हाँस्दै, खेल्दै सिक्न मन्टेसरी
काठमाडौः इटालियन नागरिक मारिया मन्टेसरीका बारेमा धेरै विद्यालय सञ्चालक अझै पनि अनभिज्ञ होलान्, जसले मन्टेसरी कक्षा चलाइरहेका छन् । आफूले छोराछोरी भर्ना गरेको मन्टेसरीको पढाइ कहाँबाट कसरी सुरु भयो र यसको आवश्यकता कति छ ? ' भन्नेप्रति सचेत अभिभावक त झन् अत्यन्त कम होलान् ।
किताबमा उल्लेख गरिएका सामग्री घोकाएर मात्र विद्यार्थी ज्ञानी बन्दैनन्, कुनै विषय वस्तुलाई अवलोकन गराएर वा देखाएर पनि पढाउन सकिन्छ भन्ने अवधारणा आत्मसात गर्दै मारियाले इटालीबाट मन्टेसरी प्रविधिको पढाइ सुरु गरेकी थिइन् । मन्टेसरीको अवधारणा र आवश्यकता बुझेर हुन् वा नबुझेर, यस तहको पढाइ अहिले नेपालका हरेकजसो विद्यालयमा आवश्यकता र अनिवार्यजस्तै भइसकेको छ । अभिभावकहरूमा पनि यस कक्षाको आकर्षण दिन प्रतिदिन बढिरहेको छ ।
तीन वर्षदेखि ६ वर्ष उमेर समूहका बालबालिकालाई रमाइलो शैलीमा पढाउने गरी यस प्रणालीको पढाइ सुरुवात गरिएको थियो । तर नेपाली अभिभावकले भने साढे दुई वर्षदेखि नै छोराछोरीलाइ मन्टेसरी भर्ना गरिदिने गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का काठमाडौं उपाध्यक्ष तथा जेभिएर इन्टरनेशनल एकेडेमीका कार्यकारी निर्देशक गोपाल भण्डारी भन्छन्, ‘मन्टेसरीमा भर्ना गर्नुको मुख्य उद्देश्य विद्यार्थीलाई सीधै क, ख, ग वा ए, बी, सी पढाउने गरी भर्ना गर्दा पढाइप्रति वितृष्णा जाग्न सक्छ । यस्तो अवस्थामा विद्यार्थीलाई पढाइप्रति जागरुक गराउन मन्टेसरीमा भर्ना गर्ने प्रचलन बढ्दो छ ।'
यस्ता कक्षामा भर्ना भएका बालबालिकालाई पढाउन सम्बन्धित विद्यालयले आफैं पाठ्यक्रम तयार गरेका हुन्छन् । रमाइलो मन्टेसरीकी सञ्चालिका गरिमा भण्डारीका अनुसार बच्चालाई खेल्दै कुनै वस्तु हेर्न लगाउन, गणना गर्न लगाउने, नाचगान गराएर रमाइलो गर्न लगाउने लगायतका गतिविधि गरिन्छ । यसले विद्यार्थीलाई रमाइलोसँग कुनै वस्तुबारे जान्ने प्रेरित गरोस् । ‘उदाहरणका लागि सडकमा गाडी कतिवटा गुड्यो भनेर विद्यार्थीलाई स्कुलमै प्रयोगशाला बनाएर रमाइलो पाराले गणना गर्न लगाइन्छ । यसले उनीहरूमा गणितसम्बन्धी ज्ञान दिन्छ । त्यसैगरी गाडी कसरी गुड्छ भनेर पनि विद्यार्थीलाई जिज्ञासु शैलीमा हेर्न लगाइन्छ ।
जसले उनीहरूमा विज्ञानसम्बन्धी ज्ञान दिन्छ', भण्डारी भन्छन्, ‘विद्यार्थीलाई स्कुले शिक्षामा भर्ना गर्नुअघि आवश्यक पर्ने पढ्ने बानीको विकास गराउन पनि यसले मद्दत पुर्याउँछ ।' धापासीस्थित अपि स्कुलका प्रमुख कार्यकारी अधिकृत लोकराज गिरी बच्चाले जे काम गर्न खोज्छन् उनीहरूलाई त्यसमा स्वतन्त्र छोडिदिनु नै मन्टेसरीको वास्तविक अवधारणा भएको बताउँछन् । ‘बच्चाहरूले खेल्न चाहन्छन् भने पनि अवरोध खडा गर्नुहुँदैन । नाच्न चाहन्छन् भने पनि छोडिदिनुपर्छ । स्कुल गएर सुत्छन् भने पनि ओछ्यानको व्यवस्था गरिदिनुपर्छ', गिरी भन्छन्, ‘बच्चाबाट कुनै पनि सिकाइ उपलब्धिको अपेक्षा नगरी दबाबबाट छोडिदिनु नै यस पद्धतिको मुख्य अवधारणा हो।'
के छ नेपालमा समस्या ?
अधिकांश शैक्षिक संस्थाले मन्टेसरी कक्षा सुरुवात गरे पनि नेपालको सन्दर्भमा मारियाको अवधारणालाई जस्ताको तस्तै प्रयोगमा ल्याउन भने नसकिएको यसका सञ्चालकहरूको भनाइ छ । अभिभावकहरूले बच्चा स्कुल पठाएपछि तत्काल सिकाइ उपलब्धि खोज्ने, स्कुलले पनि बच्चालाई आवश्यक पर्ने भौतिक संरचना जुटाउन नसक्ने तथा सोहीअनुसारको वातावरण पनि प्रदान गर्न नसक्नु अथवा कमजोर आर्थिक अवस्था मन्टेसरीको अवधारणालाई जस्ताको तस्तै प्रयोगमा ल्याउन नसक्नुको मुख्य समस्या भएको उनीहरूको भनाइ छ ।
जेभिएर एकेडेमीका भण्डारी भन्छन्, ‘सबैले मन्टेसरीको इतिहास पढेका हुँदैनन् तर उनीहरूमा बच्चा दुई तीन वर्ष भएपछि स्कुल पठाउनुपर्छ भन्ने बुझेका छन् । यो सकारात्मक पक्ष हो ।' मारियाको अवधारणालाई जस्ताको तस्तै लागू गर्न नसकिए पनि स्कुलमा बच्चाका लागि भनेर निर्माण गरिएको भौतिक संरचना, उनीहरूलाई स्कुलमा खुवाइने खानाको स्तरीयताको विषयमा बढेको चेतना लगायतलाई भने सकारात्मक रूपमा लिनुपर्ने अपिका प्रमुख कार्यकारी अधिकृत गिरीको भनाइ छ । ‘हामीले मन्टेसरीको वास्तविक अवधारणा बुझेका छौं तर अभिभावकको बच्चाप्रतिको अपेक्षा तथा हाम्रो आफ्नै बाध्यताले पनि बुझ पचाएर काम गर्नुपर्ने अवस्था छ', गिरी भन्छन् ।
नेपालको सन्दर्भमा मन्टेसरी भन्नेबित्तिकै निजी शैक्षिक संस्थामा मात्र प्रचलन रहेको भन्ने आमबुझाइ छ तर सार्वजनिक विद्यालयमा पनि यसको प्रचलन बढिरहेको छ । सामुदायिक विद्यालयमा प्रयोगमा आएको प्रारम्भिक बालकक्षा (इसिडी) यसको उदाहरण हो । सरकारी तथ्यांकअनुसार निजीस्तरमा खुलेका मन्टेसरीको यकिन तथ्यांक नभए पनि सरकारी स्तरबाट सञ्चालनमा आएको इसिडीको संख्या ३३ हजारको हाराहारीमा छ ।