क्यान्सर इज कनक्युरेबल

क्यान्सर इज कनक्युरेबल

‘क्यान्सर के हो ? ’
प्रा.डा. राजेन्द्र बरालसँग दुईथरी उत्तर छन् । एउटा भुक्तभोगी, अर्को क्यान्सर विशेषज्ञको । विशेषज्ञको आँखाबाट उनी भन्छन्- क्यान्सर केही होइन, मात्र क्रोनिक रोग हो, उच्च रक्तचाप, मधुमेहजस्तै । यसको उपचार सम्भव छ । कुनै समय थियो, भनिन्थ्यो- क्यान्सर ह्याज नो आन्सर (क्यान्सरको कुनै जवाफ छैन) । अहिले डा. बराल भन्छन्- क्यान्सर इज कनक्युरेबल (क्यान्सरलाई जित्न सकिन्छ) ।

laxman-shrestha_1

बिनाउपचारको भयावहदेखि पराजित हुने तहसम्म पुग्दा क्यान्सरको कथा के छ ? त्यो भुक्तभोगी बराललाई थाहा छ । अँ भुक्तभोगी किनभने उनको कुल–परिवारमा क्यान्सरबाट ग्रसित हुनेको संख्या ५१ पुगेको छ । र, त्यो भुक्तभोगी अनुभव भन्छ- क्यान्सर पीडा हो । पीडा- शारीरिक, मानसिक, आर्थिक, भौतिक, सामाजिक । अर्थात् पीडाहरूको चाङ । पीडाहरूको लस्कर । पीडाहरूको कथा–उपकथा । पीडाको कथा उनको आमाबाट सुरु हुन्छ ।

पहिलो भेट

क्यान्सरसँग बरालको पहिलो भेट आमामार्फत भयो । आमाको शरीरमा पहिलोपटक क्यान्सर फेला पर्‍यो । ०३४ सालमा एसएलसी दिएपछि आईएस्सी पढ्न बनारस गएका बरालको अध्ययन यात्रा आमाको बिरामीले रोकियो । ब्लड क्यान्सर भएको थियो उनलाई । क्यान्सरको पीडा पहिलोपटक भोगे उनले । बुवाले गरेको दुःख । उनले बेहोरेको सकस । आमाले भुक्तमान गरेको असह्य पीडा । ओहो ! संकटै संकट । मृत्युको अँध्यारो साया सल्बलाइरहन्थ्यो जति बेला पनि । तर, कुनै पनि उपाय थिएन । अझ उनीहरूले त आमालाई क्यान्सर भएको भनेका पनि थिएनन् । क्यान्सरबारे नेपाली समाज सचेत भइसकेको थिएन ।

हरेकपटक क्यान्सर नयाँ नै बनेर आउँछ । उस्तै आवेग, प्रवेग र संवेगका साथ । परिवारमा यति लामो क्यान्सर भोग्दा के त्यसले भिन्दै मानसिकता निर्माण गरिदिएन ?


अन्ततः एक दिन आयो जुन दिन उनले आमालाई यथार्थ भने । र, त्यही दिनबाट उनको जीवनको नयाँ अध्याय सुरु भयो । त्यो दिन नभएको भए सायद उनी क्यान्सर रोग विशेषज्ञ हुने थिएनन् । ०४० साल साउन २० गते शुक्रबार । क्यान्सरले थलिएकी तर के भएको हो थाहा नपाएकी आमाले भनिन्, ‘मलाई के भएको छ, किन तिमीहरू भन्दैनौ ? मलाई क्यान्सर भएको छ । तिमीहरूले लुकाइरहेछौ ।’

आमाको दिनहुँको हठ देखेर आवेशमै बरालले भनेछन्, ‘हो, तपाईंलाई क्यान्सर भएको छ ।’ त्यसपछि आमाको प्रतिक्रिया सम्झेर अहिले पनि भावुक हुन्छन् उनी । सम्झन्छन्, ‘आमाले त्यसो भए मेरो अन्तिम इच्छा सुन भन्नुभयो । उहाँले तँ क्यान्सरको डाक्टर बन भन्नुभयो ।’
अनि ? अनि बरालले ‘हुन्छ’ भनेछन् । त्यो हुन्छ सुन्नासाथ आमाको निधन भएछ । तत्कालै । तुरुन्तै ।

बरखी बारेको सेतो कपडा लगाएरै फेरि आईएस्सीमा भर्ना भए । ठूलो भाइ बीएस्सी दोस्रो वर्ष पढ्दै थिए । बहिनी बीएस्सी पहिलो वर्षमा, कान्छो भाइ आईएस्सी दोस्रो वर्षमा ।एमबीबीएस सकेपछि उनी लागे क्यान्सरको डाक्टर बन्ने धुनमा । पढ्ने क्रममै थाहा पाए- आमाको निधन क्यान्सरले भएको होइन । केमोथेरापीका क्रममा प्रयोग हुने औषधिको बढी डोजले भएको हो । त्यति बेला नेपालमा क्यान्सर विशेषज्ञ एकजना पनि थिएनन् । डाक्टरले अनुमानका भरमा औषधि दिँदा डोज बढी भएर आमाले मृत्युवरण गर्नुपर्‍यो ।

