काठमाडौं मलको वुइँगलमा अपुरो 'आन्दोलन'

काठमाडौं मलको वुइँगलमा अपुरो 'आन्दोलन'

सुन्धारास्थित काठमाडौं मलको बुइँगलमा केही व्यक्ति गुपचुप रूपमा आन्दोलनको रूपरेखा बुनिरहेका छन् । रियर राई उर्फ सुदामको कोठामा अरू दुई युवा आन्दोलनको कुरा गरिरहन्छन् ।कुरा हो २०६२÷०६३ को १९ दिने जनआन्दोलनको । त्यही आन्दोलनलाई सम्बोधन गर्दै १० वर्षपछि ठीक त्यही मितिमा १९ दिनसम्म चल्ने गरी नाटक लेखेका छन् कवि, नाटककार सौरभ कार्कीले । नाटकको नाम नै 'आन्दोलन' राखेर सुदाम सिकेले यसको निर्देशन गरेका छन् ।

Pragati-Rai२०७३ चैत्र २४ देखि २०७४ वैशाख ११ सम्म प्रदर्शन गरिने नाटकमा कलाकार रियर राई उर्फ सुदामको अभिनय सबैभन्दा सादा र मनमा बसिरहने खालको छ । उनको कथा एउटा सोझो जनजातिको छ जसलाई कुनै राजनीति गर्नु छैन, सिर्फ कमाउनुछ पढ्नु र प्रेम गर्नुछ । घरबेटी बा इँगिहोपो कोइँच सुनुवार नाटकका बीचबीचमा प्रवेश गर्छन् । कोठामा बढी हल्ला भयो भनी गनगन गर्छन् । घरबाट निकाल्दिने धम्कीसमेत दिन्छन् । उनको नाम अलिक लामै भएर होला नाटकमा पनि घरबेटी भनेर नै बोलाइन्छ ।

चैत्र २४ गते प्रथम प्रदर्शन गरेको नाटकमा करिब दुईसय क्षमता बोकेको हललाई दर्शक धान्न हम्मेहम्मे परेको थियो । दर्शक धान्न नसकेर अगाडि मञ्चछेउमा गुन्द्री ओछ्याएर दर्शक बसेकाले कलाकारलाई खेल्न निकै अप्ठेरो परेको पनि स्पष्ट देखिन्थ्यो ।

कथा मध्यान्तरमै छ । जनआन्दोलनमाथि बनाइएको नाटक 'आन्दोलन'लाई पूर्ण कथा मान्न सकिन्न ।

मञ्चको धिमा प्रकाशमा तास खेलिरहेका घरबेटी बा सुदाम र अर्का एक व्यक्ति संयोग गुरागाईंको उपस्थितिबाट नाटक सुरु हुन्छ । सुरुसुरुमा अलिक आलस्य लाग्ने नाटकले विस्तारै तताउँदै लैजान्छ । तास खेलिन्जेल नै उनीहरूको बातचितले सुदाम राजनीति मत नपाउने, घरबेटी बा राजा भएको मन पराउँने र संयोग चाहिँ आन्दोलनप्रति आशक्ति देखाउने व्यक्ति हो भनी आ-आफ्नो परिचय दिइसकेका हुन्छन् । नाटककै मुख्य नायकको भूमिकामा आफूलाई उभ्याउन संयोग गुरागाईको प्रस्तुति अलि फिल्मी लाग्छ । उनको स्वभाव नाटकतिरभन्दा पनि फिल्मीतिरको हिरोजस्तो देखाउनमा उनी अभ्यस्त देखिन्छ ।

नाटकका उनै मुख्य नायकभन्दा पनि दर्शक चाहिँ सुदामातिरै तानिन्छन् । आन्दोलनमा सहयोग पुर्‍याउने व्यक्ति सिजन दाहाल पनि थपिन्छन् र गाउँबाट आन्दोलन गर्न आएका माओवादीका कार्यकर्ताको रूपमा मिलन कार्की पनि पात्र थपिन्छन् । तर उनको भूमिका गौण देखिन्छ ।

