शहिद बनाउने प्रस्तावपछि निस्कियो शवयात्रा
बुटवलः हत्या गरिएका युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई सहिद घोषणा गर्ने प्रस्तावपछि शवयात्रा निकालिएको छ । विहान ११ बजे शवयात्रा गरिए पनि साँझ साढे ४ बजेमात्रै पुष्पलालपार्कबाट शवयात्रा शुरु भएको हो । एमाले भातृ संगठन युवा संघले तिवारीलाई प्रदेश विभाजन विरुद्धको आन्दोलनको शहिद घोषणा नगरिए शव नउठाउने अडान लिएको थियो ।
शहिद घोषणा गर्ने काम गृह मन्त्रालयको भएकाले जिल्ला प्रशासनले गृहलाई प्रस्ताव पठाएको छ । सुरक्षा समितिको बुधबार बसेको बैठकले सो निर्णय गरेको अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंहले जानकारी दिए ।
तिवारीको शवयात्रामा हजारौं नागरिक सहभागी थिए । शवलाई बुटवल नगरपक्रिमासहित राजमार्ग चौराहामा शोक सभा गरिनेछ भने देवदह हुदै चितवनको देवघाटमा अन्त्यष्टि गरिने बताइएको छ ।