अन्तिम युद्धको तयारी-अहिलेको जटिल परिस्थिति सेनाको परीक्षा

अन्तिम युद्धको तयारी-अहिलेको जटिल परिस्थिति सेनाको परीक्षा

ब्रिटेनमा रामसे म्याकडोनाल्डले मजदुर नेताका रूपमा लेबोर पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने मौका पाए पनि सफल प्रधानमन्त्री बन्न सकेनन् । समाजवाद र पुँजीवादको द्वन्द्वले सन् १९३१ मा त्यहाँ ठूलो संकट उत्पन्न भयो । सरकारलाई 'राष्ट्रिय' सरकारको जलप लगाइयो । त्यसले पनि विश्वासको वातावरण निर्माण गर्न सकेन ।

राष्ट्रका जल्दाबल्दा समस्याको समाधान खोज्न संसद् नै असफल भएमा दलहरूले विश्वसनीयता गुमाउँछन् । जर्मनीमा संसद्ले बनाएको वाइमर संविधान च्यातिनुको मुख्य कारण त्यस्तै थियो । आर्यन-जर्मन एवं यहुदीबीचको धार्मिक र जातीय तनाव एवं हुँदाखाने (ह्याभ नट्स) एवं हुनेखाने वर्ग (ह्याभ्स) बीचको आर्थिक अन्तरालबाट उत्पन्न संकटको समाधान खोज्न संसद् असफल भयो । परिणामस्वरूप हिटलर उदाए ।

प्रजातन्त्रको सारांश समानता हो । त्यति बुझे पुग्छ । आर्थिक, सामाजिक, राजनीतिकलगायत यावत क्षेत्रमा आफूमाथि पक्षपात भइरहेको छ भन्ने पीडाबोध हुन थालेपछि दमित, शोषित, अवहेलित र उपेक्षितहरू कणकणबाट चट्टान बन्छन् । त्यस्तो अवस्थामा विद्रोह हुन्छ । विद्रोह गराउनेहरू दाउ हेरेर बस्छन् र आगो सल्काइदिन्छन् ।

सोभियत संघको इतिहास साक्षी छ, मिन्सेभिक र बोल्सेभिकहरूको द्वन्द्वले संसद् र संविधान मात्र ढलेन, सन् १९१७ मा ठूलो रक्तपात भयो । क्रान्तिले प्रजातन्त्र जन्माएन, तानाशाही नै ल्यायो । त्यो थियो, कम्युनिस्ट तानाशाही । इटलीमा पत्रकार नै तानाशाह भए, बेनिटो मुसोलिनी । राष्ट्र डुब्न लाग्दा ठूलो जनसमुदायले फासिस्टलाई नै इष्टदेवता मान्न थाल्यो तर त्यो स्थायी हुन सकेन । किनभने उग्रवाद, आतंकवाद, निरंकुशता र पृथकतावाद स्थायी हुँदैन ।

संक्रमणकालमा कृत्रिम शक्ति पनि सत्य जस्तो लाग्छ । निस्पट्ट अन्धकारमा जुनकीरी चम्केजस्तो पिलिकपिलिक चम्किने हजारौं किरा हामी दिव्यज्योति हौं भन्दै आउँछन् । सूर्य र पूर्णचन्द्रले मात्र उज्यालो दिन सक्छ । पद्धति नै गलत, विषाक्त र दिग्भ्रमित छ भने अगुवाहरू अलपत्र पर्छन् । 'महाजनो येन गतः स पन्थाः' (ठूला मान्छेहरू जता हिँड्छन्, बाटो भनेको त्यही हो) भन्ने कुरा सधैं सत्य हुँदैन । किनभने महापुरुष चिन्न सक्नुपर्छ । त्यसका निम्ति जनता विवकेशील हुनुपर्छ ।

कहिलेकाहीं 'प्रजातन्त्रको लागि' भन्दै प्रजातन्त्रविरोधीहरू आपसमा संघर्ष गर्छन् । दुईजना तालुखुइलेले काइँयोका लागि झगडा गरेजस्तो त्यो हास्यास्पद हुन्छ । प्रजातन्त्रमा आस्था र विश्वास नै नभएको माओवादीले नेपालमा त्यसै गर्‍यो । त्यो छद्मयुद्ध (प्रोक्सी वार) थियो । इलामको महेन्द्ररत्न कलेज पढिरहेकी एकजना नानीले मलाई सोधेकी थिइन्, 'दस वर्ष लामो द्वन्द्वमा माओवादीका सर्वोच्च नेताका छोराछोरी सुरक्षित भए, गरिब किसानका हजारौं छोराछोरी मात्र मारिए, किन ? '

