कृषिमा रूपान्तरण र विकास बैंक

कृषिमा रूपान्तरण र विकास बैंक

नेपालमा गरिबी निवारण, खाद्य सुरक्षा, रोजगार, आर्थिक सामाजिक रूपान्तरण, वातावरण संरक्षण तथा दिगो विकास कृषिबाटै गर्नुपर्ने हुन्छ । किनभने यस क्षेत्रमा ३८ लाखभन्दा बढी परिवार छन्, जुन मुलुकका कुल घरपरिवारको झन्डै ६८ प्रतिशत हुन आउँछ ।

कृषिको रूपान्तरणका लागि साना किसानका कुरा बढी गर्नुपर्ने हुन्छ । कुल कृषि घर परिवारहरूमध्ये साना तथा सीमान्त किसान परिवार ७० प्रतिशत छन् । कृषिमा निर्भर जनसंख्याको अनुपात ठूलो रहेको, गरिबीको सघनता पनि कृषिकै वरिपरि रहेकोमा ‘सन् २०३० सम्ममा निरपेक्ष गरिबी अन्त्य गर्ने' लक्ष्य राष्ट्रले लिइसकेको सन्दर्भमा कृषिको व्यवसायीकरण, उत्पाकत्व वृद्धि र रूपान्तरणबाट मात्र गरिबी निवारण गर्दै समृद्धिको मार्गमा अघि बढ्न सकिन्छ ।

नेपाल खाद्य सुरक्षाको दृष्टिकोणले जटिल अवस्थामा छ । मुलुकको संविधानले खाद्य सुरक्षालाई मौलिक हकमा राखेको छ । कुल किसान परिवारमध्ये ४० प्रतिशतले मात्र वर्षभरिको उपभोगको लागि पर्याप्त खाद्यान्न पाएको अवस्था छ । कृषि उत्पादनले खाद्यान्नको आवश्यकता पूरा नहुने र कृषि बाहिर रोजगारका अवसर नपाउने परिवारहरू स्वतः खाद्य असुरक्षा र निरपेक्ष गरिबीको रेखामुनि रहनुपर्ने सहजै अनुमान गर्न सकिन्छ ।

कृषिको वरिपरि केन्द्रित यस्तो गरिबी निवारण हामीले स्वतः कृषिकेन्द्रित सुधार, कृषि सहकारीको विकास, कृषि बाहिर साना बचत परिचालन र लघु कर्जामार्फत स्वरोजगारका अवसर, सुलभ कृषि ऋण, कृषि सामग्री र कृषिमा राज्यको अनुदानमार्फत व्यवसायीकरण र सरकारी, सहकारी, निजी क्षेत्रको संयुक्त प्रयासजस्ता विषयमा सोच्नैपर्ने हुन्छ ।

साना किसान विकास बैंकको भूमिकालाई हामीले यसै पृष्ठभूमिमा खोज्नुपर्छ । साना किसान विकास बैंक किन ? विगतको अनुभवबाट के देखिएको छ भने कृषिमा सुधार गर्न संस्थागत प्रयास गर्नुपर्ने हुन्छ, जसमध्ये कृषि सहकारी र कृषि सामग्री आपूर्ति महत्ववपूर्ण अंग हुन सक्छ । कृषि भूमिको चक्लाबन्दी, कृषि यान्त्रीकरण, आधुनिक कृषि प्रविधि प्रयोग, बजार व्यवस्थापन र कृषि प्रशोधनमा सहकारीको भूमिका महत्ववपूर्ण रहने हुन्छ र साना किसान विकास बैंक यसमा सहयोगी हुन सक्छ ।

कृषिमा आधुनिक प्रविधिको प्रयोग विस्तार बढ्दै गएको छ । कृषि उत्पादनमा रासायनिक मलको प्रयोग बढ्दै गएको र एक दसकमा नगदे बालीमा आधुनिक मलको प्रयोग क्रमशः दुई गुणाले बढेको अनुमान छ । कृषिमा यस बैंकले कृषि सहकारी संस्थामार्फत पुर्‍याएको योगदानबाट कृषिमा युवा जनशक्ति संलग्न हँुदै गएको र आधुनिक प्रविधिमा पहुँचसमेत बढ्दै गएकाले यो परिवर्तन देखिएको हो ।

