रिमालः एउटा हुरी चरो
जुन व्यक्तिको शब्दचित्र कोर्ने जमर्को यहाँ गरिँदै छ ऊ एक्लो व्यक्ति होइन । ऊ त हाम्रो राष्ट्रिय जीवनको एउटा कालखण्डमा सयौं राजनीतिक कार्यकर्ताहरूलाई परिचालन गरी हजारौं नरनारीलाई आफ्नो हक प्राप्त गर्न सडकमा उतार्न सक्ने अभियन्ता हो । साथै, आफ्नो विचार तथा लेखनीबाट आजको पुस्तालाई पनि प्रेरणा दिने जीवन्त स्रोत हो ।
जसले उनीसँग साहित्यिक वा राजनीतिक सहकार्य गरे उनीहरूको त कुरै छाडौं र उनका यशस्वी कर्मको यशोगान सुनेको मानिससम्म पनि उनको प्रभावबाट अछूतो रहन सक्तैन । कोबिटा रङको वा सेतो मयलपोस सुरुवालमाथि कश्मीराको कोट र शिरमा अलि ढल्के पाराको बुनेको कालो टोपीले शोभायमान उनकोको चेहरा मानवीयताले ओतप्रोत देखिन्थ्यो नै । साथै, उनका दुवै नेत्रहरूमा आफ्नो अभीष्ट परिवर्तनको ज्युँदोजाग्दो आकांक्षा पनि झझल्किन्थ्यो । काठमाडौं लगनटोलको घरबाट नयाँ सडकसम्म त्यही पहिरनमा २००३ साल र २००५ सालतिर हिँड्दा होस् वा २००७ सालको क्रान्तिपछि कलर फर्केको ओभरकोट लगाएर होस् आफ्नो लोकप्रिय कविता ‘रातो र चन्द्र सूर्य...' को
हरफहरू नै गुन्गुनाए जस्तो गरी ओठ चलाई लमकलमक हिँडेर टुँडिखेल घुम्न जाँदा उनको पदचापलाई धरतीमाताले पनि अनुभूत नगरिरहन सक्तिन थिइन् होली । निरंकुश राणाशासनविरुद्ध नेपाल प्रजा परिषद्का नेताहरूले १९९७ सालमा पर्चाहरू छरेर नागरिक अधिकार आन्दोलनको जुन यज्ञ प्रारम्भ गरेका थिए त्यसको वेदीमा चारजना सपुतले आफ्नो जीवनकोे बलिदान दिएर अमरत्व हासिल गरे । त्यससँगै प्रजापरिषद्का सम्पूर्ण नेता र सयौं राजनीतिक कार्यकर्ताहरूले कठोर जेल सजाय भोगे । त्यही यज्ञको अग्निलाई निभ्न नदिन पहिला त राष्ट्रदेव श्रीपशुपतिनाथसमक्ष रिमालले आफ्नो सपनालाई कवितामा यसरी राखेका थिएः
‘म गर्छु देशसेवा बल देऊ लौ मलाई
मबाट होस् सबैको आनन्द औ भलाई'
अनि त्यसपछि उनैकी शक्तिस्वरूपा जगज्जननी शोभाभगवतीसमक्ष यसरीः
‘बखत भयो अब यही छ बेला
नजर उघारी हेरिदेऊ ।
यो दिलबाट तमस हटाई
उज्यालो आभा फैलाइदेऊ ।
के हाल हाम्रो कुन दशा छ
बस् एकचोटि हेरिदेऊ
हे देवी दुर्गे जगत्की आमा
पुकार हाम्रो सुनिदेऊ ।'
यसरी क्रान्तिको अग्निलाई फुक्दैफुक्दै धपक्क बाल्न सघाउने राजनीतिक अभियन्तानै २८ वर्षीय विद्रोही कवि गोपालप्रसाद रिमाल हुन् ।
नजिकैको गुह्येश्वरी मन्दिर नरोजेर शोभाभगवती स्थान रोजिनाको पछाडि दुइटा मुख्य कारण देख्दछन्- रिमालका त्यतिबेलाका एक निकटतम् राजनीतिक सहयोगी नूतन थपलिया । पहिला त, सो स्थान १९९७ सालको आन्दोलन दबाइएपछि फेरि पलाउन थालेको राजनीतिक जागरणको थलो रहेका असन र क्षेत्रपाटी नजिकै पर्दथ्यो । त्यही क्षेत्रभित्रको शान्ति निकुञ्ज स्कुलका प्रायः सबैजसो शिक्षकहरू राणाशासन विरोधी राजनीतिमा संलग्न भइसकेका थिए । दोस्रो कारण, शोभाभगवती स्थान परमवीर सहिदद्वय दशरथचन्द र गंगालालको पावन रक्तले सिञ्चित स्थल थियो । यसरी प्रार्थनापछि रिमालले नै भाषण गर्दा उपस्थित जनसमूहलाई ‘जय नेपाल' भनेर पहिलोचोटि अभिवादन गरेका हुन् । साथै ‘इन्क्लाब जिन्दावाद, प्रजातन्त्र जिन्दावाद !' का नाराको गुञ्जन पनि त्यहीँबाट भएको हो ।
