यस्तो थियो २०१५ सालमा आमचुनावको रौनक
विसं २०१५ सालको 'आमचुनाव'मा भोट खसाल्न पाउने मानिसको न्यूनतम उमेर २१ वर्ष कायम गरिएको थियो । त्यसबखत २१ वर्ष पुगेर भोट खसाल्ने मानिस आज करिब ८० वर्ष पुगेको छ । त्यो अनुभव र यो उमेर लिएर बाँचेकाहरूको संख्या अब धेरै छैन । देशको इतिहासमै पहिलोपटक भएको आमचुनाव २०१५ साल फागुन ७ गतेबाट सुरु भएर २०१६ साल वैशाख २८ गते समाप्त भएको थियो।
त्यसबखत भएको निर्वाचनप्रति आममानिसमा अभूतपूर्व उत्साह थियो । पंक्तिकारको उमेर भोट खसाल्न पाउने थिएन । तर, अनौठो कुरा के थियो भने पंक्तिकार र ८० नाघेका हजुरबाको उत्साह बराबरी थियो । हालको खोटेहाङ (खोटाङ जिल्लाको) गाउँ पालिकामा राणाकै समयमा निर्मित एउटा टुँडिखेल छ । आमनिर्वाचन हुनअघि मतदाता शिक्षाका लागि सो टुँडिखेलमा 'नक्कली चुनाव'को आयोजना गरिएको थियो।
यद्यपि 'मतदाता शिक्षा' भनिएको थिएन । केवल नक्कली चुनावमात्र भनिएको थियो । त्यसबखत निर्वाचन नभनेर (ऐनमा समेत) 'चुनाव' भनिन्थ्यो सबैतिर । 'चुनाव कस्तो हुन्छ' भनेर हेर्नको लागि पनि चारैतर्फबाट मानिस ओइरिएका थिए । अहिले कायम भएको खोटेहाङ गाउँ पालिकाभित्र परेका आठैवटा गाविसका मानिस प्रायः भेला भएका थिए । टुँडिखेल र त्यसवरिपरि कुनै पनि स्थान खाली थिएनन् । मानिसले खचाखच भरिएका थिए ।
पोलिङ बुथ सक्कलीजस्तै ठिक्क दुरुस्त बनाइएको थियो, टुँडिखेलको एउटा छेउमा । पोलिङ एजेन्ट, मतपत्र, छाप, मतदाताका औंलामा लगाउने चिन्ह, डोरीको घेरा, चुनाव चिन्ह टाँसिएका मतपेटिका आदि सबै ठीकठाक थिए । मतपत्र खसाल्ने ठाउँलाई बाहिरबाट कसैले नदेख्ने बनाइएको थियो । चारैतिरबाट मानिसहरू पंक्तिबद्ध भएर उभिएका थिए । पुलिस वा कुनै किसिमको सुरक्षा थिएन । मतदाता नामावली लिएर नाम रुजु गर्न बसेका थिए तत्कालीन अदालतका विचारी हरिवीर । ती बढो झिल्के र रौसे थिए ।
यसैकारण पनि त्यो भेगका सबैले उनलाई झिल्के विचारी भनी चिन्ने गर्थे । यत्तिकैमा मलाया भर्तीबाट भर्खर छुट्टीमा निस्केको, टाई र सुट लगाएको एउटा लाहुरे हरिवीरका अगाडि पुग्यो । 'कति वर्षका भयौ ? ' भनेर बडो सानका साथ सोधे विचारीले । 'बीस वर्ष', साँचो जे हो लाहुरेले त्यही भने । 'लौ ! लाहुरे भाइ तिमीले भोट हाल्न पाउँदैनैाँ' भनी फर्काईदिए । नजिकै बसेका मेरा हजुरबाले भने, 'यही हो, विदेश गएपछि हाम्रो यहाँको बाठो पनि लाटो हुन्छ भनेको, त्यहाँ पुगेपछि उमेर एक्काइस वर्ष भन्नु पर्दैनथ्यो, त्यति राम्रो देखिने लाहुरेले ? '
मेरो हजुरबामा त्यसबखत निर्वाचनको विषयमा जुन उत्साह थियो त्यो आज ममा छैन । निर्वाचन आज पनि मेरो अगाडि छ ।
मेरो हजुरबामा त्योबखत निर्वाचनको विषयमा जुन उत्साह थियो त्यो आज ममा छैन । तर, निर्वाचन आज पनि मेरो अगाडि छ । स्थानीय तहको निर्वाचन हुँदैछ, बीस वर्ष पछि । मलाई यतिखेर दल र उम्मेदवार छान्नु परेको छ । निर्वाचनमा कसैले भाग लिँदैन भने किन लिइरहेको छैन ? त्यो जान्नु परेको छ । सबैले मिलेर वा मिलाएर गाउँ वा नगरको विकास गर्ने उम्मेदवारको चिन्हमा छाप हान्नु परेको छ । लेनिनले भनेको कुरा मिलेको देख्तै छु म यतिखेर ।
