एउटा झोलुंगेपुलले जोडेको नेपाल-भारत सम्बन्ध

एउटा झोलुंगेपुलले जोडेको नेपाल-भारत सम्बन्ध

झुलाघाट नेपाल र भारतको सीमामा पर्ने दुवैतिर समान नाम बोकेको बस्ती हो । यस बस्तीबीच दुई देशको सिमाना छुट्याउँदै महाकाली नदी बगिरहेको छ । वारि-पारिको नाममात्र समान छैन, जीवनशैली र संस्कृति पनि समान छन् । समानताको कारण बिहावारी तथा अन्य आर्थिक कारोबार आज पनि कायमै छ । सांस्कृतिक तथा आर्थिक कारोबारलाई आजसम्म जोडिराख्ने काम करिब डेढ सय वर्षअगाडि इस्ट इन्डिया कम्पनीले निर्माण गरेको झोलुंगेपुलले गरिरहेको छ ।

Bhanu-Bokhimबैतडी जिल्लामा रहेको झुलाघाटको झोलुंगेपुल सुदूरपश्चिमका पहाडी भेगमा बसोबास गर्नेहरूलाई भारत जाने बाटो हो । तर, विगतमा सुदूरपश्चिमवासी आफ्नै देशको राजधानी काठमाडौं पनि यही बाटो भएर आउँथे । सुदूरपश्चिमवासीलाई सीधै काठमाडौं आउने बाटो थिएन । हिँडेर आउन धेरै समय लाग्थ्यो । तसर्थ उनीहरू झुलाघाटको झोलुंगेपुल तर्थे अनि पिथौरागढ, बनवासा हुँदै पुनः नेपाल प्रवेश गर्थे ।
बैतडीको सदरमुकाम गोठालापानीमा होटेल व्यवसाय गर्ने वासुदेव भट्टले पनि यही पुलबाट धेरैपटक वारि-पारि गरे । '२०४३ सालतिर । जवान छँदा आफ्नै देशको राजधानी घुम्न मन लाग्यो', भट्टले पुराना दिन सम्झे, 'झुलाघाट, वनवासा, हुँदै गोरखपुर निस्केर काठमाडौं पुगेँ ।'

त्यसबेला देश घुम्न अति रहर भएका वा कुनै काम विशेषले बाध्य भएकाहरू मात्रै काठमाडौं आउँथे । सामान्य रहर भएकालाई काठमाडौं आउन सजिलो थिएन । भारतको बाटो हुँदै हिँड्दा कुनैबेला अनाहकमा भारतीय प्रहरी प्रशासनले दुःख दिन्थ्यो । कति भारतीयले अर्को देशको नागरिक भनेर हेप्थे ।
'आजकल त त्यस्तो समस्या छैन काठमाडौं वा पूर्व जान', भट्टले बाटो बन्दाको खुसी सुनाए, 'ढुक्कसँग हिँड्न पाइन्छ, आफ्नो देश भनेको आफ्नै रहेछ ।'

डेढ शताब्दी पुरानो झोलुंगेपुल दुई देशको संस्कृति जोड्ने सेतुमात्र होइन, जीवनलाई चलायमान राख्ने माध्यम पनि हो । यो पुल तरेर सुदूरपश्चिमका कति मानिस आज पनि रोजगारीको लागि भारततिर जान्छन् ।