यता उनी क्यान्सर रोग विशेषज्ञ भए, उता आमासँगै जरो हालेको क्यान्सरले घर–परिवार–कुल छोडेन । सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता रहेका उनका बुवा अहिले छालाको क्यान्सरसँग जुधिरहेका छन् । अस्ति भर्खरै उनकी काकाकी छोरी क्यान्सर सूचीमा थपिएकी छन् । संख्याले ५१ पुगेको छ ।

सिकाउने क्यान्सर

संघर्षको यो लामो रेसमा केवल निराशा र पीडा दिएको छैन क्यान्सरले । यसले धेर ैथोक सिकाएको पनि छ । डाक्टरी ज्ञानको लेप लगाएर उनी अनुभव सुनाउँछन् । क्यान्सरले दिएको सबैभन्दा ठूलो शिक्षा के हो ? डा. बराल भन्छन्- आत्मविश्वास, आत्मबल । आत्मबल बलियो बनाउन सक्नेहरूले नै क्यान्सरसँगको लडाइँमा विजय सुनिश्चित गर्छन् । क्यान्सर पनि क्रूर शासकजस्तै छ । जो निरीह बनेर गति छोड्छ, उसको घाँटी अँठ्याउँछ । जो छाती फुकाएर उभिन्छ, क्यान्सर पनि आत्मसमर्पण गर्छ ।

आफ्नो पारिवरिक जीवन र डाक्टरी जीवनमा दुवै दृश्य देखेका छन् बरालले । उनकोमै आउने एक बिरामी छिन् एउटै शरीरमा ६ वटा क्यान्सरसँग जुधिरहेकी । पिसाबको थैली, मुख, पेट, स्तन, ओठ र छालाको क्यान्सरसँग जुधिरहँदा पनि उनी सक्रिय नै छिन् । त्यस्तै अर्को उदाहरण छिन् एक डाक्टर । उनी जन्मेकै दिन ब्लड क्यान्सर भएको थियो । जिन्दगीको पहिलो दिनदेखि नै क्यान्सरसँग जुधेकी उनी अहिले सफल चिकित्सक छिन् । यो आत्मबलको कथा हो । यो विजयको कथा हो । सबैलाई थाहा छ, पराजको कुनै कथा हुन्न । पराजयको इतिहास लेखिन्न ।

मान्छेको कथा त संघर्षको गाथा हो । त्यसैले त ऊसँग छ जीवित इतिहास । त्यही जीवित इतिहासमै छन् क्यान्सरसँग जुधेका सफलताको कथा । तर, हरेकपटक क्यान्सर नयाँ नै बनेर आउँछ । उस्तै आवेग, प्रवेग र संवेगका साथ । परिवारमा यति लामो क्यान्सर भोग्दा के त्यसले भिन्दै मानसिकता निर्माण गरिदिएन ?

‘किन नगर्नु ? गर्‍यो नि’, डा. बराल अनुभव सेयर गर्छन्, ‘यसले त्रास उत्पन्न गरिदिएको छ । मलाई पनि क्यान्सर भयो कि भन्ने बनाइदिएको छ । सन्तानलाई हुने हो कि भन्ने अर्को त्रास ।’ तर हरेक सिक्काका दुईवटा पाटा हुन्छन् । त्रासको पनि अर्को पाटो छ । यही त्रासले सचेत पनि बनाइदिएको छ । त्यही सचेतना त हो क्यान्सरसँग युद्धको पहिलो अस्त्र । किनभने डा. बरालको विशेषज्ञ अनुभव भन्छ- सुरुमै पत्ता लगाए क्यान्सरको उपचार सम्भव छ । विडम्बना ! उनले जाँच्ने बिरामीमध्ये झन्डै ७५ देखि ८० प्रतिशत बिरामी क्यान्सर बल्झिएपछि मात्र आउँछन् ।

क्यान्सरको भावनात्मक भूगोल

परिवारको कुनै सदस्यलाई क्यान्सर हुनु केवल कुनै अंगमा रहेको कोष बढ्नुमात्र होइन, यो त खर्च बढ्नु पनि हो । सन्त्रास बढ्नु पनि हो । दिक्दारी, छटपटी र हैरानी पनि बढ्नु हो । त्यसैले क्यान्सरको बेग्लै भावनात्मक भूगोल पनि छ । मानिसको चेतनास्तर, सम्बन्धको न्यानोपना र सामना गर्ने तरिकाले यो भूगोलको आकारप्रकार निर्धारण गर्छ ।