राजनीतिक चिन्तकको रूपमा टंकप्रसाद आचार्यपछि उल्लेखनीय रहेका रिमाल आफ्नो छोटो राजनीतिक जीवनमै विश्वेश्वरप्रसाद कोइराला बराबरीको हैसियत राख्दथे भने आफ्ना समकालिकहरूमा उनी एक अंग्रेजी आख्यानसरह ‘फस्र्ट एमोंग द इक्वेल्स' थिए ।
‘यसरी नेपाली जनताले आपसमा अभिवादन गर्दा जय नेपाल भन्ने प्रचलन यसै प्रार्थनादेखि चलेको हो ।' (गोविन्दप्रसाद उपाध्याय, नेपालको प्रजातान्त्रिक इतिहास-सन्दर्भ, पृष्ठ ११७) । ‘जय नेपाल'को सम्बोधनलाई २००३ सालमा जत्तिकै पावन र क्रान्तिकारी बनाउनु आजको पुस्ताको राष्ट्रिय कर्तव्य हो । त्यो बेलाको प्रार्थना अनुष्ठान एउटा योजनाबद्ध राजनीतिक अभियान थियो । त्यसलाई संगठित रूप दिने अग्रसरता पनि रिमालले नै लिएका हुन् । राजनीतिक चिन्तकको रूपमा टंकप्रसाद आचार्यपछि उल्लेखनीय रहेका रिमाल आफ्नो छोटो राजनीतिक जीवनमै विश्वेश्वरप्रसाद कोइराला बराबरीको हैसियत राख्दथे भने आफ्ना समकालिकहरूमा उनी एक अंग्रेजी आख्यानसरह ‘फस्र्ट एमोंग द इक्वेल्स' थिए । (द्रष्टव्यः ‘१९९७ देखि २०१७ साल- एक अवलोकन', अरविन्द रिमाल, पृष्ठ ४६-५७, २०६२)
‘नेपाल नेसनल लिग' नामको संगठन खोल्न कमान्डर इन् चिफ मोहनशमशेर र उनका छोरा जनरल विजयशमशेरसँग उनले छलफल गरेका थिए भनी भुवनलाल प्रधानले .‘असँ' पुस्तकमा लेखेका छन् । तर उनीहरूको स्वीकृति नपाएपछि उनले अन्य साथीहरूसँग मिलेर सोही लिगअन्तर्गत तत्कालीन अछूत जातिहरूसँग पानी चलाउने, नेवार-मधेसीलाई सैनिक सेवामा लिने, देशभित्र आवत्जावत गर्न राहदानी नचाहिने गर्ने, राष्ट्रिय झन्डाको सार्वजनिक प्रयोग गर्न पाउने आदि माग राख्दै २००३ साल फागुनदेखि प्रार्थना सभाहरू चलाए । यसरी राणाशासनलाई ठाडो चुनौती दिएको ठानेर मोहनशमशेरको आदेशमा प्रार्थनास्थलबाट गोपालप्रसाद रिमाल, दमनराज तुलाधर, कृष्णप्रसाद रिमाल, पुष्पलाल श्रेष्ठ, तीर्थराज तुलाधर, जयन्द्र थपलिया आदिलाई समातेर उनको फौजी गारदमा एक वर्षसम्म थुनामा राखियो ।
यस्ता कवि जसका कविताको एकएक शब्दमा संघर्ष र विद्रोहको झिल्को झल्कन्थ्यो उनलाई पनि मोहनशमशेरका ‘भित्रिया मानिस' भनेर त्यतिबेलाका कसैकसैले लाञ्छना लगाएका थिए । अन्तर्मुखी स्वभावका मानिएका रिमालले झ्यालखाना एक वर्ष पर्दा २००२ सालमा तयार भएका आफ्ना दुई पूर्णांकी नाटकहरू ‘यो प्रेम' र ‘मसान' बारे आत्मचिन्तन गर्दै नौलो परिवर्तनको सन्देश दिएका थिए ।
