हिउँका गीतहरू

हिउँका गीतहरू

भदौको अन्तिम हप्ता । बादलले गजधम्म ढाकेको आकाश । रातभरिको झरीले निथ्रुक्क भिजेका सडकहरू र सडकभन्दा अझै लामा हामीले वर्षौंदेखि देख्दै आएका सपना । त्यो बिहान हामी सपनाकै घुम ओढेर एउटा सुन्दर यात्राका लागि निस्कँदा भदौरे झरीले हाम्रो बाटो रोक्नै सकेन ।साहित्यानुरागी प्रकाश पोखरेल, विनोद वाग्ले, देगराज काफ्ले (राजु) र म अन्ततः कलंकीको कहालीलाग्दो कोलाहललाई पछाडि छाड्दै अघि बढ्यौं । बाटैभरि हृदयमा सन्देहले ढ्यांग्रो ठोकिरह्यो । हामी अलमलमा थियौं, सबैका आँखाहरू फुत्तफुत्त माइक्रोबसको झ्यालबाट बाहिर हामफालिरहे, आकाशतिर चियाइरहे । 'साँच्चै यो बादल फाटेन भने ? ' एउटै प्रश्नले रन्थनिएको थियो हाम्रो मथिंगल । हो, हामी आँखासम्मै टाँसिने गरी हिमाल हेर्न अन्नपूर्ण आधार शिविरतर्फको यात्रामा निस्किएका थियौं त्यो दिन ।

saurav'दाजुहरू गणेश हिमाल चढ्न जान लाग्नुभा'को ? ' पोखरा कटेर अलि परै पुगिसकेपछि त्यो कन्डक्टर केटोले प्रश्न गर्‍यो । 'हैट मोरा ।' हामी भुतुक्कै भयौं । हाम्रो उल्लासमा अलिकति अभिमानको राग थपियो । निकै बेर त्यो अबोध बबुरोलाई उल्लिबिल्ली पारिसकेपछि सायद हामी झस्केका थियौं । मैले सुटुक्क त्यो केटोको अनुहारतिर हेरेँ । लाजले रातै भएका थिए उसका गाला । ऊ त्यो लज्जालाई आफ्नो चञ्चलताले परास्त गर्न भरमग्दुर प्रयास गरिरहेको थियो । ठीक त्यही बेला मैले सोचेँ, मान्छेजस्तै त हुन् यी हिमालहरू पनि । चाहे म तिनलाई गणेश भनौं या अन्नपूर्ण, लाङटाङ भनौं या सगरमाथा, हिमाल आखिर हिमाल नै हुन् । बेपत्तै अग्ला, भव्य अनि चहकिला हिउँका टाकुरा । मैले एकपल्ट फेरि त्यो केटोतिर हेरेँ । हिमालझैं चहकिला लागे उसका आँखाहरू । तर अहँ, मैले उसको नाउँ सोध्दै सोधिनँ ।

गफ्फिँदै, रौसिँदै कतिखेर नयाँ पुल आइपुग्यौं थाहै भएन । सायद तीनै बजिसकेको थियो कि ? मैले घडी हेर्ने जाँगरै गरिनँ । म यो यात्राभरि समयलाई खल्तीभित्रै कोचेर हिँड्न चाहन्थेँ । हातमा केवल घडी थियो तर घडीमा समय होइन उत्साहका इन्द्रेणीहरू दौडिरहेका थिए । मैले तिनै इन्द्रेणीहरूलाई साक्षी राखेर आकाशतिर हेरेँ । आकाश खुल्दै थियो । बादलहरू फाट्दै थिए ।

नयाँ पुलबाट हामीलाई बोकेर एउटा टाटा सुमो मोदी खोलालाई जिस्क्याउँदै अघि बढ्यो । हामी अग्लिँदै गयौं । खोला होच्चिँदै गयो । बाटैभरि ससाना खोल्सा र खहरेहरूले दुर्लभ पहाडी भाका गुनगुनाइरहे । म तिनैका लयहरूसँग आफ्नो गीत मिसाउँदै भित्रभित्रै पग्लिरहेँ, हिउँजस्तै । मलाई लाग्यो, मैले गुनगुनाएका सारा गीतहरू हिमालबाटै आएका हुन् सायद । अनि मैले प्रण गरेँ, म यो यात्रा गीतैगीतले पूरा गर्नेछु । त्यो हिमालको प्रेरणा थियो । प्रकृति र संगीतको संगम । वाह ! म साँच्चै दुई विशाल नदीहरूको दोभानमा उभिएको थिएँ ।

