शिवको तेस्रो आँखाभरि शिवरात्री महात्म्य

 शिवको तेस्रो आँखाभरि शिवरात्री महात्म्य

शिवलाई वैदिक दर्शनले महान् आत्मा मानेको छ । शिव चिन्तन भन्नु अन्तरदेखि देखिने साक्षात्कार दृश्य झल्झली देखिनु हो । शिवको शारीरिक दृश्य सादृश्य ठान्छु । सादृश्य बन्नु, बनाउनुको तत्वमयी आधार विवेक–ब्रह्मतेज मानिन्छ, मान्नुपर्छ । ब्रह्मतेज एक्काइसौं शताब्दीको लेजरबिम समान माने अत्युक्ति नहोला । लेजरबिम वैज्ञानिक आविस्कारको एक अद्भुत चमत्कार । लेजरबिम जस्तै अन्य अनेक शक्तिशाली, अन्तरयामी/अन्तरभेदी किरणहरू विज्ञानले पहिल्याएका छन् । एक्स रे, गामा रे आदि तिनका अनेक भेद हुन् । तिनै किरणको प्रयोगबाट जैविक दैहिक जीवन्त जीव अन्तरनिहित स्वस्थ, अस्वस्थ, निर्विकार र विकारयुक्त अवस्था पहिचान गर्न स्वास्थ्य क्षेत्रमा बेहद प्रयोग भएका छन् ।

tejesho--gwang

अन्तरभेद्य ती किरण कुनै पनि लुकाइएका, दबाइएका निषेधित पदार्थ/तत्वहरू सहजै पत्ता लगाउन कामयाव रहेका छन् । साधारणतया हामीले यिनको पहिचान स्वास्थ्योपचार जल, थल र हवाई बन्दरगाह, भन्सार कार्यालयहरूमा प्रयुक्त मेसिन/औजारहरू अवलोकनबाट गर्न सक्छौं । सम्भवतः शिवशक्तिको महिमा यी र यस्तै अन्यान्य क्षमतावान् शक्ति, भनूँ शक्तिशाली क्षमतामा अन्तरनिहित थिए । नितान्त प्रासंगिक बन्छ कि शिवमा त्यस्ता चमत्कारी क्षमता अन्तरनिहित थिए । त्यसैले उनी देवादिदेव–महादेव कहलिए ! यी सबै प्रसंग चिन्तनधारले सङ्ल्याउँदै प्रवाहित गर्ने मानस गतिशीलताका रूप स्वरूप मान्नुपर्छ । अनवरत चिन्तन धार प्रवाहित राख्दा हाम्रा मनमस्तिष्क, ब्रह्म–विवेक आफैं सङ्लिन्छ । निरन्तर अभ्यास, अटुट प्रयास गर्दै हामी योगाभ्यासी बन्छौं । योगाभ्यासी बन्नुको सरल अर्थ अनवरत योग गरिरहनु हो ।