देशको महत्व एकातिर छ । तर, सीमापारिसँग जोडिएको सांस्कृतिक र आर्थिक पक्षको महत्व आफ्नै खालको छ । वारिपारिको सांस्कृतिक एकता तथा आर्थिक कारोबारकै कारण झुलाघाटको झोलुंगेपुलको महत्व आज पनि उत्तिकै छ । विगतको तुलनामा झुलाघाटको पुल प्रयोग गर्नेको संख्या घटेको छ तर, महाकाली आसपासकाले भने यो पुलमाथि हिँड्न छोडेका छैनन् । वारिपारिकाहरूको नेपाली, को भारतीय भनेर छुट्टिँदैन । भलै उनीहरूको राजनैतिक राष्ट्रियता फरक-फरक हो । नेपालतिर बैतडेली र पारि कुमाउनी भाषा बोलिन्छ । तर, नाम फरक भए पनि यी भाषामा धेरै समानता छन् । लगभग यी दुवै भाषा उस्ताउस्तै रहेको भेटिन्छ । वारिपारिका कति सांस्कृतिक र धार्मिक मेला पर्व पनि समान छन् । तसर्थ वारिको मेलापर्वमा पारिकाहरू आउने र पारिको मेलामा वारिकाहरू जाने, रमाइलो गर्ने कार्य आज पनि यथावत् छ ।

 

सांस्कृतिक समानता तथा रोटीबेटीको सम्बन्धको कारण नै वासुदेव भट्टको ससुराली महाकाली पारि बन्न पुग्यो । उनको यो सम्बन्ध जोड्न वारिपारिबीच वर्षौंदेखि चल्दै आएको सांस्कृतिक सम्बन्धले भूमिका खेल्यो । कुनै समय बैतडीबाट भट्टका फुपू विवाह गरेर महाकाली पारी गएकी थिइन् । पछि उनै फुपूले भदा वासुदेवको लागि दुलही खोजिदिए । यही कारण उनको ससुराली महाकाली पारि भयो । आज पनि वारिपारि बिहावारी गर्ने प्रचलन कायम छ ।

झुलाघाटको जुन ठाउँमा झोलुंगे टाँगिएको छ, त्यसले डेढ शताब्दी पुरानो प्रविधिको सीमालाई सम्झाउँछ । निश्चय नै त्यो समय आजको जस्तो अत्याधुनिक प्रविधि थिएन । तसर्थ कम लट्ठा खर्च हुने नदीको भौगोलिक वनावटलाई रोज्नुपर्थ्यो । यस्तै सहजताको अध्ययन र रोजाइ हो झोलुंगेपुल निर्माण भएको स्थान । यो नदीको चौडा कम भएको ठाउँमा पर्छ ।

पुलको बीचभागबाट सीधा तल हेर्दा नदीको दुवै किनारबाट नदीको बीच चोसो परेर आएको चट्टान देखिन्छ । यो ठाउँमा पानी बग्ने नदीको भाग अति नै कम छ । यही कारण नदीको वारिपारिको दुई डिलबीचको चौडा पनि कम छ, जहाँ झोलुंगेपुल निर्माण गर्नका लागि सजिलो र कम लागत परेको थियो भन्ने अनुमान गर्न सकिन्छ । आजभन्दा डेढ सय वर्षअघि यही सहजता हेरेर यहाँ पुल निर्माण गरिएको हुन सक्छ ।

अहिले पनि पुल माथि हेरेर तलतिर नियाल्यो भने साँघुरो खोँचबाट पानी प्रवाह भइरहेको देखिन्छ । झुलाघाटमा यस ठाउँको बारेमा झोलुंगेपुल बन्नुअघिका किस्सा सुनिन्छ । पुल बन्नुअघि पनि मानिसहरूलाई वारि-पारि गर्नुपर्थ्यो । तर, वारि-पारि गर्ने काम बर्खामासमा भने पानीको चाप बढी हुने भएकोले सम्भव हुन्थेन । हिउँदमा भने कम चौडा भएको नदीको दुई किनारको चट्टानमा मानिसले काठको तक्ता वा काठ राख्थे । अनि अस्थायी पुल बनाएर वारिपारि गर्थे । चौडा भएको यही ठाउँमा पुल निर्माण गर्नु त्यो बेलाको प्रविधिलाई कम चुनौती पर्न जान्थ्यो । तर, यी कुरा त्यहाँ भेटिनेहरूको अनुमान र विश्लेषण हुन् । यी कुरा सम्पूर्ण रूपमा सही नहुन सक्छ तर पूर्णरूपले गलत सावित हुने ठाउँ पनि देखिँदैन ।