'लौ हजुर, आइपुग्यो किम्चे बजार ।' ड्राइभरको आवाजले म झस्किएँ । बजार ? बाहिर हेरेँ । हाम्रो मोटर यात्रा सकिएर पैदल यात्रा सुरु हुँदै थियो । मैले ती पहाडी पाखा र तिनका ठाडा अनि घुमाउरा बाटाहरूलाई मनमनै नमन गरेँ । एउटी हँसिली, अन्दाजी पैंत्तीस-छत्तीस वर्षजतिकी युवती हामीतिर हेरेर मुसुमुसु मुस्कुराउँदै थिइन् । उनको मुस्कानको उत्तर सायद मुस्कानैले दिए प्रकाश दाइले । 'बैनी यतैको हो ? ' प्रश्नचाहिँ विनोद दाइले गरे । 'हो, सर । हजुरहरू घुम्न आउनुभा'को कि ? ' उनले त्यो प्रश्नको उत्तरसँगसँगै फेरि अर्को प्रश्न गरिन् । प्रश्नोत्तर चलिरह्यो । अन्ततः हामी उनी र उनका साथीहरूको पछिपछि लाग्दै घान्द्रुकतिर लम्कियौं ।

घान्द्रुक पुग्दा झमक्कै साँझ पर्‍यो । उनैले होटलसम्म पुर्‍याइदिइन् । सायद त्यो उनको आफन्तकै होटल थियो । बिदा हुने बेला उनी एकपल्ट फेरि गुराँसझैं मुस्कुराइन् । आकाशमा बादल फाटेर साँझमै पनि हिमाल टलक्क टल्किएका थिए । मैले मनमनै गुनगुनाएँ, 'मुसुक्क हाँसिदेऊ फूल फुलेझैं, पानी परेपछिको आकाश खुलेझैं ।'
त्यो रात होटलमा थुप्रै गेएस्ट रहेछन् । चहलपहल बाक्लै थियो । हामी डाइनिङ हलको एउटा कुनो ओगटेर बसेका थियौं । भित्तामा झुन्ड्याइएको एउटा मादलमा मेरो आँखा पर्‍यो । हात नसलबलाउने कुरै भएन । एकदुईपल्ट घिन्ताङघिन्ताङ के पारेको थिएँ सबै जना हाम्रै वरिपरि झुम्मिन आइपुगे । त्यो समूह गण्डकी मेडिकल कलेजमा अध्ययनरत भविष्यका डाक्टरहरूको रहेछ ।

'मोहनी लाग्ला है ।' हाम्रो साँझ संगीतमय हुँदै गयो । 'लेकाली हे, हे चोयाको डोको ।' भावी चिकित्सकहरूले गजबको साथ दिए । 'रेसम फिरिरि रेसम फिरिरि ।' विनोद दाइको मन थामिएन, जुरुक्कै उठेर कम्मर भाँचिहाले । प्रकाश दाइ र राजुजी पनि के कम, सबैको एउटै स्वर भयो ।

मादलको तालले मोहित भएर एक भारतीय दम्पती, कौशिक र कविता, हाम्रो नजिक आइपुगे । कौशिक भीमकाय आकृतिका भए पनि शान्त र मिजासिला थिए । कविता भने जति सुन्दर थिई उति नै मृदुभाषी पनि । मैले उनीहरूलाई मादलको प्रयोग गरिएका केही हिन्दी गीतहरू सुनाएँ । कविता संगीतमर्मज्ञ रहिछ, ती गीतहरूले ऊ झनै उज्याली भई । कौशिक एउटा हातमा आधा भरिएको ह्विस्कीको गिलास र अर्को हातको माझी र चोर औंलाका बीचमा निभ्नै लागेको चुरोटको ठुटो च्यापेर टोलाइरहेका थिए । मैले सुटुक्क कविताको अनुहारमा हेरेँ । मादलको तालमा मेरा स्वरहरूसँगै ऊ पनि सुस्तरी आफ्नो स्वर मिलाउँदै थिई, 'अरे होगा तुमसे प्यारा कौन, हमको तो तुमसे है, ए कान्छी, ए कान्छी, प्यार ।'