अनवरत/निरन्तर योग अभ्यासले हामीभित्र जमेका विकार निखारिदिन्छ । स्वस्थ बन्छांै, रहन्छौं हामी । स्वस्थताले हाम्रा चिन्तनधार सङ्लिन्छ । सङ्लो चिन्तनधारले अन्तरचेतके प्रस्फुरण गर्छ । अन्तरचेत प्रस्फुरित आत्मालाई शिव भनिन्छ । शिव सबैको कल्याणमुखी चैतन्य चेत बन्छ । सर्वमांगल्य चैतन्य चेतको नाम–संज्ञा शिव हुन् । सर्वमंगलकारी चेतना ब्रह्म शिव भएकाले उनी ॐकार स्वर गुन्जिन बनेका छन् । ॐकार भन्नु स्वर–ब्रह्म हो । स्वर–ब्रह्मले अन्तरनाद गुञ्जाइदिन्छ । अन्तरनादको गुञ्जनले हाम्रा चैतन्य चेतनामा सन्तुलन कायम गर्छ । अंग–प्रत्यांगको सन्तुलनले दैहिक जीवनका सबै भागलाई चलायमान राख्छ । शरीरका सबै अंग चलायमान रहनु गतिशील जीवनयापनको स्वस्थ अवस्था कायम राख्नु, हुनु हो । जैविक जीवनलाई जागरुक बनाउन/राख्न सके नै हाम्रा दैहिक जीवन स्वस्थ र स्फूर्तिमय रहन्छ, रहन सक्छ । यस अवस्थाधारी चिन्तन–संस्कारलाई चैतन्य चोला भन्न रुचाउँछु । चैतन्य चोला अभय बन्छ, रहन्छ । अभय चोलाको तादात्म्य चिन्तामुक्त जीवनसित छ । जहाँ चिन्ता मुक्त अवस्था कायम गर्न सकिन्छ त्यहाँ नै अभय बन्न सकिन्छ । अभय बन्न सङ्लो मनस्थिति कायम राख्नु जरुरी हुन्छ । अभय मनस्थिति परपीडा मुक्त चिन्तन संस्कारबाट प्राप्त हुन आउँछ । परपीडा मुक्त चिन्तन संस्कार भन्नु सबै प्राणीप्रति समदर्शी भाव–व्यवहार–संस्कार पालन गर्नु हो । यस्तो समदर्शी चिन्तन एउटा सग्लो सिंगो चरित्र बन्छ । शिवको आराधना संस्कार साधना संस्कृति अन्तरनिहित मन्त्रको मांगल्य/मंगल भाव, अर्थ यसरी अर्थिन्छ ।

यस्तै यस्ता अनेक अन्तरनिहित भाव धारणा ग्रहण गर्न सकौं कामनासहित हामी शिवरात्री महिमा गाउँछौं । महान् आत्मपुरुषको आराधना गरेर कुशलमंगल कामनासाथ शिवरात्री महात्म्य जप्छौं, हामी शिवप्रति नै समर्पित रात्रीकाल– समय एकाग्र भएर– मन–मस्तिष्कभरिका चिन्तन सँगालेर ।
अ, उ, म तीन अक्षरमध्येका दुई स्वर अक्षर, अनि हलन्त म् व्यञ्जनसहितका तीन अक्षरका संयुक्त ध्वनि ॐकार गुञ्जन बनेर मुखरित हुन्छन् । यिनै एकाकार ॐ ध्वनिको संयमित उच्चारण ब्रह्मनाद बन्छन् । त्यो ॐ ध्वनि गुन्जनका नाद एक अद्भुत, विस्मयकारी चमत्कार बन्छ । त्यो अद्भुत विस्मयकारी नादले हाम्रा शरीरका अन्तरंगका नसानसामा तरंगहरू तरङयाइदिन्छन् । ती अन्तरतरंगहरूले हाम्रा अवयवका अंगप्रत्यंगका नसा नदीलाई अविरल गतिमा प्रवाहित राख्छ ।

नसानदीका तरल तरंगले शरीरभित्रका अंगप्रत्यंग गतिमान राख्छ, चलायमान बनाउँछ । हामी र हाम्रा शरीर स्वस्थ बन्छ । ॐ ध्वनिका गुञ्जनले अन्तरंगमा एक अजीव जीवन संरचनाका सन्देश प्रवाह गर्छ । तिनै स्वर गुञ्जनका प्रकम्पनले पैदा गर्ने तरंगले प्रत्येक अवयवका नसा, जोर्नीहरूलाई चलायमान पारिदिन्छ । यिनै चलायमान अवस्था हाम्रा स्वस्थताका परिचायक बन्छ । योगीहरू यिनै प्रक्रियाहरूलाई योगको अभ्यास मान्छन् । योगरत योगवीरहरू चरणबद्ध क्रियाकलाप योग साधनाद्वारा प्राणायामसम्मै उक्लिन्छन् । प्राणायामको चरम योग पीडामुक्ति, चिन्तामुक्तिका सुखद् आनन्दी जीवन मुहूर्त ठानिन्छन्, मानिन्छन् । योगाभ्यासी योगवीरहरू त्यसैले योगाभ्यासका अन्तरालहरूमा ॐकारमय ध्वनिका स्वरगुञ्जन गर्छन् निरन्तर । शिवका मोहक स्वर र ध्वनि गुञ्जन अ, उ, म् तीन अक्षर ब्रह्मनाद बनेको छ । शिवरात्री महात्म्यका नाद ब्रह्म त्यसैले ॐकारमय स्वरमा मच्चिने ब्रह्मनाद गुञ्जन हो र बनेको छ ।

