व्यक्तिगत लगानीमा कभर्डहल : परिवार नै खेलकुदमा

व्यक्तिगत लगानीमा कभर्डहल : परिवार नै खेलकुदमा

फुङ्लिङ (ताप्लेजुङ) : नेपाली खेलकुदका लागि उदाहरणीय पात्र हुन्, शिवकुमार गुरुङ। खेलकुद क्षेत्रको विकासका लागि सरकारी स्तरबाट थालिएका प्रयासहरू पर्याप्त नरहेको गुनासो बढिरहँदा शिवले भने हिमाली जिल्ला ताप्लेजुङमा आफ्नै व्यक्तिगत लगानीमा ब्याडमिन्टनको सुविधासम्पन्न कभर्डहल निर्माण गरेर गतिलो उदाहरण प्रस्तुत गरेका छन्।

स्थानीय खेलाडीका लागि नियमित अभ्यास गर्ने सामान्य कभर्डहलसमेत नरहेको ताप्लेजुङ सदरमुकाममा शिवले व्यक्तिगत लगानीमा दुईवटा कोर्टसहितको ब्याडमिन्टन कभर्डहल निर्माण गरिदिएपछि यतिबेला उक्त खेलप्रति स्थानीयको चासो पनि निकै बढेको छ।

ताप्लेजुङ नगरपालिका वडा नम्बर ६ स्थित कोठेबारीमा शिवले आफ्नै स्वामित्वमा रहेको करिब दुई रोपनी क्षेत्रफल जग्गामा कभर्डहल निर्माण गरेपछि अहिले हरेक दिन त्यहाँ ब्याडमिन्टन खेल्नेको ओइरो लाग्ने गर्छ। व्यक्तिगत लगानीमा कभर्डहल निर्माण गरिए पनि त्यहाँ खेल्न र नियमित अभ्यास गर्न आउने कसैसँग शुल्क लिइँदैन।

‘सदरमुकाममा समेत खेलाडीका लागि नियमित अभ्यास गर्ने सुविधासम्पन्न स्थानको अभाव रहेकाले मैले व्यक्तिगत लगानीमा ब्याडमिन्टनको कभर्डहल निर्माण गरेको हुँ। ब्याडमिन्टन खेल्न र सिक्न आउने सबैका लागि यो निःशुल्क हो। खेलकुद क्षेत्रको विकासमा सानो भए पनि योगदान पुर्‍याउन सक्दा आत्मसन्तुष्टि मिलेको छ’, शिव भन्छन्।

करिब दुई वर्षअघि निर्माणकार्य सुरु गरी क्रमशः पूर्णता दिइएको उक्त कभर्डहल र ब्याडमिन्टन कोर्ट अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पारिएको शिवले बताए। ‘यो कभर्ड हल र कोर्ट नेपाल ब्याडमिन्टन संघसँग सल्लाह गरेर अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको हो’, ४८ वर्षीय शिवले भने। कभर्डहल निर्माण गर्न ब्याडमिन्टन संघले प्राविधिक पक्षसँगै एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको जानकारी पनि उनले दिए। ‘सुरुमा कभर्डहल र कोर्ट निर्माण गर्न धेरै खर्च हुँदैनजस्तो लागेको थियो तर, निर्माण सामग्रीको ढुवानी निकै महँगो परेकाले काम सकिँदासम्म ७० लाख रुपैयाँ जति खर्च भयो’, शिव भन्छन्।

यतिमात्र होइन, शिवले कभर्डहल नजिकै ब्याडमिन्टन संघलाई पनि कार्यालय भवन बनाउन चार आना जग्गा निःशुल्क रूपमा उपलब्ध गराएका छन्। तर त्यहाँ कार्यालय भवन भने हालसम्म निर्माण गरिएको छैन। ब्याडमिन्टन भनेपछि हुरुक्कै हुन्छन् रे, शिव। उनी राष्ट्रिय स्तरमा चिनिएका खेलाडी होइनन् तर, उनी अहिले पनि नियमित रूपमा ब्याडमिन्टन खेल्छन्।

जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका कार्यालय प्रमुख यज्ञनिधि पौडेल खेलकुदप्रतिको शिवको लगाव अरूका लागि पनि अनुकरणीय रहेको बताउँछन्। ‘उहाँ (शिव) ले जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि गरेको प्रयास अरूका लागि अनुकरणीय छ। ब्याडमिन्टनको कभर्डहल निर्माण भएपछि अहिले जिल्लामा यो खेलप्रतिको चासो पनि निकै बढेको छ’, यज्ञनिधि भन्छन्, ‘पहिले बाहिर कोर्ट बनाएर ब्याडमिन्टन खेल्नुपथ्र्यो, हावा चलेर खेल्न निकै समस्या हुन्थ्यो तर, अहिले राति ९ बजेसम्म बत्ती बालेर पनि ब्याडमिन्टन खेलिन्छ।’

