र्‍योमलिहाङमा गोर्खाली फौज

र्‍योमलिहाङमा गोर्खाली फौज

योमलिहाङको राज्यमाथि सम्भवतः अमरसिं थापाको नेतृत्वमा आक्रमण भएको हुनुपर्छ । किनभने चौदण्डीलाई आफ्नो अधीनमा ल्याउनुअघि माझकिरातलाई सर गर्नु जरुरी भएको भन्दै पहाडी इलाकाको किरात क्षेत्रमा आक्रमण गर्न पृथ्वीनारायण शाहले सरदार रामकृष्ण कुँवर र अमरसिंह थापाको नेतृत्वमा एक-एक कम्पनी फौज खटाएका थिए ।- गणेशकुमार राईमुन्दुममा पाइने यात्रा वर्णनअनुसार चीनको निवामा/नियामाबाट नदी पछ्याउँदै किरातीहरू नेपाल प्रवेश गरेका हुन् ।

ganesh_raiउनीहरूको आदिम थलोका रूपमा चीनकै 'ह्वाङहो नदी'लाई मान्ने विद्वान्हरू पनि नरहेका होइनन् । पछिल्लो समय आफूलाई किराती कहलिनमा गर्व गर्दै आएका 'राई', 'लिम्बू', 'याक्खा' र 'सुनुवार'हरू नेपालको पूर्वी हिमाली र पहाडी क्षेत्रमा सघन बसोबास गर्दै आएका छन्। 'थुलुङ राई'हरू किरात राई समुदायभित्र पर्छन् । सोलुखुम्बु जिल्लाको देउसा, मुक्लि, जुबु, काँगेल, लोखिम, पन्चन, नेचा बतासे, नेचा बेतघारी, खोटाङको रिप्दुङ क्षेत्रलगायत विभिन्न जिल्लामा बसोबास गर्दै आएका उनीहरूको सोलुखुम्बु मुक्लिमा राज्य रहेको इतिहास छ । त्यो राज्यमा र्‍योमलिहाङ (राजा)ले शासन गरेका थिए ।

र्‍योमलिहाङ दाम्पत्य कथा

किराती आदिम पुर्खाहरू 'सुम्निमा—पारुहाङ'को नाम जसरी सँगै जोडिएर आउने गर्छ, त्यसरी नै 'र्‍योमली'को नामसँग जोडिएर आउने स्त्री नाम 'रथोङमा' हो । जो र्‍योमलिहाङकी कान्छी रानी हुन् । र्‍योमलीले पहिलो पटक 'देउमा'सँग बिहे गरेका थिए । उनी नेचाकी थिइन् ।

बिहे गरेपछि जेठी रानी देउमाको शरीर सुक्दै जान थाल्यो र र्‍योमलीलाई चिन्ता लाग्न थाल्यो । त्यसपछि ससुराली गई 'के पो भयो ? ' भनी र्‍योमलीले सासूसँग भने । छोरीको शरीर सुक्दै गएको थाहा पाएपछि सासूले बिर्को लगाइएको एउटा ढुंग्रो थमाएर 'यसको बिर्को नखोली लगेर छोरीलाई दिनू' भनिन् । 'के रहेछ त ? ' भनी र्‍योमलीलाई कौतूहल जाग्यो र बीच बाटोमा ढुंग्रो खोलेर हेरे । ढुंग्रो खोलेर हेर्दा ढुंग्रोभरि 'बेम' (चिप्ले कीरा) रहेछ । र्‍योमलीले सासूले भनेजस्तै गरी देउमालाई ढुंग्रो दिए । देउमाले बेम लुकीलुकी खाइन् । त्यसपछि उनी ढोकाबाटै छिर्न नसक्ने गरी मोटाएर थुन्सेजत्रै भइन् । आफ्नी रानीले लुकीलुकी बेम खाएको थाहा पाएपछि र्‍योमलीलाई अत्यन्तै घिन लाग्यो । त्यसपछि 'थेत ! यस्तो खानेलाई मैले बेकारमा बिहे गरेछु' भने ।