देउरालीको चिसो छल्न साँझ दुई पेग खुकुरी रम नतानी सुखै पाइएन । भोलिपल्ट रमको रमरमले छाडिसकेपछि बल्ल आँखा चनाखो भए । माथिमाथि हिउँले ढपक्कै ढाकेको हिमाल बादलका आँखीझ्यालहरूबाट अलिअलि देखिन थालिसकेका थिए ।

रातैभरि पानी पर्‍यो । निद्रा पटक्कै लागेन । मन झनै कुँडियो । 'साला यो झरी ।' सबैले पालैपालो लामालामा सुस्केरा तान्यौं । 'खै हिमाल हेर्न पाइएला जस्तो छैन ।' बिहान उठ्नेबित्तिकै राजुजीको निराश आवाज सुनेँ । 'पाइन्छ, पाइन्छ केटाहरू त्यसै आत्तिन्छन् ।' प्रकाश दाइले हौसला दिँदै भने । साँच्चै केही बेरमै झरी त थामियो तर आकाश ? अहँ, आकाशचाहिँ अझै बादलको घनिभूत घुम्टो ओढेर हामीलाई घुक्र्याउँदै थियो ।
तर हामी डराएनौं ।

त्यो दिन छोमरुङ पुग्ने योजना थियो । हिजो भेटिएकी हँसिली युवतीले पनि यही सल्लाह दिएकी थिइन् । उनको माइती त्यतै रे । 'म फोन गरिदिऊँला, सरहरू मैले भनेकै होटलमा बस्नुहोला, अञ्जुले पठाएको भन्नुस् न, केही अप्ठेरो हुँदैन ।' उनले हिजो साँझ बाटोमा हिँड्दै गर्दा यसै भनेकी थिइन् । तर त्यो दिन हामी अलि बढी नै हिँड्ने मुडमा पुगिसकेका थियौं । छोमरुङसम्मको हिँडाइले मात्रै हाम्रो यात्राको तिर्खा मेटाउने छाँट देखाएन । अनि हामीले त्यो दिनको बास छोमरुङमा हैन उपल्लो सिन्वामा बस्ने निधो गर्‍यौं ।

सिन्वा पुग्नका लागि हिँडाइको गति अझै तेज बनाउनुपर्ने भयो । विनोद दाइ र राजुजी लमक्कै लम्केर कहाँ हो कहाँ आँखाले देख्नै नसकिने गरी बेपत्ता भए । म प्रकाश दाइलाई लिएर उनकै गतिमा सुस्तरी अगाडि बढिरहेँ । एउटा मझौलो उकालो कटिसकेपछि आइपुगेको थियो किम्रुङ । त्यहाँबाट वनैवन ओरालो झरेपछि हामी किम्रुङ खोला तरेर फेरि एउटा ठाडो उकालो चढ्ने क्रममा थियौं । अगाडि हिँडेका दुईजना साथीको कुनै अत्तोपत्तो थिएन । बाटो एकदम सुनसान । आफ्नै धुनमा एकोहोरो मस्त हिँडिरहेका प्रकाश दाइ । मैले उनलाई बिथोल्न पटक्कै चाहिनँ । बरु एक्लै गुनगुनाउँदै उकालो चढिरहेँ, 'अब यो बाटो मेरो हो कि, म यो बाटोको ।'

भोकले लखतरान हामी निकै बेर उकालो चढेपछि दूरविन डाँडा आइपुग्यौं । साथीहरू हाम्रै प्रतीक्षामा रहेछन् । त्यहाँ दुईचारवटा ससाना होटेल थिए । एकएक पुरिया उमालेको चाउचाउले आगो भएको पेटलाई शान्त पार्‍यौं । त्यहाँबाट हल्का उकालो र केही बेर तेर्सैतेर्सै हिँडेपछि छोमरुङ आइपुग्यो । छोमरुङबाट ठाडै ओरालो झर्‍यौं । निकै तल झरिसकेपछि छोमरुङ खोला तरेर फेरि उकालो लाग्न सुरु गर्‍यौं । अलि माथि पुगेपछि तल्लो सिन्वा आइपुग्यो । हामी रोकिएनौं । त्योभन्दा पनि अझै माथि थियो उपल्लो सिन्वा । त्यो रात हामीले त्यहीँ बास बस्ने निर्णय गर्‍यौं ।

