राप्रपाको राष्ट्रिय अध्यक्षमा डा. लोहनी : राणाको कार्यकाल सकियो

राप्रपाको राष्ट्रिय अध्यक्षमा डा. लोहनी : राणाको कार्यकाल सकियो

काठमाडौँ:  राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर जबराको समयावधि मंगलबार अर्थात् आज सकिएको छ ।  

तत्कालीन राप्रपामा लागू गरिएको चक्रीय प्रणालीअनुसार लोकेन्द्रबहादुर चन्द, राणा र वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले क्रमशः पार्टीको नेतृत्व करिब छ-छ महिना लिने सहमति भएअनुसार चन्दले पार्टी अध्यक्षको जिम्मेवारी पूरा गरेपछि साउन ११ देखि अध्यक्ष हुनुभएका राणाले पनि छ महिनाको अवधि पूरा भएको छ। सो पार्टी र राप्रपा नेपालको एकीकरण हुनुअगावै राप्रपाको उच्चस्तरीय कार्यसम्पादन समितिको निर्णयानुसार राणाको पद आजदेखि लागू हुने गरी सकिएको हो।

तत्कालीन राप्रपामा राणापछिको नेतृत्व वरिष्ठ नेता डा लोहनीले गर्ने सहमति भएको लोहनीका प्रेस सहयोगी जनक पाठकले जानकारी दिए। दुवै पार्टी एकीकरण हुँदा पनि सो विषयलाई प्राथमिकतामा राखिएको थियो।

नयाँ अध्यक्षका लागि पार्टीका वरिष्ठ नेता डा लोहनीले राष्ट्रिय पदको जिम्मेवारी आजैदेखि लिनुपर्ने भए पनि पार्टी अध्यक्ष कमल थापा काठमाडौँ बाहिर रहेकाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज नबस्ने भएको छ । गत मङ्सिर ६ गते दुवै पार्टी एकीकरण भएर बनेको राप्रपाको बुधबार बस्ने बैठकले डा लोहनीलाई अध्यक्षका रुपमा अनुमोदन गर्ने पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए।

पार्टी महाधिवेशन आगामी फागुन ६ देखि ९ गतेसम्म स्थानीय भृकुटीमण्डपमा हुने भएको छ। सोका लागि आवश्यक तयारीका कार्य जारी छ। महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेकाले नयाँ अध्यक्ष डा लोहनीले करिब एक महिना मात्र पार्टीलाई नेतृत्व दिनुहुनेछ। उनले बुधबार आफ्नो कार्ययोजना सार्वजनिक गर्नेछ।

महाधिवेशनमा आगामी नेतृत्व सर्वसम्मत रुपमा छनोट गर्न देशभर नै सहमतिबाट प्रतिनिधि छनोटको प्रयास भइरहेको छ। पार्टीको यही माघ ७ देखि १५ गतेसम्म देशभर वडा, गाउँ र नगरको अधिवेशन जारी छ।

महाधिवेशनका लागि पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा ५०१ सदस्य रहेको एकता महाधिवेशन व्यवस्थापन मूल समारोह समिति गठन भइसकेको छ। सोही प्रयोजनका लागि प्रचारप्रसार, मञ्च व्यवस्थापन, सुरक्षा व्यवस्थापन, अतिथि स्वागत तथा व्यवस्थापनलगायत १२ उपसमिति गठन भएका छन्।

पार्टीका नेता देवेन्द्र प्रधानका अनुसार देशभर साधारण सदस्य वितरण तथा तल्लो तहदेखि प्रतिनिधि छनोटको प्रक्रिया सुरु भइसकेको छ। आगामी फागुन २ गतेसम्म देशभरबाट प्रतिनिधि छनोट गरी केन्द्रीय निर्वाचन समितिमा नाम पठाउनुपर्ने बताइएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.