आखिरीमा हैरान भएर र्‍योमलिहाङले एक दिन 'किन तिमी त सुकेरै मर्न आँट्यौ त' भनी सोध्दा देउमाले 'तिमीले मलाई मरे पनि हुन्छ भन्छौ होला र पो मोटाउन दिँदैनौ' भनेर जवाफ दिइन् । त्यसपछि र्‍योमलीले 'ए हे ! लु त्यसो भए म आमाकैमा पुर्‍याइराख्छु' भनेर फेरि आमाकैमा पुर्‍याइराखे । र्‍योमलिहाङ र देउमाको सम्बन्ध त्यसरी समाप्त भयो ।

त्यसपछि र्‍योमलीले कान्छी रानीका रूपमा रथोङमालाई बिहे गरे । तर, रथोङमा कहाँकी र कसकी सन्तान थिइन् भन्ने अध्ययनकै विषय बनेको छ ।

र्‍योमलीको दरबार

सोलुखुम्बु जिल्लाको मुक्लिमा र्‍योमलीको दरबारको भग्नावशेष रहेको छ, जसलाई थुलुङ राई भाषामा 'ओगा नेम' भनिन्छ । थुलुङ राई भाषाको 'ओगा' शब्दले 'भुइँ/भित्री रूपमा खुला/विशाल' वा 'स्थान/ठाउँ'को नाम अथ्र्याउँछ भने 'नेम'ले 'घर/दरबार' भन्ने अथ्र्याउँछ । जसको संयुक्त अर्थ 'भुइँ दरबार/भित्री रूपमा खुला/विशाल भुइँ घर वा दरबार' हुन्छ । अर्कोचाहिँ 'एकतले वा तला नभएको घर' भन्ने अर्थ पनि लाग्छ ।

दरबारनजिकै रहेको टुँडिखेलमा र्‍योमलिहाङका सेनाहरू परेड खेल्ने गर्थे । र, त्यहीँनिर उनले वृत्ताकारमा घुमेको गरालाई सभास्थल/मञ्चका रूपमा प्रयोग गरेका थिए । नजिकैको भित्तामा धनुवाण हानेर पानीको जरुवा पनि उत्पत्ति गराएका थिए । थुलुङ राईहरूमा रहेको मिथकअनुसार बँदेलले सुँघ्दैसुँघ्दै पत्ता लगाएको उक्त पानीको मुहान अहिले भने पहिरोका कारण सुक्ने अवस्थामा रहेको छ । धाराका रूपमा प्रयोग गरिएको सखुवाको खम्बासमेत भग्नावशेष मात्रै बाँकी छ । केही समयअघिसम्म देरापु क्षेत्रका बासिन्दा त्यही मुहानको पानी प्रयोग गर्थे । तर, पछि 'फल्युकु'को पानी वितरण भएपछि उक्त मुहानको पानी बेवास्ता हुँदै गएको हो ।

'फुल्युकु' थुलुङ राईहरूका लागि विशेष महत्वको छ । यस समुदायमा राम्रो मरण भएका जोकसैको मृतात्मालाई कटुन्जे पठाउनुअघि यस मुहानको पानी ख्वाउने गरिन्छ । 'फुल्युकु'भन्दा टाढाको दूरीमा बसोबास गर्ने थुलुङ राईहरूले भौतिक रूपमा यहाँको पानी तत्काल उपलब्ध गर्न/गराउन नसक्दा पुर्खाहरूले मुन्दुम/मुन्धुमद्वारा 'फुल्युकु/देल्युकु' भनी जप्दै रीत पुर्‍याएर मृतात्मालाई पानी ख्वाउने गर्छन् । यदि यसो नगरिए मृतात्माले पठाइएको स्थानमा पुग्न नसक्ने जनविश्वास छ ।

