क्यास्ट्रो बाँचेको समय
अमेरिकी साम्राज्यको दासता नस्वीकार्ने र आदेश पालना नगर्नेहरू 'तानाशाह' हुन् भने संसारको सबैभन्दा ठूला तानाशाह फिडेल क्यास्ट्रो हुन् ।
जति प्रयास गर्दा पनि अमेरिकाले मार्न नसकेका ती नेता स्वाभाविक कालगतिले बिते । तर पनि अमेरिकी सत्ताले धेरै हर्ष मनाउन सकेन । किनभने सन् १९६० देखि लगातार आर्थिक नाकाबन्दी गरिरहेको भए पनि क्यास्ट्रोको निधनपछि पनि समाजवादी क्युबा ढल्ने स्थिति रहेन ।
फिडेल क्यास्ट्रोले आफ्नो कार्यकालमा १० जना अमेरिकी राष्ट्रपतिको सामना गरे । ती थिए आइजेनआवर, केनेडी, जोन्सन, निक्सन, फोर्ड, कार्टर, रेगन, बुस प्रथम, क्लिन्टन र बुस द्वितीय । यीमध्ये जर्ज डब्लू बुसका पालामा क्युबा र अमेरिकाबीच सबैभन्दा बढी सम्बन्ध बिग्रिएको थियो । यही कारण उनले बुसलाई सबभन्दा 'विषालु नेता'समेत बताएका थिए ।
अमेरिकी सत्ताले सीआईएमार्फत क्यास्ट्रोको ६ सय ३४ पटक हत्या प्रयास गरेको थियो । खरबौं डलर खर्च गरेर क्युबाको शासनसत्ता पल्टाउने प्रयास गरेको थियो । ती सब प्रयास खेर गए । यसैबाट क्यास्ट्रोप्रति अमेरिकी सत्ताको निराशा र आक्रोश कुन हदसम्म होला सहजै अनुमान लगाउन सकिन्छ ।
क्यास्ट्रो बिते, यो तीतो यथार्थ हो । तर, जोआवो पेड्रो स्टेडिलले 'मन्थ्ली रिभ्यु'मा संश्लेषण गर्दै भनेझैं 'हामीले क्यास्ट्रो त गुमायौं तर (उनी)बाट थुप्रै नजिर र ज्ञानको इतिहास प्राप्त गरेका छौं ।'
अमेरिकाले पटक्कै नरुचाएको, क्युबाली जनताले हदै रुचाएको र विश्वले सम्मान गरेका विश्वनेता क्यास्ट्रोले क्रान्ति र समाज बदल्ने संघर्षका अजम्मरी दृष्टान्त हाम्रासामु छाडेर गएका छन् । उनको निधनपछि उनीबारे अनेक तथ्य प्रकाशमा आएका छन् । क्यास्ट्रोको जीवन सधैंभरि क्रान्तिकारी नै भएर बित्यो । तर उनको जीवनको रंग केवल रातो होइन । रक्तिम जीवनमा उनले अनेक रंग भरेका छन् । क्यास्ट्रोको रंगीन जीवन बताउने केही सन्दर्भबारे चर्चा गर्दा गज्जब नै हुनेछ ।
असली दोस्त
फिडेल क्यास्ट्रोसँग अभिन्न रूपमा जोडिएर आउने नाम हो चेग्वेभारा । खासै बाहिर नआएको तथ्य के हो भने चेसँग फिडेलभन्दा उनका भाइ राहुल क्यास्ट्रोको पहिले दोस्ती थियो । २६ जुलाई १९५३ मा मोन्काडा ब्यारेक आक्रमण असफल भएपछि फिडेल क्यास्ट्रो सशस्त्र संघर्षको थप तयारीका लागि मेक्सिकोतर्फ लागे ।