राणाशाहीजस्तो सामन्तशाहीलाई अन्तिम रूपमा बिदा गर्न सबै किसिमका मानिस एकैपटक राजनीतिमा आउने कारणले गर्दा खोटेहाङ गाउँ पालिकाको त्यो टुँडिखेल भरिएको रहेछ २०१५ सालमा । शिशु पुँजीवाद भए पनि आजको नेपालमा आएको छ । त्यसको धर्म पालना गर्नुपर्दा हामी आज फोरिएका छौं । एकै ठाउँमा उभिनै सक्तैनौं । २०१५ सालमा जस्तो शताब्दीको शत्रु फाल्नु परेको छैन आज । बरु शिशु पुँजीवाद पाल्न कर लागेकाले आ-आफ्ना स्वार्थमा विभाजित छौं ।
शिशु पुँजीवादको बिउ त्यसै निर्वाचनभित्र रोपिँदै गरेको पनि रहेछ । गाउँघरका केही चतुरा मानिस निर्वाचनलाई अलिक अर्कै किसिमले अथवा आर्थिक ढंगले पनि हेर्दै थिए । 'कतैबाट पैसा पनि पाइन्छ कि' भत्रे सुरमा पनि थिए । तर निर्वाचन प्रचारप्रसारले युग बदल्न खोजेको जस्तो लाग्थ्यो । 'एक सय चार वर्ष देशको खुन खाको, पल्किएर फेरि पनि भोट माग्न आको', 'भोट दिनु हाम्रो हो दरकार, बनाउँ अब .....को सरकार' जस्ता चोटिला गीतहरूले मानिसलाई त्यसै त्यसै निरंकुश सामन्तशाहीप्रति तीव्र घृणा जगाइदिन्थ्यो । आजभन्दा झन्डै ६० वर्ष पहिलाको त्यो निर्वाचनले गाउँमा जीवन भरिदिएको थियो । बीपी कोइराला र टंकप्रसाद आचार्यका खाइलाग्दा तस्बिरहरू भएका पोस्टर गाउँभित्र छिरेका थिए । पोस्टरका ती तस्बिर हेरेरै मानिसहरू लठ्ठ थिए।
खोटाङ जिल्लाको त्यो क्षेत्र आज 'खोटेहाङ गाउँपालिका' भएको छ । यो गाउँ पूर्ण स्वायत्त शासनयुक्त त आज पनि भएको छैन । तर, यो स्वायत्त शासनतर्फको बाटो लागेजस्तो भएको छ । यो ठाउँको नाम 'खोटाङ' थियो । यो 'खोटाङ' नाम नै कसरी रहेको थियो ? कसैलाई चासो थिएन । तर, आजका त्यहाँका मानिसले यस ठाउँको नाम 'खोटेहाङ' राखेर यसको प्राचीन पहिचानको झ्यालसम्म खोले । यसरी यो स्थान आज स्वायत्त शासनको नजिक पुग्दैछ भन्दा फरक नपर्ला । तत्कालीन निर्वाचन क्षेत्र नं. २० भोजपुर दक्षिणमा पर्थ्यो यो गाउँपालिका । चुनावको तस्बिर र प्रचारको शैली यो ६० वर्षको अन्तरालमा धेरै बदलिएको छ ।
घरघरमा पुगेर, व्यक्तिव्यक्तिलाई भेटेर र कानेखुसी गरेर भोट मागिँदैनथ्यो त्यसबखत । मधेसबाट मट्टीतेल भरिएर गएका धुवाँमा राखेर काला भएका टिन काटेर बनाइएका मुखे ढ्वाङ् (मुख लगाएरै कराउनुपर्ने) बाट डाँडामा गएर कराएर भोट मागिन्थ्यो । डाँडाको त्यो आवाज सुनेपछि घरभित्रका मानिसहरू पनि बाहिर आएर सो डाँडातर्फ फर्केर सुन्ने गर्थे । त्यसको स्थान आज 'डिजिटल' युगले लिएको छ । विभिन्न किसिमका सामाजिक सञ्जालमार्फ आज भोटमात्र मागिँदैन विद्रोहको लागि आह्वानसमेत गरिन्छ ।
दुई-तीन वर्षमात्र अगाडिको कुरा हो- अरब देशहरूतर्फ यस्को ठूलो तहल्का थियो । आज हाम्रोमा पनि निर्वाचन प्रचार मोबाइलबाट भइरहेको छ । रोजगारीका लागि कतार पुगेका युवकले घरका सबैलाई पालैपालो मोबाइलमा सम्पर्क गरेर 'रेमिटेन्स' पठाएको खबरमात्र भन्दैनन् साथै स्थानीय सरकार बनाउन निर्देश पनि गर्छन् ।