दुई सय वर्ष पुरानो

ओगा नेमबाट र्‍योमलिहाङले करिब दुई सय वर्ष अघिसम्म शासन गरेको विश्वास गरिएको छ । उनको देहान्त विसं १८३० देखि विसं १८३१ को बीचमा भएको अनुमान गर्न सकिन्छ । ओगा नेमको हाल भग्नावशेषमात्रै बाँकी छ ।बुद्धिराज राईलगायतका गाउँका अग्रजहरूको अगुवाईमा 'ओगा नेम' क्षेत्रको संरक्षणका लागि पहल सुरु भएको छ । पहिलो संविधानसभा निर्वाचनमा सोलुखुम्बुबाट निर्वाचित नेता गोपाल किराती बहालवाला संस्कृतिमन्त्री रहेका बेला संस्कृति मन्त्रालयको तर्फबाट दरबार क्षेत्रको लिखित दस्तावेज निर्माणका लागि बजेट विनियोजन भई दरबार क्षेत्रबारे पुस्तकसमेत प्रकाशित छ ।

आगामी दिनमा दरबार क्षेत्रको उत्खनन गर्ने लक्ष्यका साथ दरबार क्षेत्रलाई तारबार लगाइएको छ । दरबार क्षेत्रको उत्खनन कार्यका लागि जिल्लास्तरीय 'ओगा नेम दरबार संरक्षण समिति' गठन गरिएको छ । उत्खननपश्चात् जग्गाधनीलाई मुआब्जा दिलाई यस क्षेत्रमा किराती संस्कृति, परम्परा, रीतिरिवाज झल्किने संग्रहालय निर्माण तथा ऐतिहासिक र पुरातात्िवक महत्वको पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने समितिले योजना बनाएको छ । संस्कृति मन्त्रालय र जिल्ला विकास समितिबाट गरी हालसम्म दरबार क्षेत्रको संरक्षणका लागि दुई लाख ६५ हजार रुपैयाँमात्र बजेट उपलब्ध भएको छ भने बाँकी कार्य गाउँवासीको अग्रसरतामा भइरहेको छ ।

पुरातात्विक महत्वका सामग्री

यस क्षेत्रमा केही अघिसम्म खेती गर्ने क्रममा खनजोत गर्दा 'ले माला'हरू प्रशस्तै भेटिएका थिए, जो बहुमूल्य र पुरातात्िवक महत्वका हुन् । 'ले माला' भाले र पोथी हुन्छ । उहिले उक्त भाले ले माला बिहान भाले बास्नुअघि भालेजस्तै गरी बास्ने गरेको तर त्यो ले माला नभएर कुखुराकै भाले बासेको हो भन्ने विश्वास गरिन्थ्यो।

माटोको चपरी छर्दा एकै पटक दुईतीन दानासम्म भेटिने गथ्र्यो । देख्नेबित्तिकै धेरैजनाले टिप्न खोज्दा भने हराइहाल्थ्यो । कसैको हात नपरेपछि 'कसैले टिप्यो कि' भनेर सोध्दा कसैले टिपेको नहुने तर फेरि खोज्दा नभेटिने हुन्थ्यो । खनजोतका क्रममा कुनै बेला त्यस क्षेत्रमा माटोका भाँडाहरूसमेत भेटिने गथ्र्यो । र्‍योमली र रथोङमाको उक्त दरबार कसरी बेवारिसे भयो भन्ने यकिन नभए पनि पछि दरबारका सम्पूर्ण कुरा अव्यवस्थित भई लथालिंग हुन पुगेका थिए । त्यसै हुनाले पछि खेती गर्दा माटो खन्ने क्रममा पर्मले वर्षमा तीनचारवटा 'ले माला' भेट्ने गरेका थिए । त्यसलाई उनीहरू जम्मा गरिराख्थे र पूर्वबाट लिम्बुहरू आएर ठूलो दानालाई प्रतिगोटा १० र सानोलाई प्रतिगोटा पाँच डब्बु (रुपैयाँ)मा लग्ने गर्थे ।