उनीभन्दा अगाडि नै उनका भाइ राहुल क्यास्ट्रो त्यता लागिसकेका थिए । त्यहीँ उनको चेसँग भेट भएको थियो । सिंगो ल्याटिन अमेरिका यात्रामा निस्केका अर्जेन्टिनी चिकित्सकमात्र थिए चे त्यति बेला । पहिलो भेटअघि नै चे र क्यास्ट्रो एकअर्काले गरिरहेका कामबारे परिचित भइसकेका थिए । पहिलो भेटमै उनीहरू घनिष्ठ मित्र पनि भए । चेको अदम्य साहसबाट क्यास्ट्रो धेरै प्रभावित भए । सुरुमा डाक्टर, पछि गुरिल्ला कमान्डरका रूपमा काम गरे चेले क्यास्ट्रोसँग ।
तर, उनीहरूको भेट हुँदासम्म चेग्वेभाराभन्दा अर्कै नाम अर्नेस्टो ग्वेभाराबाट बोलाइन्थे उनलाई । अर्जेन्टिनीहरूले उनलाई चे होम्ब्रे भनेर बोलाउँथे । क्यास्ट्रोहरूले पनि अर्जेन्टिनीहरूले प्रयोग गर्ने 'चे' नाम प्रयोग गर्न थाले र 'अर्नेस्टो ग्वेभारा' संसारभर 'चे ग्वेभारा' नामले चिनिए ।
युद्धका क्रममा घाइते भएकाहरूको उपचार गर्थे चे । तर, उबेरोको युद्धमा घाइते भएका दुईजनामध्ये एकजनाको निधन भएपछि चे साह्रै दुःखी भए । त्यो मन छुने घटनाको स्मरण क्यास्ट्रो बारम्बार गर्थे । भएको के थियो भने कसै गरे पनि नबाँच्ने भएपछि निराश र असीम भावुक हुँदै चेले घाइते युवाको निधारमा चुम्मा खाएका थिए ।
त्यो दृश्यले क्यास्ट्रोलाई पछिसम्म पनि भावुक बनाउँथ्यो । युद्धको क्रममा डाक्टरमात्र भई बस्न सकेनन् चे । बन्दुक समाएर योद्धा बने । रोचक प्रसंग, क्युबामा क्रान्ति सम्पन्न भएपछि सरकारी बैंकको पहिलो गभर्नर चे भएका थिए । यसबारेको ठट्टा चर्चित बनेको छ ।
१ जनवरी १९५९ मा क्युबाका तानाशाह बाटिस्टा भागेपछि फिडेल क्यास्ट्रोको नेतृत्वमा नयाँ परिस्थिति सम्हाल्नेबारे क्रान्तिका अगुवा नेताहरूबीच छलफल भयो । छलफलका क्रममा क्यास्ट्रोले सोधे, 'यहाँ कोही इकोनोमिस्ट हुनुहुन्छ ? ' एउटा कुनाबाट हात उठ्यो, त्यो हात थियो चेको । चेलाई तत्कालै गभर्नरको जिम्मा दिइयो । अन्य विषयहरू पनि यसरी नै टुंगो लगाइयो । बैठक सकेर बाहिर निस्कने क्रममा थोरै आश्चर्यको भावमा क्यास्ट्रोले चेलाई सुटुक्क भने, 'होइन तपाईं इकोनोमिस्ट पनि हुनुहुन्छ भन्ने त मलाई थाहै थिएन !' चेले पनि आश्चर्यमिश्रित भावमा जवाफ दिए, 'मैले त तपाईंले कोही कम्युनिस्ट हुनुहुन्छ भनेर सोध्नुभएजस्तो लागेर पो हात उठाएको थिएँ !'