तर पनि कृषि उत्पादनको लागि ग्रामीण साहुकारबाट ऋण लिने प्रवृत्तिमा पनि खासै सुधार भएको देखिँदैन । कृषि ऋण लिएका कुल किसान परिवारमध्ये करिब एकतिहाइ परिवारले मात्र संस्थागत स्रोत (बैंक तथा वित्तीय संस्था र सहकारी संस्था) बाट ऋण लिएका र बाँकीले अनौपचारिक स्रोत (ग्रामीण साहु, जमिनदार र व्यापारी) बाट ऋण लिनुपरेको सन्दर्भमा कृषिको आधुनिकीकरण र व्यवसायीकरण हुन अरू धेरै समय लाग्ने प्रस्ट देखिन्छ । कृषि सहकारितामा आधारित जमिनको चक्लाबन्दी, साना किसान विकास बैंकमार्फत कृषि ऋणको व्यवस्था, ऋण सामग्रीको व्यवस्था र यान्त्रीकरण अघि बढाउन सकिए यो समस्या हल हुन सक्छ ।

त्यस्तै किसानको बजार पहुँचमा पनि साना किसान विकास बैंकको सहयोगमा कृषि सहकारीले योगदान पुर्‍याउन सक्नेछन् । हालसम्म कुल कृषक परिवारमध्ये १० प्रतिशत परिवारले मात्र आफ्नो घरनजिकै बजार केन्द्र पाएका छन् । बाँकी परिवार केही हिँडेर र केही सवारी साधन प्रयोग गरेर कृषि बजार केन्द्र पुग्ने गरेको देखिन्छ । नेपाल जीवनस्तर मापन सर्वेक्षणले पनि ४५ प्रतिशत परिवार मात्र आधा घन्टाको हिँडाइमा बजार केन्द्र पुग्ने गरेको देखाएको छ । कृषि सहकारीले बजार विकासका माध्यमबाट यो स्थितिमा सुधार हुने गरी योगदान पुर्‍याउन सक्नेछन् भने साना किसान विकास बैंकले यसमा थप टेवा पुर्‍याउन सक्छ ।

अहिलेको कृषि युवाविहीन, शिक्षित जनशक्तिविहीन र समग्रमा व्यावसायिक आकर्षणविहीन रहेको धारणा व्यक्त गरिन्छ । कृषि सहकारीले व्यावसायिकता विकासका माध्यमबाट नेपालमा कृषि क्षेत्रमा नयाँ पहलहरू गरिरहेका छन्, जसबाट युवा कृषिमा आकर्षित हुन थालेका छन् । कृषि सहकारीका माध्यमबाट सामुदायिक एवं सहकारी खेती प्रणाली, व्यावसायिक कृषि उत्पादन कार्य, पशुपालन, मत्स्यपालन, पक्षीपालन, व्यावसायिक रूपमा तरकारी, फलपूmल र जडिबुटी उत्पादन र त्यसमा भइरहेको नयाँ प्रविधिको प्रयोग हुन थालेको छ । सहकारीकै प्रयासमा भइरहेको कृषि बजार केन्द्रको विकास, कृषि सामग्रीको आपूर्ति र जनपरिचालनले कृषिको रूपान्तरणमा ठूलो सहयोग पुग्न थालेको देखिन्छ । यस प्रयासमा साना किसान विकास बैंकले पुर्‍याएको सहयोग सानै स्तरमा भए पनि महत्ववपूर्ण छ ।

अहिलेको अवस्थामा राज्य र निजी क्षेत्र गरी दुई मूल पात्रहरू मात्र रहने ढाँचा काम लागेन, त्यसैले अब तेस्रो पात्रको रूपमा समुदायमा आधारित सहकारी संस्थाहरूसमेतको सक्रियता उपलब्धिमूलक हुन सक्छ भन्ने धारणा स्थापित भइसकेको छ । सदैव नाफाकेन्द्रित हुने निजी क्षेत्रले समेट्न नसकेका वा उसले समावेश गर्न आवश्यक पनि नठानेका, राज्य संयन्त्रले परिचालन गरेको स्रोतले मात्रै समावेशिता हासिल गर्न नसकेका अवस्थामा हामीले सामुदायिक र सहकारी संस्थाको माध्यमबाट उत्पादन प्रक्रिया र उत्पादित वस्तु र सेवाको वितरण एवं त्यसबाट प्राप्त लाभको वितरणको अवस्थासम्म पनि सहकारीलाई परिचालन गर्न सक्यौं भने मात्र समावेशी आर्थिक वृद्धिको कल्पना कार्यरूपमा रूपान्तरण हुन सक्छ । यस कार्यमा कृषि सहकारी संस्थाहरूलाई टेवा पुर्‍याउन साना किसान विकास बैंकको भूमिका महत्ववपूर्ण रहने व्यवहारमा प्रस्ट देखिएकै छ ।