यसदेखिबाहेक जिल्लाका कर्मचारीहरू पनि उक्त कभर्डहलमा ब्याडमिन्टन खेल्न आउने गरेका छन्। ‘पछिल्लो समय स्वास्थ्यका लागि पनि नियमित रूपमा ब्याडमिन्टन खेल्ने प्रचलन बढेको छ। कभर्डहल बनेपछि विभिन्न पेसा, वर्ग र उमेरसमूहका व्यक्ति नियमित रूपमा खेल्न आउँछन्। ६० वर्षीय बलबहादुर पोख्राबुद्ध पनि यहाँ नियमित रूपमा खेल्न आउनुहुन्छ’, यज्ञनिधि भन्छन्।

ब्याडमिन्टन खेलप्रति शिवको लगाव देखेर पछिल्लो समय उनलाई जिल्ला ब्याडमिन्टन संघको अध्यक्षको जिम्मेवारी पनि दिइएको छ। उनले ब्याडमिन्टन सिक्न आउने बालबालिकाका लागि एकजना स्वयंसेवक प्रशिक्षकको व्यावस्थासमेत गरिदिएका छन्। राष्ट्रिय प्रतियोगिता खेलिसकेका मनकुमार लिम्बूले अहिले उक्त कभर्डहलमा केही स्कुले विद्यार्थीलाई नियमित रूपमा प्रशिक्षण दिँदै आएका छन्।

खेल पदाधिकारीसँग भने शिवको केही गुनासो छ। ससाना बालबालिकालाई ब्याडमिन्टन सिकाउन प्रशिक्षकको व्यवस्था मिलाइदिन पटकपटक सम्बन्धित निकायमा आग्रत गर्दा पनि उनको यो चाहना पूरा हुन सकेको छैन। ‘मैले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव र ब्याडमिन्टन संघका अध्यक्षसँग पनि धेरैपटक भने तर, अहिलेसम्म आश्वासनभन्दा बढी केही पाउन सकेको छैन’, शिवले गुनासो पोखे।
यसैगरी कभर्डहल निर्माण गर्दा भलिबल खेलसमेत खेल्न मिल्ने गरी बनाउन नसकेकोमा पनि उनलाई पछुतो लागेको रहेछ। ‘भलिबलसमेत खेल्न मिल्ने गरी अलि ठूलो कभर्डहल बनाउन सकेको भए सुनमा सुगन्ध हुने थियो तर, त्यतिबेला विचार गरिएन, कसैले सल्लाह पनि दिएनन्, अहिले पछुतो लागेको छ’, उनी भन्छन्।

ब्याडमिन्टनको कभर्डहलमा दर्शकसमेत बस्न मिल्ने गरी माथिल्लो तलामा काठको प्यापिट पनि बनाइएको छ। सोही कभर्डहलमा छिट्टै जुनियर राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको शिवले बताए। २०७२ सालमा सोही कभर्डहलमा पूर्वाञ्चलस्तरीय अन्तरजिल्ला ब्याडमिन्टन प्रतियोगितामा पनि आयोजना गरिएको थियो।

शिव र ब्याडमिन्टनबीच अर्को रमाइलो प्रसंग पनि जोडिएको छ। शिवसहित उनको परिवारका पाँचजना सदस्य यतिबेला ब्याडमिन्टनमा सक्रिय छन्। उनका छोरा मिनेश गुरुङ पूर्वाञ्चलस्तरीय जुनियर प्रतियोगितामा पहिलो भएका थिए। उनी हाल काठमाडौंमा उच्च शिक्षासँगै आफ्नो ब्याडमिन्टनको सीपलाई तिखार्न व्यस्त छन्।

यसैगरी स्थानीय माविमा कक्षा ९ मा अध्ययनरत कान्छा छोरा मिलिन गुरुङले पनि जिल्लास्तरिय प्रतियोगितामा प्रथम भइसकेका छन्। उनी अहिले नियमित प्रशिक्षण लिइरहेका छन्। यसैगरी हाल नियमित प्रशिक्षणमा रहेकी भाइबुहारी बलकुमारी गुरुङले पनि जिल्लाबाट छनोट भएर सातौं राष्ट्रिय खेलकुदको क्षेत्रीयस्तरको प्रतियोगिता खेलेकी थिइन्। पारिवारिक वातावरणकै कारणले होला, बलकुमारीका छोरा पनि स्कुल र गृहकार्यबाट फुर्सद पाउनासाथ र्‍याकेट बोकेर कोर्टतिर दौडन्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.