हुन पनि फिडेल क्यास्ट्रो क्रान्ति सम्पन्न गर्दा कम्युनिस्ट थिएनन् । चे ग्वेभाराचाहिँ आफूलाई खुल्लमखुला कम्युनिस्ट भएको बताउँथे । कतिसम्म भने मेक्सिकोका प्रहरी अफिसरसँग समेत चेले कम्युनिस्ट सिद्धान्तबारे बहस गरेका थिए । स्टालिन र ख्रुस्चेभका गल्तीबारे निडरतापूर्वक भनाइ राखेका थिए ।
फिडेल क्यास्ट्रो चेको त्यो निडरताबाट झन् प्रभावित हुन पुगेका थिए । क्युबामा कम्युनिस्ट पार्टी स्थापना भएको त क्रान्तिको सात वर्ष १९६६ अक्टोबर ३ मा हो जसको पहिलो महासचिव निर्वाचित भएका थिए फिडेल क्यास्ट्रो । क्रान्ति सम्पन्न भएको धेरै पछि मात्र क्यास्ट्रोले आफूलाई कम्युनिस्ट नेताका रूपमा प्रस्तुत गरेका थिए ।
३० डलरका 'धनाढ्य'
'फोब्र्स' म्यागजिनले सन् १९९७ यता फिडेल क्यास्ट्रोलाई सायद दुईपटक विश्वका धनाढ्य नेताहरूको सूचीमा राखेको छ । फोब्र्सका अनुसार क्यास्ट्रोसँग '९ अर्ब डलर सम्पत्ति' छ । त्यतिमात्र होइन क्यास्ट्रोको आफ्नै बैंकसमेत छ । त्यो बैंक हो हवाना इन्टरनेसनल बैंक । के यी सब सत्य हुन् ? इग्नासियो रामोनेटसँग कुराकानीका क्रममा क्यास्ट्रोले यो प्रचारलाई वाहियात र शतप्रतिशत झूठ बताएका छन् ।
रामोनेटसँग बताएअनुसार फिडेल क्यास्ट्रोको तलब जम्मा ३० डलर मासिक थियो । उनी यो तलबबाट पार्टीलाई लेबी बुझाउँथे । अन्य खर्च गर्थे । उनको साथमा कहिल्यै पैसा हुँदैनथ्यो । उनी रित्तो गोजी लिएर सहर र गाउँका जनतासँग भेटघाट गर्थे । उनीहरूले दिएको खान्थे ।
उनी भन्थे, 'प्रत्येकबाट क्षमताअनुसार काम लिने, प्रत्येकलाई आवश्यकताअनुसार दिने हो । मेरा व्यक्तिगत आवश्यकता एकदमै कम छन् त्यसैले मैले कहिल्यै पनि आफ्नो तलब बढाइनँ । मलाई गर्व छ, म एक पैसाबिना मर्नेछु ।' के कुरामा शंका छैन भने व्यक्तिगत स्वार्थका लागि सत्ताको दुरुपयोग नगर्ने विश्वका धेरै कम नेतामध्ये एक हुन् फिडेल क्यास्ट्रो ।
कुरा गर्ने मेसिन
क्यास्ट्रोलाई विभिन्न पुस्तक प्रकाशकले 'अफर' पनि गरेका थिए । उनलाई व्यावसायिक प्रकाशकहरूले संस्मरण र जीवनी लेख्न प्रेरित गरेका थिए । उनीहरू क्यास्ट्रोलाई लाखौं डलर तिर्न तयार थिए । तर, क्यास्ट्रो यसका लागि कहिल्यै तयार भएनन् । उनी लेखेर पैसा कमाउन चाहँदैनथे । उनीसँग पुस्तक लेख्न समय पनि हुँदैनथ्यो, कथंकदाचित् त्यस्तो पुस्तक लेखिहाले आउने पारिश्रमिकबाट उनी विद्यालयमा लगानी गर्न चाहन्थे । तर, त्यो मीठो कल्पनामात्र थियो क्यास्ट्रोका लागि ।
उनीसँग गरिएका कुराकानी र भाषणहरूको संकलन पुस्तककाकार रूपमा प्रशस्त प्रकाशनमा आएका छन् । फिडेल क्यास्ट्रोका यस्ता रचनाहरू पाँच हजारभन्दा बढी रहेको बताइन्छ । तीमध्ये छानिएका भाषण तथा अन्तर्वार्ता समेटेर दर्जनौं पुस्तक प्रकाशन भएका छन् । जस्तै— फिडेल क्यास्ट्रो रिडर, माई लाइफ, फिडेल एन्ड रिलिजन आदि ।
