असलको लक्ष्य कोरियोग्राफी
![असलको लक्ष्य कोरियोग्राफी](https://annapurnapost.prixacdn.net/media/albums/asal_adhikari-58fc57400b4a45.59659058_G1tYLcScmv.jpg)
हालै भएको द राइजिङ स्टार सिजन ३ का विजेता हुन्, असल अधिकारी । प्रतियोगितामा सहभागी ७५ जनामध्ये सिनियरतर्फ असल उत्कृष्ट भएका हुन् । केएमसी स्कुल, शंखमूलमा अब कक्षा १० मा जाने असल प्रतियोगितामा उत्कृष्ट हुँदा निकै खुसी लागेको बताउँछन् । यस अगाडि विद्यालयमा हुने विभिन्न नृत्य प्रतियोगितामा थुप्रै पटक भाग लिए पनि यस्ता प्रतियोगितामा उनले पहिलो पटक भाग लिएका हुन् । प्रतियोगिताले आफूमा लुकेको प्रतिभा ठूलो समूहमाझ प्रस्तुत गर्न र आत्मविश्वास बढाउनका लागि सहयोग गरेको उनको अनुभव छ ।
भविष्यमा एक कुशल कोरियोग्राफर बन्ने उनको लक्ष्य छ । क्रियटिभ वल्र्ड नेपालको आयोजनामा भएको उक्त प्रतियोगिताको अन्तिम चरणमा उनलाई एक असल कोरियोग्राफरमा हुनुपर्ने गुणहरू के के हुन् भनेर गरिएको प्रश्नमा उनले सबैभन्दा महवपूर्ण पढाइ हो र यसबाहेक ठूलो मासमा बोल्न सक्ने र आफ्नो क्षमता प्रस्तुत गर्न सक्ने पनि हुनुपर्ने बताएका थिए ।
प्रतियोगितामा भाग लिएर उनले धेरै नयाँ साथी पनि बनाए । तिनै साथीहरूबाट धेरै नयाँ कुरा पनि सिके । त्यसैगरी उनलाई आवश्यकता परेका बेलामा ती साथीहरूले सहयोग पनि गरे । त्यसैगरी प्रतियोगिताका कोरियोग्राफरद्वय किराँत इन्द्र र पुनम राईले पनि धेरै मानिसका अगाडि कसरी बोल्ने, आफ्नो व्यक्तित्व कसरी प्रदर्शन गर्ने, हिँड्ने तरिका, बस्ने तरिकालगायतका धेरै जीवन उपयोगी सीपहरू सिकाएका उनले बताए । पढाइ उनको ठीकै मात्र छ । त्यसैले अब कक्षा १० मा यसलाई धेरै सुधार गर्ने प्रण उनले गरेका छन् । सूचना प्रविधिमा अलि बढी नै रुचि राख्ने भएकाले उनलाई मनपर्ने विषय कम्प्युटर हो । त्यसैगरी अनिवार्य गणित भने उनलाई अलि गाह्रै लाग्छ ।
नृत्य, खेलकुद र विद्यालयका कार्यक्रममा कोरियोग्राफी गर्नु उनका सोखहरू हुन् । विद्यालयका सिनियर नृत्य निर्देशक सुमनसागरजंग केसीले पनि उनलाई विभिन्न कार्यक्रममा आफै कोरियोग्राफी गर्ने जिम्मा दिने गरेका छन् । त्यतिबेला पनि असलले आफ्ना साथीहरूबीच निकै राम्रो संयोजन गरेर उनीहरूबाट उत्कृष्ट प्रस्तुति निकाल्ने गरेका छन् । आफ्ना नृत्य प्रशिक्षक केसीले दिएका आइडियाअनुसार नै आफूले साथीहरूलाई सिकाउने गरेको उनले बताए ।
फुर्सदमा नृत्य र कोरियोग्राफीको बारेमा उनी युट्युबमा खोज्ने गर्छन् ।कुनै पनि प्रतियोगितामा भाग लिँदा त्यहाँ प्रशिक्षकले सिकाएअनुसार मेहनत गरे प्रतियोगितामा हार जित जे भए पनि त्यो सीप जीवनोपयोगी हुने उनको भनाइ छ । असलका आमा पार्वती अधिकारीका अनुसार उनी निकै ज्ञानी र मायालु स्वभावका छन् । कुनै पनि खानेकुरा सबैलाई बाँडेर खाने गर्छन् । कुनै पनि कार्यक्रममा भाग लिए उनी घरमा त्यति अभ्यास गर्दैनन् । तर पनि छोराले आफूलाई तनाव लिनु पर्दैन भनेर विश्वास दिलाउने गरेको र सोही अनुरूप प्रस्तुति दिने गरेका पार्वतीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)