आजका दिनमा, डेढ शताब्दी पुरानो झोलुंगेपुल संस्कृति जोड्ने सेतुमात्र होइन, जीवनलाई चलायमान राख्ने माध्यम पनि हो । यो पुल तरेर सुदूरपश्चिमका कति मानिस आज पनि रोजगारीको लागि भारततिर जान्छन् । भारतको अन्य भू-भागमा गएर काम गर्नु त छँदैछ । भारतपट्टिको झुलाघाटमै भरियाको रूपमा काम गर्ने नेपालीहरू नै धेरै भेटिन्छन् ।

हातमा नाम्लो र ढाँडमा जुटको बोरा खापेर हिँडिरहेका अधिकांश भरियाहरू नेपाली नै हुन् । नाम्लो भारी बोक्नलाई हो भने, जुटको बोरा सामान बोक्दा शरीरमा फोहोर नलागोस् भन्ने हिसाबले प्रयोग गरिने कवच हो । करिब ५० जना जतिले यहाँ भारी बोकेर आफ्नो जीवन चलाउँछन् । नन्दराम पन्त पनि यिनै भरियामध्ये एक हुन् । झुलाघाटबाट उनको घर भएको पुवाकोट पुग्न एकदिन लाग्छ । तर उनी प्रायजसो झुलाघाटमै हुन्छन् ।'एकपल्ट भारी पार गराएको ६० रुपे जति हुन्छ,', नन्दराम पन्त भन्छन्, 'दिनमा त्यस्तै चार, पाँच सय कमाइन्छ ।'

नन्दरामजस्ता भरियाका लागि यो झोलुंगेपुल परिवार पाल्ने र आफू पनि पालिने आयस्रोतको बाटो हो । उनीहरू भारी बोकेर जति धेरै यो पुल तर्न पाउँछन्, उति धेरै खुसी हुन्छन् । नन्दरामजस्ता भरिया तथा अन्य आगन्तुकको लागि चिया र नास्ता खाने थलो बनेको छ देवकी नन्दनको चियाउर्फ किराना पसल । उनी भारतीय हुन् । व्यापार व्यवसायको उद्देश्यले महाकाली किनारमा पसले खोलेको बर्षौं भइसक्यो । उनी भारतपट्टि झुलाघाटमै पसल चलाउँछन् । तर उनको नेपालीसँग यति धेरै कारोबार गरेकी, आज उनी भारतको भूमिमा बसेर नेपाली फरर बोल्छन् ।

दिनको समयमात्र आवत्जावत गर्न पाइने यो पुलको रेखदेख भारततिर 'सीमा सुरक्षा बल' र नेपालबाट नेपाल प्रहरीले गर्छन् । भारततिर कडिकडाउ अलि बढी देखिन्छ । उताबाट क्यामराले पुलको दृश्य खिच्न पाइँदैन । सायद सुरक्षाको दृष्टिले हुन सक्छ । किन भनेर सोध्दा चित्तबुझ्दो जवाफ पाइएन । फेसबुकमा अपलोड बनाएर भाइरल बनाउँछन् भन्ने जवाफ आयो । नेपालको तर्फबाट भने पुलको दृश्य खिच्न कडाइ गरिँदैन । बरु रोजगारीको लागि भारततिर लागेका आफ्नै नागरिकको सामान तथा झोला चाहिँ कडाइका साथ जाँच गरिन्छ ।

'नजानेर पनि पारी बन्देज भएको समान लग्न सक्छन्', छिमेकी देश हिँडेका आफ्नै नागरिकको जाँच गर्नुको कारण बताउँछन् प्रहरी जवानशमशेर साह । भन्छन्, 'अर्काको देसमा फसेपछि त सकियो, अञ्जानमा गल्ती भयो भनेर छोड्दैन ।'