रातभरि गोराहरूले हल्ला गरेर सुत्नै दिएनन् । 'हैन, यी गोराहरूलाई सुत्न पनि पर्दो रहेनछ कि क्या हो ? ' प्रकाश दाइ पड्किरहँदा म पनि कहाँ निदाएको थिएँ र ! थकानले लोथ भएको थिएँ । अलिकति लोलाउन खोज्थेँ, उनीहरू प्रत्येकपटक बिथोलिदिन्थे । हल्ला बन्द हुने कतै कुनै संकेतसम्म थिएन र पनि म अझै निदाउने प्रयत्नमै थिएँ । घनघोर रातको चकमन्नता चिर्दै गोराहरूको आवाजभन्दा पनि भयंकर ठूलो स्वरमा चिच्याउन मन थियो । अहँ, तर म चिच्याइनँ । बरु आँखा चिम्म गरेँ । हिमाली हावाको शीतलता महसुस भयो र निदाउनुअघि हृदयको अगाध गहिराइबाट निस्केको एउटा मधुरो आवाजलाई पछ्याएँ । हृदय बडो शान्त भएर गुनगुनाउँदै थियो, 'आइज निदरी, छुनुमुनु छुनुमुनु आइज, आइज निदरी आइज ।'

राति जति अबेरै सुते पनि बिहान चारै बजे निद्राले छाड्ने मेरो बानी अलि अप्ठेरै छ । उठ्नेबित्तिकै प्रकाश दाइलाई बोलाएँ, 'दाइ ।' 'हजुर ।' उताबाट टाठो आवाज आयो । 'उठिसक्नुभयो ? ' मेरो स्वर अलि ठूलो भयो । 'सुतेको भए पो उठ्नु, सुतेकै छैन, के उठ्नु ।' बूढा नराम्रैसँग झोक्किए । हाम्रो गुनगुन वार्तालापले पल्लो कोठामा सुतिरहेका राजुजी र विनोद दाइलाई तानेर हाम्रै कोठातिर ल्याइपुर्‍यायो । चार जनाको स्वर चार ससाना खोलाहरूजस्तै एकै ठाउँ मिसिएर एउटा बेपत्तै ठूलो नदी बन्यो । 'ए तिमीहरू धेरै हाल्ला नागार् ता, कुइरेहरू सुतिरा'छा, डिस्टाब हुन्छा ।' होटेल साहुनी आँखा मिच्दै हामीलाई टोक्न आइपुगिन् । मेरो मन खंग्रंग भयो । आफ्नै माइतीघरमा अपहेलित एउटी चेलीझैं म मर्माहत भएँ । 'हेत्तेरी ।' चारै जनाले मुखामुख गर्‍यौं, 'जय गोरासाहेबहरू ।'

अनि थोरै चकित र थोरै विचलित भएर त्यो बिहान हामीले उपल्लो सिन्वा छाड्यौं ।
पहाडी मनोरमताले बाटैभरि मन हरिरहे । म कतै अग्ला पहाडहरूझैं गम्भीर र शान्त हुँदै हिँडेँ । कतै चञ्चल झरनाहरूझैं स्वच्छन्द भएर दौडेँ । खस्रु र गुराँसका घना छहारीभित्र मैले एउटा अद्भुत शीतलता अनुभव गरेँ । तल भीरमुनि निरन्तर सुसाइरहेको मोदी खोलासँग समागम हुन आतुर ती हरेक झरनाहरूलाई छोएँ । वोनोद दाइ परबाट चिच्याइरहन्थे, 'हैन, यसरी जहाँ पानी देख्यो त्यहीँ अलमलिएर देउरालीचैं कैले पुग्ने ? ' म उसै त बिच्किएका विनोद दाइलाई अझै चिड्याउन कुनै कसरै बाँकी नराखी वारिबाट गीतैले जवाफ फर्काउँथेँ, 'झरनाको पानी के सारो चिसो गाला नै चिसाउने ।'

त्यसपछि बेम्बो आयो । बेम्बोपछि दोभान र दोभानपछि देउराली ।देउरालीको चिसो छल्न साँझ दुई पेग खुकुरी रम नतानी सुखै पाइएन । भोलिपल्ट रमको रमरमले छाडिसकेपछि बल्ल आँखाहरू चनाखो भए । माथिमाथि हिउँले ढपक्कै ढाकेको हिमाल बादलका आँखीझ्यालहरूबाट अलिअलि देखिन थालिसकेका थिए । तलचाहिँ भर्खरैको घनघोर झरी थामिएर सिमसिम पानी परिरहेको थियो । मैले एकपल्ट पुलुक्क माथि हिमालतिर हेरँे । तल बेसीतिर पनि हेरेँ । हिँड्नुअघि मन त्यसैत्यसै रोमाञ्चित भएर आयो ।

