संस्थालाई दानापानी दिने विदेशी मालिक (राजदूत) रिसाएछन् । पृथ्वीनारायण शाहको तारिफ गर्ने संस्थालाई आर्थिक सहायता बन्द गर्ने चेतावनी दिएछन् ।

राष्ट्रनिर्माण, शान्ति, एकता वा पुनर्जागरण होइन, नेपालमा जात, क्षेत्र, धर्म र सम्प्रदायको आगो सल्काउन विदेशी शक्तिले चौतर्फी रूपमा हमला गरिरहेको पाइन्छ । यो मनोवैज्ञानिक युद्धमा राष्ट्रिय शक्तिहरू प्रतिरक्षात्मक (डिफेन्सिभ) मात्र देखिनु हुँदैन । छुट्टै मार्गचित्र बनाएर राष्ट्रको रक्षा गर्न सशक्त ढंगले अघि बढ्नुपर्ने खाँचो देखिएको छ । चाणक्यले भनेका छन्, 'शत्रुलाई मौका दिने, शत्रुको प्यारो हुन खोज्ने र शत्रुले घेरेको चाल नपाउने मूर्खले दुःख पाउँछ । पराजय भोग्छ ।'

त्यसैले राष्ट्रघातका यावत् सूचना संग्रह गरेर स्पष्ट नीति बनाउँदै राष्ट्रिय सुरक्षाको जिम्मेवार निकाय सशक्त ढंगले उपस्थित भयो भने मात्र अस्तित्व बचाउन सक्ने देखिन्छ । होइन भने राष्ट्र धेरै वर्ष स्वतन्त्र रहन सक्ने देखिँदैन ।

राष्ट्रघातीको छुट्टै युनिफर्म हुँदैन । हामीभित्रै घाँसमा हरियो सर्प लुके झैँ दलका नेता, सम्पादक, लेखक, हाकिम, उद्योगपति, शिक्षाविद्, विश्लेषक वा समाज सुधारकको छद्मभेषमा राष्ट्रघातीले नेपाल आमाको मुटु कुटुकुटु खाइरहेका छन् । अरूको प्रान्त भएमा भन्सार नलाग्ने गाडी चढ्न पाइन्छ भन्ने मूर्खहरू पनि भेटिन्छन् । घरघरमा विदेशी सेना पसेर जब उनीहरूका श्रीमती, छोरी, बुहारी सबैलाई लुटेपछि गाडी चढ्ने सपना त्यसबेला चकनाचुर हुन्छ । तसर्थ, राष्ट्रलाई निर्बल, पंगु, खण्डखण्ड र लाचार बनाएर जो संविधान संशोधनबाटै नेपाललाई पराधीन बनाउन तम्तयार छन्, ती नेपाल आमाका कपुत हुन् । त्यस्तालाई समर्थन गर्नु राष्ट्रघातकै समर्थन हो ।

नेपाली जनता अभाव खप्न सक्छन्, अपमान सहन सक्दैनन् । सिक्किमे जनता झैँ पिँजडाको सुगा बन्न पनि सक्दैनन् । हजारौँ वर्ष अघिदेखि स्वतन्त्र यो राष्ट्र कसैको अंग बनोस् भन्ने स्वाभिमानी नेपालीहरू सोच्न पनि चाहँदैनन् । त्यसकारण राष्ट्र गम्भीर संकटमा परेको बेला सत्य कुरा बोल्नु र विदेशी हस्तक्षेपको प्रतिकार गर्दै बाह्य शक्तिका मतियार तथा हतियारलाई भुत्ते बनाउनु देशभक्त र राष्ट्रवादीहरूको पहिलो कर्तव्य हो ।

यसमा दल होइन, राष्ट्रको हित प्रमुख हुन्छ । तसर्थ हिजो को कहाँ थियो ? राजनीतिक विचारमा केकति मतभिन्नता रह्यो र कुन दलले के गर्‌यो भन्ने बिर्सेर राष्ट्र बचाउनु सम्पूर्ण नेपालीको पहिलो दायित्व हो । आजै सही निर्णय गर्न सकिएन भने विश्वमानचित्रबाट एक दिन नेपाल नै हराउन सक्छ त्यसबेला पश्चात्ताप गरेर बस्नुबाहेक कुनै उपाय बाँकी रहने छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.