झ्यालखाना बस्दाका उनका राजनीतिक सहकर्मी कसैले पनि उनको जेल-जीवनको संस्मरण लेखेनन् । केही छिद्रानुवेशी समालोचकहरूले भने उनीमाथि विदेशी साहित्यकारको प्रभाव परेको दोषारोपण गरे । साहित्यमा स्वदेशी÷विदेशी अग्रज साहित्यकारको प्रभाव पर्नु स्वाभाविक मानिन्छ, बरु प्रभाव नपर्नु पो अनौठो हो । विश्वेश्वरप्रसाद कोइरालाकै साहित्यमा विदेशी साहित्यको ठूलो प्रभाव परेको कुरा उनी स्वयंले स्वीकारेको हामीले बिर्सनु हुँदैन । जेहोस् नेपालका अग्रज साहित्यिक हस्तीहरू जत्तिकै गोपालप्रसाद रिमालका रचनाहरू मौलिक एवं कालजयी हुन् ।
०००
प्रार्थना सभा दमन भए पनि महाशिवरात्रिको अवसरमा राजधानी र बाहिरका राजनीतिक कार्यकर्ताहरूले नौलो तरिकाले राणाशासनलाई चुनौती दिए । राजनीतिक परिवर्तनको लागि उत्सर्ग भएका जनतासामु सत्ताधारीहरूले बाधा, व्यवधान खडा गर्द त्यतिबेला तिनको मनोबल बढाउने अस्त्र कविहरूकै पंक्ति हुने गरेको उदाहरण इतिहासमा पाइन्छन् । काठमाडौं पनि यसमा अपवाद रहेन । २००३ को वर्षले राणाशासन ढल्दै गएको संकेत दियो । २००४ सालमा त्रिचन्द्र कलेज नेपालको नयाँ राजनीतिक जागरणको केन्द्र बन्यो । त्यसबेलाका र्याडिकल छात्रहरूका रूपमा चिनिने विजयबहादुर मल्ल, गोपालदास श्रेष्ठ, त्रिपुवरसिंह प्रधान, होराप्रसाद जोशी, पुष्पलाल श्रेष्ठ, तिलकराज शाही, भुवनलाल जोशी, कृष्णप्रसाद रिमाल, टंकविलास वज्राचार्य, अष्टमंगल प्रधान, ध्रुवलाल जोशी, नूतन थपलिया आदिका अग्रज गोपालप्रसाद रिमाल नै थिए । त्यही सालको वैशाख १७ गते सत्याग्रहीहरूको रिहाइ, प्रजातान्त्रिक अधिकार र कानुनी राजको माग गर्दै आन्दोलन सुरु भयो ।
उक्त आन्दोलनमा नेपालकै इतिहासमा पहिलो पटक साधना प्रधान, साहना प्रधान, कनकलता नकर्मी, स्नेहलता गुरुवाचार्य, प्रमिला श्रेष्ठ तथा शान्ताजस्ता महिलाहरू प्लेकार्ड बोकेर सडकमा उत्रेका थिए । वैशाख २३ गतेका दिन त्रिचन्द्र कलेजबाट सुरु भएको विशाल जुलुस प्रधानमन्त्री पद्मशमशेरको विशालनगर दरबार पुग्दा उनले आफ्नै भाइभतिजा र भारदारहरूका सामु सत्याग्रहीहरूलाई रिहा गरेर चाँडै नै संवैधानिक सुधार गर्ने वचन दिनुपरेको थियो । तर अनुदारवादी राणा जर्नेलहरूको षड्यन्त्रले गर्दा सो सुधार लागू हुन सकेन । आन्दोलन र नयाँ रूपको राजनीतिक विकासले गर्दा बाहिरको आन्दोलनले एकताबद्ध हुनुपर्ने अनिवार्यताबारे रिमालको दृष्टिकोण बढी परिपक्व हुन थाल्यो । फलतः उनको राजनीतिक धार झन् प्रखर बन्यो । संक्षेपमा भन्नुपर्दा नेपाल प्रजा पञ्चायतको रूपमा नेपाल प्रजा परिषद्को उद्देश्य अघि बढाउन उनीमा आफ्नै नेसनल लिग, नेपाल प्रजा परिषद् तथा वनारसस्थित नेपाली राष्ट्रिय कांग्रेसका समर्थकहरूलाई एकजुट गर्ने विचार प्रबल भयो जुन सोच टंकप्रसाद आचार्यसित मिल्दथ्यो ।