'दाइ, गोराहरूको अगाडि त यहाँका मान्छेहरूले हामीलाई जाबो भुसुनाजत्ति पनि ठान्दैनन् त हौ ।' देउराली छाडेर हिँड्नेबित्तिकै एउटा गाइड केटोले मनको तीतो पोखिहाल्यो । 'तेरिमा गोराहरू ।' मैले मनमनै खैरा छाला हुनेहरूजति सबैलाई सरापेँ । 'दाइ, तपाईंहरू पनि बाल नदिनु न यी गोराहरूलाई ।' केटो केही गम्भीर भयो । अनि मैले प्रण गरेँ, अब म यो बाटैभरि एक जना गोरासँग पनि बात मार्दिनँ ।
अनि गोरीसँग नि ?

अहँ, गोरीको बारेमा चाहिँ मैले केही सोच्नै भ्याएनछु ।
'हाई ।' माछापुच्छे« बेस-क्याम्पदेखि अन्नपूर्ण बेस-क्याम्पतिर अघि बढ्दै गर्दा उसले भनेकी थिई । 'हेलो ।' मैले पनि सुस्तरी ऊतिर हेरेर छोटो जवाफ फर्काएको थिएँ । ऊ सायद गफ गर्ने मुडमा आइसकेकी थिई । मलाई उम्किन अप्ठेरो पर्दै थियो । ऊ छिटो जाओस् भनेर म विस्तारै हिँड्न थालेँ । अहँ, उसले आफ्नो रफ्तारै बढाइन । ऊ पछिल्तिरै छुटोस् भनेर मैले आफ्नो गति बढाएँ । ऊ पनि म सँगसँगै बत्तिएर उधुम कुद्न थाली । 'हैट, एकबारको जुनीमा के तेरोमेरो भन्नु ।' म रोक्किएँ । सायद हिमाली हावाले मेरो मगजलाई शीतल बनाइदियो । मैले पुलुक्क ऊतिर हेरेँ । ऊ मुसुक्क मुस्कुराई । आकाश झन् गाढा भयो । अनि हामी दुवै गफ्फिँदै सँगसँगै हिँड्न थाल्यौं ।

'तिमी कुन देशकी ? ' मैले नै कुरा सुरु गरेँ । 'बेल्जियम ।' उसले लामो सुस्केरा तान्दै मतिर हेरी । 'तिमी नि ? ' मेरो जबाफको प्रतीक्षामा उसले कान ठाडो पारी । 'नेपाल ।' मानौं उत्तर मेरो जिब्रोमै झुन्डिरहेको थियो । 'कामचाहिँ के गर्छौ नि ? ' उसका कौतूहल झन् बढ्दै गए । 'म कवि हुँ, कविता लेख्छु ।' मेरो के जान्थ्यो, अलि बढ्तै बोलिदिएँ । 'कविजी कतै बिम्बहरूको खोजीमा हिमालतिर भौंतारिरा'को त हैन नि ? ' उसको मधुरो मुस्कानले मलाई माछापुच्छे« हिमालभन्दा पनि माथि उडायो ।

म उडी नै रहेँ । मलाई जमिनमा खस्नै मन लागेन । बरु झन् माथिमाथि उड्दै भनिदिएँ, 'बिम्ब हैन मैयाँ, म त हिमालमा हिउँका गीतहरू खोज्न हिँडेको ।' 'हिउँका गीतहरू ? ' अनि सिमलको भुवाजस्तै हलुंगो उसको मुस्कान मैले अनायास पहाडभन्दा पनि गह्रुँगो देखेँ । 'ऐया ।' अन्ततः त्यही मुस्कानको भार थाम्न नसकेर म कतिखेर जमिनमा पछारिएँ मैले पत्तै पाइनँ ।
'हिउँका गीतहरू ? ' एउटा लामो उच्छवाससँगै ऊ एक्लै बर्बराई । उसका मौनताले मलाई केही राहत दिएझैं लाग्यो । मैले पछाडि फर्किएर हेरेँ । प्रकाश दाइ निकै तल थिए । म झस्किएँ । अनि रोक्किएँ । तर अहँ, ऊचाहिँ एकोहोरो अघि बढिरही ।

