केन्याविरुद्धको खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौंः आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा भएको छ। आइसीसी प्रतिनिधिसहितको तीन सदस्यीय छनोट समितिले अाइतबार पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। टोलीको उपकप्तानमा भने ज्ञानेन्द्र मल्ल छन्।
यसैगरी टोलीमा शरद भेष्वाकर, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, महबुब आलम, आरिफ शेख, सुनिल धमला र दिपेन्द्रसिंह ऐरी रहेका छन्। सुनिल धमला र दिपेन्द्रसिंह ऐरीले भने पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्।
राजेश पुलामी मगर, अभिनास कर्ण, भुवन कार्की र दिलिप नाथलाई वैकल्पिक खेलाडीमा राखिएको छ। अभ्यास खेलका लागि भारत भ्रमणमा जाँदा टोलीमा परेका आसिफ शेख भने टोलीमा पर्न असफल भएका छन्।
आइसीसी प्रतिनिधि भेन्काटापथी राजु, नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको तीन सदस्यीय छनोट समितिले चार वैकल्पिकसहित १९ खेलाडी छनोट गरेको हो। नेपालले केन्याविरुद्धको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फागुन २८ र ३० मा हुनेछ।
प्रतिक्रिया दिनुहोस !