उनको प्रश्न थियो- माओवादीले संसद्मा प्रवेश गरेपछि राष्ट्र र जनताका निम्ति के गरे ? केही नेता करोडौं सम्पत्तिका मालिक भए । मर्नेहरूमध्ये केही सालिक भए तर अरूले के पाए ? युवापुस्ताका भाइबहिनीहरू यस्ता कठोर प्रश्न गर्छन् । त्यो उनीहरूको हक पनि हो ।

नेपालमा सकारात्मक परिवर्तन भइरहेको छ भन्ने स्विकार्न युवा पुस्ता तयार छैन । विगतमा द्वन्द्वको आगोले जलाएका रुकुम, रोल्पा, सल्यान, प्युठान, जाजरकोटलगायतका जिल्लाबाट शिक्षा र रोजगारको लागि काठमाडौं आएका धेरै युवा झन् क्रूद्ध र असन्तुष्ट छन् । लाखौं युवा हरेक वर्ष रोजगारको खोजीमा बिदेसिने गरेका छन् । राजनीतिक परिवर्तनले नेपालस्थित विदेशी कूटनीतिज्ञहरू खुसी छन्, तर जनतामा ठूलो निराशा छ । के यो पद्धतिको सफलता हो ? संक्रमणकाल समाप्त हुने संकेत हो ? अथवा 'ठूलो उपलब्धि' हो ? 'जनयुद्ध' केका निम्ति थियो ? त्यो प्रश्न पनि अनुत्तरित छ ।

छयासी वर्षका राष्ट्रपति हिन्डेन वर्गले जर्मनीमा छोरासमानका हिटलरलाई सन् १९३३ को जनवरी ३० मा कार्यकारी प्रमुख (चान्सलर) बनाए । नाजी र राष्ट्रवादी मिले तर देश झन् ठूलो संकटमा फस्यो । श्वेत आतंक (ह्वाइट टेरर) र लाल आतंक (रेड टेरर) बाट जनता आजित भए । हिटलरले हजारौं वामपन्थी यहुदीलाई (प्राध्यापक, वकिल, संगीतकार, लेखक, डाक्टर, नर्स भए पनि) जेलमा कोचे । लाखौंको हत्या गरे ।

प्रचारमन्त्री डा. जोसेफ गोबेल्स भन्थे, 'असत्य भए पनि हजार पल्ट प्रचार गरेपछि जनताले स्विकार्न थाल्छन् ।' आज नेपालका मूर्ख राजनीतिज्ञहरू त्यस्तै गोयबल्स शैलीमा रमाएका छन् । ग्रहण लाग्दा सूर्य ओझेलमा पर्छ तर सूर्य शाश्वत सत्य हो । त्यसैले अस्थायी शक्तिले स्थायी शक्तिलाई सधैं छेक्न सक्दैन । नेपालमा पनि ग्रहण लागेको मात्र हो । सूर्य अस्ताएको होइन ।

सन् १९२८ मा अफगान राजा अमानुल्लाह र रानी सौर्याले रोम, पेरिस, बर्लिन र लन्डनको भ्रमण गरे । ब्रिटिस गुप्तचरहरूले अफगानिस्तानका गाउँगाउँमा राजारानीले जनताका पैसामा मोज गरे भन्दै तस्बिरहरू छाप्छाप्ती फिँजाए । राजाले पत्तै पाएनन् । किनभने त्यहाँ पनि राजाका वरिपरि बज्रस्वाँठ र लम्फूहरू मात्र थिए । समयमै सही सूचना लिएर दुष्प्रचार रोक्न सकिन्थ्यो । राजाको प्रतिष्ठा बढ्दा अफगानिस्तानमा पश्चिमा राष्ट्रको प्रभाव घट्दै जाने भएकाले दुष्प्रचार गरियो ।

ब्रिटेनले जनरल नादिर खानलाई उकासेर विद्रोह गरायो । उनी राजा अमनुल्लाहकै मन्त्री थिए । उनलाई नादिर शाह भन्न थालियो । राष्ट्रका पक्षमा काम गर्ने राजालाई फ्याँकेर परराष्ट्रका पक्षमा काम गर्नेहरूलाई विदेशीले जिरोबाट हिरो बनाउँछन् तर स्वार्थ पूरा भएपछि पराइका कठपुतलीहरू चियामा डुबेको माखो झैं मिल्काइन्छन् । सन् १९३३ को नोभेम्बरमा 'राजा' नादिर शाह त्यसरी नै मारिए । त्यसपछि उनका छोरा जहिर शाह राजा भए । उनी लोकप्रिय थिए तर बाह्य षड्यन्त्रकै कारण 'अन्तिम राजा' बन्न पुगे ।