'यत्ति राम्री केटीलाई बीच बाटैमा चटक्क छाडेर यसरी टक्क अडिन त भएन नि हो दाइ !' मेरो पछिल्तिर हिँड्दै गरेको एउटा लिखुरे गाइड केटोले मुसुमुसु हाँस्दै व्यंग्य गर्न भ्याइहाल्यो । 'फेरि साथीले राम्री केटी भेटेर मलाई त बालै दिएन भन्लान् कि भनेर नि भाइ ।' मैले तल प्रकाश दाइतिर इसारा गर्दै त्यसलाई अगाडि बढ्न बाटो छाडिदिएँ । 'त्यो त हो ।' पसिनाले निथ्रुक्क भिजेको ऊ, स्वाँस्वाँ गर्दै मास्तिर लम्किन थाल्यो । म भने प्रकाश दाइ नआइपुगुन्जेल त्यहीँ एउटा ठूलो ढुंगोमा अडेस लागेर पर माछापुच्छे« हिमालतिर हेर्दै टोलाइरहेँ ।
हिमालहरू सायद डराए, लजाए या आत्तिए, थाहा छैन तर त्यो दिन हामी अन्नपूर्ण बेस-क्याम्प पुग्दा वरपरका सबै हिमाल घना बादलका च्यादरभित्र गुटमुटिन पुगिसकेका थिए ।

भोलिपल्ट बिहान पनि हामीले अन्नपूर्ण हिमालको फेद र टुप्पो एकैपल्ट देख्न सकेनौं । यद्यपि किस्ताबन्दीमै सही, त्यो मनमोहक अनि भव्य दृश्यलाई हृदयभरि सजाएर हामीले हाम्रो यात्राको आधा बाटो पूरा गर्‍यौं ।
फर्किंदा माछापुच्छ«े बेस-क्याम्प र दोभानको बीचमा ऊ फेरि भेट भई । 'हिउँका गीतहरू भेटिस् त ? ' उसले व्यंग्य गरी या प्रश्न, मैले ठम्याउनै सकिनँ । मैले उसको अनौठो हेराइलाई मुस्कानले जित्न खोजेँ । 'हामी साथी बनौं न है ? ' उसले प्रस्ताव राखी र मेरो नाउँ सोधी । 'हुन्छ ।' मैले गमक्क गम्किएर उसलाई आफ्नो नाउँ भनेँ । 'हामी छोमरुङमा आज एउटै होटलमा बसौं न ल ? मलाई तेरा कविताहरू सुन्न मन लाग्यो क्या ।' ऊ अलि भावुक भई । 'किन नहुनु, भइहाल्छ नि । बरु तँ गएर होटलमा बस्दै गर, म बिस्तारै साथीहरूसँग त्यहीँ आउँछु नि हुन्न ? ' मैले टाउको हल्लाएँ । 'हुन्छ, भरे साँझ, छोमरुङ कटेज है त ? ' ऊ फुरुंग परेर अघि बढी ।

तर खै किन, थाहा छैन, त्यो रात हामी बास बस्न छोमरुङ कटेज होइन त्योभन्दा मास्तिरको अर्कै एउटा सानो होटेलमा गयौं । त्यसपछि ऊसँग फेरि कहिल्यै भेटै भएन ।झमक्क रात परेपछि छोमरुङका केही दिदीबहिनी मिलेर त्यहाँ एउटा सांस्कृतिक गायनको आयोजना गरे । सबै परम्परागत गुरुङ पोसाकमा अन्नपूर्ण हिमशृंखलाझैं लहरै बसेका र उत्तिकै उज्याला थिए । उमेरले हामीभन्दा अलि पाका विनोद दाइ रुस्लान भोड्काको असरले हो या हिमालको प्रेरणाले, सोचेभन्दा हदै जोसिला हुँदै गए । हो, त्यो रात गीत छोमरुङका चेलीहरूले नै गाएका थिए तर माहोल तताउनेचाहिँ निःसन्देह विनोद दाइ नै थिए । उनकै नेतृत्वमा हामी सबैले संगीत, संस्कृति र सिर्जनाका तीन भयंकर ठूला नदीहरूको त्रिवेणीमा डुबुल्की लगाएर धन्य हुने अवसर पायौं ।