ले माला सकिएपछि गाउँमा लामो खालको 'राजमाला' (भोटेले गलामा लगाउनेजस्तो) धागोमा उनेर राखिएका हुन्थे । २००७ सालमा कांग्रेस अभियान चल्दा भएका जति सबै ती राजमाला लिम्बुहरू आएर सित्तैमा लगे । उनीहरू आफूलाई कांग्रेसको मान्छे भएको बताउने गर्थे ।

र्‍योमलिहाङको अवसान

इतिहासमा किरातीहरूले पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गर्दासम्म विभिन्न स्थानमा शासन गरिरहेका थिए भन्ने सर्वविदित छ । काठमाडौं उपत्यकामा २८ देखि ३२ पुस्ता किराती राजाहरूले राज्य सञ्चालन गरेका थिए भन्ने इतिहास छ । यसै सन्दर्भमा पीताम्बरलाल यादवले आफ्नो पुस्तक 'नेपालको राजनीतिक इतिहास'मा 'नेपालमा लगभग ६ सयदेखि सात सय वर्षसम्म किरातहरूले शासन गरेपछि यो वंशको शासन समाप्त भयो र लगभग सन् ११० देखि लिच्छवि वंशको शासन सुरु भयो, जुन वंशले लगभग ८०० वर्षसम्म लामो शासन चलाएको अनुमान गरिन्छ' भनी उल्लेख गरेका छन् ।

रामचन्द्र राईले भने नेपालमा किरातहरूको शासन लिच्छविहरूले हत्याएको कुरा सत्य नभएको उल्लेख गर्दै 'दी हेरिटेज अफ किरातस्' पुस्तकमा लेख्छन्, 'किरातहरूलाई हटाएर नेपालमा लिच्छवि वंशले शासन स्थापना गरेको हो भनिन्छ । लिच्छविहरूले धपाएर पूर्वतिर किरातहरू खाँदिन पुगे पनि भनिन्छ । तर, त्यो सत्य कुरा होइन । लिच्छविहरूले हत्याएको किरात राज्य त काठमाडौं उपत्यकाको राज्यमात्र हो । नेपाल खण्डमा थुप्रै किरात राज्य र राजा रजौटाहरू भएको महाभारतबाट पनि थाहा लाग्छ । महाभारतको युद्धमा कुनैको उत्थान भयो होला त कुनैको पतन भयो होला ।

काठमाडौं उपत्यकाको किरात शासन लिच्छविहरूले हत्याउँदा वर्तमान नेपालको पूर्वपट्टि किरातहरूकै सानातिना राज्यहरू थिए । पछि पृथ्वीनारायण शाहले एकीकरण अभियान चलाउँदासम्म पनि अस्तित्वमै थिए । लिच्छविहरूले ती सबै किरात राजाहरूलाई परास्त गरेको भए पूर्वपश्चिम सबैतिर एकछत्र लिच्छवि शासन कायम हुनुपर्ने थियो । तर, काठमाडौं उपत्यकाबाहिर लिच्छवि शासनको गन्धसम्म पनि आभास पाइँदैन । पुनः पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकालाई मात्र आफ्नो गोरखा राज्यमा गाभे हुने थियो । पूर्वतर्फ सैनिक अभियान चलाउनुपर्ने नै थिएन । पृथ्वीनारायण शाहले एकीकरण गरेका पूर्व पश्चिमतर्फका राज्य र राजारजौटाहरू लिच्छवि शासनपछि स्थापना भएको पनि प्रमाण भेट्टाइँदैन । तसर्थ लिच्छवि कालमा पनि काठमाडौं उपत्यकाको बाहिर चारैतर्फ किरातहरूको सानातिना राज्यहरू छँदै थियो । लिच्छविहरूले खेदेर पूर्वतिर खाँदिन पुगेका भन्ने भनाइ निराधार छ।'