राजनीतिशास्त्री ह्यारोल्ड जे लास्कीले भनेका छन्, 'कुनै पनि तानाशाहीलाई रोक्ने-छेक्ने अन्तिम किल्ला भनेको संसद् नै हो ।' नेपालमा त बितेका दस वर्षमा संसद् नै बहुराष्ट्रिय कम्पनीको सो रुम (प्रदर्शनी कक्ष) बनेको छ । चीन, भारत, युरोप र अमेरिकाको 'रेस्लिङ' चल्छ त्यहाँ । राष्ट्र र जनताका वास्तविक समस्या ओझेलमा परेका छन् । २०७४ माघ ७ गतेभित्र गाउँ, नगर, प्रान्त र संसद्को निर्वाचन हुन सकेन भने पनि दाता राष्ट्रहरूले दुई चार वर्ष संसद्को शक्ति थपिदेलान् तर राष्ट्रको भविष्य के हुन्छ ? यसबारे कोही पनि गम्भीर देखिएका छैनन् ।

दलको झन्डा बोक्ने न्यायाधीश, प्राध्यापक, पत्रकार, लेखक, उद्योगपति, व्यापारी, कर्मचारीदेखि लाखौं कार्यकर्ताहरू दलनायकले जेजसो भन्छन् त्यही नै सत्य ठान्छन् । यन्त्रमानवहरूको संग्रहालय बन्दैछ देश । तटस्थ जनता आन्दोलित भए पनि उनीहरूले प्रचुर समर्थन पाइरहेका छैनन् । त्यसैले विदेशीको दबाब र प्रभावबाट राष्ट्रलाई चलाउन सशक्त राष्ट्रवादी शक्तिको अभ्युदय हुनैपर्छ । विदेशीको नयाँ जर्सी लगाउँदैमा 'नयाँ शक्ति' निर्माण हुँदैन ।

मुगल सम्राट् तुगलकले दौलतवादबाट दिल्लीमा राजधानी सारे झैं ०६२/६३ सालपछि नारायणहिटी राजदरबारको शक्ति लैनचौरस्थित भारतीय दूतावासमा सार्न दलहरू राजी भएकै हुन् । दिल्लीमा भएको बाह्रबुँदे सम्झौताको प्रमुख उपलब्धि (? ? ) त्यही थियो । राष्ट्रले आज त्यसकै दुष्परिणाम भोगिरहेको छ । तसर्थ दिल्लीको चंगुलबाट बाहिर ननिस्केसम्म नेपालको संक्रमणकाल यथावत् रहन्छ ।

चंगेज खान यसोगेई बगातुरका छोरा हुन् । बगातुरलाई मुसलमानहरूले 'बहादुर' शब्दका रूपमा प्रयोग गरे । बगातुरको अर्थ हो, नायक अर्थात् सुरबीर । सम्भवतः शिख धर्मगुरु गुरु तेगबहादुर र मुसलमान सम्राट् बहादुर शाह जफर पनि 'बगातुर' शब्दबाट प्रेरित भएका हुन् । तिमुचिन नाम थियो चंगेजको । तर चंगेज नै जगत् प्रसिद्ध नाम भयो । 'सेक्रेट हिस्ट्री अफ मंगोल पिपुल' पुस्तकमा विभिन्न राज्यमा बाँडिएका मंगोल एकीकृत र संगठित भएकाले उनीहरूले संसार जितेको उल्लेख छ । एकताबिना जित्न सकिँदैन । त्यसैले नेपाली जनतालाई एकताबद्ध हुन नदिन विदेशीले संघीयताको पाठ घोकाइरहेका छन् । जातीय, साम्प्रदायिक र क्षेत्रीय रङले रंगाइरहेका छन् ।

एकजना ऋषि थिए चार्बाक । ईश्वरको अस्तित्व स्वीकार गर्दैनथे उनी । बेन राजाले त्यही बाटो हिँड्न खोज्दा राजसभाले उनलाई धर्मविरोधी भनेर मृत्युदण्ड दियो । राजा (अगुवा) नै पथभ्रष्ट भयो भने राष्ट्र पथभ्रष्ट हुन्छ भन्ने विद्वान्-विदुषीको तर्क अकाट्य मानिन्छ ।

नेपालमा झलनाथ खनाल, बाबुराम भट्टराई, पुष्पकमल दाहाल आदि वामपन्थी प्रधानमन्त्रीले पनि ईश्वरका नाममा शपथ ग्रहण गरेनन् । धर्ममा आस्था राख्ने करोडौं जनताले 'ईश्वर नै छैनन्' भन्ने ती धर्म निरपेक्ष (? ? ) नेतालाई आफ्नै हिसाबले मूल्यांकन गरिरहेका छन् । कसैले आँखा चिम्लेर संसारै अँध्यारो छ भन्छ भने त्यो बालहठ मानिन्छ । क्रिश्चियनका पुराना ग्रन्थहरू अध्ययन गर्दा विधर्मीहरूका सहर जलाइदिनु र उनीहरूलाई नाक-कान काटेर मारिदिनू भन्ने जस्ता अत्यन्त अमानवीय 'आदेश' पाइन्छन् ।