साना किसान विकास बैंक

दिगो विकास लक्ष्य प्राप्त गर्न सार्वजनिक, निजी, सहकारी एवं सामुदायिक क्षेत्रको उत्तिकै ठूलो भूमिका आवश्यक छ । ‘कोही पछि नपरून्' भन्ने सिद्धान्तले विकासका सबै साझेदार एवं सरोकारवालालाई संयुक्त प्रयास गर्न बाध्य पारेको पनि छ । दिगो विकास लक्ष्यले सरकार, निजी क्षेत्र, सामुदायिक क्षेत्र र उत्पादकदेखि उपभोक्तासम्मलाई सामाजिक र वातावरणीय रूपमा टिकाउ हुने क्रियाकलापलाई प्रोत्साहन गरेकाले पनि यसको लागि सहकारितामा आधारित विकास ढाँचाले उल्लेख्य योगदान पुर्‍याउने निश्चित छ । तर सहकारी संस्थाहरूलाई उनीहरूको कारोबार क्षमता वृद्धिमा र पुँजी उपलब्धतामा सहयोगको आवश्यकता हुन्छ । सरकारको यसमा केही सहयोगको अपेक्षा गरिए पनि त्यो पर्याप्त छैन । यस स्थितिमा साना किसान विकास बैंकले कृषि सहकारीहरूलाई पुर्‍याएको सहयोग महत्ववपूर्ण छ ।

दिगो विकास लक्ष्यअन्तर्गत २०३० सम्ममा भोकमरी तथा कुपोषण अन्त्य गर्ने, सबैलाई खाद्य सुरक्षा प्रदान गर्ने (बालबालिका, किशोरकिशोरी, प्रजनन अवस्थाका महिला तथा वृद्धवृद्धालगायत), कृषि उत्पादकत्व १५ वर्षमा दोब्बर गर्ने र साना किसानको आय वृद्धि गर्ने विषय छन् । नेपालमा खाद्य सुरक्षाको लागि कृषि सहकारी, बिक्रीवितरण सहकारी, प्रशोधन सहकारी, कृषि सामग्री आपूर्ति गर्ने सहकारी, कृषि ऋण प्रवाह गर्ने सहकारी र सहकारी सदस्यहरूको आयआर्जनमा सघाउ पुर्‍याउने सहकारीको भूमिकामार्फत खाद्यान्न किन्न सक्ने हैसियत वृद्धि गर्ने कार्यबाट दिगो विकासको लक्ष्य प्राप्तिमा सहयोग पुग्नेछ ।

दिगो विकासको लागि विकास प्रक्रियामा सहभागिता र त्यसको प्रतिफलमा पहुँचको उपयुक्त माध्यम हुने साना किसान विकास कार्यक्रमको महत्ववपूर्ण भूमिकालाई मूर्तरूप दिनु अनिवार्य सर्त हो । यसतर्फ साना किसान विकास बैंकले पुर्‍याउन सक्ने योगदानको मूल्यांकन गर्दै सिंगो राष्ट्र, विकास साझेदारहरू र अन्तर्राष्ट्रिय समुदायको समेत यो संस्थाको क्षमता विस्तारमा ध्यान जानु जरुरी छ ।

सहकारी खेती, सामूहिक रूपमा लघु यान्त्रीकरण, उन्नत प्रविधिको प्रयोग र उत्पादनको सुरक्षित भण्डारण र प्रशोधन गर्ने कार्यबाट सहकारीले कृषि उत्पादकत्व बढाउन सघाउ पुर्‍याउनेछन् । साना किसान विकास कार्यक्रमलाई कृषि सहकारी संस्था र साना किसान विकास बैंकमार्फत अभियानको रूपमा अघि बढाउन सके साना किसानकै बाहुल्य भएको हाम्रो मुलुकमा समावेशी आर्थिक वृद्धि र कृषिको रूपान्तरण दुवै हासिल गर्न सकिन्छ । यो अभियानलाई संस्थागत गर्ने र थप विस्तार गर्नुपर्ने कार्यमा सरकार र सहकारी क्षेत्रले सहकार्य गर्नु अपरिहार्य छ ।

