खेलभन्दा लोभलाग्दा दर्शक

खेलभन्दा लोभलाग्दा दर्शक

ताप्लेजुङः  यातायातको सहजताका बाबजुद उत्तिसारो खेलकुद गतिविधि हुने जिल्लाका रूपमा दरिँदैन, ताप्लेजुङ । वर्षभरिमा सदरमुकाम केन्द्रित सीमित खेलकुद गतिविधि हुने गरे पनि हिमाली जिल्ला ताप्लेजुङका स्थानीयमा खेलकुदप्रतिको लगाव भने बिछट्टैको छ । सामान्यभन्दा सामान्य खेलकुद प्रतियोगिता आयोजना भए पनि हरेक पेसा, वर्ग र उमेरसमूहका व्यक्ति खेलस्थलमा झुम्मिनुले स्थानीयमा खेलकुदप्रतिको आकर्षण झल्काउँछ ।

यतिबेला ताप्लेजुङ सदरमुकाममा एकैसाथ दुईवटा प्रतियोगिता आयोजना भइरहेका छन्, ‘दोस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ र ‘राष्ट्रपति रनिङ सिल्ड’ को निर्वाचन क्षेत्र नम्बर १ स्तरीय छनोट प्रतियोगिता । लामो समयपछि खेलकुदको रमझममा झुम्ने अवसर पाएपछि अनि के चाहियो, स्थानीयलाई । दुवै प्रतियोगितामा उत्तिकै सक्रिय सहभागिता देखिन्छ, स्थानीय दर्शकको ।

भलिबल प्रतियोगिताको उद्घाटन खेल हेर्न‘भानु जन उच्चमावि’को खेल मैदानमा आएका ८० वर्षीय मंगलहाम श्रीचोङले सदरमुकाममा हुने हरेक खेलकुद प्रतियोगिता हेर्न रंगशाला पुग्ने गरेको बताए । खासगरी भलिबल र फुटबल आफ्नो सबैभन्दा मनपर्ने खेल भएको बताउने मंगलहाम भलिबलको उद्घाटन खेलमा पूर्वाञ्चल टोली नेपाल पुलिस क्लबसँग पराजित भएपछि भने चुकचुकाउँदै थिए ।

‘निकै रमाइलो लाग्यो । खेलकुदमा हारजित त भइहाल्छ, तर, आफ्नै ठिटाहरूले जितेको भए अझै राम्रो हुन्थ्यो’, उनले भने । मंगलहामसँगै खेल हेर्न व्यस्त साच्छमायाँले पनि जीवनको ८० वसन्त पार गरिसकेकी छन् । उनलाई खेलकुद प्रतियोगिताको नियम र प्राविधिक पक्षको बारेमा कुनै ज्ञान छैन तर, कुनै प्रतियोगिता आयोजना भयो कि उनी रंगशाला धाउन भने छाड्दिनन् । उनलाई खेलमैदानमा हारजितका लागि खेलाडीबीच हुने घम्साघम्सी र खेल जितेपछि खेलाडीले मनाउने खुसीयाली औधी मन पर्छ रे ।

राष्ट्रपति रनिङ सिल्ड भइरहेको भानुजन उच्चमाविको खेलमैदान मात्र होइन, पाथीभरा राष्ट्रिय भलिबल भइरहेको जिल्लास्थित आर्मीको कोर्टमा समेत झुम्मिने दर्शकको संख्या उत्तिकै छ । राउन्ड रोविन लिगका आधारमा सञ्चालन भइरहेको भलिबलमा प्रत्येक दिन दुईवटा खेल आयोजना हुन्छन्, बिहान ११ बजे पहिलो र दिउँसो १ बजे दोस्रो । तर, खेल हेर्न बिहान १० बजेदेखि नै स्थानीय दर्शकको भीडभाड सुरु हुन्छ, गतिलो ठाउँ ओगट्न ।