क्यास्ट्रोसँग कुराकानी गर्न विश्वका ठूलाठूला पत्रिकाका सम्पादक तथा रिपोर्टरहरू वर्षौंदेखि कुरिरहेका हुन्थे । दैनिक यस्ता दर्जनौं अनुरोध गरिएका हुन्थे । तर, विरलैले मौका पाउँथे । फिडेल क्यास्ट्रोसँग समय पाउन गाह्रो थियो तर भेटघाटको समय मिलेपछि भने उनी घन्टौं कुराकानी गर्थे । उनलाई १०÷२० मिनेट भेटेर कुराकानी गर्न कहिल्यै रुचि भएन । उनी छोटो समयको अन्तर्वार्ताका लागि कहिल्यै तयार भएनन् ।
उनी आफू पनि खुलेर कुरा गर्थे, अरूबाट खुलेर जानकारी लिन रुचाउँथे । कतिसम्म भने उनी लगातार आठआठ घन्टा कुराकानी गर्न सक्थे । सायद कुरा गर्ने 'मेसिन' नै थिए फिडेल क्यास्ट्रो । संयुक्त राष्ट्रसंघमा सबैभन्दा लामो भाषणको रेकर्ड सायद क्यास्ट्रोकै नाममा छ ।
पत्रकार फ्रेई बेट्टोले लगातार आठ घन्टा कुराकानी गरेर पुस्तक तयार गरेका थिए । त्यो पुस्तक थियो 'फिडेल एन्ड रिलिजन' ।
सन् १९८५ फेब्रुअरी महिनाको कुनै दिन क्यास्ट्रोले बेट्टोलाई कुराकानीका लागि बोलाए । तोकिएको समयमा उनी क्यास्ट्रोको सरकारी निवासमा पुगे । सामान्य खालका मेचहरू थिए । जनताले खाने खालका साधारण तर स्वस्थ खान्की थिए । एकदम सामान्य कक्षमा बेट्टोले क्यास्ट्रोसँग रातको ११ बजेदेखि बिहान ७ बजेसम्म आँखा झिमिक्क नगरीकन लगातार आठ घन्टा कुराकानी गरे । अझ इग्नासियो रामोनेटसँग त क्यास्ट्रोले एक सय घन्टा कुराकानी गरेका थिए । त्यो कुराकानी 'माई लाइफ' पुस्तकका रूपमा प्रकाशित छ । लामो भाषण, लामो अन्तर्वार्ता, लामो कामका लागि क्यास्ट्रो विश्वमै नामुद छन् ।
फिडेल क्यास्ट्रो दैनिक १७ घन्टा काम गर्थे । उनी काम गर्नका लागि विशेष गरेर रातको समय मन पराउँथे । उनका युवा सहयोगीहरू रातरातभर जाग्राम हुन्थे भन्ने त क्युबामा किस्सा नै प्रचलित छ ।
मिलनसार नेता
फिडेल क्यास्ट्रोका मन पर्ने नेताहरूमा पहिलो नम्बरमा आउँछन् चे ग्वेभारा । पछिल्लो समयका नेतामा उनी ह्युगो चाभेजलाई निकै मन पराउँथे । चाभेजबाट त आफू प्रभावित नै भएको बताउँथे फिडेल क्यास्ट्रो । पुराना क्रान्तिकारी नेताहरूमा लेनिन उनका प्रिय नेता थिए । त्यसबाहेक उनकै समयमा जीवित रहेका क्रान्तिकारी नेताहरूमा उनले माओ त्से तुङ र हो ची मिन्हलाई मन पराउँथे । ती विश्वनेताहरूसँग भेट गर्न नपाएकोमा उनीमा चुकचुक पनि थियो ।
त्यस्तै फिडेल क्यास्ट्रोको जवाहरलाल नेहरू, नासेर, मार्सल टिटो, ख्रुस्चेभ, बेन बेल्ला, यासेर अराफात, इन्दिरा गान्धी, साल्भाडोर एलेन्डे, जियाङ जेमिन, नेल्सन मन्डेलालगायतसँग सुमधुर व्यक्तिगत सम्बन्ध थियो ।
