वन अधिकृतले रक्सी खाएर कार्यालयमै बबाल गरेपछि..
बेनी : जिल्ला वन कार्यालय म्याग्दीमा कार्यरत वन अधिकृत हिमलाल लामिछानेले बुधबार दिउँसो रक्सी खाएर कार्यालयमै बबाल मच्चाएका छन्।
सरकारी पोशाक बिनै कार्यालय पुगेका उनले निमित्त कार्यालय प्रमुख राजकुमार ठाकुरलाई अपशब्द प्रयोग गरेका हुन्।
उनले बिहान १० बजेदेखि नै यस्तो व्यवहार देखाएपछि बुधबार वन कार्यालयमा न त सेवाग्राहीले सेवा पाए न त अन्य कर्मचारीले काम गर्न नै। सेवा लिन कार्यालय पुगेका सेवाग्रहीलाई उनले उल्टै दुर्व्यवहार गरे।
दिउँसो ३ बजे सञ्चारकर्मी पुग्दा लामिछाने निमित्त कार्यालय प्रमुख ठाकुरको कार्यकक्ष अगाडी बसेर उनैसँग झगडाको निहुँ खोजीरहेका थिए। ठाकुर भने हैरान देखिन्थे। 'कति सम्झाउनु, जति गरेपनि हुदैन्, आज दिनभर यस्तै वितण्डा मच्चाए, यसबारे हाकिम साबलाई पनि जानकारी गराएको छु', ठाकुर भन्दै थिए।
कार्यालय समयमा कार्यालयमै मादक पदार्थ सेवन गरेर आउनु लामिछानेका लागि नौलो कुरा नभएको कर्मचारीहरु बताउँछन्। उनले पटक-पटक यस्तो व्यवहार देखाएपछि आफुहरु हैरान भएको ठाकुरले बताए। सेवा र अनुभवका हिसाबले जिल्ला वन अधिकृत सुखलाल प्रसाद जसवाल पछि लामिछाने नै वरिष्ठ कर्मचारी हुन्।
उनी गत माघ १७ गते नवलपरासीबाट सरुवा भएर म्याग्दी आएका हुन्। 'यहाँ आएपछि मैले यो खान सिकेको हुँ। कार्यालय प्रमुख र निमित्त प्रमुख दुबै भ्रष्ट छन्, उनीहरुबारे पनि लेख्नोस्', उनी सञ्चारकर्मीसँग झोक्किदै थिए। दिनभर कार्यालयमा बबाल मच्चाउने उनलाई प्रहरीले पहिलो पटकलाई भन्दै नियन्त्रणमा भने लिएन्। आइतबार कार्यालय प्रमुख आएपछि उनलाई कारबाहीको प्रक्रिया अघि बढाउने निमित्त प्रमुख ठाकुरले बताए।कार्यालय प्रमुख जसवाल भने होली भन्दा चार दिन अघि बिदा निस्केपनि आजसम्म कार्यालयमा हाजिर भएका छैनन्।
लामो समय कार्यालय प्रमुख नहुँदा कार्य सम्पादनमा समस्या भएको कर्मचारीहरुले बताएका छन्। प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले मादक पदार्थ सेवन गरेर कार्यालयमा आउनु गलत भएको बताए। उनले तत्कालै निमित्त प्रमुख ठाकुर र कार्यालय प्रमुख जसवालसँग घटनाबारे जानकारी लिए। 'पहिलो पटकलाई कार्यालय प्रमुख आएपछि स्पष्टीकरण सोध्ने भनेको छु, त्यसपछि पनि भएन भने स्वास्थ्य चेकजाँचको प्रक्रिया सुरु हुन्छ', उनले भने।