सन् १९७४ मा श्री ५ को सरकार, सूचना विभागद्वारा प्रकाशित 'मेची-काली ग्रन्थ-खण्ड १'मा लेखिएको छ— पहिले दूधकोसीदेखि अरुण कोशीसम्मको खम्बुहरूको बस्ती भएको 'माझकिरात' नामबाट प्रसिद्ध यस क्षेत्रको मुख्य प्रशासन चौदण्डी गढीबाट सेनवंशी राजाद्वारा सञ्चालित थियो । पहाडतर्फ ससाना गढी र थुमहरूमा भने विभिन्न किराती राजाहरूले राज्य गर्दथे । यिनताका गोरखा, तनहुँ तथा मकवानपुरपट्टिबाट माझकिरातमा खस ब्राह्मणहरू बसोबास सर्दै गएका थिए । यिनीहरू सेन राजालाई मान्दथे । तर, किराती मन्त्रीहरूको दबदबा स्वीकार गर्न हिच्किचाउँथे । यस्तै मनमुटावका कारण कर्ण सेनका प्रमुख कर्मचारी स्वरूपसिंह कार्की र खार्पाका धनाढ्य ब्राह्मण हरिनन्द पोखरेल सन् १७६९ मा नुवाकोटमा गई पृथ्वीनारायणसमक्ष आ श्रय लिन पुगे । कार्कीलाई सरदारी दिई सैनिक अफिसर बनाइए ।

हरिनन्द पोखरेलले 'चौदण्डीको माटो लिएर आएको छु, यथासम्भव धनको समेत सहायता गर्छु' भन्दा पृथ्वीनारायण शाह खुसी भई 'माम्खामा बस, पछि याद गरौंला' भनी पठाए । तर, यसैबीच पृथ्वीनारायण शाहले यस भेगको परिस्थिति बुझ्न गुप्त रीतले बांग्या बस्न्यात आदिलाई पठाए । पश्चिमपट्टिको लडाइँ रोकिएपछि तथा गुप्त रीतले पूर्वपट्टि पठाइएका मानिसहरू फर्किएपछि अभिमानसिंह बस्न्यातलाई अधिकार गर्न खटाइयो । तर, चौदण्डी अधिकार गर्नुभन्दा अघि माझकिरात सर गर्नु जरुरी भएकाले किरातका पहाड खण्डमा अधिकार गर्न पृथ्वीनारायण शाहले सरदार रामकृष्ण कुवँर र अमरसिंह थापालाई खटाई पठाए । यिनीहरू एक-एक कम्पनी फौज लिई सुनकोसी तथा दूधकोसीको दोभानमा पुग्दा हरिनन्द उपाध्यायले पहिलेदेखि तयार गरिराखेका डुंगाहरूको सहायताले गोर्खाली सेनाले २५ अगस्ट १७७२ मा पार गर्‍यो ।

रामकृष्ण कुँवर माझकिरातभित्र घुस्दा राजा कर्ण सेन तराई प्रदेश मात्र बचाउन कोसिस गरिरहेका थिए । चौदण्डीको राजधानीबाट टाढा रहेको यस माझकिरात क्षेत्रमा सुरक्षाको राम्रो दृष्टि परेको थिएन । यस किसिमबाट असहाय अवस्थामा रहेका माझकिरातका युवकहरूले गोर्खालीहरूको आक्रमण विफल तुल्याउने विषयमा चोपिएका काँणहरूको सहायताले लडाइँ लडे पनि गोर्खालीहरूको बन्दुकका अगाडि यिनीहरूको केही जोड चलेन । रावाघाट र चिसंखुसम्मका थुमहरू गोर्खालीहरूको अधिकारमा आए । यसपछि हलेसीमा वि श्राम गरी गोर्खालीले मझुवा, कुलुङ तथा दिङ्ला थुममा पनि आक्रमण गरी अधिकार गरे । यसरी सुनकोसीदेखि पूर्वपट्टि परेका माझकिरातमा गोर्खालीको जनवरी १७७३ मा अधिकार भयो ।