हालको खोटेहाङभित्र पनि थुप्रै पोलिङ बुथ थिए । सिम्पानी, इन्दे्रनीपोखरी, खोटाङबजार, बडकादियाले अनि सोभन्दा पूर्व पनि । सुरक्षाको कुनै खास ठूलो आवश्यकता थिएन । गोरुगाढामा पैसा बोकाएर एउटा बैंकबाट अर्को बैंकमा पुर्याउन लगिन्थ्यो, तराई मधेसमा । सीमाछेउको मधेसमा त यस्तो थियो भने पहाडमा त झन् असुरक्षाको डरै थिएन । पोलिङमा आएका कर्मचारीले एउटा लाहाछाप मतपेटिकामा हानेपछि बदमासी गर्नेहरूका दिमागमा पनि 'अब केही गर्नु हुँदैन' भन्ने लाहाछाप लागेसरह हुन्थ्यो । मतपत्रमा छाप हान्न नजानेर कतिपय मतदाताले मतपत्रमै ल्याप्चे पनि लगाएर बाहिर निस्कने चलन त हिजोअस्तिको पञ्चायतकालसम्म पनि थियो । त्यसबखत कतिपय मतदाताले एकजनालाई मात्र मत दिँदा अरू रिसाउने त्रासले पाएको मतपत्र च्यातेर सानासाना टुक्रा सबै मतपेटिकामा पनि हालिदिए ।
त्यस युगमा समाजको सबै क्षेत्रलाई कांग्रेसले 'लिड' गरेको थियो । क्रान्तिको समयमा कुनै न कुनै किसिमले राणाको पक्षपोषण गर्नेलाई कांग्रेसले निर्वाचनमा उम्मेदवारीको लागि टिकट दिएको थिएन । यस्ता मानिसहरू कांग्रेसको विरोध गर्दै स्वतन्त्र भएर निर्वाचनमा उठेका थिए । त्यस बखतको स्वतन्त्र उम्मेदवार भनेको कांग्रेसको विरोधमा उठेको उम्मेदवार थियो । यसै भित्री कुरालाई महेन्द्रले हतियार बनाएर २०१७ सालको 'कु' सफल पारेका थिए । पछि तिनै स्वतन्त्रहरू पञ्चायतका हस्ती बन्दै निस्किएका थिए । ती हस्तीहरूले देशलाई ३० वर्षसम्म निरंकुशताको बन्दी बनाइदिए । तर शक्ति विकेन्द्रीकरणको नाम लिन यिनीहरूले पनि छाडेका थिएनन् । त्यसैकारण 'प्रजातन्त्रको जग तलैबाट उठाउनका लागि' गाउँ पञ्चायतलाई शक्तिशाली बनाउने नारा दिन्थे ।
यथार्थमा शक्तिशाली गाउँ पञ्चायत होइन त्यसभित्रको प्रधानपञ्च हुने गर्थ्यो । कारण विकास निर्माणका ठूला आयोजना माथिमाथि नै बन्ने र सफल हुने गर्थे । गाउँमा त्यस्ता सानासाना आयोजनामात्र आउँथे जो प्रधानपञ्चको गोजीमा अटाउँथे । ९ वडाका ९ जना लाउकेले छानेको प्रधानपञ्चले 'प्रजातन्त्रको जगलाई' धेरै वर्ष मर्मत गरिरह्यो । अन्त्यमा २०४६ सालको शहादतले पनि निरंकुशताको प्रतीक 'पञ्चायत' शब्द हटेर जिल्ला विकास समिति र गाउँ विकास समितिले पनि कथित प्रजतन्त्रकै जग उठाइरह्यो ।
२० वर्षपछि हुन लागेको यो स्थानीय निर्वाचनमा र करिब ६० वर्षपहिले भएको आमनिर्वाचनको उत्साह एकैनासको देखिएको छ । यस्तो हुनुमा विविध कारणहरू हुन सक्छन् । ६ दशकअघि र पछि समाजमा देखिएको उत्साह किन र कसरी उस्तै छ ? यो एउटा छानबिनको विषय पनि हो । यस्ता कुराको छानबिन, लेनिनका अनुसार 'एउटा निश्चित ऐतिहासिक सीमाभित्र राखेर गरिनुपर्छ ।' हाम्रो ऐतिहासिक सीमा के हो ? २०१५ सालको आमनिर्वाचनको परिणामले खोजेको परिवर्तनलाई कसले रोक्यो ? राजतन्त्रले । उत्तर खोज्न सजिलै छ । तर, २००३ सालदेखि २०१७ सालसम्म राजनैतिक रूपमा गठन भएका विभिन्न दल कसरी अल्मलिए ? यसको उत्तर झन्झन् जटिल हुँदै आएको रहेछ भन्ने कुरा आजको उत्साहले प्रमाणित गरेको छ । सायद हाम्रा ऐतिहासिक सीमा यिनै हुन् कि ? !