दिल्लीमा नेपालीको क्रिकेट सपना
![दिल्लीमा नेपालीको क्रिकेट सपना](https://annapurnapost.prixacdn.net/media/albums/criceket-new-dilli-58a1618b8b8dd0.06318203_0i4dhWDjdV.jpg)
नयाँदिल्लीः भारतको राजधानी नयाँदिल्लीका गल्लीगल्लीमा क्रिकेट एकेडेमी भेटिन्छन् । तर, पश्चिम दिल्लीको द्वारकास्थित दिल्ली विकास प्राधिकरण (डीडीए) को मैदानमा खुलेको पश्चिम दिल्ली क्रिकेट एकेडेमीमा भने अन्यत्रको भन्दा भिन्दै चहलपहल देखिन्छ । खेलाडीको पनि निकै भीड लाग्ने गर्छ । यस एकेडेमीमा खेलाडीको भीड लाग्नुको मुख्य कारण हो- भारतीय क्रिकेटर विराट कोहली । अहिलेका उत्कृष्ट क्रिकेटर तथा भारतीय क्रिकेट टोलीका कप्तान कोहलीले पहिलोपटक यही एकेडेमीमा ब्याट समाउन सिकेका थिए ।
कोहलीलाई पहिलोपटक ब्याट चलाउन सिकाउने गुरु राजकुमार (आरके) शर्माले एकेडेमीका खेलाडीलाई क्रिकेट सिकाउने गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटका ‘आइकन' उनै कोहलीले सिकेको प्रशिक्षक र एकेडेमीमा दुई नेपाली युवा मनीष शर्मा र कृष्ण क्षत्री पनि क्रिकेट सिक्दैछन् । उनीहरूको सपना कोहलीले जस्तै आफ्नो राष्ट्रिय टोलीबाट उत्कृष्ट खेल खेल्नु हो ।
१५ वर्षीय मनीष र १८ वर्षीय कृष्ण विगत दुई वर्षदेखि आरके शर्माको पश्चिम दिल्ली क्रिकेट एकेडेमीमा क्रिकेट सिक्दै आएका छन् । अर्घाखाँचीका मनीष ब्याट्सम्यान हुन भने झापा (अहिले दार्जिलिङ) का कृष्ण अलराउन्डर हुन् ।
दुवै खेलाडी मासिक दुई हजार शुल्क बुझाएर आरके शर्माको एकेडेमीमा क्रिकेट सिक्दैछन् । एकेडेमीमा आरके शर्मा सातामा एक दिनमात्रै आउँछन् । अन्य दिन उनका सहायक पवन कुमारले क्रिकेट सिकाउँछन् । तुलनात्मक रूपमा शुल्क कम भए पनि क्रिकेट सिक्नका लागि मनीष र कृष्णले गरेको संघर्ष ठूलो छ ।
सिलिगुडीमा बीकम पहिलो वर्ष पढ्दै गरेका कृष्ण पढाइ छाडेर क्रिकेट सिक्नकै लागि दिल्ली पुगेका हुन् । आफ्ना अभिभावकसँगै दिल्लीमै बस्दै आएका मनीषले पनि क्रिकेट सिक्नकै लागि विद्यालय शिक्षासमेत ‘प्राइभेट' पढिरहेका छन् । हाल १० कक्षाको अन्तिम परीक्षाको तयारीमा रहेका मनीष स्कुलबाहिरै रहेर परीक्षाको तयारी गर्दैछन् ।
उनीहरू सातामा ६ दिन हुने टे«निङको अपराह्नको कक्षामा सहभागी हुन्छन् । ‘हाम्रो ट्रेनिङ दिनको ३ बजेपछि हुन्छ । आरके (शर्मा) हप्तामा एकपटक मात्रै आउनुहुन्छ', मनीषले सुनाए, ‘अन्य दिन उहाँका सहायक पवन कुमारले क्रिकेट सिकाउनुहुन्छ । उहाँहरूले हप्तामा दुई दिन क्रिकेटको सैद्धान्तिक कुरा सिकाउनुहुन्छ । त्यसबाहेकका दिनमा अभ्यास गराउनुहुन्छ ।' आफ्नो नियमित ट्रेनिङबाहेक कृष्ण बिहानीको समयमा रणजी ट्रफीको तयारीमा रहेका सिनियर खेलाडीलाई बलिङ गर्न पुग्छन् । यी दुवै खेलाडीले भारतको राज्यस्तरका विभिन्न प्रतियोगिता खेलिसकेका छन् ।
मनीषले दिल्ली तथा कानपुर लिगमा प्रतिस्पर्धा गरेका छन् । गत वर्ष कानपुर लिगको सात खेल खेलेका मनीषले केसीसीविरुद्ध एक सय ८० रन बनाएका थिए । यो उनको अहिलेसम्म उत्कृष्ट प्रदर्शन हो । कृष्णले सिलिगुढीबाट कलकत्ताको टोलीविरुद्ध दुई प्रतियोगिता खेलेका छन्, जसमा उनले अलराउन्ड प्रदर्शन गरेका छन् । पछिल्लो समय उनले एक सय ३० को औसतमा बलिङ गर्ने गरेको सुनाए ।
यी दुवै खेलाडी आफ्नो देशबाट खेल्ने इच्छा भएको बताउँछन् । ‘भारतमा क्रिकेट सिक्ने वातावरण निकै राम्रो छ । अहिले यहाँ व्यावसायिक प्रशिक्षकबाट सिक्दैछु', मनीष भन्छन्, ‘अब नेपालको राष्ट्रिय टोलीबाट खेल्नका लागि प्रयास गर्नेछु ।' रोजगारीका सिलसिलामा अभिभावक दिल्ली आइपुगेपछि मनीषको जन्म यतै भएको हो । यद्यपि मनीषको परिवारले आफ्नो गाउँसँगको नाता भने तोडेका छैनन् । मनीष नेपाली राष्ट्रिय टोलीका लागि ट्रायल दिन गत वर्ष नेपाल पुगेका थिए । तर, कुनै प्रतियोगिता नभएपछि भारत नै फर्किएका थिए । ‘म गत वर्ष नेपाल गएको थिएँ । त्यस बेला ज्ञानेन्द्र (मल्ल) दाइलाई भेटेको थिएँ । त्यस बेला कुनै प्रतियोगिता थिएन, त्यसैले छनोट प्रतियोगिता पनि नखेली फर्किएँ', मनीषले भने, ‘अब फेरि ट्रायलका लागि नेपाल जान्छु ।'
पढाइका क्रममा सानै उमेरमा भारत आएका कृष्णले पनि नेपाली राष्ट्रिय टोलीबाट खेल्न प्रयास गर्ने बताए । ‘पहिले यसबारेमा थाहा थिएन तर अहिले सुनेको छु', कृष्णाले भने, ‘केही समय आसाम र कोलकातामा प्रयास गरेँ । तर, त्यहाँ सफल नभएपछि व्यावसायिक प्रशिक्षकबाट सिक्ने निर्णय गरेर दिल्लीमा आएको छु । अझै एक वर्ष यहाँ सिक्छु र त्यसपछि नेपालबाट खेल्नका लागि प्रयास गर्नेछु ।'
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)