युरोप-अमेरिकाका इतिहासकारले त्यही पढेकाले पृथ्वीनारायण शाहले पनि कीर्तिपुरमा त्यसै गरे होलान् भनेर कल्पना गर्दै किताब र लेखहरूबाट दुष्प्रचार गरे । गोराको पैसा लिएर एनजीओ चलाउने नेपाली छोराहरू विदेशी धर्मबाबुकै भाषा बोलिरहेका छन्, इतिहासलाई गाली गरिरहेका छन् । त्यसरी नबोल्दा उनीहरूको दानापानी रोकिन्छ । जसले पृथ्वीनारायण र राष्ट्रियताप्रति घृणा फैलाउँछन्, ती कहाँबाट सञ्चालित छन् भनेर किचकन्नीको हड्डी खोज्नै पर्दैन । राष्ट्रवादी शक्ति स्थापित भयो भने नेपालमा विदेशीका प्रायः सबै प्रोजेक्ट बन्द हुन्छन् ।

राष्ट्रवादी र राष्ट्रघातीको मनोवैज्ञानिक युद्धमा को कुन कित्तामा छ भनेर बुझ्नैपर्छ । पचास हजार एनजीओ, १८० दल, पेसागत संगठनहरू, विश्वविद्यालय, सञ्चारजगत् आदि ठाउँमा जताततै व्यापक घूसपैठ गराएर नेपाली इतिहासलाई एकादेशको कथा बनाउन खोजिएको छ । यी सबै कुराको सम्पूर्ण सूचना संग्रह गरेर सेनाले आफ्नै मार्गचित्र बनाउनुपर्छ भन्ने आवाज उठ्न थालेको छ । सेना आफैं 'किलिङ जोन' भित्र नपरोस् र त्यहाँ बाह्यशक्तिको घूसपैठ गराएर मिरजाफर, लेन्डुप दोर्जे, क्विजलिङ र नादिर शाह पैदा नहुन् भन्ने कतिपयको सुझाव र चेतावनी छ ।

'व्यावसायिक' बनेर बस्नु राम्रो कुरा हो, तर शत्रुले आफ्नै चुस्तामा आगो लगाउँदा पनि सेना सरकारकै आदेश पर्खेर बस्यो भने एक दिन मुख्यालय नै जल्न वा ढल्न सक्छ । देश टुक्र्याइदिन्छौं भन्ने राष्ट्रघातीलाई विदेशीले हलुवा खुवाउनु स्वाभाविक हो तर जहाँ राष्ट्रवादी सेना हुन्छ, त्यहाँ पृथकतावादी र राष्ट्रघातीले टाउको उठाउन पाउँदैनन् । तसर्थ अहिलेको जटिल परिस्थिति सेनाको परीक्षा पनि हो । सिंहदरबार नै राष्ट्रघातको प्रजनन केन्द्रजस्तो देखिएका कारण राज्यकै संरक्षणमा राष्ट्रघातीको 'ब्रिडिङ' हुँदै गएको सबैले बुझ्न थालेको पाइन्छ ।

दुर्दान्त देखिने दानवहरू दन्दनी दावानल दन्काउने दाउरा देखाइरहेछन् । ती विदेशीकै छाउरा हुन् । राष्ट्रवाद र राष्ट्रघातको यो अन्तिम युद्ध हुनसक्छ । सबै कुरा खोसिँदै गएको छ । सरकार, संसद् र न्यायपालिका पनि विदेशीकै खटनपटनमा चलाउन खोजिँदैछ । प्रहरी, निजामतीलगायतका महत्त्वपूर्ण अंगमा समेत बाह्य शक्तिले प्रभाव जमाउन खोजेको पाइन्छ । सरकारका अंगअंगमा विदेशी दबाब र दबदबा देखिन्छ । सिंहदरबारमै विदेशीका राजनीतिक मार्सल छन् भन्ने टड्कारो भइसकेकाले विमानस्थल, भन्सार वा नाकानाकामा उनीहरूको घेराबन्दी हुनु स्वाभाविक हो ।

सिरानीमुनि गोमन सर्पहरू छन्, हामी बारीमा लौरो लिएर दौडिरहेका छौं । तसर्थ 'सर्च एन्ड डिस्ट्रोय' अपरेसन काठमाडौंको चक्रपथभित्रैबाट सुरु गरे मात्र राष्ट्रिय सुरक्षाप्रति ढुक्क हुन सकिने अवस्था रहन्छ । होइन भने हामी अब पूर्णतः पराधीन बन्नेछौं । त्यसबेला हाम्रा सन्ततिले रुँदैरुँदै भन्नेछन्, 'हाम्रा पूर्वजले देश बचाउनै सकेनन् ।' त्यसबेला के जवाफ दिने ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.