रूपन्देहीलाई अग्नि सिमेन्टको साथ
![रूपन्देहीलाई अग्नि सिमेन्टको साथ](https://annapurnapost.prixacdn.net/media/albums/Tilotama-Football-jarsy-58abc0f508ddb8.27431287_gst4RzUWqB.jpg)
बुटवलः मोफसलको पुरानो फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकपका लागि आयोजकको टोली रूपन्देही ११ ले प्रायोजन पाएको छ । टोलीलाई अग्नि सिमेन्टले १५ लाख बराबरको प्रायोजन गर्ने भएको हो । फागुन १२ गतेदेखि सुरु हुने १९औं संस्करणको तिलोत्तमा गोल्ड कपका लागि टोलीको प्रायोजन गर्ने सम्बन्धमा अग्नि सिमेन्टसँग सम्झौता गरिएको रूपन्देही फुटबल संघले जनाएको छ ।
सम्झौताअनुसार रूपन्देहीको टोलीको नाम अग्नि रूपन्देही-११ राखिनेछ । बुटवल-१३ देवीनगरस्थित एन्फा एकेडेमी मैदानमा हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा आयोजक र विभागीय टोलीहरू एपीएफ, नेपाल प्रहरी, त्रिभुवन आर्मीसहित सीएमजी संकटा, धरान फुटबल क्लब, एचएम हिमालयन शेर्पा क्लब, रमपम झापा ११, दिल्ली युनाइटेड एफसी, भारतको शेरे एफसी कालिम्पोङको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन खेल आर्मी र झापा ११ बीच हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले पाँच लाख ५५ हजार पाँच सय ५५ तथा उपविजेताले तीन लाख ३३ हजार तीन सय ३३ रुपैयाँ प्राप्त गर्ने संघका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट पाँच विधाका खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)