क्यान्सर रोगी बाआमालाई लत्याएर हिँडेका छोराछोरी देखेका छन् उनले । क्यान्सर लागेकै कारण सम्बन्धविच्छेद भएका पतिपत्नी भेटेका छन् उनले । तर, क्यान्सर विभाजनमात्र होइन । यो त सम्बन्धको न्यानोपनाको अर्को कारण पनि बन्नसक्छ । जसरी उनको परिवारको बन्ड बलियो बनेको छ । तर, बरालले भने कथा सुनाए एक अमेरिकी दम्पतीको ।
युवावयमै स्तन क्यान्सरको कारण स्तन फाल्नु परेपछि निराश पत्नीले पतिलाई भनिछन्, ‘मेरो एक स्तनविहीन शरीर देखेर तिमीलाई कति दिक्क लाग्छ होला हगि ? ’
पतिले जवाफ दिएछन्, ‘त्यसो होइन । झन् नजिक भएको महसुस गर्छु । पहिले तिमी र मबीच यो स्तन थियो । अहिले त्यो पनि छैन ।’
आखिर क्यान्सर केवल क्यान्सर हो; जसरी उच्च रक्तचाप केवल उच्च रक्तचाप हो । ओखती त मधुमेहको पनि छैन नि । समयमै नियन्त्रण गरेपछि मानिस लामो समय बाँच्छ, जसरी क्यान्सर रोगी पनि बाँच्नसक्छ । तर, मानिसमा यही चेतना छैन ।

छैन चेतना

सचेतना नहुनु नै क्यान्सरविरुद्ध लडाइँको पहिलो कमजोरी रहेको अनुभव छ डा. बरालको । नहुनु पनि कुन स्तरमा भने समाजमा नाम कहलिएका मानिसहरू पनि आफूलाई क्यान्सर भएको लुकाउन चाहन्छन् । उनीहरू खुलेर क्यान्सरसँगको आफ्नो लडाइँ बताउँदैनन् । ‘तिनीहरूले भने अरू सामान्य मानिसमा पनि आत्मबल आउँथ्यो’, बराल गुनासो गर्छन्, ‘सञ्चारकर्मी चिच्याएर वा मजस्ता डाक्टरहरूमात्रै कराएर कहाँ हुन्छ ? सेलिब्रेटीहरूले भनिदिए त मानिसहरूले विश्वास गर्छन् नि ।’

अचेतना त कहाँसम्म छ भने, मानिसहरू अझै पनि क्यान्सरलाई सरुवा रोग ठान्छन् । सर्ने मामलामा त क्यान्सर रुघाखोकी जति गम्भीर पनि होइन किनभने यो रोगीको शरीरबाट अरूमा कुनै माध्यमबाट पनि सर्दैन । पूर्णतया नसर्ने रोग हो यो । तर, मानिसमा यही साधारण ज्ञान पनि छैन । कतिसम्म भने उनका एक डाक्टर साथीमा पनि थिएन ।

छोरीलाई ब्लड क्यान्सर भएको पत्ता लागेपछि आएका एकजना डाक्टर साथी नै छोरीसँग नसुतेको देखेपछि उनले सोध्दा ती डाक्टर साथीले भनेछन्, ‘ऊ त मर्छे/मर्छे म किन मरुँ ? ’ स्वंय चिकित्सकमै रहेको अज्ञानता चिर्न अझै धेरै लामो यात्रा हिँड्नु छ ।

डक्टर्स भ्वाइस

क्यान्सर अब बरालको जीवनमा अनेकन आयामले छाएको छ । उनले क्यान्सरलाई नजिकबाट भोगे, सामना गरे र जिते । क्यान्सरकै विशेषज्ञ बनेर सेवा गरिरहेछन् । क्यान्सर रोग विशेषज्ञका रूपमा उनीसँग भन्नैपर्ने केही भनाइ छन् ।डा. बराल भन्छन्, ‘क्यान्सर जुनसुकै उमेरकालाई जहाँसुकै पनि हुनसक्छ । त्यसैले नियमित परीक्षण अत्यावश्यक छ । स्तन क्यान्सरजस्ता क्यान्सर आफैंले जाँच्न सकिन्छ । पाठेघरको मुखको क्यान्सरजस्ता क्यान्सरहरूको कम पैसामै जाँच हुन्छ ।’

क्यान्सर लागेको थाहा पाएपछि पनि आत्तिनु पर्दैन । आत्तिएरै हरेश खानेहरूलाई अर्को सल्लाह हो उनको किनभने सुरुआती अवस्थाको क्यान्सर उपचार गर्ने अनेक विधि पत्ता लागिसकेका छन् । त्यसैले फेरि जोड दिएर डा. बराल भन्छन्- क्यान्सर इज कनक्युरेबल । क्यान्सरलाई सजिलै परास्त गर्न सकिन्छ- सचेतना, होसियारी र आत्मबलले ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.