यसरी छानाैैं विद्यालय
काठमाडौः एकथरि अभिभावकको चाहना हुन्छ, ‘महँगो शुल्क तिरेर भए पनि सन्तानलाई नाम चलेका स्कुलमा पढाउने ।' अर्काथरि अभिभावकको समूह पनि हुन्छ, जसले बजारमा नाम चलेका र शुल्कको हिसाबले पनि मध्यम स्तरको संरचना भएको विद्यालयमा छोराछोरी भर्ना गर्ने योजना बनाएका हुन्छन् ।
त्योभन्दा पनि फरक सोचाइ राख्ने अभिभावक पनि हुन्छन् । उनीहरू स्कुलको पढाइ राम्रो छ वा छैन भन्दा पनि मेरो छोराछोरी सरकारी वा निजी कस्तो विद्यालयमा पढेका छन् भन्नेमा मात्र केन्द्रित हुन्छन् । अर्थात् सामाजिक प्रतिष्ठाका लागि मात्र विद्यालय छान्छन् । यति हुँदाहुँदै पनि उनीहरूलाई विद्यालय छनोटमा त्यति सहज भने हुँदैन ।
टोलैपिच्छे खुलेका बग्रेल्ती स्कुलहरूको भीडमा कुन चाहिँ उपयुक्त भनेर खुट्याउन अभिभावकहरूले ठूलै कसरत गर्नुपर्छ । अहिले अभिभावकहरू यही कसरतमा जुटेका छन् । शैक्षिक सत्र सुरु हुन महिना दिन बाँकी छँदै उनीहरू स्कुल छनोटको परामर्शमा डुल्न थालिसकेका छन् ।
मुलुकभर ३५ हजार २ सय २२ वटा विद्यालय सञ्चालनमा छन् । जसमा निजी विद्यालयहरू मात्र आठ हजारको हाराहारीमा छन् । तीमध्ये आफ्ना सन्तानलाई कस्तो विद्यालयमा पढाउने ? राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका विद्यालय ?
राष्ट्रिय स्तरमा मात्र चर्चा कमाएका तर गुणस्तरीय शिक्षा र शुल्कका लागि कहलिएका विद्यालय ? वा मध्यम स्तरको पढाइ र सोहीअनुसारको शुल्क तिरेर विद्यार्थी भर्ना गराउन सकिने विद्यालय ?
छोराछोरी भर्ना गर्न विद्यालय खोज्दै भौंतारिरहेका अभिभावकमध्ये अहिले अधिकांशले यस्ता प्रश्नको सामना गरिरहेका छन् । यस्तै एक अभिभावकमध्येका एक हुन्, रामकाजी श्रेष्ठ । लगलनखेलमा रहेको सेन्ट मेरिज स्कुलमा छोरी भर्नाका लागि प्रवेश परीक्षा फाराम भरेका उनले अन्य स्कुलमा पनि भर्ना गर्ने परामर्श गरिरहेका छन् । ‘सकेसम्म राम्रै स्कुलमा नानीबाबु पढाउने म जस्ता धेरै अभिभावकको चाहना हुन्छ । म पनि त्यस्तै अभिभावकमध्येकौ एक हुँ', श्रेष्ठ भन्छन्, ‘स्कुल त घरनजिकै पनि छन् तर कुन राम्रो कुन नराम्रो छुट्टयाउनै कठिन छ', गोंगबुका श्रेष्ठ भन्छन् ।
कस्तो स्कुल ? सरकारी कि निजी ?
मुलुकमा अहिले तारे होटलमा जस्तै सुविधा भएका निजी स्कुलदेखि सामान्य स्तरका सार्वजनिक विद्यालय पनि सञ्चालनमा छन् । शिक्षा विभागले समेत विद्यालयलाई उनीहरूको भौतिक संरचना, विद्यार्थीलाई प्रदान गरेको सुविधा तथा शिक्षाको गुणस्तरको आधारमा ‘क' देखि ‘घ' वर्गसम्म निर्धारण गरेको छ।
धेरैजसो अभिभावकको चाहना छोराछोरीलाई निजी स्कुलमै पढाउने हुन्छ । गुणस्तरीय शिक्षाको हिसाबले होस् वा सामाजिक प्रतिष्ठा उकास्नका लागि किन नहोस्, बिहान बेलुका मजदुरी गरेर गुजारा चलाउने अभिभावकहरूको पनि पहिलो रोजाइ निजी स्कुल हुन्छ ।
सार्वजनिक शिक्षाको खस्कँदो स्तरका कारण पनि अभिभावकलाई यसतर्फ सोच्न बाध्य बनाएको थियो । किनकि पछिल्ला दिनहरूमा एक छाक खाएर मात्र भए पनि छोराछोरीको शिक्षाप्रतिको चेतना अभिभावकमा ह्वात्तै बढेको छ । तर अभिभावकहरूले छोराछोरी भर्ना गरिसकेपछि वर्षैभरि भोग्नुपर्ने समान समस्या बनेर आउँछ शुल्क संरचना ।
भर्ना गर्ने बेलामा गरिएका सहमतिविपरीत विद्यालय सञ्चालकहरूले परीक्षा, अतिरिक्त क्रियाकलाप, ट्युसन शुल्क लगायतका शीर्षकमा थोपर्ने रकमका कारण अभिभावकहरू सधैं प्रताडित हुने गर्छन् । यस्ता समस्यालाई शिक्षा मन्त्रालय तथा विभागले समेत समाधान गर्न सकेको छैन । यस्तो समस्या विशेष गरेर निजी शैक्षिक संस्थामा धेरै आउने गर्छ ।
महँगो शुल्कका कारण छोराछोरी पढाउन सास्ती भोगिरहेका अभिभावकहरूलाई अहिले सार्वजनिक (सरकारी वा सामुदायिक) विद्यालय पनि राम्रो विकल्प बनेको छ । सरकारी भन्नेबित्तिकै नाक खुम्च्याउनुपर्ने अवस्थालाई अहिले राजधानी लगायत मुलुक बाहिरका समेत केही सामुदायिक विद्यालयले अन्त्य गरिदिएका छन् । अर्थात् नाम चलेका निजी शैक्षिक संस्थाभन्दा पनि धेरै विद्यार्थी यस्ता सामुदायिक विद्यालयले भर्ना गरिरहेका छन् ।
नतिजा हेर्ने कि नीतिवान् शिक्षा ?
