विमानस्थलमा सुन खोज्दा चाँदी भेटियो
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै एक महिनादेखि बेवारिस अवस्थामा रहेको झोला खोल्दा तीन किलो चाँदी भेटिएको छ ।
पुस २२ गते कुनै यात्रुले उक्त झोला बेवारिस छाडेका थिए। लामो समयसम्म झोला बेवारिस रहेपछि विमानस्थल प्रहरी र भन्सारका कर्मचारीले शुक्रबार झोला खोल्ने निर्णय गरेका थिए ।
झोलामा एकएक किलो चाँदीका तीनवटा बिस्कुट फेलापरेको प्रहरी स्रोतले बताएको छ । बेवारिस झोला खोल्नुअघि भन्सारका कर्मचारीले उक्त झोला ‘स्क्रिनिङ मेसिन’ मा हालेका थिए ।
मेसिनले झोलाभित्र मेटल भएको संकेत गरेपछि भन्सार कर्मचारीले ठूलो परिमाणमा सुन भएको आशंका गर्दै झोला खोलेका थिए । झोला कसको हो भन्नेबारे केही खुलेको छैन ।
पुस २२ गते ती यात्रु जेट एयरमा भारतको मुम्बईबाट आएका थिए । अमेरिकाबाट आएका व्यक्ति मुम्बई हुँदै काठमाडौं आएको र पक्राउ परिने डरले झोला छाडेर गएको हुनसक्ने प्रहरीले बताएको छ ।
बरामद चाँदी उच्च गुणस्तरको रहेको विमानस्थलका भन्सार कार्यालयका एक अधिकारीले अन्नपूर्णलाई बताए ।