यता पद्मशमशेर शासनमा रहुन्जेल जनआन्दोलनको बेग नथामिने छाँट देखेर अनुदारवादी राणा जर्नेलहरूले उनलाई हिन्दुस्तानतिर धपाए । गद्दी छोड्नुअघि उनले रिमाललगायत अरू धेरै राजबन्दीहरूलाई रिहा गरे । वैधानिक कानुनअन्तर्गत आवश्यक नियमहरू बनेपछि यो घोषणा स्वतः लागू हुने यसैमा व्यवस्था गरिएको थियो ।
तर उनका उत्तराधिकारी मोहनशमशेरले आन्दोलनबाट प्राप्त सीमित वैधानिक कानुनका उपलब्धिहरूमाथि कुठाराघात गर्न नसकुन् भनी राजनीतिक छलफल गर्न रिमाल वनारसमै नेपाली राष्ट्रिय कांग्रेसका नेताहरूकहाँ पुगे । त्यहीँ ने.रा.कां.ले २००४ को संविधानलाई सैद्धान्तिक रूपले मान्न नसकिने घोषणा गरेको थियो । तर त्यसमा निहित सुधार लागू गर्न कुनै खुला राजनीतिक संगठनले राणाशासनलाई बाध्य तुल्याउन सक्ने विचार रिमालले कांग्रेस नेतृत्वसमक्ष राखे । यसबारेको वर्णन डिल्लीरमण रेग्मी लिखित ‘अ सेन्चुरी अफ स्ट्रगल अगेन्स्ट राणा अटोक्य्रासी'को पृष्ठ २२१-२२२ मा उल्लेख छ ।
मोहनशमशेरले गरेका घोषणाअन्तर्गतका हकहरू जनताले निर्वाधरूपले उपभोग गर्न पाउनुपर्छ भनेर रिमालको हस्ताक्षरमा नयाँ राजनीतिक संगठन नेपाल प्रजा पञ्चायत (ने.प्र.पं) ले अनुरोधपत्र पठायो । त्यसको सुनुवाइ नभएपछि ने.प्र.प.ले दसैंको टीका साइत गरी २००६ साल कात्तिक ५ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गर्यो । आन्दोलनले तत्काल नै तीव्र गति लिन थाल्यो । प्रत्येक दोस्रो दिन उपत्यकाको कुनै न कुनै सहरबाट जनआन्दोलनकारी पक्रिइन्थे । वास्तवमा निरंकुश मोहनशमशेर ‘ श्री ३ महाराज'को गद्दीमा बस्दा नै त्यो गद्दी काठमाडौं उपत्यकामा चर्केको प्रजा पञ्चायतको आन्दोलनबाट हल्लिन थालिसकेको थियो । ने.प्र.पं.को आन्दोलनपछि नेपाल राष्ट्रिय कांग्रेसको एकता अधिवेशन कलकत्तामा भयो ।
त्यसमा मातृका कोइराला र डिल्लीरमण रेग्मीबीच एकता पुनस्र्थापित गर्ने भन्ने नै प्रमुख विषय थियो । त्यसमा भाग लिन काठमाडौंबाट गएका ने.प्र.पं.का नेताहरूमध्ये गोपालप्रसाद रिमाल उल्लेखनीय थिए । अधिवेशनमा कोइराला तथा रेग्मीका समर्थकहरूको गतिविधि देखेपछि र कांग्रेसका अघिल्ला दस्तावेजहरू पढेपछि रिमाल त्यो त ‘भारतीय नेपाली कांग्रेस' नै भएको ठानेर निराश भई स्वदेश फर्के । उसै त अन्तर्मुखी स्वभावका रिमाल अब राणाशासनविरोधी आन्दोलनमाथि पर्न लागेको फाटोबाट पीडित भई झन् ऐकान्तिक हुन थाले । फलस्वरूप २००६-०७ सालको आन्दोलनहरूताका उनी निष्क्रिय नै रहे । उनको त्यतिबेलाको पीडा र आक्रोशको पुष्टि २००६ सालमा उनीद्वारा रचित ‘तिमी को ? ' कविताले यसरी गर्दछः
‘यहाँ हामीलाई आफ्नो अशक्यता नै प्रिय छ;
त्यसलाई छोप्ने अहंकार नै प्रिय छ !
त्यो उदांग पार्न खोज्ने तिमी को ?
यहाँ हामीलाई यो अलमल नै प्रिय छ,
या धरमर नै प्रिय छ;
तर, हामी त्यसोलाई त्यसो भन्न चाहँदैनौं;
त्यसो भन्ने तिमी को ?
यहाँ शृंखला ल्याउन खोज्ने तिमी को ?