यस बखत किरातबाट भागेका आफ्ना शत्रुहरूलाई सुखिमले हात लिई गडबड मच्चाउन लागिरहेको थियो । यस्तो मौकामा लिम्बुवान पनि भड्कने सम्भव थियो । त्यसैले पृथ्वीनारायण शाहले तिनीहरू नभड्किऊन् भन्नानिमित्त लिम्बूहरूलाई 'हिज आपै आपुंगी पाएबमोजिम जिमीभूमि रहुन्जेल शाखा सन्तानतक सघाई भोग्य गर' भन्ने लालमोहर १७७४ मा गरिदिए र किपटको विशेष अधिकार पनि दिइयो । माझकिरातलाई नेपाल अधिराज्यमा सम्मिलित गराउने अभियानमा सहयोग गरेका खार्पाका हरिनन्द पोखरेलले ठूलो बिर्ता पाए ।'
यसरी गोरखा राज्य विस्तार अभियानमा किरात राज्यमाथि आक्रमण गरेको तथ्य इतिहासमा लेखिँदै आएको छ ।
यहाँ र्‍योमलिहाङको पतनको सन्दर्भमा यी पृष्ठभूमिहरूले पक्कै काम गरेका छन् । कतिपयको भनाइअनुसार र्‍योमलिहाङ आफ्नी जेठी रानी 'देउमा'लाई माइत पुर्‍याएर फर्कंदा विरक्तिएर बाटोमै अलप भएको भन्ने छ ।
तर, यो भनाइ किन प्रमाणित हुँदैन भने उनी त ओगा नेम फर्किएर 'रथोङमा'लाई कान्छी रानीका रूपमा बिहे गरेको इतिहास छ । त्यसो हो भने र्‍योमलीको पतन कसरी हुन पुग्यो त ?

माथि नै उल्लेख गरिसकियो, पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गर्दासम्म पूर्वमा किरातीहरूको राज्य अस्तित्वमान थियो । मुक्लिमा हालसम्म पनि पुर्खा द्योल्केपका सन्तानहरू बसोबास गर्दै आएका छन् । द्योल्केपलाई पृथ्वीनारायण शाहका सेनाहरूद्वारा गिरफ्तार गरी लडाइँमा जान बाध्य बनाइएको थियो । लडाइँका क्रममा पूर्व जाँदै गर्दा अरुण नदी पुगेर खुँडा धँदै गर्दा घरबाट उनलाई छोरा जन्मिएको खबर पुग्यो । त्यसपछि उनले 'ल छोराको नाम अरुणदेशी राख्नू' भनी खबर पठाए ।

द्योल्केपलाई पृथ्वीनारायण शाहका सेनाहरूसँग र्‍योमलिहाङको पराजय भएपछि वा उनको हत्यापछि गिरफ्तार गरी लगिएको हुनुपर्छ । नत्र एउटा किराती अर्को किरातीको राज्य हत्याउन पृथ्वीनारायण शाहलाई साथ दिएर पक्कै जाने थिएन । लड्दै-लड्दै पूर्व लाग्ने क्रममा बर्खा लाग्यो र 'ल अब लडाइँ बन्द भयो, अर्को वर्ष फेरि सबै जम्मा हुने' भनी आदेश भएपछि झन्डै एक वर्षपछि द्योल्केप घर फर्किए । र, हिउँद लागेपछि फेरि उनीहरूलाई बोलाइयो । त्यस क्रममा द्योल्केप तमोर पुगेका थिए, उनको घरबाट कान्छा छोरा जन्मिएको खबर आयो । अरुण जितेर गइसकेकाले 'कान्छाको नाम त्यसो भए अरुणजिती राख्नू' भनी उनी पूर्वैतिर लागे । उनी पछि फर्किए वा फर्किएनन्, त्यो यकिन छैन । तर, उनका छोराहरू अरुणदेशी र अरुणजितीका सन्तानहरू हाल मुक्लिमै बसोबास गर्छन् । यसरी हेर्दा र्‍योमलीको स्वपतन नभएर पृथ्वीनारायण शाहको सेनाको हातबाट मृत्यु भएको हुनुपर्छ ।