सायद हिमाली यात्राले प्रेरित गर्‍यो या विनोद दाइले निकै कर गरे, मैले छोमरुङे चेलीहरूको भाका टपक्कै टिपिहालेँ । मभित्र संगीतको हिउँ स्वस्फूर्त पग्लियो ।
मनमा यात्राको क्रममा जम्मा भएका केही गुनासा थिए, सबै गीतमै पग्लिए ।
'छोमरुङका मान्छे खाली गन्दा रै'छन् गोरालाई
कल्ले गन्ने हामी मोरालाई'
'छोमरुङका नानीहरू देखेपछि खैरेलाई
भुल्छन् हामी ऐरेगैरेलाई'
मैले पोखेका तीता गीतहरूले पछिपछि सबै छोमरुङवासीको अनुहार अमिलो हुँदै गइरहेको देखेँ । सायद हिमालका चिसा हावाले मलाई फेरि मानवीय प्रेम र सद्भावका गीतहरू गाउन घचघच्याए । अनि म फेरि स्नेहले पग्लिएँ ।

'तिम्रो शिरको अन्नपूर्ण हाम्रो पनि दायाँ छ
हाम्लाई पनि यसको माया छ'

भोलिपल्ट आकाश छ्यांग खुल्यो । हिमालहरू छर्लंग देखिए । हामी एक मुठी आकाश र एक टुक्रा हिमाल मुटुभरि बोकेर त्यो दिन पोखरा पुग्यौं । अनि लगत्तै त्यसको अर्को दिन काठमाडौं ।
काठमाडौंको धूलोले मभित्र हिमालका स्मृतिहरू क्रमशः धमिला हुँदै जान थाले । हृदयको आवरणलाई समेत ढपक्कै ढाकेर बसेका ती धुलाका सारा पत्रहरूलाई पन्छाएर हिमालको त्यो अनुपम सुन्दरतालाई पुनः अनुभव गर्ने कोसिस भने म बेलामौका गरी नै रहन्थेँ । यसर्थ मभित्र हिमाल कहिले वसन्ती फूलझैं ढकमक्क भएर फुल्दै थिए त कहिले शिशिरयामको पालुवाझैं ओइलाउँदै गइरहेका थिए ।

केही दिनअघि फुर्सदमा अफिसको कौसीबाट पर उत्तरतर्फ लाङटाङ हिमशृंखलातिर हेरेर टोलाउँदै गर्दा फेसबुकमा एउटा अनौठो नामबाट फ्रेन्ड रिक्वेस्ट प्राप्त गरेँ । अनुरोध पठाउनेको प्रोफाइल पिक्चर पनि स्पष्ट थिएन । नाउँ पनि अंग्रेजी भाषामा नभई सायद फ्रान्सेली भाषामा थियो । 'जंक रिक्वेस्ट होला !' त्यो अनुरोधलाई पेन्डिङमै राखेर मेरा आँखाहरू पुनः टाढा लाङटाङ लिरुंको चुचुरोतिरै सोझिए ।केही दिनहरू यत्तिकै बिते ।

चारपाँच दिनपछि फेसबुककै मेसेज बक्समा फेरि त्यही नाउँबाट एउटा सन्देश आयो । 'हैन को चैं रै'छ ? ' अब भने म केही कौतूहल भएँ । 'ओहो कविता, त्यो पनि अंग्रेजीमा ? ' कविता पढेर म झनै तरंगित भएँ । अन्नपूर्ण हिमालका सारा हिउँ झरेर मेरै थाप्लोमाथि खसेझैं भयो । कानमा मोदी खोलाको झंकार गुञ्जियो । आँखामा खस्रु र गुराँसका घना जंगल हुँदै उच्च हिमाली चरनहरू आए । अनि त्यसपछि आए माछापुच्छ«े र अन्नपूर्ण हिमालहरू ।

म सोफामा थचक्क बसेँ । रन्थन्निएँ । अनि फेरि उठेँ र फेरि बसेँ । म साँच्चै किंकर्तव्यविमूढ भएँ ।
हैन के थियो त कवितामा ?
व्यंग्यको हिमाल थियो । अनि हिमालका हिउँझैं पग्लिएर कसैले लेखेको थियो—
हिमालमा अचानक प्रकट भए
हिमदेउता
र उनकै मनोहर मुस्कानको
अपार उज्यालोमा
हिमनदीहरूको सुस्केरा सुन्दै
यात्रा गरिरहेँ
आफैंभित्र
तर अहँ, सुन्नै सकिनँ मैले
हिउँका गीतहरू


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.