हृष्टपुष्ट, उल्लासमय जीवन–यौवनकालका उल्लासमय प्रहर अहोरात्र नै हुन् । रात साम्य, सौम्य र सौहार्द मुहूर्त पनि हुन् । त्यो समय साम्य छ । सबैसबैले पनि त्यस समयकाललाई सुनसान प्रहर मान्छन् । काल, त्यो समय आम प्राणी मात्रकै समान मान्यता प्राप्त रात्री शिवरात्री बने, बनाइएको छ । साम्यसित समग्र अटाउँछ । समग्र नै साम्य स्थितिको परिचायक बन्छ, बनाइएको छ । परिस्थिति बन्नु स्वभावगत संस्कारको प्रजनन बन्छ । स्वभावगत संस्कार पालन गर्दै जाँदा परिस्थिति सिर्जना हुन्छ । संस्कार, सभ्य र संस्कृत समुदायले पालन गर्छ । सभ्य र संस्कृत समुदायका आआफ्नै संस्कृति हुन्छ । संस्कारविहीन संस्कृतिले तिनका संस्कार बताउँछ, बुझाउँछ । शिवसम्बन्धी यो रात्री–शिवरात्री महात्म्य बुझ्न, थाहा पाउन शिवका शैव्य संस्कारका प्रसंगमाथि विहंगम दृष्टिपात गर्नु रहेको छ ।

शिवस्वरूप नील वर्णको छ । नीलोपन एउटा प्रकरण हो रंगको । नीलो रंग आकाशको रंग । नीलो रंग सागरको रंग । नीलो आकाशको रंग सीमाहीन व्यापकताको प्रतीक । नीलो सागर प्रवाहशील गतिको प्रतीक । प्रवाह गतिशीलताकै नैरन्तर्य/निरन्तरता । शिवका मंगल मांगल्य स्वभाव, संस्कार– हामी सबैको लागि चाहिँदो जीवन चरित्र । शिव बेहद उदार र दानशील स्वभावका छन् । भष्मासुरलाई बेहद शक्तिशाली वरदान दिए तिनले । स्पर्शमै भस्म पार्ने अग्न्यास्त्र वरदान दिने शिवको उदार मनस्क स्वभावको परिचायक बन्छ । अन्त्यमा भस्मासुरले शिवलाई छुन लखेट्दा विष्णुको कूटनीतिक क्षमताले शिवलाई बचाए । विष्णुले शिवसँग त्यस्तो क्षमता कहाँ छ र ? छुनासाथ खरानी पार्ने ? तिमीलाई छलकपट गरे उनले । नपत्याए पहिले परीक्षा गर्नू ! एकपटक आफैंलाई छोएर हेर्नू भने । छुँदाछुँदै आफैं भस्म भए । शिव आफ्नै बेपरबाही उदारताबाट उब्जेको संकटबाट बचे । यी र यस्तै स्वभावजन्य संस्कार भएकाले शिवलाई भोलेनाथ, भोले बाबा भनिएछन् । हामीलाई सीमाहीन उदारताले आपत्ति निम्त्याइदिन्छ । शिवरात्री महात्म्यसित सिकिलिनु छ । पालनकर्ता– रक्षक अवतारी विष्णुको आचरण संस्कारसित जोडिएको कूटनीतिक क्षमतावान् चरित्र निर्माण पनि हामी र हाम्रा युगसापेक्ष जेता, नेता, भाग्यविधाता सबैले मनन गर्नु गरिलिनु आवश्यक छ भन्ठान्छु ।