फिडेल क्यास्ट्रो सबै कुरा आँखा चिम्लेर स्वीकार्ने नेता भने थिएनन् । ल्याटिन अमेरिकाका चर्चित लेखक जोस मार्टीलाई उल्लेख गर्दै क्यास्ट्रोले भनेको चर्चित भनाइ नै थियो, 'जनतालाई विश्वास गर्न होइन पढ्न सिकाऊ ।' त्यसैले उनी सुमधुर सम्बन्ध भएका नेताहरूप्रति आलोचनात्मक दृष्टि राख्थे ।
माओत्सेतुङ महान् क्रान्तिकारी हुँदाहुँदै जीवनको उत्तराद्र्धमा 'सांस्कृतिक क्रान्ति'का नाममा ठूलो कमजोरी गरेका बताउँथे । त्यस्तै सोभियत संघमा थुप्रै योगदान गरे पनि स्टालिनको फासीवादका प्रस्ट आलोचक थिए क्यास्ट्रो । हो ची मिन्हप्रति भने क्यास्ट्रोको अकण्टक श्रद्धा थियो । त्यस्ता नेतालाई भेट्न नपाएकोमा उनलाई थकथक लागिरहन्थ्यो ।
इराकी राष्ट्रपति सद्दाम हुसेनसँग क्यास्ट्रोको व्यक्तिगत चिनजान पनि थियो । सद्दाम उपराष्ट्रपति हुँदा उनले सेप्टेम्बर १९७३ मा बगदाद एअरपोर्टमा भेटेका थिए । क्यास्ट्रोको त्यो पहिलो भेटपछि उनले सद्दाम मिलनसार र गज्जबका नेताका रूपमा पाएका थिए । त्यो एकै दिनको भेटमा उनीहरू नजिक पनि भएका थिए । उनै सद्दाम राष्ट्रपति हुँदा कुवेतमाथि सैनिक आक्रमण गरेर कब्जा गरेपछि पैदा हुने भयंकर खतराबारे चिन्तित हुँदै क्यास्ट्रोले दुई–दुईपटक चिठी लेखेका थिए ।
अमेरिकाले यही निहुँ पारेर इराकमाथि सैन्य कारबाही गर्ने र विश्वजनमत आफ्नो पक्षमा नरहेको, अरब राष्ट्रहरू विभाजित भएको प्रतिकूल अवस्थामा हुने आक्रमण इराकका लागि अकल्पनीय हुने बताउँदै सद्दामलाई कुवेतबाट इराकी सेना हटाउन सल्लाह दिएका थिए । तर, सद्दामले उनको सल्लाह मानेनन्, इराकले धेरै ठूलो क्षति बेहोर्नुपर्यो ।
पढाकु लडाकु
क्यास्ट्रो आफ्ना प्रिय लेखकहरूमा सबैभन्दा अग्रपंक्तिमा जोस मार्टीको नाम लिन्थे । जोस मार्टीलाई उनले पटकपटक पढेका थिए । त्यति धेरैपटक त उनले कम्युनिस्ट साहित्य र राजनीतिक किताब पनि पढेका छैनन् । उनका प्रिय साहित्यिक पात्र थिए 'डन क्विजट' ।
उनका प्रिय लेखकहरूमा गाब्रियल गार्सिया मार्खेज, अर्नेस्ट हेमिंग्वे, पाब्दो नेरुदा, जाँ पाल सात्र्र, अर्थर मिलर, सिमोन दी बुभो, ग्राहम ग्रिन, ओस्कार नेयमार, एडुवार्डो ग्यालिआनो, ओलभर स्टोन, जोसेफ स्टिग्लिज, नोम चोम्स्कीलगायत थुप्रै थिए । रामोनेटसँग परिचय गराउँदै ठट्यौली मिश्रित शैलीमा क्यास्ट्रोले एउटा कार्यक्रममा स्टिग्लिजबारे भनेका थिए, 'उहाँ अर्थशास्त्री र अमेरिकी हुनुहुन्छ तर मैले देखेकामध्ये सबभन्दा र्याडिकल । स्टिग्लिजका अगाडि त म पनि नरमपन्थी मात्र हुँ ।'
मार्खेजसँग त उनको विशेष सम्बन्ध नै थियो तर हेमिंग्वेसँग भने उनले लामो संगत गर्न पाएनन् । केवल एकदुईपटक भेट भएको थियो । उनी बितिहाले । क्यास्ट्रो भन्थे, 'मेरा ती प्रिय लेखकसँग अहिले भेट हुने भए म धीत मरुन्जेल कुराकानी गर्ने थिएँ । हामी घनिष्ठ हुने थियौं ।' .