एक समय थियो, अभिभावकहरू जसरी भए पनि आफ्ना नानीबाबुले परीक्षामा राम्रो अङ्क ल्याऊन् । दिनरात घोकेर भए पनि नतिजामा उनीहरू अब्बल रहून् भन्ने चाहना राख्थे । तर अहिले विस्तारै पढाइको साथमा नैतिक शिक्षाको बहस पनि सुरु हुन थालेको छ । समाजमा योग्य नागरिक भएर बस्ने हो भने पढाइको साथमा समाजका हरेक गतिविधिमा सक्रिय सहभागी हुनुपर्छ ।
समाजका हरेक रीतिरिवाज, परम्परा, संस्कृति तथा मौलिकता आदिको विषयमा पनि विद्यार्थीलाई जानकारी गराउनुपर्छ भन्ने पक्षमा उभिन थालेका छन्, अभिभावकहरू र यस्तै स्कुलको खोजीमा लागेका छन् उनीहरू । नासा इन्टरनेशनल एजुकेसन नेटवर्कका अध्यक्ष प्रकाश थापा संस्कारसहितको शिक्षा दिनु अहिले बालबालिकाका लागि अति महत्वपूर्ण विषय रहेको बताउँछन् । ‘विद्यार्थीलाई घोकाएर परीक्षामा राम्रो नतिजा ल्याउनुलाई मात्र गुणस्तरीय शिक्षा भन्ने चलन छ । यो मानसिकता परिवर्तन गर्नुपर्ने बेला भएको छ', थापा भन्छन्, ‘ विद्यार्थीलाइ व्यवहारिक ज्ञान दिनु र नीतिवान् नागरिक बनाउनु पनि विद्यालयको कर्तव्य हो । विद्यालय छनोटको क्रममा अभिभावकले यस विषयलाई ध्यान दिनु जरुरी छ ।'
विद्यालयको पहुँच नपुगेका गाउँ भेटाउन असम्भव जस्तै छ । यस हिसाबले हेर्ने हो पछिल्ला दिनमा अभिभावक र विद्यार्थीका लागि कुन विद्यालयमा पढ्ने भन्ने छनोट गर्न प्रशस्त विकल्प पनि छन् । एकथरि अभिभावक सबैभन्दा पहिला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति कमाएका विद्यालयमा आफ्ना नानीबाबु भर्ना गराउन कम्मर कसेर लाग्छन् । जहाँ शुल्क पनि महँगो नै हुन्छ, तैपनि उनीहरू जसरी पनि छोराछोरीलाई भर्ना गराउनेतर्फ मात्र केन्द्रित हुन्छन् ।
तथ्यांकमा विद्यालय शिक्षा
मुलुकभर हाल कक्षा एकदेखि बाह्रसम्म पढाइ हुने ३५ हजार २ सय २२ विद्यालय सञ्चालनमा छन् । त्यसबाहेक पाँच वर्ष उमेर पूरा नभएका विद्यार्थीलाई पढाउने उद्देश्यले स्थापना गरिएका हाल बाल विकास केन्द्र तथा पूर्व प्राथमिक तहका विद्यालयको संख्या ३६ हजार ९३ छ ।
कुल विद्यालयमध्ये आठ हजारको हाराहारीमा निजी स्कुल छन् । सञ्चालनमा रहेका विद्यालयमध्ये कक्षा एकदेखि पाँचसम्म पढाइ हुने विद्यालय सबैभन्दा धेरै ३४ हजार ७ सय ३६ छन् । कक्षा आठसम्म मात्र पढाइ हुने विद्यालय १५ हजार १ सय ७० र कक्षा नौको समेत पढाइ हुने विद्यालय ३४ हजार ९ सय ७० छन् ।
कक्षा नौ र दशको पढाइ हुने विद्यालय संख्या ९ हजार ८४ र कक्षा एघार तथा बाह्रको मात्र पढाइ हुने विद्यालयको संख्या ३ हजार ६ सय ७३ छ । कक्षा नौदेखि बाह्रसम्मको पढाइ हुने विद्यालय ९ हजार ३ सय ७९ छन् । शिक्षा मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार पूर्वप्राथमिक तहमा ९ लाख ७३ हजार ४ सय १३ जना, प्राथमिक तहमा ४१ लाख ३५ हजार २ सय ५३ जना विद्यार्थी अध्ययनरत छन् । निम्न माध्यमिक तहमा १८ लाख ५९ हजार ३ सय ५९ जना, माध्यमिक तहमा ९ लाख ५८ हजार ५ सय २ तथा उच्च माध्यमिक तहमा ४ लाख २९ हजार ८४ जना विद्यार्थी अध्ययनरत छन् ।