शिवका नाम रूप अनेक छन् । दसै दिशाका कुबेर मानिन्छन् । पूर्व, पश्चिम, उत्तर, दक्षिण चार दिशा । इशान, आग्नेय, नैऋत्य, वायव्य चार कोण, दिशा उत्तरी ध्रुव (स्वर्ग), दक्षिणी ध्रुव (पाताल) सहित दस दिक/दिशा सबै शिवका धुरी मानिएका छन् । यो आख्यानिक पुराण; पौराणिक आख्यान आपसमा सहअस्तित्व वरण गर्छ । दशै दिशाका कुबेर कहलिनुको तात्पर्य भूस्वर्गमा स्वामी हुनु समान अर्थबोधक बन्छ । शिवलाई दिगम्बर भनिनुको अर्थबोध दसै दिकमै उनका अम्बर/पहिरन ठानिनुको पर्याय बन्छ । अम्बरको दुई अर्थ छन् । पहिलो आकाश, दोस्रो वस्त्र । शिवलाई दिगम्बर भन्नुको अर्थबोध सम्पूर्ण दिक/दिशाहरू नै उनका वस्त्र हुन् । सम्पूर्ण दिशा नै वस्त्र ठानिनुको व्यञ्जना अर्थ हुन्छ– निरवस्त्र/नांगो ! कुनै वस्त्र नभएको । आधुनिक अभिव्यक्ति सीपमा यस्ता व्यञ्जना अर्थविन्याशलाई कूट अभिव्यक्ति/कूटनीतिक बोली मानिनुपर्छ । शिव त निरवस्त्र/नांगो शरीरधारी– नकच्चरो नभनेर दिगम्बर भन्नु सभ्य र शिष्ट अभिव्यक्ति बनाइएको छ । सभ्य र शिष्ट अभिव्यक्ति सुसंस्कृत भाषाशैलीगत संस्कृति नै बन्छ । यो शैव मत, शैव संस्कार र सभ्यताकै परिचायक बन्छ ।

दिगम्बर अवस्था पार गरेपछिको शिवको अर्को नाम रहेको छ– बाघाम्बर ! बाघको छाला नै वस्त्र बनाई त्यसैलाई ओढेका । यसरी दिगम्बरबाट बाघाम्बर बन्दासम्म शिवका जीवन, परिवेश र परिस्थिति निकै परिवर्तित अवस्था बोधक बन्छ । लाजगाजविहीन अवस्था दिगम्बरकाल बोधक ! बाघाम्बर अवस्था सिकारी अवस्थाबोधक रहन्छ । प्रत्येक अवस्थाजन्य स्थिति सांस्कृतिक विकासबोधक अग्रगमनका इतिहास कोर्छ । तिनलाई कोरल्नु, चल्ला काढ्नु सांस्कृतिक सौरभ ठहर्छ । शिवसित गाँसिएका अनेकानेक पौराणिक आख्यानले मनुष्य जीवन समाजको क्रमबद्ध विकास/विकासक्रममा इतिहास मौन भावमा अवाक परायण गर्दाे छ । अन्धविश्वास नभनी पौराणिक आख्यानभित्रका तत्कालीन अभिव्यञ्जना र अभिव्यक्ति मनन गर्नु प्रत्येक संस्कृतिकर्मीका थाप्लोको नाम्लो ठान्छु । सहिसलामत, सकारात्मक विश्लेषणले सत्यार्थ प्रकाशनमा सही योगदान पु¥याउँछ । यो धारणा राख्न चाहन्छु ।

