अभिभावककै पथमा

अभिभावककै पथमा

भाइबहिनीहरू हामीलाई हाम्रो जीवनमा सबैभन्दा बढी प्यारो र महत्त्वपूर्ण लाग्ने व्यक्ति भनेका हाम्रा आमाबुवा नै हुन् । हामी जन्मिएदेखि नै उहाँहरूका गतिविधि नियालेर त्यसलाई व्यवहारमा उतार्ने गर्छौं । कतिले आफ्ना आमाबाबुको पेसालाई आफ्नो लक्ष्य बनाएका हुन्छन् भने कतिले उहाँहरूको रुचिलाई आफ्नो पनि रुचि बनाउँछन् ।

आफ्नी आमाको रुचिको विषय संगीतलाई आफ्नो पनि रुचि बनाउनेमध्ये समृद्धि बस्याल पनि हुन् । उनले आफ्नी आमा भारती बस्यालको शब्द र संगीतमा हालै एउटा गीत 'समृद्धि' बजारमा ल्याएकी छन् । सात वर्षको उमेरदेखि गायनमा लागेकी समृद्धिले अन्य केही गीतलाई यसमा समेटेर एउटा एल्बम निकाल्ने तयारी गरिरहेकी छन् ।

त्यसैगरी चाँडै बन्न लागेको यही गीतको म्युजिक भिडियोमा पनि उनले नै अभिनय गर्ने भएकी छन् । वैशाख १२ को भूकम्पमा मानिसका साथै धेरै जनावरको पनि मृत्यु भयो । तर, जनावरको वास्ता कसैले पनि गरेनन् । त्यसैले जनावरलाई पनि माया गर्नुपर्छ भन्ने सन्देश उनको गीतले दिएको छ । समृद्धिकी आमा भारतीले लखनउबाट शास्त्रीय संगीतमा स्नातक पार गरेकी छन् ।

२०५४ सालमा रेडियो नेपालबाट गीत गाएर अध्ययनका लागि भारत गएकी भारतीले त्यति बेला नै 'मृगतृष्णा' नामक एल्बम निकालेकी थिइन् । त्यसपछि 'मिराकल' हुँदै अन्य विभिन्न सांगीतिक कोसेली उनले श्रोतामाझ ल्याएकी छन् । आमाकै प्रेरणाले यस क्षेत्रमा लागेकी समृद्धिले आमाको विषयमा एक गीत लेखेर त्यसलाई अंग्रेजीमा अनुवाद गरिसकेकी छन् ।

समृद्धि सेन्ट मेरिज स्कुल जावलाखेलमा कक्षा ४ मा पढ्छिन् । हार्मोनियम बजाउन जान्ने उनी आफ्नी आमासँग 'आमा मलाई ल्याउदेऊ न हिमाल पारिको त्यो लालीगुराँस' बोलको गीत रेकर्ड गराउने तरखरमा छिन् । यही कारणले गर्दा उनी नियमित अभ्यास पनि गरिरहेकी छन् । तर गीतसंगीतको अभ्यास उनी बिदाको दिनमा र हरेक दिन गृहकार्य सकाएर केही पढिसकेपछि मात्रै गर्छिन् ।

तारादेवी, नारायणगोपाल, लता मंगेशकर उनलाई मन पर्ने गायकगायिका हुन् । गायन उनको रुचि भए पनि लक्ष्य एस्ट्रोनट बन्ने छ । वैज्ञानिक अनुसन्धानमा उनको विशेष रुचि छ । त्यसैले त उनी फूल टिपी त्यसलाई पिसेर अत्तर बनाउँछु भन्दै प्रयासमा जुटिरहन्छिन् । 'गीत राम्रो गाउँछु । त्यसैले मानिसले चिन्ने बन्न र नाम कमाउन यसमा लागेको', उनले भनिन् ।      

अभिभावककै पथमा हिँड्न रुचाउनेमध्ये गायक अमन प्रधान पनि हुन् । हाल बालुवाटारस्थित मेरिडियन इन्टरनेसनल स्कुलमा कक्षा १० मा पढ्ने अमन आफ्ना बाबा संगीतकार राहुल प्रधानकै प्रेरणाले सांगीतिक क्षेत्रमा लागेका हुन् । उनले 'अमन द रकस्टार' र 'रकस्टार रिलोडेड' नामक दुई एल्बम श्रोतामाझ ल्याइसकेका छन् । यस वर्ष पढाइमा नै बढी ध्यान दिनुपर्ने भएकाले अमनले गायनमा समय दिन नभ्याए पनि एसएलसीपछि नयाँ गीतको तयारी गर्ने उनले सोच बनाएका छन् ।

आठ वर्षको उमेरमा चलचित्र 'लभ यु बाबा'को निर्देशन गरेर विश्वकै कान्छा निर्देशकका रूपमा गिनिज बुकमा नाम लेखाउन सफल सौगात विष्ट पनि आफ्ना बाबा गजित विष्टकै पथ पछ्याउँदै यस क्षेत्रमा लागेका हुन् । एउटा तेलको विज्ञापनमा खेल्दै सानो पर्दाबाट आफ्नो अभिनय यात्रा सुरु गरेका सौगातले केही ठूला पर्दाका चलचित्रमा पनि अभिनय गरिसकेका छन् । हाल सौगात आफ्नो नयाँ चलचित्र 'हैरान'को छायांकनमा व्यस्त छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.