वार्षिकोत्सवमा विद्यालय पुरस्कृत
![वार्षिकोत्सवमा विद्यालय पुरस्कृत](https://annapurnapost.prixacdn.net/media/albums/Winnner-590ecd611f4582.81638695_DFzg6VHn6e.jpg)
गत सोमबार अर्थात् मे फस्टका दिन अन्नपूर्ण पोस्ट् पत्रिकाले आफ्नो १५औं वार्षिकोत्सव धूमधामसाथ मनायो । सोही दिन गत वर्ष अंकुर अन्तरविद्यालय बालप्रतिभा प्रतियोगितामा सहभागीमध्ये उत्कृष्ट १० हुने विद्यालय र तिनका पृष्ठ संयोजन गर्ने विद्यार्थीलाई पनि पुरस्कृत गरियो ।
सन् २०१६ को जनवरीदेखि डिसेम्बरसम्म सहभागी भएका जम्मा ५२ वटा विद्यालयमध्येबाट उत्कृष्ट १० विद्यालय छानिएका थिए । विद्यालयका विद्यार्थी र शिक्षकसहितको टोलीले अन्नपूर्ण पोस्ट्को कार्यक्रममा स्वयं उपस्थित भएर निर्माण गरेका पृष्ठलाई लेखनशैली र विषयवस्तु, लेआउट, तस्बिर, चित्रकला र अन्य विविधतामा आधारित रहेर अंक दिइएको थियो ।
प्रतियोगितामा प्याब्सनकी उपाध्यक्ष दीपिका थापा रिमाल र वरिष्ठ बालसाहित्यकार अनन्त वाग्ले निर्णायकको भूमिकामा रहनुभएको थियो । अन्नपूर्ण पोस्ट्को वार्षिकोत्सवमा सहभागी भई आफूले जितेका पुरस्कार लिन पाउँदा विद्यार्थी पनि निकै उत्साहित भएका थिए ।
कार्यक्रम सकिएपछि प्रमुख अतिथि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग तस्बिर खिचाउन पाउँदा विद्यार्थी थप उत्साहित भएका थिए ।
सार्वजनिक विद्यालय समेट्नुपर्छ
अनन्त वाग्ले, बालसाहित्यकार
पढाइ वा ज्ञानको अन्तिम नतिजा भनेको सिर्जनशील क्षमता हो । विद्यालय उमेरबाटै बालबालिकामा यस्तो क्षमता प्रस्फुटन गराउँदै लानु जरुरी छ । हरेक बालबालिकामा कुनै न कुनै प्रकारको विशेष क्षमता हुन्छ । त्यस्तो क्षमता उजागर गर्ने स्थान पाउनु अर्को महत्वपूर्ण पक्ष हो । अन्नपूर्ण अंकुरले बालबालिकाको सिर्जनशील क्षमता प्रस्तुत गर्ने स्थान दियो, यो प्रशंसनीय छ । यसबाट बालबालिकाले साहित्य सिर्जना, अनुभव लेखन, चित्रकला र पत्रकारिताको समेत सीप सिक्न सक्छन् । यसमा पृष्ठ संयोजन गर्दा स्कुलको विज्ञापनभन्दा पनि बालबालिकाको रचनात्मक पक्षलाई ध्यान दिनु जरुरी छ । साथै काठमाडौं तथा निजी स्कुलको बाहुल्य नाघेर सार्वजनिक विद्यालय तथा राजधानीबाहिरका विद्यालयलाई पनि स्थान दिनु न्यायोचित हुनेछ ।
विद्यार्थीको सिर्जनशीलता बढाउँछ
दीपिका रिमाल थापा, उपाध्यक्ष, प्याब्सन
अन्नपूर्ण पोस्ट्ले आफ्नो बालपरिशिष्टांक अंकुरमा सुरु गरेको अंकुर अन्तरविद्यालय बालप्रतिभा प्रतियोगिताले विद्यार्थीका साथै विद्यालयलाई पनि निकै फाइदा पुगेको छ । यसले विद्यार्थीका सिर्जनशीलता बढाउनुका साथै नयाँ रचना गर्नका लागि उनीहरूलाई हौस्याएको छ । कलामा सीप भएका विद्यार्थीले आफ्नो कलाकारिता विकास गर्न पाएका छन् भने लेख्ने विद्यार्थीले भाषागत ज्ञान बटुल्न पाएका छन् । विद्यालयले पनि आफ्ना गतिविधिलाई पत्रिकामा प्रकाशित गर्न पाएकाले अप्रत्यक्ष रूपमा विद्यालयको प्रचारमा सहयोग पुर्याएकाले यसलाई निरन्तरता दिनु राम्रो हुन्छ ।
उत्कृष्ट १० विद्यालय
१) सेन्टमेरिज हाइस्कुल, जावलाखेल
२) बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय, बिजेश्वरी
३) केएमसी स्कुल, शंखमूल
४) पाठशाला नेपाल फाउन्डेसन, बानेश्वर
४) अपोलो इन्टरनेसनल एकेडेमी, शान्तिनगर
५) भानुभक्त मेमोरियल उमावि, पानीपोखरी
६) कान्जिरोवा नेसनल उमावि, कोटेश्वर
६) विद्यासंस्कार उमावि, बानेश्वर
७) एसओएस हर्मन माइनर स्कुल, सानोठिमी
८) ग्रामर उमावि, कोटेश्वर
९) नाइटिंगेल इन्टरनेसनल सेकेन्डरी स्कुल, कुपन्डोल
१०) नेक्सस इन्टरनेसनल एकेडेमी, पेप्सीकोला
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)