अर्को भनाइअनुसार र्‍योमलीको पतन पूर्वमा पृथ्वीनारायण शाहका सेनाहरूले काङसोरे लिम्बूको षड्यन्त्रपूर्वक हत्या गरेको घटनासँग मिल्न जान्छ । पृथ्वीनारायण शाहको 'गोरखा राज्य विस्तार अभियान' सुरु हुँदा किरातीहरूको राज्य साधाराण गाउँमा भएकाले कुनै गतिलो व्यवस्था थिएन । त्यसै क्रममा पृथ्वीनारायण शाहका सेनाहरूले 'सरसल्लाह गरौं, मीत लगाऔं' भनी बोलाएपछि आफ्ना दुई/चारजना सेनासहित र्‍योमलिहाङ दूधकोसी र सिकु खोलाको दोभानमा झरे । त्यस बेला र्‍योमलीसँग गतिलो पल्टन पनि थिएन । तर, पृथ्वीनारायण शाहका सेनाहरूले अगाडि नै षड्यन्त्रपूर्वक बालुवामा तरबार लुकाएर राखेका थिए । र्‍योमलिहाङ र उनका सेनाहरू त्यहाँ पुग्नेबित्तिकै तरबार निकालेर पृथ्वीनारायणका सेनाहरूले अन्धाधुन्ध आक्रमण गरे र र्‍योमलिहाङको हत्या गरे ।

द्योल्केपपछि मुक्लिमा बसोबास गरिरहेका उनका सन्तानहरू हाल आठ पुस्ता पुगेको बताउँछन् । यसै सन्दर्भमा काँगेलमा बसोबास गरिरहेका क्षेत्रीहरू पनि आफूहरू त्यहाँ बसोबास गर्न थालेको आठ पुस्ता नै पुगेको बताउँछन्।

पृथ्वीनारायण शाहको गोरखा राज्य विस्तारकै क्रममा ब्राह्मणहरूलाई पन्चनमा बसाइराखे । किरातीहरूलाई 'तिमीहरूले साइत हेर्न जानेको छ कि छैन ? तिमीहरूलाई पनि बाहुन चाहिन्छ । तिमीहरूको राजाले त साइत हेरेकै रहेनछ, हामी साइत हेरेर हिँड्यौं र जित्यौं' भनी ब्राह्मणहरूको बसोबास सुरु गराएका थिए । तर, किरातीहरूले पछि बाहुनहरूलाई दुःख दिन थाले । जुबु र काँगेल/मुक्लिको बीचमा बग्ने दूधकोसी नदीमा पारिपट्टि बरपीपल र वारिपट्टि काभ्राका ठूल्ठूला रूखको टुप्पो जोडिएका थिए । त्यसैलाई साँघुका रूपमा प्रयोग गरी किरातीहरू वारिपारि गर्थे । ब्राह्मणहरू खेती लाउन जब सिकुबिर्तेमा आउँथे, किरातीहरू उनीहरूको गोरु मारेर खाइदिन्थे । त्यसपछि ब्राह्मणहरू आजित भए । र, पछि लिखु क्षेत्रबाट बस्नेत क्षेत्रीहरूलाई ल्याएर काँगेलको 'बाहुन डी'मा बसाए । ब्राह्मणहरूले 'हामीले किरातीहरूसँग सकेनौं, हामी पञ्चनमै बस्छौं, तिमीहरूले लडिखानु, हामीलाई साह्रै हत्ते पारे' भनी ब्राह्मणहरू पन्चनमै बस्न थाले । काँगेलको एक स्थानको नाम 'बाहुन डी' त्यसरी नै रहन गएको हो । नत्र त्यसभन्दा अगाडि त्यस क्षेत्रमा बाहुन-क्षेत्रीको बसोबास थिएन ।

अग्रजहरूले सुनाउने गरेको सोलुखुम्बुको पावै र सोताङ (साविकका)गाविसको सिमानामा अवस्थित हुलु देवी उत्पत्ति हुनुको किंवदन्तीले पनि र्‍योमलिहाङको राज्यमाथि पृथ्वीनारायण शाहका सेनाहरूद्वारा आक्रमण गरिएको थाहा लाग्छ ।