हामीलाई हाम्रो हार नै प्रिय छ,
त्यसैलाई हामी जयमाला बनाउन चाहन्छौं,
‘तिमी जितेका छैनौ, जित्ने त अर्कै छ' भन्ने तिमी को ?
हामीलाई हाम्रो आलस्य नै प्रिय छ,
दुर्गति नै प्रिय छ,
यो पसारो नै प्रिय छ,
उठाउन खोज्ने तिमी को ?
हामीलाई हाम्रो सुधार चाहिएको छैन,
क्रान्ति चाहिएको छैन,
उधारो गुण र क्रान्तिको भ्रान्ति
कसैले केही बेरको लागि दिए हुन्थ्यो भन्ने हाम्रो जपना छ,
‘त्यसो नगर, आफैं योग्य बन' भन्ने तिमी को ?
आफ्नो अशक्यता, आफ्नो आलस्य, आफ्नो घीनसिन पोख्ने
हामीलाई एउटा पात्र चाहिएको छ,
हामी हाम्रो हितैषीलाई मारेर भए पनि
‘हामी उसले भने जस्ता होइनौं' भनेर
आफ्नो वीरता सावित गर्न चाहन्छौं,
‘त्यो नगर' भन्ने तिमी को ?
साहित्यकार श्यामप्रसाद सँगसँगै नक्खु जेल पर्दा रिमालले यो कविता उनलाई पढ्न दिएको भन्छन् उनी थप्छन्ः ‘२००७ सालअघिको नेपाली साहित्य र राणाशासनविरुद्ध चलेको राजनीतिमा रिमालको उच्चतम योगदानको आज वास्ता नभइरहेको भए तापनि हाम्रो राष्ट्रिय जीवनको इतिहासमा तिनको निकै महत्ववपूर्ण स्थान छ ।' ‘सानासाना भए तापनि न्यायोचित कुरामा बौलाहा रिमालले झैं अड्न नसक्दा हामी सद्दे भइखाएकाले निकै ठूल्ठूला हकहरूसमेत गुमाइसकेका छौं, गुमाइरहेका छौं र यस्तै चाला हो भने अझ पनि गुमाइ नै रहने छौं' भनी श्यामप्रसादले २०१४ साल फागुन ३ गते व्यक्त गरेका पीडा आज पनि हामी भोगिरहेकै छौं ।
‘बौलाहा' भनिनेको सद्दे व्यवहार र सद्दे भनिनेहरूको बौलाहा व्यवहारको एउटा मार्मिक वर्णन यस प्रकार छ- २०१२ सालको माघमा सहिद सप्ताहअन्तर्गत ‘सरस्वती सदन'मा साहित्य सम्मेलन गरिएको थियो । आयोजकहरूले रिमाललाई ‘बौलाहा' भनी कवितावाचन गर्न नदिन सुर कसेका रहेछन् । स्वतन्त्र कविलाई कसले छेक्न सक्ने ? उनी आफ्नै आनन्दी तालले मञ्चमा उक्लेर कविता सुनाउन थाले । श्यामप्रसाद लेख्छन्, ‘त्यस सम्मेलनमा सुनाइएका कविताहरूमध्ये उहाँकै कविता सबभन्दा उम्दा थियो । ‘गुनासो' शीर्षक उहाँको गद्य कविता रुचाएर सुन्नेहरूले दुई-तीनपल्ट थपडी बजाएथे । यस घटनाले रिमालज्यूको बहुलठ्ठीपन त सिद्ध गर्न सक्तैन, तर यहाँनेर हाम्रो समाजकै हावा खुस्केको हो भनी शंका गर्ने ठाउँ भने अवश्य छ ।' (सबै उद्धरणहरू ‘बौलाहा रिमाल' अक्षय-अक्षर, कात्तिक-पुस २०७१ साल)
राणाशासनको अन्त्य गर्न काठमाडौं उपत्यका आन्दोलित नै रह्यो । तर मूढ मोहनशमशेर झन् दमनको सहाराले शासन टिकाउनमै लागेका थिए । आफ्नै जनताका न्यायोचित अधिकार दबाउन खोज्दा अनेक देशका शासकहरू आफैं विदेशी हैकमको सिकार बन्न पुगे जस्तै मोहनशमशेरको शासन पनि चीनमा तिब्बत विलयका लागि माओत्सेतुंग सेना अघि बढेकोबाट तर्सिएको भारत सरकारको रणनीतिक च्यापुमा पर्यो । ‘हिमालयको सुरक्षामा आइपरेको खतराबाट भारतमाथि पनि खतरा आउन लागेको' निहुँ पारेर उसले मोहनशमशेरलाई २००७ साल साउन १६ गते (सन् १९५० जुलाई ३१ तारिखका दिन) ‘नेपाल-भारत शान्ति तथा मैत्री सन्धि'मा सहीछाप गर्न बाध्य तुल्यायो ।