साना किसान विकास बैंकका आगामी चुनौती र अवसर

थोरै पुँजी, सानो संस्थागत संरचना, सहकारी संस्थामार्फत किसानमा पुग्नुपर्ने, सरकारले सहकारीलाई हस्तान्तरण गरिसकेको संस्थाको रूपमा लिने हुनाले साना किसान विकास बैंकले आफ्नो कार्य क्षेत्रलाई किसानको आवश्यकताअनुरूप विस्तार गर्न सकेको छैन ।

कार्य क्षेत्र विस्तार गर्न यसलाई दीर्घकालीन रूपमा न्यून ब्याजदरमा पुँजी उपलब्ध हुने व्यवस्था गर्नु, सरकारको कृषि विस्तार कार्यक्रममा साना किसान विकास बैंकलाई सहभागी गराउनु र कृषि सहकारीको क्षमता अभिवृद्धि कार्यक्रममा सरकारले सहयोग पुर्‍याउनु आवश्यक देखिन्छ । यसका अतिरिक्त कृषि क्षेत्रमा लघु बिमा सेवा विस्तार गर्ने कार्यमा सहकार्य गर्न साना किसान विकास बैंकलाई साझेदार बनाउने वातावरण तयार गर्नु पनि त्यत्तिकै जरुरी छ । किसानको बाली र पशु बिमा सेवालाई विस्तार गरी साना किसान विकास बैंकको ऋण लगानी सुरक्षित गर्नु जरुरी छ ।

वित्तीय बजारबाट कर्जा लिएर साना किसान विकास बैंकले आफ्ना ग्राहकलाई ऋण प्रवाह गर्दा सो ऋण महँगो पर्न जाने र स्रोतको सुनिश्चितता पनि नहुने भएकाले अन्तर्राष्ट्यि संस्थाबाट सरकारले नै सरल ब्याजको ऋण लिएर साना किसान विकास बैंकलाई ऋण लगानी गर्न सके यो संस्थाको स्रोतको सुनिश्चितता हुन गई कार्य क्षेत्र विस्तार गर्न र बढी किसानलाई वित्तीय सेवा पुर्‍याउन यो बैंक सक्षम हुने देखिन्छ ।

कृषि उत्पादन वृद्धिसँगै त्यसको प्रशोधन कार्यलाई अघि बढाउनसमेत साना किसान विकास बैंकको नेतृत्वदायी भूमिका रहनुपर्ने देखिन्छ । उत्पादनलाई बजारीकरण गर्न र मूल्य अभिवृद्धि गर्नसमेत सहयोग नगर्ने हो भने किसानले आफ्नो मेहनतको उचित प्रतिफल पाउँदैनन् । साना किसान विकास बैंकले सरकारका विभिन्न निकायसँग समन्वय गरेर यसमा उपयुक्त भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । यस बैंकले ‘सानो सुन्दर हुन्छ' भन्ने मान्यताबाट माथि उठेर धेरैभन्दा धेरै किसानलाई समेट्ने कोसिस गर्नैपर्छ । यस अतिरिक्त साना किसानलाई क्रमशः ठूला व्यवसाय गर्न सक्ने तुल्याउँदै ठूलो बैंकिङ सेवासँग आबद्ध गराउन पनि यस बैंकले सक्नुपर्छ ।

साना किसान विकास बैंकको सहयोग र कृषि सहकारीको संलग्नतामा राष्ट्रिय आयको वितरणमा समन्याय कायम गर्न मद्दत पुग्ने सिद्धान्त र व्यवहारबाट पुष्टि भइसकेको छ । आर्थिक विकासले समृद्धि ल्याउने र समृद्धिमार्फत दीर्घकालमा आर्थिक स्वाधीनता हासिल गर्न सकिन्छ । साना किसानको सहभागिता र समन्यायिकताबिनाको समृद्धि पनि टिकाउ हुँदैन ।

दिगो विकासको लागि विकास प्रक्रियामा सहभागिता र त्यसको प्रतिफलमा पहुँचको उपयुक्त माध्यम हुने साना किसान विकास कार्यक्रमको महत्ववपूर्ण भूमिकालाई मूर्तरूप दिनु अनिवार्य सर्त हो भन्नेमा दुईमत छैन । यसतर्फ साना किसान विकास बैंकले पुर्‍याउन सक्ने योगदानको मूल्यांकन गर्दै सिंगो राष्ट्र, विकास साझेदारहरू र अन्तर्राष्ट्रिय समुदायको समेत यो संस्थाको क्षमता विस्तारमा ध्यान जानु जरुरी छ । -खतिवडा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.