'हुलु देवीथाननजिकै पाँचजना छोरीहरूसहितको एक किराती परिवार बस्दथ्यो । केही समयपछि आमाको मृत्यु भयो । छोरीहरू ठूली हुँदै गएका थिए । पछि उनीहरूको बुवाले 'मुक्लिमा गोरखा सेनाले आक्रमण गरेको' खबर सुने । त्यसपछि बुवाले 'अब भाग्नुपर्छ । यहाँ पनि आक्रमण गर्दै आइपुग्छन्' भनेर छोरीहरूलाई लिएर पूर्वतिर लागे । तर, घरबाट बिहान हिँडी पुगेको ठाउँमा राति बास बसेको ठाउँमा बिहान हेर्दा छोरीहरू कोही पनि थिएनन् । अनि छोरीहरूलाई खोज्दै आउँदा उनको बुवाले पुरानै घरमा भेटे । छोरीहरू भने आफूहरू राति हिँडेर घर आएको थाहा नभएको, आफूहरू बुवासितै बसेको, तर बिहान ब्यूँझदा घरमा भएको बताउँथे । किन त्यसो भएको भन्ने न छोरीहरूलाई थाहा थियो, न बुवालाई नै । यो क्रम दैनिक दोहोरिएपछि बुवालाई वाक्क लाग्यो र बुवाले आफ्ना पाँच कन्या छोरीहरूलाई त्यहीँ ठाउँमा हत्या गरिराखेर पूर्वतिर लागे । पछि तिनै पाँच कन्याहरू देवीका रूपमा उत्रिएका हुन् ।'

यस किंवदन्तीले पनि के प्रमाणित गर्छ भने र्‍योमलीको राज्यमाथि गोरखा सेनाद्वारा आक्रमण भएकै थियो । त्यस बेला 'मुक्लिमा गोरखा सेनाले आक्रमण गरेको' खबर सुन्नु भनेको अवश्य पनि र्‍योमलिहाङकै राज्यमा आक्रमण भएको हो । किनभने र्‍योमलिहाङ बाहेकको राज्य मुक्लिमा थिएन ।

र, र्‍योमलिहाङको राज्यमाथि सम्भवतः अमरसिं थापाको नेतृत्वमा आक्रमण भएको हुनुपर्छ । किनभने चौदण्डीलाई आफ्नो अधीनमा ल्याउनुअघि माझकिरातलाई सर गर्नु जरुरी भएको भन्दै पहाडी इलाकाको किरात क्षेत्रमा आक्रमण गर्न पृथ्वीनारायण शाहले सरदार रामकृष्ण कुँवर र अमरसिंह थापाको नेतृत्वमा एक-एक कम्पनी फौज खटाएका थिए । २५ अगस्त १७७२ मा हरिनन्द उपाध्यायको सहयोगमा सुनकोसी र दूधकोसीको दोभान (टोक्सेल घाट) तरेपछि अमरसिं थापाको टोली दूधकोसी पछ्याएर गएको थियो । तल्लो दूधकोसी उपत्यकामा रहेको र्‍योमलिहाङको राज्यमाथि त्यही टोलीले आक्रमण गरेको हुनुपर्छ ।

यसरी हेर्दा पृथ्वीनारायण शाहको गोरखा राज्य विस्तार अभियानका क्रममा र्‍योमलिहाङले पनि पराजय खेप्नु परेको र उनको हत्या भएको प्रमाणित हुन्छ । अन्यथा कालगतिले नै उनको मृत्यु भएको भए दरबार क्षेत्रको भग्नावशेष अहिलेसम्म रहँदा उनको समाधिको पनि भग्नावशेष भेटिनु पर्ने हो । तर, त्यस क्षेत्रमा कुनै समाधिको भग्नावशेष फेला पर्दैन । यसर्थ गोरखा राज्यको विस्तारसँगसँगै र्‍योमलिहाङको राज्य पनि समाप्त भएको देखिन्छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.