दुवै हात गुमेपछि खुट्टाले लेख्दै बालिका

दुवै हात गुमेपछि खुट्टाले लेख्दै बालिका

बुटवल: सानो कक्षा कोठा । दायाँतर्फ खाट । कक्षाका बेन्च अगाडि राखिएको खाटमा एउटी छात्रा खुट्टाले कलम समातेर कापीमा लेख्दै छिन् । शिक्षकले विद्यार्थीलाई पढाइरहँदा उनी सरसर्ती कापीमा खुट्टाले लेख्न थाल्छिन् । कपिलवस्तु गजेहडा धनकौलीकी दुई हात नभएकी रूपा रौतारले लेख्ने मात्रै होइन, सबै काम खुट्टाले नै गर्छिन् ।

गरिब परिवारमा जन्मिएकी उनलाई धेरै पढ्ने इच्छा छ । बुटवलको दीप बोर्डिङ स्कुल बुटवलमा कक्षा ६ मा पढ्दै गरेकी रूपा भन्छिन्, ‘धेरै पढेर समाजमा चिनिन मन छ ।’ करेन्ट लागेर पाँच वर्षको उमेरमै दुवै हात गुमाएकी रूपाले सुरुमा मुखले लेख्ने अभ्यास गरेकी थिइन् । अलि कठिन भयो । आमा इन्द्रकलाले खुट्टाले लेख्न सुझाएपछि उनले त्यसै गरिन् । ‘सुरुमा मुखले लेख्ने प्रयास गरेकी थिई, पछि मैले खुट्टाले लेख्न भनेपछि बानी पर्‍यो,’ आमा इन्द्रकलाले भनिन् ।

दुवै हात नभए पनि उनी दिनहुँ विद्यालय जान्छिन् । गृहकार्य गर्छिन् । रूपाले दैनिक गृहकार्य गर्नेदेखि विद्यालयमा बसेर कापी–किताब खोल्ने, खाना खाने, कपाल कोर्ने, नुहाउनेसम्मको काम खुट्टाकै सहारामा गर्छिन् । लेख्ने मात्रै होइन, उनी सुन्दर तस्बिर कोर्छिन् । ल्यापटप चलाउँछिन् । मोबाइलमा नम्बर डायल गरेर फोन गर्छिन् । पानीको बोतल खोलेर खान सक्छिन् ।

खुट्टाले साहित्य लेखेर झमककुमारी चर्चित भएको उनलाई थाहा छ । रूपाले लेखेका अक्षर सग्ला हातले लेखेभन्दा कम छैनन् । आमा इन्द्रकला भन्छिन्, ‘भर्खर कलम समाउन सिक्दै गरेकी मेरी छोरीले दुवै हात गुमाउनुपर्‍यो ।’ करेन्ट लागे पनि हात नै काट्नुपर्ला भन्ने सोचेकी थिइनँ । तर, कान्ति बाल अस्पतालमा आफूहरूलाई थाहै नदिई रूपाको दुवै हात काटिदिएको इन्द्रकलाले सुनाइन् । आमा इन्द्रकला र बुबा विष्णु रौतारले आर्थिक अवस्था कमजोर भए पनि पढाउनुपर्छ भनेर छोरीलाई विद्यालयमा भर्ना गरे । रूपालाई गजेहडाको बालज्योति बोर्डिङमा अक्षर चिन्दै गर्दा करेन्ट लागेको थियो।

रूपाले लेख्ने मात्रै होइन, सुन्दर तस्बिर कोर्छिन् । ल्यापटप चलाउँछिन् । मोबाइलमा नम्बर डायल गरेर फोन गर्छिन् । पानीको बोतल खोलेर खान पनि सक्छिन् ।

करिब दुई वर्ष उपचारमै समय बित्यो । दुवै हात गुमेको भन्दै बालज्योतिले भर्ना लिन मानेन । त्यसपछि कपिलवस्तुको होराइजन स्कुलमा रूपाले यू केजीसम्म अध्ययन गरिन् । होराइजनमा पढ्दै गर्दा विष्णु प्रधानसँग भेट भएपछि रूपालाई बुटवलमा ल्याइएको थियो । दीप बोर्डिङ सञ्चालक समिति सदस्यसमेत रहेकी प्रधानले दीपमा निःशुल्क पढाउने वातावरण मिलाएपछि रूपाको पढाइ कक्षा एकदेखि दीपमै चलिरहेको छ । दीप बोर्डिङले भर्ना शुल्क, मासिक र परीक्षा शुल्क लिँदैन । रूपा बस्ने छुट्टै फराकिलो पलङ राखिएको छ । उनी एक्लै त्यहीँ बसेर किताब–कापी निकाल्ने र पढ्ने गर्छिन् । दीप बोर्डिङका प्राचार्य टीकाराम न्यौपानेले रूपालाई कक्षा १२ सम्मै निःशुल्क पढाउने बताए । रूपाको क्षमता कमै विद्यार्थीमा हुने भन्दै उनलाई सबैको साथ–सहयोगको खाँचो रहेको न्यौपानेको भनाइ छ ।

रूपाको परिवार बुटवल देवीनगरमा भाडामा बस्दै आएका छन् । बुबा विष्णु रौतार साउदीमा रोजगारीमा छन् । उनका दाइ मनोज कक्षा १२ मा पढ्दै छन् । ‘दुवै हात छैन, उसले पढी भने कम्तीमा बाँच्न सजिलो हुन्छ भनेर बुटवलमा भाडामा बसेका हौं’, इन्द्रकलाले भनिन् । छोरीका लागि कापी–किताब र ड्रेस किन्नसमेत गाह्रो हुने उनले बताइन् । छोरीको उपचारका बेला लागेको ऋण तिर्नकै लागि श्रीमान् विदेश गएको उनको भनाइ छ ।

२०५७ सालमा रूपाको जन्म भएको हो । उनी पढाइमा मध्यमस्तरकी विद्यार्थी हुन् । स्वाभाविक रूपमा हातले लेख्नेहरूको भन्दा उनलाई खुट्टाले हरेक काम गर्दा अप्ठ्यारो र असजिलो हुने नै भयो । तर, रूपामा गायन प्रतिभा छ । उनी हालै बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको विद्यालयस्तरीय गायन प्रतियोगितामा प्रथम भएकी थिइन् । विद्यालयमा हुने विभिन्न प्रतियोगितामा उनी उत्कृष्ट बनेकी छन् । उनका ६ वटा गीत ‘रेकर्ड’ भइसकेको छ । तर आर्थिक अभावका कारण उनमा रहेको प्रतिभालाई अझ स्थान दिन नसकेको आमा इन्द्रकला बताउँछिन् ।

रूपाको गायन प्रतिभालाई वागीश्वरी संगीतालय बुटवलले ६ वर्षदेखि निःशुल्क संगीत शिक्षा दिइरहेको छ । रूपासँग गायन प्रतिभा रहेकाले उनलाई स्थान दिनुपर्ने वागीश्वरीका प्रिन्सिपल सुरेश सेन्चुरीले बताए । रूपाले पनि पढाइसँगै गायनलाई अगाडि बढाउन चाहेकी छन् ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.