आर्मी र पुलिस उपाधिका लागि भिड्ने

आर्मी र पुलिस उपाधिका लागि भिड्ने

ताप्लेजुङः त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच शनिबार हुने भिडन्तको विजेताले दोस्रो पाथीभरा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जित्ने पक्का भएको छ । सर्वाधिक पुरस्कार राशिको पुरुष भलिबल प्रतियोगिताको चौथो दिन शुक्रबार भएको खेलमा आआफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै आर्मी र पुलिस क्लब उपाधिनजिक पुगेका हुन् ।

आर्मी क्लबले शुक्रबार भएको खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबमाथि ३-० सेटको जित हात पार्‍यो । सोही दिन भएको अर्को खेलमा पुलिस क्लबले पनि तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी मध्यमाञ्चललाई ३-० सेटले नै पाखा लगायो ।

राउन्ड रोविन लिगका आधारमा सञ्चालित उक्त प्रतियोगितामा आर्मी र पुलिस क्बलले अपराजित रहँदै हात पारेको यो लगातार तेस्रो सफलता हो । दुवै टोलीले समान नौ अंक जोडेका छन् । प्रतियोगिताको अन्तिम दिन दुई चिरप्रतिद्वन्द्वी आर्मी र पुलिस क्लब उपाधिका लागि भिड्नेछन् भने एपीएफ क्लब र पूर्वाञ्चलबीच तेस्रो तथा चौथो वरीयताका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सहभागी अर्को क्षेत्रीय टोली मध्यमाञ्चल भने वरीयताको पाँचौं तथा अन्तिम स्थानमा रहने पक्का भइसकेको छ । एपीएफ क्लबको तीन खेलबाट तीन अंक छ भने पूर्वाञ्चलको तीन खेलबाट दुई अंक छ । एक खेल पनि जित्न नसकेको मध्यमाञ्चलको एक अंकमात्र छ ।

शुक्रबार भएको खेलमा एपीएफलाई हराउन आर्मीले ठूलै कसरत गर्नु पर्‍यो । पहिलो सेटको खेलमा बलियो प्रतिद्वन्द्वी आर्मीलाई गतिलो चुनौती दिएको एपीएफले दोस्रो र तेस्रो सेटमा भने केही खस्किएको प्रदर्शन गर्‍यो । एकअर्कासँग अंक खोस्दै अगाडि बढेको प्रतिस्पर्धात्मक खेलमा एकताका आर्मीले १२-८ को अग्रता लिएको थियो ।

त्यसपछि एपीएफ क्लबले आर्मीसँग लगातार आठ अंक खोस्दै खेलमा १६-१२ अंकको अग्रता बनायो । एपीएफ क्लबका लागि स्पाइकर महेन्द्र श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरे । ताप्लेजुङ नगरपालिकास्थित भानु जन उच्चमाविको मैदानमा भएको उक्त खेलमा दर्शकलाई भरपूर मनोरञ्जन दिँदै पुनः आर्मी अगाडि बढ्यो । एपीएफसँग लगातार ६ अंक खोसेपछि आर्मी १८-१६ ले अगाडि बढेको थियो । आर्मीका लागि स्पाइकर मानबहादुर श्रेष्ठ र धनबहादुर भट्टले महत्ववपूर्ण योगदान गरे ।

त्यसपछि दुवै टोलीले लगातार ठूलो अंक हात पार्न नसके पनि एकअर्कासँग एकदुई अंक खोस्ने क्रम जारी रह्यो । खेलमा आर्मी २४-२३ ले अगाडि रहँदा लगत्तै अर्को अंक थप्न नसकेपछि खेल २४-२४ को रोमाञ्चक स्थितिमा पुगेको थियो । त्यसपछि लगातार दुई अंक जोड्दै अन्ततः आर्मी क्लबले २६-२४ ले नतिजालाई आफ्नो पक्षमा परेको थियो । आर्मी क्लबले दोस्रो र तेस्रो सेटको नतिजालाई भने क्रमशः २५-१९ र २५-१७ ले आफ्नो पक्षमा पार्‍यो ।

पुलिस क्लब र मध्यमाञ्चलबीचको खेल भने खासै प्रतिस्पर्धात्मक रहेन । सुरुदेखि नै मध्यमाञ्चललाई दबाबमा राखेको पुलिस क्लबले २५-९, २५-१६, २५-१३ अंकले पराजित गर्‍यो । जिल्ला भलिबल संघ ताप्लेजुङद्वारा आयोजित उक्त प्रतियोगिताको विजेताले तीन लाख ३० हजार र उपविजेताले एक लाख ६५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यसैगरी तेस्रो र चौथो वरीयतामा आउने टोलीले ३५÷३५ हजार रुपैयाँ सान्त्वना पुरस्कार हात पार्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउनेछ भने विधागततर्फ उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट सर्भरले जनही पाँच हजार रुपैयाँ हात पार्नेछन् ।

प्रतियोगितामा आठ टोलीको सहभागिता रहने भनिए पनि अन्तिम समयमा आएर पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलले भाग नलिएपछि राउन्ड रोविन लिगका आधारमा खेल सञ्चालन गरिएको हो । अन्तर्राष्ट्रिय भलिबल महासंघको नियमअनुसार पाँचवटा टोलीमात्र सहभागी भए प्रतियोगिता लिन कम नकआउटका आधारमा नभई राउन्ड रोविन लिगका आधारमा सञ्चालन गर्नुपर्ने हुन्छ ।

यसअघि प्रतियोगिताको पहिलो संस्करण पूर्वाञ्चल क्षेत्रीयस्तरमा सम्पन्न भएको थियो । उक्त संस्करणमा ओखलढुंगा भलिबल संघ पहिलो, भोजपुर जिल्ला भलिबल संघ दोस्रो र संखुवासभा जिल्ला भलिबल संघ तेस्रो भएका थिए । पहिलो, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः दुई लाख ५० हजार, एक लाख ५५ हजार र एक लाख एक हजार रुपैयाँ पुरस्कार पाएका थिए । प्रतियोगिता ताप्लेजुङमा रहेको प्रसिद्ध शक्तिपीठ पाथीभरा माताको नाममा आयोजना गरिएको हो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.