२००७ फागुन ७ गते क्रान्तिले मूर्तरूप लियो । त्यो नेपालको इतिहासमा एक युगान्तकारी घटना थियो तर क्रान्तिका नेताहरू नै बरालिन जाँदा क्रान्तिको ध्येय विचलित हुनपुग्यो । यस क्रान्तिले रिमाललाई प्रसन्न गर्न सकेन । नेताहरूको रहनसहनले उनलाई झनै पीडित तुल्यायो । उनले गम्भीर आकृतिमा ओठ चलाउँदै हिँडेर टुँडिखेल घुम्दा मानिसले उनलाई ‘बहुलाएको' पनि भने । उनी त्यतिबेला ‘एक जुगमा एकदिन एकचोटि आउँछ' भन्ने सुविख्यात हरफ आफैं गुनगुनाउँदै जान्थे कि २००७ सालको परिवर्तनपछि नेपालको राष्ट्रियता नै अनिश्चिततामा परेको लागेर ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो, लत्रेन यो कहिल्यै जंगी निसान हाम्रो' गुनगुनाइरहेका हुन्थे ? अथवा यसरी घुम्न निस्किँदा उनी जुन चिन्तनमा हुन्थे त्यतिबेला राजनीतिक क्षेत्रमा रहेका तर अब उनका लागि अनावश्यक भएका मानिसहरू बिघ्नरूप भएकाले त्यसबाट बच्न उनले यस्तो हावभाव गरेर हिँडेको हो कि ? को जानोस् ?
रिमालकी धर्मपत्नी हरिकुमारी उनलाई ‘बहुलाहा होइन, विद्रोही' भन्छिन् । ‘जसरी रिमाल बहुलायो भनिन थालियो, त्यसरी बहुलाहा भएको हामीले चाल पाएनौं । खुकुरी भिरेर जथाभावी जाइलाग्ने गरेको कहिल्यै थाहा पाइएन ।' (‘नेपाल', आइतबार १५ फागुन, २०७३) सुविख्यात नृत्यकला सर्जक भैरवबहादुर थापा यस लेखकसँगको एक भेटवार्तामा नाटककार रिमालको यसरी स्मरण गर्दछन्ः ‘उनलाई मनपर्ने चुरोट मोटरमार पनि हो । उनको टुडिँखेल घुमाई सधैं एकै ठाउँमा आएर अड्थ्यो ।
उनी उभिएको ठाउँ नगिचै नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू गोविन्दप्रसाद लोहनीको खुला माक्र्सवादी प्रवचन सुन्न भेला हुन्थे । लोहनीको स्वर निकै तिखो भएकोले गर्दा होला रिमालको दृष्टि त्यतातिर कहिलेकाहीँ पर्दथ्यो । तर उनी अनवरत चुरोट तान्दै उभिएको उभ्यै हुन्थे । हाम्रोबीच धेरै कुराकानी हुँदैनथ्योँ । न त हामी दुवैले नजिकैको धरहरा माहिलाको चिया पसलमा गएर कहिल्यै चिया खायौं । त्यहीँ अक्सर तुलाधर बन्धुद्वय दमनराज र तीर्थराजजस्ता मन मिल्ने साथीभाइ आउँदाचाहिँ रिमाल दाहिने हातको चोरी औंला उठाएर अभिवादन गर्थे । यो उनको विशिष्ट अभिवादन शैली थियो । यस्तो अभिवादन पाउने सौभाग्य मलाई पनि हुन्थ्यो ।
‘आफूलाई ‘बहुला' भनेर अपमान गर्नेहरूलाई उनी विल्कुलै वास्ता गर्दैनथेँ । यस्तो दुष्प्रचारमा कसको हात छ भन्ने उनी जान्दथे । त्यसैकारण विश्वेश्वरप्रसाद कोइराला र डिल्लीरमण रेग्मीका सामन्ती व्यवहारबाट अत्यन्त विक्षुब्ध रहेका रिमाल नेपाली कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसका नेतृत्वका मानिस नजिक आउनासाथ पीडाको भावले हठात् त्यहाँबाट आफ्नो घर लागिहाल्थे ।' भौगोलिक कारणबाट मूर्खतापूर्ण चूक भएकैले गर्दा हाम्रा महामेधावी देवकोटा र रिमाल राँची पुर्याइएका हुन् । आफ्नो तर्फबाट प्रतिकार महाकविले ‘पागल' कवितामार्फत दिए भने रिमालको तर्फबाट उनकी पत्नीले मात्र होइन उनी आफैंले दिए । (‘रिमाल रिभिजिटेड', ‘नेपाल', सोही अंक पृष्ठ ३७)