अञ्जानमा गरेको गल्तीले विदेशी भूमिमा आफ्ना नागरिकले दुःख नपाऊन् भन्ने धेय नेपाल प्रहरीले देखिन्छ । झुलाघाटको पुल तरेर भारततिर जाने कति लक्का जवानको टोली हुन्छ । कति बालबालिकासहित सपरिवार हिँडेका हुन्छन् । उनीहरूको अनुहार र कपडामा गरिबी पढ्न सकिन्छ । उनीहरूको लागि यो डेढ शताब्दी पुरानो झोलुंगेपुल पुलमात्र हैन । जीवनयापनको गन्तब्य पुयाउने सेतु पनि हो । यहाँको बासिन्दाले भने बदलिँदो परिवेशमा महाकालीमाथि अत्याधुनिक र भरपर्दो पक्की पुलको चाहना राखेका छन्।

नेपालतिरको झुलाघाटमा भेटिएकी मधु गुरुङ पक्की पुलको आवश्यकता टड्कारो रहेको सुनाउँछिन् । उनको विचारमा पक्की पुलले वारिपारिको सांस्कृतिक सम्बन्ध र आर्थिक कारोबारलाई अझ मजबुत बनाउनेछ ।

'पारि गएर जर्सी गाई किनेर ल्याएकी', उनले पक्की पुल नहँदाको पीडा सुनाइन्, 'नहिँडेर बिजोग, पक्की पुल भएको भए त पारिबाट वारि घरसम्म गाडीमै राखेर ल्याउँथे ।'उनले अघिल्लो दिन भारततिरको गाउँमा जर्सी गाई किनेकी थिइन् । किनेको ठाउँबाट भारततिरको झुलाघाटसम्म गाडीमा ल्याइन् । हिजो नै गाईलाई घर पुर्‍याउने उद्देश्य थियो । तर झोलुंगो तारेपछि उकालोमा जर्सी गाई हिँड्न सकेन । पूरै दिन बित्दा पनि सय मिटरको दूरी पार गरिन् गाईले ।

मधु गुरुङजस्तै झुलाघाटको महाकाली माथि पक्की पुलको आवश्यकता औंल्याउने धेरै छन् । अंग्रेजको पालाको झोलुंगेपुल जीर्ण र कमजोर बन्दै गएकोले पनि वैकल्पिक पुलको आवश्यकता देखिन्छ । विकल्पका रूपमा समय सुहाउँदो भनेको मोटरेबल पुल नै हो । तर अफसोच करिब दुई दशकदेखि पुल निर्माणको कुरामात्र उठ्ने गरेको छ ।

किन बनेन यस्तो महत्वपूर्ण ठाउँमा यत्तिका समयसम्म पुल ? चासो धेरैलाई छ । तर, चासो मेटाउने ठोस जवाफ छैन । सबैका आ—आफ्नै अनुमान र तर्क छन् । यहाँ कार्यरत प्रहरी जवान मदन जोशीको पनि आफ्नै विश्लेषण छ । उनको विश्लेषणले त यो ठाउँमा पक्की पुल नबन्ने ठोकुवा नै गर्छ ।
'किन बन्दैन त पुल ? ' स्वाभाविक सवाल छ ।

'किनकि पञ्चेश्वर हाइड्रोको ड्यामले यो भाग पूरै डुबाउँछ', जोशीको सटिक जवाफ छ ।भविष्यमा गएर पानीमुनि डुब्ने पुल त किन बनाउनुपर्‍यो ? बनाउनु भनेको बालुवामा पानी खन्याउनुसरह हो । यद्यपि पञ्चेश्वरले यो स्थानलाई डुबाउँछ कि डुबाउँदैन भन्ने अध्ययनकै विषय हो । तर, दुई दशकदेखि पक्की पुलको चर्चा सुनिरहेको झुलाघाटले आफ्नो सांस्कृतिक तथा आर्थिक सम्बन्ध उही डेढ शताब्दी पुरानो झोलुंगेपुलमार्फत जोडिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.