आयोजक जिल्ला भलिबल संघ ताप्लेजुङका अध्यक्ष दिवस चोङबाङ भन्छन्, ‘जिल्लामा खेलकुद प्रतियोगितालाई उत्सवकै रूपमा लिइन्छ । जस्तोसुकै प्रतियोगिता भए पनि खेल हेर्न रंगशालामा ओइरिने दर्शकको संख्यामा कुनै कमी आउँदैन । त्यसमाथि भलिबल र फुटबल प्रतियोगिता आयोजना भयो भने त दर्शकका लागि सुनमा सुगन्ध हुन्छ ।’

दिवसका अनुसार भलिबल र फुटबलको प्रतियोगिता हुँदा त सदरमुकाम छेउछाउका गाउँबाट पनि उत्तिकै दर्शक ओइरिने गर्छन् ।‘भलिबल र फुटबल प्रतियोगिता हुँदा त छेउछाउका गाउँबाट समेत उत्तिकै दर्शक हेर्न आउँछन् । खेल हेर्न शुल्क लगाए पनि दर्शकको संख्यामा कुनै कमी आउँदैन’, भलिबल हेर्न ओइरिएका दर्शकलाई देखाउँदै उनले थपे । हाल जारी भलिबल प्रतियोगितामा समेत खेल हेर्न शुल्क लगाउने योजना बनाए पनि दर्शकको खेलप्रतिको लगावलाई ध्यानमा राखी शुल्क नलाइएको उनले बताए ।

जिल्ला खेलकुद विकास समितिका प्रमुख यज्ञनिधि पौडेल स्थानीय दर्शकलाई प्यासिभ (निष्क्रिय) नभई एक्टिभ (सक्रिय) दर्शकको संज्ञा दिन्छन् । ‘यहाँका दर्शक खेलमात्र हेर्दैनन्, आआफ्नो टोलीको हौसला बढाउन नियमित रूपमा हुटिङ गर्दै रमाइलो पनि गर्छन्’, यज्ञनिधि भन्छन् ।

भलिबल प्रतियोगितामा बिहीबार त्रिभुवन आर्मी क्लब र पूर्वाञ्चलबीच खेल भइरहँदा एक वृद्ध समर्थक र केही किशोरी लगातार रूपमा पूर्वाञ्चलको पक्षमा नारा लगाइरहेका थिए भने अर्को छेउमा बसेका केही महिला र आर्मीका जवान आफ्नो टोलीको हौसला बढाउन व्यस्त देखिन्थे । सायद यज्ञनिधिले यसैप्रति इंगित गरेका थिए । उक्त खेलमा आर्मी ३-० सेटमा विजयी भए पनि अन्तिम समयसम्म पूर्वाञ्चलले गतिलो चुनौती दिएको थियो ।

भानुजन उच्चमाविको खेल मैदानमा राष्ट्रपति रनिङ सिल्डको मजा लिइरहेका ताप्लेजुङ नगरपालिका-३ का कैलाश सिग्देल पनि स्थानीयले खेलकुद प्रतियोगितालाई सानोतिनो उत्सवकै रूपमा लिने गरेको बताउँछन् । ‘स्थानीयका लागि खेलकुद प्रतियोगिता हुनु भनेको उत्सवजस्तै हो । जनैपूर्णिमा त यहाँ ठूलै फुटबल प्रतियोगिता पनि हुन्छ, प्रतियोगिता हेर्न दर्शकको ओइरो लाग्छ’, उनी भन्छन् ।

जिल्लामा आयोजना हुने प्रतियोगिताको अर्को रमाइलो पक्ष भनेको प्रायोजन हो । देशका विभिन्न भागमा आयोजना हुने प्रतियोगितालाई व्यापारिक संघसंस्थाहरूले प्रायोजन गर्ने प्रचलन छ । तर हाल ताप्लेजुङमा जारी भलिबल प्रतियोगितालाई भने जिल्लावासीले व्यक्तिगत रूपमा प्रायोजन गरेका छन् । पुरुष भलिबलमा देशकै सर्वाधिक पुरस्कार राशिको दाबी गरिएको पाथीभरा प्रतियोगितालाई राजधानीमा विभिन्न पेसा व्यवसाय गरी बसेका ताप्लेजुकै बलबहादुर तामाङ, रमेश बराल, ईश्वरी पौडेललगायतले प्रायोजन गरेका छन् । यसले पनि जिल्लावासीमा खेलप्रतिको लगाव झल्काउँछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.