सिकाइकेन्द्र पुनः सञ्चालन
काठमाडौः भक्तपुरको चाँगुनारायणमा बालबालिका तथा महिला सिकाइ केन्द्र पुनसञ्चालनमा आएको छ । इन्ष्टिच्युट अफ कल्चर अफेयर्स (आईसीए) जापानको सहयोगमा एक करोड ३५ लाख लागतमा उक्त केन्द्र सञ्चालनमा आएको हो ।
सो क्षेत्रका महिलालाई उत्पादनमूलक कार्यमा क्रियाशील बनाउन उक्त केन्द्रको स्थापना गरिएको हो । केन्द्रमा बालबालिकालाई पनि विभिन्न किसिमका कार्यक्रमको पनि आयोजना गरी सिकाउने व्यवस्था गरिएको छ ।
सन् २००२ देखि सञ्चालनमा रहेको उक्त केन्द्र भूकम्पका कारण क्षतिग्रस्त भएको थियो । आईसीए जापानका कार्यकारी निर्देशक सिजीयो साथोले आईसीए जापानको आर्थिक सहयोग र आईसीए नेपालको सक्रिय पहलमा भएको उक्त भवनको पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको बताइन् ।
उक्त भवनको उद्घाटन एमाले वरिष्ठ नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गरेका हुन् । कार्यक्रममा बोल्दै नेपालले यस केन्द्रले स्थानीय महिलालाई एक ठाउँमा संगठित हुने मात्र हैन, उनीहरुको सीप विकासमा समेत ठूलो सहयोग पुर्याएको बताए । उनले यसबाट स्थानीय महिलालाई आत्मनिर्भर बन्न पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
आईसीए जापानका कार्यकारी निर्देशक सिजीयो साथोले उक्त भवन निर्माण परियोजना भूकम्पपश्चात् जोखिममा परेका चाँगुनारायणबासीका लागि निर्माण गरिएको बताइन् । उनका अनुसार, यो केन्द्र करिब एक करोड ३५ लाखको लागतमा पुनः सञ्चालनमा आएको हो ।
परियोजनाको मुख्य उद्देश्य सिकाइ केन्द्रको मर्मत तथा पुनर्निर्माण, पुनर्बासका लागि स्थानीय समूहको भेट्घाट छलफल, दैवीप्रकोपको पीडाबाट गुज्रिरहेको मनोसामाजिकसम्बन्धी सहयोगात्मक क्रियाकलाप र महिलाका लागि आय आर्जनसम्बन्धी कार्यक्रम गर्ने रहेको छ ।
स्थानीय महिलालाई नेपकिन निर्माण तथा विक्री वितरणको ‘बजार व्यवस्थापन' नामक तालिम दिए प्रशिक्षित गरी सकिएको छ । सिकाइ केन्द्रमा आयआर्जनसम्बन्धी कार्यक्रमअन्तर्गत न्यून मूल्य सेनेटरी नेपकिनको उत्पादन तथा बिक्री वितरण र यसका लागि हालै नेपकिन बनाउने मेशिनको जडान गरिएको छ ।
स्थानीय महिलाले नेपकिन बनाउने तथा बेच्ने कार्य समेत थालिसकेका छन् । चाँगु क्षेत्रमा अहिले दैनिक एक सय ५० नेपकिन उत्पादन गरी बिक्री भइरहेको छ ।
जेष्ठ नागरिक तथा बालबालिकाको लागि पनि क्लब गठन गरिएको छ । परियोजना अवधिभरि भूकम्पबाट पीडित तथा स्थानीबासीलाई मनोसामाजिक पीडाबाट राहत दिन तथा पीडामुक्त बनाउन विविध किसिमका बौद्धिक तथा सकारात्मक क्रियाकलाप सञ्चालन गरिएका निर्देशक सिजीयो थाले बताएकी छन् ।