रिमालले २०१९ को मदन पुरस्कार लिन नगएको तर २०३० को त्रिभुवन पुरस्कार चाहिँ लिएको भन्ने अनावश्यक तर्कवितर्क चलाइन्छ । कुनै लेखकले रिमालले त्रिभुवनको प्रशंसा गरेको दोष उनकै अपार गुणहरूको कारण लुक्न गएको लेखे । ती लेखकले रिमाललाई ‘स्यावासी' दिनु उनको धृष्टता हो । यो एक हरफले नै उनको मेधाको वास्तविक परिचय दिन्छ ः ‘थोरै पुस्तक लेखेर धेरै जस पाउनेमा रिमाल पनि एक हुन् ।' (नेपाली साहित्यकार परिचय कोश, पृष्ठ ११६)
यो लेखक २००८-०९ सालका बीचमा आफ्ना तत्कालीन पार्टी कमरेड चन्द्रधर उप्रेतीसँग रिमालको लगनस्थित घरमा दुईपटक गएको सम्झना हुन्छ । त्यसपछि ‘सोभियत भूमि' पत्रिकाको अनुवादकको रूपमा उसले रिमालसँग साक्षात्कार पाउने सौभाग्य चाहिँ पाइरह्यो । सोभियत रूसका विद्वान-विदूषी लेखकका नेपालसम्बन्धी लेखहरू बराबर त्यस पत्रिकामा छापिइरहन्थे । तिनमा एक मूर्धन्य साहित्यकार-कविको रूपमा रिमालको चर्चा-परिचर्चा भइरहन्थ्यो । साहित्यकार शंकर लामिछाने २०२२ सालको ‘बिम्ब-प्रतिबिम्ब'मा ‘गोपालप्रसाद रिमाल' लेखमा १९९९-२००० सालतिर ‘अनि एक्कासि हाम्रो घनिष्ठताको प्रारम्भ' भएको बताउँछन् । तर उनी रिमालका रचनामा सामाजिक र राजनीतिक मुक्तिको सन्देश पाउन चुक्न नपर्ने हो । २०१२- १३ सालतिर नै होला, भारतमा उपचारबाट निको भएर आएपछि उनी आफू बिरामी छँदाको ‘ब्लैन्क पिरियड' मा आफूले गरेको काम र त्यसबीच देशको राजनीतिक एवं साहित्यिक घटनाक्रम पनि बताइदिन भनेको शंकर बताउँदछन् । कस्तै मानसिक तनाव र शारीरिक अवस्थाले पनि सच्चा सर्जकलाई उसको आफ्नो राष्ट्र र जनताप्रतिको दायित्वबारे सजग गराइरहँदो रहेछ नि ! यही नै हो गोपालप्रसाद रिमालको साँचो परिचय । संस्मरणमा रिमाल ‘अन्तरंग साथीहरूबाट पाएको धोका, छलकपट र बेइमानीबाट ..... तर्सेको' उल्लेख त छ तर त्यसको प्रत्युत्तर उनले अथाह पीडा र व्यंग्य भरिएको कविता ‘तिमी को ? ' बाट दिएको उल्लेख शंकरले गरेनन् ।
‘उहाँलाई महान मान्ने पनि छन्, बहुलाहा भनेर खसाल्ने पनि छन्' हरिकुमारी स्पष्ट शब्दमा भन्छिन् । त्यसैले रिमालजस्ता नागरिक जागरणका ‘स्ट्रर्मी पेट्रल' अर्थात् हुरी चरोलाई लिएर गरिने ‘बहुलाएको' टीकाटिप्पणी रिमालप्रति घोर अपमान हो । यथार्थमा आडम्बरशून्य एवं सौम्य रिमाल माक्र्सवादमा विश्वास राख्ने एक मौलिक चिन्तक हुन् । यसर्थ सच्चा एवं निष्पृह कम्युनिस्ट भन्न सुहाउने त रिमाल पो हुन्, सहिदद्वय दशरथचन्द र गंगालाल र ज्युँदा सहिद टंकप्रसाद आचार्यजस्ता व्यक्तित्व पो हुन् । ब्य्राकेटको चिह्नले चिनिने ‘कम्युनिस्ट पार्टी' को नेता हुँदैमा कोही सच्चा कम्युनिस्ट बन्दैन ।
