कार्यकारी राष्ट्रपतिको पक्षमा हस्ताक्षर संकलन गर्दै बाबुराम
काठमाडौः नयाँ शक्ति पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा जन दबाब सिर्जना गर्न हस्ताक्षर अभियान सुरु गरेको छ । नयाँ शक्तिले संविधान संशोधन गरी जनताबाट प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनुपर्ने वकालत गर्दै हस्ताक्षर अभियान सुरु गरेको हो ।
पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बुधबार काठमाडौंको बबरमहलबाट हस्ताक्षर संकलनका लागि राखिएको कपडामा दस्तखत गरी अभियानको शुभारम्भ गरेका हुन् ।
अभियानको शुभारम्भ गर्दै संयोजक भट्टराईले विगत २५ वर्षमा २३ वटा सरकार परिवर्तन हुनु दुःखद भएको बताए । संविधान जारी भएको एक वर्षभित्रै तीन वटा सरकार परिवर्तन भइसकेको उल्लेख गर्दै भट्टराईले यसबाट कुनै राजनीतिक स्थिरता र स्थायित्व हासिल हुन नसक्ने बताए ।
‘आर्थिक समृद्धिको सपना र अठोट पूरा गर्नका निम्ति शासकीय स्वरुपमा परिवर्तन गर्नुको विकल्प नभएको उनको भनाई थियो । ‘जनताको सुझाव पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्ने थियो' उनले भने-‘संसदलाई पूर्ण रुपले समानुपातिक बनाउने र जनताको मतबाट प्रत्यक्ष निर्वाचित हुने कार्यकारीको व्यवस्था गर्नुपर्छ' उनले भने ।
संयोजक भट्टराईले शासकीय स्वरुपमा परिवर्तन नगरेसम्म समृद्धि हासिल नहुने भएकाले नयाँ शक्ति पार्टीले पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा देशव्यापी हस्ताक्षर संकलन गरी सरकारलाई बुझाउने बताए ।
नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा १० लाख हस्ताक्षर संकलन गर्ने योजना बनाएको छ । नयाँ शक्तिले काठमाडौंसँगै यो अभियान देशव्यापी रुपमा सबै जिल्लाबाट सुरु गरेको जनाएको छ ।