उपत्यकाभन्दा तराई प्रदूषित !
काठमाडौः वातावरण विभागले मापन गरेको तथ्यांकअनुसार उपत्यकाभन्दा तराई क्षेत्रमा प्रदूषण बढेको छ । तीन महिनायता लगातार चितवन र लुम्बिनीमा राखिएको प्यारोमिटरले नापेको तथ्यांकअनुसार तराई क्षेत्रमा प्रदूषण बढेको वातावरण विभाग सूचना अधिकारी शंकरप्रसाद पौडेलले बताए ।
रत्नपार्क, पुल्चोक र धुलिखेलभन्दा तराई क्षेत्रको प्रदूषण दैनिक बढिरहेको छ । शरीरलाई हानिकारक मानिने २.५ पार्टिकुलेट म्याटरका धुलो फागुन ५ गते लुम्बिनीमा १ सय २५ माइक्रोग्राम मिटरक्यु थियो भने रत्नपार्कमा ८० माइक्रोग्राम मिटरक्यु मात्र थियो । माघ २ गते चितवनमा १ सय ७३ माइक्रोग्राम मिटरक्यु मापन भएको थियो भने रत्नपार्कमा ८२ माइक्रोग्राम मिटरक्यु मात्र थियो । समग्र तथ्यांक हेर्दा तराईमा बढी प्रदूषण हुने गरेको पौडेलको भनाइ छ ।
केन्द्रीय ठाउँ भएकाले प्रदूषणको हल्ला बढी भएको र निर्माणले गर्दा पार्टिकुलेट म्याटर १० का धुलो देखिएको तर समग्र प्रदूषण तराई क्षेत्रमै बढी रहेको उनले बताए । इसिमोडका अरनिकोकुमार पाण्डेले समग्र प्रदूषण तराई क्षेत्रमा बढी देखिकाले यसको कारण र समाधानका उपाय खोज्न थालिएको बताए । तथ्यांक हेर्दा तराई क्षेत्रमा चीन, भारतका विभिन्न क्षेत्रदेखि दूषित वायु आउनाले पनि प्रदूषण बढेको बताए । तराई क्षेत्रमा डढेलो जानु, जथाभावी आगो बाल्नु, खाना पकाउन दाउरा र गुइँठा प्रयोग गर्नु वायु प्रदूषणको मुख्य कारण भएको पाण्डेले बताए ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालको प्रदूषण मापदण्डभन्दा ६ गुणा बढी भएको देखाएको छ । प्रदूषणको मुख्य कारण पिएम २.५ को धुलो, कालो कार्बन, ओजन मुख्य भएको इसिमोडको भनाइ छ । इँटाभट्टा, सिमेन्ट कारखाना, सवारीसाधनको धुवाँ र निर्माणले ल्याएको फोहोर नै प्रदूषणका मुख्य कारक भएको पाण्डेले बताए ।
तथ्यांकअनुसार तराई र उपत्यकामा बिहान र बेलुकी प्रदूषित वायु बढी देखिने गरेको छ । घरायसी धुवाँकै कारण प्रतिवर्ष २२ हजार र बाहिरी धुवाँले ९ हजार जनाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । एसियाली विकास बैंक र इसिमोडको सहयोगमा वातावरण विभागले नौ स्थानमा प्यारोमिटर राखेर वातावरण प्रदूषण मापन गर्दै आएको छ ।