एउटा सान्दर्भिक प्रसंग बताइहालुँ । २००५ सालमा मोहनशमशेरको गारतमा थुनिँदा रिमाललाई दहीमा मन्द विष ख्वाइएको र अब पनि माफी नमागे ‘अरू के-के हुनेछ' भन्ने धम्की गारतको एउटा जम्दारले लगनटोल घरमा गएर पिता उमानाथलाई सुनायो । पिताले ‘मेरो चार छोरा छन्, तिनमा एउटा सहिदै हुन्छ भने पनि मलाई स्वीकार छ' भन्ने जवाफ दिए । अनि मध्यराति बन्दुकधारी पुलिसहरू लिएर घरतलासी गर्न आएको पुलिस हाकिम चन्द्रबहादुर थापालाई रिमालका दिदीबहिनीहरूले लगारेर भगाउँदा उक्त हाकिम डरले थर्कमान हुँदै मोहनशमशेरलाई ‘गोपालप्रसाद रिमालको घरमा त, सरकार, मानिसहरूमात्र होइन, घरको इँट र पर्खाल पनि कम्युनिस्ट भइसकेका रहेछन्' बिन्ती गर्न पुगेछन् । हरिकुमारीले लेखकलाई २०७३ चैत ३ मा सुनाएको यो घटना र पुलिसहरूले गरेका जोरजुलुमको थप वर्णन गर्न त एउटा बेग्लै लेख चाहिन्छ । उनको सम्झनामा रिमाल सधैंजसो आफ्नै विचारमा मस्त रहन्थेँ । पढ्ने-लेखने काममा कहिल्यै असहजता र अस्वभाविकता देखिँदैनथ्यो । तर परिवारको जेठो छोराको नाताले घरव्यवहारका सानातिना विषयहरूमा पनि उनमा पे्रम र वात्सल्यताको भाव भरिएको हुन्थ्यो । करुणा र सहृदयताका त उनी मूर्तरूप नै थिए ।
०००
भारतीय सत्तासमक्ष मोहनशमशेरको घुँडा टेकाइले वर्तमान समयको ‘लोकतन्त्रवादी गणतन्त्रवादी' लम्पसारवादका लागि बाटो खोलिदिएकोमा दुई मत हुन सक्तैन । तथापि प्रतीकात्मक रूपले रिमालप्रति पुरानो शासन र वर्तमान शासनको व्यवहारलाई दाँज्दा एउटा बीभत्स विषमता देखा पर्दछ । राणाशासनले विद्रोही रिमाललाई मानसिक तथा शारीरिक यातनामात्र दिएको थियो । वर्तमान शासकहरूले त नेपालको स्वाभिमानको गीत गाउने रिमालको, नेपाली भाषा अनुवाद परिषद्मा उनका सहकर्मी कवि श्यामदास वैष्णवका शब्दमा ‘उद्दीप्त राष्ट्रवादी कवि'को आत्मालाई नै रुवाएका छन् ।
आज २००७ सालभन्दा अघिको राजनीतिलाई इतिहास नमान्नेहरूसित मितेरी लगाउँदै २०६३ भन्दा पहिलेको इतिहास संशोधनवादी हो भनी डाम लगाउनेहरूले नेपाली समाजमा रजाइँ गरिरहेका छन् । मुलुकको संस्कृति, भाषा, समाजशास्त्र र राजनीतिशास्त्र अब विश्व क्रिश्चियन मठाधीशहरूले सञ्चालन गर्ने ‘हाइब्रिडवार'द्वारा (‘नयाँ पत्रिका' - अरुणकुमार सुवेदी फागुन ८, २०७३), वर्णशंकरहरूको प्रयोग गरी चलाइने लडाइँद्वारा ब्रसेल्स, वासिंगटन र नयाँ दिल्लीको त्रिकोणीय मारमा परेका छन् ।
इतिहास विकृतिको यस्तो चक्रव्युहमा विश्वेश्वरप्रसाद कोइराला, पुष्पलाल र मदन भण्डारीजस्ता व्यक्ति पनि परिसकेका छन् । यिनीहरूको उपयोग हुन्छ भने खाली राजनीतिक सुविधाको लागि मात्र । यिनीहरूको त यस्तो हाल गरिएको छ भने १९९७ सालका वीर सहिदहरू, टंकप्रसाद आचार्य र गोपालप्रसाद रिमाल ओझेलमा पारिनुमा कुनै आश्चर्य छैन । यिनीहरूको उत्तरदानलाई एकएक गरी धराशायी गरिँदैछ- यिनका त्याग, बलिदान र तिनका कार्यहरूलाई विकृत गरेर ।