महजोडीले हस्तान्तरण गरे चारघरेबासीलाई भूकम्प प्रतिरोधी घर
मुलावारी : जर्मनीमा बस्दै आएका नेपाली र नेपालीको सहयोगी व्यक्तिको सहयोगमा नुवाकोटको पश्चिमी भेगमा रहेको चारघरेको मुलावारीमा भुकम्प गएको २२ महिनापछि घर निर्माण गरिएको छ। गरिएका घरको हास्य कलाकारद्वय मह जोडीले भूकम्पपीडितलाई हस्तान्तरण गरे।
जर्मनी संस्था कारिसिमोले विदुर नगरपालिका १२ मुलाबारीका ३० भुकम्पपीडितका लागि एक वर्ष लगाएर भूकम्प प्रतिरोधी घर निर्माण गरिदिएको हो। घरको उद्घाटन गर्दै महजोडीले नुवाकोटको भूकम्पपीडित वस्तीमा आउन पाउँदा खुसी लागेको बताए।
घर हस्तान्तरण गर्दै हरिवंश आचार्यले भूकम्पपीडितलाई जर्मनमा बस्दै आएका नेपाली र उनीको संस्थाले कारिसिमोले गरेको सहयोगले टेवा पुगेको बताए। मदनकृष्ण श्रेष्ठले पृथ्वी हजारौं वर्ष पहिले भूकम्पबाटै बनेको हुँदा भूकम्पबाट सचेत भएर मानवले आफ्नो सुरक्षाको लागि ध्यान दिनु पर्ने बताए।
१६ वर्षदेखि नेपालमा शिक्षा, विकास तथा जागरणमा कार्य गर्दै आएको जर्मनी संस्था कारिसिमोले स्थानीय सामग्रीको प्रयोग गरेर दलित, आदिवासी जनजाति, ब्राम्हण क्षेत्री समुदायका भूकम्पपीडितका ३० घर निर्माण गरिदिएको संस्थाका कार्यक्रम संयोजक गोपी दाहालले जानकारी दिए । आगामी दिनमा अन्य समुदायलाई समेत सहयोग गरिने उनले बताए।
भूकम्प प्रतिरोधी घर हस्तान्तरण कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, सहयोगी संस्था कारिसिमोका संयोजक धनकृष्ण सोर्टर, संसथाकी अध्यक्ष डा. रोशी सोर्टरलगायतले संस्थाले अझै पनि अन्य भुकम्पपीडितलाई सहयोग गर्ने प्रतिवद्धता जनाए। सोही संस्थाले ककनी गाविसको काउलेथानामा निर्माणाधिन १० घर निर्माणको अन्तिम चरणमा पुगेको जनाइएको छ।