असिना पानीले फलफुल तथा तरकारीमा क्षति
डोटीः लगातार दुई दिनदेखि परिरहेको असिना पानीले ठुलो क्षति पुर्याएको छ । जिल्लाको दक्षिण भेग जोरायल तथा बोकटान क्षेत्रमा बिहीबारदेखि लगातार असिना पानी पर्दा भित्र्याउने तरखरमा रहेको गहुँ बाली तथा फलफुलमा क्षति पुर्याएको हो । शुक्रबार बिहानदेखि जिल्लाको सदरमुकाम सिलगढी लगायत आसपासका क्षेत्रमा समेत भारीमात्रामा असिना पानी परिरहेको छ ।
जिल्लामो करिब १५ हजार हेक्टर जमिनमा लगाइएको गहुँ बाली हालसम्म ३० प्रतिशत मात्र भित्र्याइएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । ‘भित्र्याउन बाँकी रहेको गहुँ तथा जहुँ बालीमा असिना पानीले ठुलो क्षेति पुर्याएको छ ।', जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी डम्बरदत्त भट्टले भने, ‘दुई दिन लगातार परेको असिना पानीले किसानहरुलाई ठुलो मार्कामा पारेको छ ।'
‘गहुँ बालीका साथै फलफुल खेतिमा समेत क्षेति पुर्याएको छ।', भट्टले भने, ‘अहिले आँप लगायतका फलफुलहरु फुल्ने समय हो, यसबेला असिना पर्यो भने फल लाग्न नसक्ने भएकाले फलफुलमा समेत ठुलो असर परेको छ ।' उनले भने, ‘भारी मात्रामा असिना परेकाले तरकारी खेतिमा समेत असर पुर्याएको छ ।'
डोटीमा परेको असिना । असिनाले गहुँ बाली, फलफुल तथा तरकारी खेतिमा ठुलो असर पुर्याएको छ ।