अहिले राजनैतिक विषयमा नाटक बन्नै छाडेको बेला राजनैतिक नाटक बनाउन÷लेख्न सफल भएको खुसी व्यक्त गर्दै 'आन्दोलन'का लेखक सौरभ आफ्ना नाटकका दर्शक हेरेर मक्ख छन् । भन्छन्, 'नाटकहरू सामाजिक जीवनतिर बढी ढल्किन लागे । मानिसले त्यो महान् जनआन्दोलनलाई बिर्सिएका हुनाले मैले आन्दोलन नाटक लेखेको हुँ ।' तर १९ दिने जनआन्दोलन भनिए तापनि नाटकमा आन्दोलनका दिनहरूको कुनै एक दिन देखाइएको हो भन्ने लाग्छ । सिर्फ कलाकार सुदामले आन्दोलन लम्बिएको दिग्दारी पोख्छ ।

नाटकमा कवि श्रवण मुकारुङको 'बिसे नगर्चीको बयान' कविताको स-हरफ पात्रहरूले उतारिबसेकाले पनि यो नाटकले एउटै परिवेशमा धेरै समय व्यथित गरेको छ । यो निर्देशकको कमजोरी देखिन्छ ।नाटकमा भनिएको छ, 'बाहिर आन्दोलन चर्किरहेछ तँ बाहिर ननिस्केर सुतिबस्छस् ।'

 

दुई आन्दोलनकारीले सुदामलाई गाली गर्छन् । साँच्चै नै उनीहरू हात भाँचेर, टाउको फुटाएर कोठामा छिर्दा सुदाम सुतिरहेकै हुन्छ । यी दृश्यले क्रान्तिकारी जनआन्दोलनमा आदिवासी जनजातिको कुनै योगदान छैन, उनीहरू सिर्फ खान र सुत्नमै लिन थिए भन्ने देखाउँछ ।

लेखक सौरभ उमेरले पनि कलिलै छन् तथापि नाटक लेख्ने आँट गरे । भविष्यमा यस्ता त्रुटि सच्चिँदै जालान् । तर, यस्ता कलिला दिमागमा पनि जातीयताको घोर कुण्ठा देख्दा मथिंगल रन्थनिन सक्छ । जवाफमा कार्कीले भन्लान्- त्यताका त्यस्ता व्यक्तिहरू पनि थिए । हो यो मान्न सकिन्छ तर घरबेटी र सुदाम दुवै आन्दोलनको विपक्षमा रहेको देखाउनाले र दुवै जनजाति अनुहार चयन गर्नाले लेखक र निर्देशक माथि चोखो प्रेम गर्न सकिन्न । महिलाको त कुरै नगरौं । आन्दोलनमा एक नारी पात्रलाई सशक्त उभ्याइए पनि उनको कुनै भूमिका छैन । नाटकमा एउटा डायलग छ, 'फलानी खै उता कता पोइला गई अरे, छोरै पाइसकी रे ।' 'आन्दोलन' नाटक हेर्ने दर्शकले प्रत्यक्ष जनआन्दोलन पनि हेरिसकेका हुनाले यस्ता गल्तीबारे निर्देशक, लेखकले राम्ररी सोच्नुपर्ने देखिन्छ ।

कलाकारहरूको जीवन्त अभिनयले भने नाटक हेर्न करै लगाउँछ । कलाकारको अभिनय आन्दोलनमा बेजोड लाग्छ । नाटक सकिए पनि कथा भने मध्यान्तरमै रहन्छ । किनकि जनआन्दोलनले देशमा धेरै परिवर्तन ल्याएको छ । त्यही जनआन्दोलन माथि बनाइएको नाटक 'आन्दोलन'मा भने आन्दोलनरत दुई योद्धा सकिएको मात्रै देखाइएको छ । बाँकी सबै पात्रलाई मलामी पठाएर नाटक सिध्याइएको छ । यसैले नाटक 'आन्दोलन'लाई पूर्ण मान्न सकिन्न ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.