शिवका व्युत्पत्ति/जन्मका सान्दर्भिक आख्यानिक लोकोक्ति अनेक छन् । शैव मतयामीहरू शिवका मातापिता नभएकोमा विश्वस्त छन् । वर्तमान जीवन परिप्रेक्ष्यमा मातृकोष र गर्भविनाको कुनै निर्जीव–जीवनको अस्तित्व अस्वीकार्य बन्छ । यसो हुनु स्वाभाविक बन्छ । वर्तमानमा टेस्ट्युब बच्चाबाहेक अरू अनुभूति छैनन् पनि हामीसित । बिना प्रामाणिक अनुभूति कसरी, कुन आधारमा विश्वस्त रहन सकिन्छ ? किन्तु, यो आख्यान शैवमतयामीका मात्र अलग्ग धारणा बनेको छैन । विश्वमा विद्यमान अनेक आस्थाधारीहरूको यस्तै प्रकारका हेतु रहेका छन्– आदिम सृष्टिका सिर्जनासम्बन्धी । परपर नकुदी आफ्नै सेरोफेरो इसाई सम्प्रदाय एडम र ईभको सृष्टि–सिर्जना परमेश्वर (प्रकृति) ले गरेको बखान भर्छन् । लाग्छ, शिव पनि प्राकृतिक पुरुष हुन्– पूर्वकालीन संरचना सम्बन्धमा हाम्रा पूर्वीय दर्शनले गाएका यी श्लोक विश्लेषण योग्य छः – ‘प्रथम अवतार प्रभु मत्स्य रूप धारणम्... !’ यस श्लोकले सृष्टिको पहिलो स्वरूपलाई अवतार मानेको छ । पहिलो अवतारलाई प्रभु भनिएको छ । अवतार र प्रभु एकै, समकक्षी बनाइएको छ । अवतारकै स्वरूपलाई समान सन्दर्भ बनाउँदा ‘प्रभु’ शब्दको ‘प्र’ अक्षरले प्रथमलाई र ‘भू’ अक्षरले हुनुलाई प्रतिनिधित्व गर्छ । ‘प्रभु’ शब्दको सच्चा अर्थ पहिलो सृष्टि । कालान्तरमा युगवाणी बन्न पुगे प्रभु, ईश्वर, भगवान् आदि–इत्यादि । शिव त्यसैले आदिम पुरुष बने सृष्टि– संरचनाको पौराणिक इतिहासपरक आस्थाका आख्यानभरि ।

शिवको आख्यानिक अर्को नाम त्रिनेत्र रहेको छ । त्रिनेत्र शब्दको मार्मिक अर्थविन्यास छ । मर्मसित सटिएको त्यो त्रिनेत्रको अर्थ तेस्रो आँखासित रहेको छ । तेस्रो आँखा निधारको बीचैमा रहेको चित्रण कलाकार बन्धुहरूले गरे, गरेका छन् । निधार बीचमा कुनै पनि ज्ञानीमानी मानव जीवनधारी प्राणीमा कहिल्यै जन्मजात अंग–उपअंग बनेको यथार्थ रहेको छैन । तैपनि मात्र शिवको तेस्रो आँखाको आख्यान बनेको छ । अयथार्थ वस्तुतत्वलाई साँच्चै भएकै जस्तो स्थापित गर्नु जीवन दर्शनको मूल तत्व बनेको छ; बनाइएको छ । जीवनलाई दर्शन बनाएर हेर्नु– देख्नु दार्शनिकहरूको जीवनदर्शन बन्छ, बनेको छ । प्रतीकले गम्भीर गहिरो अर्थबोधक ज्ञानतत्वलाई सहज सरल तवरले बुझ्न बुझाउन मद्दत गर्छ, पु¥याउँछ । त्यसैले प्रतीक वस्तुले अन्तरालमा गढेको रहस्यलाई सतहसम्म उजागर गर्ने भूमिका निर्वाह गर्दछ । शिवका तेस्रो आँखा निधारको बीच दुई आँखा अनि घ्रानेन्द्रीय– नाकैमाथि कलाकर्मीले चित्रण गर्नु प्रतीक बन्छ, बनेको छ । तेस्रो आँखाका प्रतीकात्मक अर्थ यथार्थमा विवेक– ब्रह्मसित सटेको छ ।

विवेक– ब्रह्मको उद्भव अग्रभागमा रहेका मस्तिष्क कोषिकाहरूबाटै हुँदो हो । विवेक– ब्रह्मको गर्भगृह आखिर त मस्तिष्क नै बनेको छ, रहेको छ । शिवको तेस्रो आँखाका सन्दर्भलाई पाश्चात्य गोलाद्र्धमा पनि उत्तिकै महŒवका साथ चिन्तनमनन भए–गरिएका छन्, शिवको तेस्रो आँखामा । क्षिण स्मृतिले शिवको तेस्रो आँखाका लेखक तथा प्रकाशक उल्लेख गरी सहृदयी पाठक महानुभावसामु उजागर गर्न नसक्दा हात जोड्नुपर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.