सभामुख ओनसरीलाई चीन भ्रमणको निम्तो
काठमाडौ: नेपाल भ्रमणमा रहेका चीनको स्वशाषित क्षेत्र तिब्बतका पिपुल्स कंग्रेस (संसद्) का अध्यक्ष बाई मा चिलिनले बिहीबार सभामुख ओनसरी घर्तीमगरलाई तिब्बत भ्रमणको निम्तो दिएका छन् ।
संसद् सचिवालय सिंहदरबारमा भएको भेटमा नेपाल चीन सम्बन्धकाा विविध बिषयमा कुराकानी भएको संसदका महासचिव मनोहर भट्टराईले जानकारी दिए ।
‘सभामुख ज्यूले नेपालको एक चीन नीतिप्रति संसदका तर्फबाट प्रतिबद्धता ब्यक्त गर्दै यहाँ चीन विरोधी गतिविधी हुन नदिने समेत बताउनुभयो’ भट्टराईले भने ।
चीनले नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक विकासमा पुर्याउँदै आएको सहयोगका लागि सभामुखले तिब्बीत सभामुखलाई धन्यवाद दिएकी छिन् । तिब्बतका सभामुख बाईले नेपाललाई चिनियाँ सहयोग भविष्यमा पनि निरन्तर जारी रहने बताएका थिए । ‘नेपालले लिएको एक चीन नीतिको उहाँले सराहना गर्नुभयो’ भट्टराईले भने ।
चिनियाँ टोलीले उपप्रधानमन्त्री बिमलेन्द्र निधीसँग अलगै भेट गरेको छ । भेटमा मन्त्री निधीले नेपाल सरकारले चीनसँगको सम्बन्धलाई उच्च महत्व दिंदै आएको बताएका छन् । उनले चीन बिरोधी कुनै गतिबिधी हुन नदिने प्रतिबद्धता पनि ब्यक्त गरेका छन् ।
चिनियाँ टोलीले परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतसँग पनि भेटनेछ । बाई नेतृत्वको चिनियाँ टोलीले पोखरा भ्रमण गरी पोखरा उपमहानगरपालिकालाई सडक बत्ती हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ । चिनियाँ टोली लुम्बिीनीको भ्रमणमा पनि जानेछ । तिब्बती उच्च नेता बाई १८ सदस्यीय टोलीका साथ बुधबार नेपाल आएका हुन् ।